[झटारो] खानपानमा हामी लिप्त रहौँ

  • खानपान भन्ने चिजै यस्तै रहेछ । नखाऔँ भन्दा पनि खाऔँखाऔँ लाग्ने । खाँदै गएपछि होस हराउँदै जाने ।

- लक्ष्मण गाम्नागे

खानपान पर्वका लागि कुनै सिजन पर्खनु पर्दैन । यो वर्षैभरि चलिरहन्छ । यसपालि त झन् एकपछि अर्को गर्दै विशेष ठूलठूला खानपानका पर्वहरू मनाइयो । हजार, लाख, करोडका होइन, अर्ब–खर्बका खानपान । कर छुटको उपलक्ष्यमा भएको अर्बौंको खानपान पर्व, आयल निगमको जग्गा खरिदको उपलक्ष्यमा आयोजित बृहत् खानपान पर्व, साझा प्रकाशनको प्राङ्गणमा आयोजित भव्य खानपान पर्व । यस्तो हिंसात्मक र उद्दण्डतापूर्वक मनाइँदै छन्, यी खानपान पर्वका सहभागी पूरै मात्तिएका छन्, उत्तेजित छन् । खानपानको मातले उनीहरूलाई सार्वजनिक स्थानमा नाङ्गै तान्डव गरिरहेको पनि होस छैन ।

खानपान भन्ने चिजै यस्तै रहेछ । नखाऔँ भन्दा पनि खाऔँखाऔँ लाग्ने । खाँदै गएपछि होस हराउँदै जाने । जे भेट्टाए पनि खाने, जति भेट्टाए पनि खाने । खानपानका अगाडि आदर्श, सिद्धान्त, नैतिकता, मान, मर्यादा, लाज, घिन भन्ने चिजको मूल्य त रौँ बराबर पनि नहुने रहेछ । खानेकुरा देख्यो कि भित्रैदेखि जिब्रो रसाएर आउने । यसै–यसै मन चटारिएर, दिमाग बटारिएर आउने । नखाने भनी गरेका वाचा–बन्धन, किरिया–कसम पनि खाने कुराका अगाडि परेपछि उल्टिँदा रहेछन् । आफू पनि खान्नँ, अरूलाई पनि खान दिन्नँ भनेर मुठ्ठी कस्नेहरू नै भान्सामा चिप्लिएर गुल्टिँदा रहेछन् । 

हामी जो नखाई बसेका छौँ, नभेट्टाएर मात्रै नखाएका रहेछौँ । हाम्रो जन्म खानकै लागि मात्र भएको रहेछ । त्यसैले भन्न मन लाग्छ– खाऔँ साथी हो खाऔँ, यो देशलाई नै धूलो पारेर खाऔँ, कानुनको आँखामा फुलो पारेर खाऔँ, हाब्रो सकेसम्म ठूलो पारेर खाऔँ । सात पुस्तालाई मात्र होइन, सोह्र पुस्तालाई पुग्ने गरी खाऔँ । क्रान्तिकारी मुखुण्डोमा लुटपुटिएर खाऔँ, गेरु वस्त्रमा गुटमुटिएर खाऔँ । टाई कसेर खाऔँ, कन्दनी फुकालेर खाऔँ । दौरामा लुकाएर खाऔँ, लगौँटीमा सुकाएर खाऔँ । पार्टीको मजेत्रो ओढेर खाऔँ, तगाराहरू तोडेर खाऔँ । राजस्व मारेर खाऔँ, ढुकुटी दारेर खाऔँ । साउँ लुटेर खाऔँ, कर छुट गरेर खाऔँ । हिसाब हिनामिना गरेर खाऔँ, लिनादिना मिनाहा गरेर खाऔँ ।

नगरिदिनुपर्ने गरिदिएर खाऔँ, गरिदिनुपर्ने नगरिदिएर खाऔँ । दिउँसै रात पारेर खाऔँ, रातलाई दिन बनाएर खाऔँ । खाने खाडलहरू खनीखनी खाऔँ, खानु हुँदैन भनीभनी खाऔँ । नियम, कानुन र प्रमाणहरूका मुख सिलाएर खाऔँ । शौचालयदेखि मन्त्रालयसम्म, मदिरालयदेखि न्यायालयसम्म सेट मिलाएर खाऔँ । तलदेखि माथिसम्म सबैलाई मुछेर खाऔँ, ओभानो नखाऔँ । मुछेर खाँदा अड्किने डर हुँदैन, मुद्दा परे पनि रड्किने डर हँुदैन । त्यसैले एक्लै नखाऔँ ।

एकबारको जुनीमा एक न एक दिन हामी पनि पक्कै मर्छौं होला । मरेपछि खान पाइन्न होला, कात्रोमा बेरेर लान पनि पाइन्न होला । त्यसैले बाँचुन्जेल नै मर्ने गरी खाऔँ । थोरै नखाऔँ, बेस्सरी खाऔँ । हजार–लाख खाएर बदनामी नकमाऔँ, करोड–अर्ब खाएर मान बढाऔँ । समातिए पनि बदनाम नहुने गरी खाऔँ, थुनिए पनि नाम चल्ने गरी खाऔँ । यसरी मिलाएर खाऔँ कि खाएपछि छेर्नु नपरोस्, पछाडि फर्केर कहिल्यै हेर्नु नपरोस् । 

साथीहरू हो ! हाम्रो एउटा स्थायी राष्ट्रिय नारा नै बनाऔँ, ‘जति खाए पनि हामी अतृप्त होऔँ, खानपानमै हामी लिप्त रहौँ ।’

प्रकाशित: श्रावण २९, २०७४