कांग्रेसको बिग्रिएको व्याकरण

  • अहिलेको नेपाली कांग्रेसभित्र हरेक विषयमा तीनवटा समानान्तर सत्य एकैसाथ प्रवाहित भइरहेका छन् । वास्तविक सत्य, बोल्ने सत्य र बेहोर्ने सत्य ।

- अच्युत वाग्ले

नेपाली कांग्रेसको ७० वर्षको इतिहासमा पहिलोपटक पार्टीभित्र प्रतिपक्ष (गैरसंस्थापन)को हैसियत शून्य छ । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति छन्, शेरबहादुर देउवा । त्यसैले, सर्वशक्तिमान छन् । तापनि, कांग्रेस मुलुकको आशा र भरोसाको राजनीतिक शक्ति नरहने आशंका र संकेतहरू व्यापक छन् । ती दिनानुदिन घनीभूत हुँदै गइरहेका छन् । भर्खरै सम्पन्न ६ वटा प्रदेशको स्थानीय तहको निर्वाचन परिणामले त्यही देखाउँछ । 

स्थानीय तहमा कांग्रेसबाट निर्वाचित पदाधिकारीहरूको संख्या लाजैमर्दो हदसम्म कम होइन, लोकप्रिय मत पनि प्रमुख प्रतिपक्षभन्दा जम्माजम्मी ४२ हजार मात्र कम हो भन्ने यो दलको विद्यमान नेतृत्वको दलिल छ । यो अस्वाभाविक दाबी पनि होइन । तर्क के मात्र हो भने संसद्मा सबैभन्दा ठूलो दल र मुलुकको सबभन्दा पुरानो प्रजातान्त्रिक शक्तिका सञ्चालकहरूले स–साना निहित स्वार्थहरूबाट प्रेरित भएर, चुनावको सँघारैमा शृंखलाबद्ध अलोकप्रिय निर्णयहरू नलिएको भए पार्टीका पक्षमा चुनावको यसभन्दा राम्रो परिणाम आउन सक्थ्यो । यस्ता तर्क सभापति एवं प्रधानमन्त्री देउवालाई व्यक्तिगत आलोचनाजस्ता लाग्छन् । उनी चिडचिडाहटपूर्ण, आक्रोशित एवं तिरस्कारको भावमा यी तर्कहरूको प्रतिवाद गर्छन् । तत्क्षणका लागि यी वास्तवमै चासोका विषय नहुन सक्छन् । किनभने, उनको कुर्सीलाई यसले तत्काल हल्लाउँदैन । 

राजनीति अत्यन्तै क्रूर, असहिष्णु, अवसरवादी र आत्मकेन्द्रित हुन्छ भन्ने देउवाले आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालाबाट सिकेको सायद सबभन्दा महत्त्वपूर्ण पाठ हो । देउवा प्रधानमन्त्री भएकै बेला कोइरालाले पार्टीबाटै निष्कासित गरिदिएपछि उनले आफ्नो राजनीति सञ्चालनको शैलीलाई आमूल परिवर्तन गरेका थिए । सत्ता र शक्तिको राजनीतिमा आदर्श, सहनशीलता र नैतिककता आदि सबै देखाउने कुरा हुन् । मूल कुरा, सत्तामा पुग्न एवं त्यहाँ टिकिरहन सामथ्र्यले भ्याएसम्म जे गर्दा पनि हुने रहेछ भन्ने दृष्टान्त उनले नजिकैबाट देखे । जीवनमा दोस्रोपटक प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईलाई पदबाट हटाउनुअघि तय भएको विदेश भ्रमण गर्न दिन एक साता पनि कुर्न नसक्ने कोइरालाको सत्ताप्रतिको आशक्तिले देउवाको यसरी बदलिएको मनमस्तिष्क थप घर बनाएको बुझ्न कठिन छैन । 

