छाउपडी गैरकानुनी

- नेपाल संवाददाता

नेपालको संसद्ले महिलामाथि हुने एसिड हमला र छाउपडी प्रथाविरूद्धको कानुन पारित गरेको छ । नयाँ कानुन ०७५ साउनबाट कार्यान्वयनमा आउनेछ । महिनावारीको बेला महिलालाई घर निकाला गर्नेलाई तीन हजार रूपियाँ जरिवाना वा तीन महिनासम्मको जेल सजाय हुने व्यवस्था नयाँ कानुनले गरेको छ । छाउपडीलाई एक दशकअघि नै गैरकानुनी घोषणा गरिए तापनि सजायबारे केही स्पष्ट व्यवस्था गरिएको थिएन । पछिल्लो समय महिनावारीका बेला घरबाहिर  बस्दा सर्पले टोक्ने र ज्यानसम्मै जानेजस्ता घटना बढ्न थालेपछि स्पष्ट कानुनको मागले गति लिएको थियो । 

तर, महिला सांसदहरुबीच नै यस निर्णयलाई लिएर दुई मत देखिएको छ । एकथरीले सजायको डरले यस्तो ‘कुप्रथा’ कम हुँदै जाने बताएका छन् भने छाउपडी व्याप्त जिल्ला डोटीकी सांसदले जनचेतना नभईकन कानुन मात्रले समस्या हल नहुने बताएकी छन् । एसोसिएटेड प्रेसका लागि रोशन सेढाईंले लेखेका छन्, ‘महिलाहरु असुरक्षित हुने विभिन्न कुप्रथा निर्मूल पार्ने प्रयासका बीच यी कानुन आएका हुन् ।’

प्रकाशित: श्रावण ३०, २०७४