पहिलोपटक प्रधानमन्त्री भएयताका २२ वर्षमा देउवाले कोइरालाको शैलीलाई अझ तिखारेर राजनीति गरेका छन् । कम बोल्ने, आफ्ना योजनाबारे सकेसम्म कसैलाई भेउ नदिने, सैद्धान्तिक र बौद्धिक तर्कमा नअल्झने, मानिसहरूलाई हप्काएर तह लगाउन प्रयास गर्ने, पार्टीलाई भन्दा सत्तालाई बढी महत्त्व दिने र आफ्नो पृष्ठभूमि स्मरण गराइरहने पार्टी कार्यकर्ताको पंक्तिलाई क्रमश: सम्पर्क नै नहुने वातावरण निर्माण गर्नका लागि उनले सबै ऊर्जा र समय खर्चेका छन् । उनलाई अचेल यी सबै तिकडमहरूले अत्यन्तै प्रभावकारी रूपले काम गरिरहेको अनुभूत भएको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । 

भाष्य र व्याकरण

यसरी हेर्दा कांग्रेसको सनातनी भाष्य (न्यारे टिभ) बदलिएको छैन । सत्ता, संस्था र सिद्धान्त, सबै भाष्य कम्तीमा सतहमा अपरिवर्तित छन् । पार्टी भएपछि सत्ताको चलखेलमा सहभागी हुनै पर्‍यो । सत्तामा गएपछि त्यसको भरपूर उपयोग गर्न खोज्नु अस्वाभाविक भएन । पार्टीलाई संस्थागत रूपमा नचलाएको, समयमा पदाधिकारी नियुक्ति नगरेको वा यसलाई वास्तै नगरेको जे–जे आरोप छन्, ती कुनै नयाँ होइनन् । भट्टराई र कोइरालाका पालादेखिको निरन्तरता हो । सिद्धान्तका रूपमा झुक्किएर कहिलेकाहीँ उल्लेख हुने तीन शब्द, ‘राष्ट्रियता, प्रजातन्त्र, समाजवाद’ दोहोरिएकै छन् । नभए यो भाष्यलाई जनतालाई थप बुझाइरहनुपरेको छैन । केन्द्रमा नेताहरू के गर्छन् भन्ने पर्वाह खासै नगरीकनै मध्यमार्गी मतदाताले कांग्रेसका पक्षमा निरन्तर मतदान गरेका छन् । नेतृत्वको लाज त्यतिले छोपिएको छ । सिद्धान्तको लठारो ओल्टाइपल्टाइ गरिरहनु आवश्यक परेको छैन ।

भाष्यका दृष्टिले अक्षुण्ण देखिएको, सतहमा साह्रै उजागर नभएको तर निकै गम्भीर रूपले बिग्रिएको चाहिँ कांग्रेसको त्यो भाष्यको व्याकरण (ग्रामर) हो । यस्तो बिग्रिएको व्याकरण सूक्ष्म दृष्टिले मात्र देखिन्छ । विशेषणहरू व्यापक रूपले फेरिएका छन् । सत्ता मुलुक परिवर्तनको माध्यम नभएर जीवन–सुखको मूल ध्येय एवं अन्तिम लक्ष्य भएको छ । यो अब दलालीको पर्यायवाचीसमेत भएको छ । मन्त्री, प्रधानमन्त्री र गुट प्रमुखका तर्फबाट लाभका काम गराइदिने र मिलाइदिने, ठूला ‘डिल’ गर्ने र नियुक्ति दिलाउने एजेन्टहरू बजारमा दौडधूप गरिरहेका छन् ।

पार्टी नामको संस्था बेवारिसे र जीर्ण भएको छ । पार्टीको जनशक्ति निर्माणमा ब्याडका रूपमा काम गर्नुपर्ने नेपाल विद्यार्थी संघ वा तरुण दलजस्ता भ्रातृ संगठनहरूमा नयाँ, सुपठित र जागरुक जमात प्रवेश गरेको छैन । जो प्रवेश गरेको छ, ऊ सत्ता सुखभोगको छोटो बाटो देखेर आएको छ । केही शब्दावलीहरू कांग्रेसको राजनीतिक शब्दकोशबाट हटेका छन्, त्याग, ध्येय, निष्ठा वा चरित्र आदि । यी आयामलाई तथाकथित व्यवहारवादी राजनीतिले विस्थापित गरिदिएको छ । जसरी पनि पैसा कमाउन सक्नेहरू योग्य र इमानदारीमा टिकेकै कारण निर्धनै रहेकाहरू स्वत: अनागरिक परिभाषित भएका छन् । यतिखेर सिंगो कांग्रेस ०४६ पछि बल्ल लोकतन्त्रको शब्दार्थ सिकेको जत्थाको मुठ्ठीमा पुगेको छ । यसले बुझेको लोकतन्त्रको अर्थ सत्ताको चलखेलबाट व्यक्तिगत लाभ लिनु हो ।

सिद्धान्त र राजनीतिक अवधारणाहरू सर्वथा अनावश्यक तत्त्व हुन् झैँ मानिन थालेको छ । तिनको कतै उल्लेख, चर्चा वा बहस नै हुँदैन । मुलुकको राजनीतिक प्रणाली परिवर्तनका लागि यतिखेर गम्भीर प्रकृतिका प्रस्तावना आएका छन्, संघीयता, समाजवाद, समावेशीता, समानुपातिक प्रतिनिधित्व र समग्र समृद्धि । यी मुद्दामा कांग्रेसका आधिकारिक अवधारणाहरू कहिल्यै प्रस्ट भएका छैनन् । प्रत्येक विषयमा सम्पुष्ट आलेख, प्रकाशन र प्रशिक्षण आदिप्रति नेतृत्वको चासो छैन । ०४६ देखि नै यी र अन्य राष्ट्रिय महत्त्वका दर्जनौँ मुद्दामा पार्टीको अवधारणा निर्माण गर्ने काम कांग्रेसले गरेन । परिणाम, समाजवादको समसामयिक परिभाषा गर्न सक्ने, संघीयताबारे सैद्धान्तिक आधारसहित औसत गुणस्तरको विचार दिन सक्ने र समानुपातिक समावेशिताका समग्र आयामलाई रौँचिरा केलाउन सक्ने कुनै चिन्तक–विचारक पार्टीले उत्पादन गरेन । वैचारिक एवं बौद्धिक बहसलाई कतै प्रोत्साहित गरिएन । 

यसभन्दा खराब अवस्था अरू ठूला भनिएका दलहरूमा पनि त छ भन्ने तर्क गरेर कांग्रेस तर्कन मिल्दैन । किनभने, लोकतन्त्रबिनाको संघीयता संसारमा कतै सफल भएको छैन । र, लोकतान्त्रिक पद्धतिइतर अपनाइने समानुपातिक समावेशीता, जसले कृपावादको विकृत स्वरूप अहिले नै प्रस्तुत गरिसकेको छ, सामाजिक विघटनको एउटा मूल कारक बनेका दर्जनौँ उदाहरण संसारमा छन् । नेपालका हकमा, बहुदलीय लोकतन्त्रलाई नै ससर्त वा बाध्यताले स्वीकार गरेका दक्षिणपन्थी वा वामपन्थी अधिनायकवादी दर्शनका बाहकहरूबाट यो अहम् जिम्मेवारी पूरा हुन असम्भव छ । अर्को लोकतान्त्रिक शक्ति सहजै जन्मने सम्भाव्यता अहिले कल्पनाभन्दा टाढै छ ।

सत्य र स्वतन्त्रता

अहिलेको नेपाली कांग्रेसभित्र हरेक विषयमा तीनवटा समानान्तर सत्य एकैसाथ प्रवाहित भइरहेका छन् । वास्तविक सत्य, बोल्ने सत्य र बेहोर्ने सत्य । उदाहरणार्थ, कसले मन्त्री बन्न केके वाचा गर्नुपर्‍यो ? कसको कोटाबाट मन्त्री, राजदूत वा अन्य कुनै आकर्षक पद पाउन कति खर्च गर्नुपर्छ ? वा, कसले पैसा खर्च गरेर पनि वचन दिइएको ओहदा पाएन ? यी आदि चर्चा हरेक औसत हैसियतको कांग्रेसीको बैठक कोठामा अचेल खुलेआम हुने गरेका छन् । यसै उद्देश्यले पार्टीभित्र गुट र समूहहरू बनिरेहका छन् । लेनदेन बढेको छ । यी वास्तविक सत्य हुन् । तर, ती नबोलिने सत्य हुन् । बोल्ने सत्य हो, सल्लाह र सहमतिको प्रयास भएको छ । पैसाको लेनदेन कतै भएको भए पनि ‘थाहा हुने’ भएन । बेहोरिने सत्यचाहिँ के हो भने पैसाको चलखेल गर्न सक्ने अलि चलाखहरूले पटक–पटक अवसर पाउन थालेका छन् । नेतृत्व आदर्शवादीबाट अवसरवादी भएको छ ।

यस अतिरिक्त अवसर पाउनेहरूमा निर्णायक नेताका आँखामा सीधै नहेर्ने, कहिल्यै कुनै विषयमा प्रतिवाद वा वैकल्पिक विचार प्रस्तुत नगर्ने र माथिल्लो तहबाटै हुने मनोमानीमाथि कदापि प्रश्न नउठाउनेहरू छन् । लोकतान्त्रिक पार्टीभित्र स्वतन्त्रताको अभ्यास कुनै कम्युनिस्ट पार्टीभित्रकै जत्तिको दमित नभए पनि प्रोत्साहित पनि छैन । नेताका स–साना स्वार्थहरू पनि आफ्नै स्वतन्त्रलाई बन्धकी राख्ने कारक छन् । भाषणमा देउवाले पार्टी र सरकारमा एकलौटी गरेको रोदन गर्ने रामचन्द्र पौडेलको सहमतिको परिभाषा आफ्नो छोरालाई कतै जीएम र सम्धीलाई राजदूत बनाउने मागमा टुंगिन्छ । कोइराला परिवारका उत्तराधिकारीहरू विरासत रक्षाको योजना बनाउन बैठक त गर्छन् तर तिनको सिर्जनशीलताले पनि पार्टीमा झाँगिएका विकृति र त्यसले मुलुकको राजनीतिमा पारेको असरलाई सम्बोधन गर्ने औकात प्रमाणित गर्न सकेको छैन ।

बेरोकटोक सम्पूर्ण शक्तिको अभ्यास एक्लै गर्न पाउनु देउवाका लागि निश्चय नै अवसर हो । तर, यो क्षणिक वर्तमानका लागि हो । दीर्घकालीन भविष्यका लागि शक्ति मात्र पर्याप्त हुँदैन । दृष्टिकोण, योजना र तिनलाई कार्यरूप दिने राजनीतिक विश्वसनीयता अपरिहार्य छ । अन्य सबै शक्तिलाई क्रमश: लोकतन्त्र वरण गर्ने बाध्यता आएका सन्दर्भमा कांग्रेसलाई नयाँ ‘न्यारेटिभ’ निर्माणको आवश्यकता छैन भने पनि सनातन लोकतान्त्रिक जगहरू भत्किन नदिने सतत् चेष्टा चाहिन्छ । अन्यथा, कसैले चुनौती नदिने नेतृत्वले निरन्तरता पाउँदा पनि जनताबाट बढारिएको भारतीय राष्ट्रिय कांग्रेसको नियति नेपाली कांग्रेसमाथि पनि आइलाग्ने दिन सायद धेरै टाढा छैन । त्यसैले, पुरानै भाष्यलाई जनतामाझबाट उखेलिन नदिन कांग्रेसले आफ्नो बिग्रिएको व्याकरणलाई सच्याउनै पर्छ । 

प्रकाशित: श्रावण ३०, २०७४