नोटबुक

- रवि मानन्धर

कोमामा ‘कोक संकल्प’

प्रतिदिनजसो कोक पिउने मेरो बानीले परिवारका सदस्य हैरान थिए । बढ्दै गएको तौललाई नियमित मर्निङ वाक र हल्काफुल्का व्यायामले माथ दिन सकेको थिएन । चिनेजानेका चिकित्सक र घरपरिवारको पनि एउटै सल्लाह थियो, ‘कोक पिउनु भएन ।’ अति नै भएपछि १ वैशाख ०७३ बाट कोक पिउन छाड्ने निधो गरेँ । भनेपछि गरेरै छाड्ने बानी भएकाले मैले कोक छाड्नेमा घरपरिवार ढुक्क थिए । 

१ वैशाख आउन दुई दिन बाँकी थियो । हरेक वर्षझैँ म कार्यरत नेपालले वर्ष व्यक्ति ०७२ छान्यो, वर्षकै चर्चित डा गोविन्द केसीलाई । तस्बिरका लागि म र कुराकानीका लागि सहकर्मी राजकुमार बानियाँ खटियाैँ । 

शिक्षण अस्पताल, महाराजगन्जको एउटा कोठामा उनीसँगको कुराकानी निकै रोचक बन्दै थियो । म ध्यान दिएर उनको कुरा सुनिरहेको थिएँ । झन्डै दुई घन्टाको कुराकानीपछि राजकुमारले कुराको बिट मार्दै ‘तपार्इं खानामा केके रुचाउनुहुन्छ ?’ भनेर सोधे । डा केसीको कुरा सुनेर हामी अचम्ममा पर्‍यौँ । उनले भने, “यही नै चाहिन्छ भन्ने छैन तर दिनको एउटा कोक पिउँछु, कहिले भेज म:मसँग त कहिले कोक मात्रै पनि ।” 

मैले उनलाई सोधेँ, “कोक त पिउनु हुँदैन भन्छन्, होइन र ?” उनले भने, “एक बोतल कोकमा दिनभरिका लागि चाहिने क्यालोरी पाइन्छ, त्यसैले दौडधूप गर्नलाई यसले सहयोग पुर्‍याउँछ । ठिक्क खाए ओखती, धेरै खाए खति ।” यस कुराले सहकर्मी राजकुमार हैरान । म भने दंग । 

यसै विषयमा गफ गर्दै राजकुमारसँग छुट्टिएको केही बेरमा घर पुगेँ । परिवारसामु डा केसीको कोक प्रसंग सुनाउँदै कोक पिउन छाड्ने आफ्नो घोषणा फिर्ता लिएँ । अहिले पनि डा केसीको अनशन बस्ने क्रम रोकिएको छैन । सरकारले उनको माग पूरा नगरिदिएझैँ मैले पनि परिवारको माग पूरा गरेको छैन । अहिले पनि खाजा खाने बेला साथीहरु चिया वा कफी माग्छन्, मेरो मुखबाट भने एउटै आवाज निस्कन्छ– मलाई चिसो कोक । 

मुस्कान हराएको प्रहरी

कार्यालयबाट फर्कंदा रातको ११ बजेको हुँदो हो । डल्लु पुलछेउ प्रहरीको सुरक्षा जाँच रहेछ । बाटोमा उभिएका प्रहरीले रोक्न इसारा गरे । मैले मोटरसाइकलको ब्रेक लगाएँ । प्रहरी नजिक आएर सोधे, “कागजपत्र सबै ठीक छ होइन ?” “ठीक छ,” मैले भनेँ । उनले पछाडि रहेको ब्याग छामछुम गर्दै सोधे, “यसमा के छ ?” 

“क्यामरा छ,” मैले भनेँ । मेरो बोलीमा विश्वास लागेन क्यारे ! ब्याग खोल्न भने । मैले ब्यागको ढक्कन खोलँे । उनले हातले क्यामरा छाम्दै भने, “भिडियो हान्ने क्यामरा हो ?” मैले भनेँ, “होइन, फोटो खिच्ने क्यामरा हो ।’ उनले बुझेको जस्तो गरेर भने, ‘ए ए, फोटो हान्ने क्यामरा ।’ मलाई उनको बोलीको पारा अनौठो लाग्यो । भनेँ, “गाई–गोरु हो र हान्नलाई ? यसले फोटो खिच्छ, फोटो ।” अघिसम्म मुस्कानसहितको सेवा दिइरहेका उनै प्रहरीको अनुहारमा मेरो भनाइपछि मुस्कान हरायो । उनले कड्किँदै भने, “क्यामराको बिल छ ?” मलाई पनि झाँेक चल्यो । केही दूरीमा बन्दुक बोकेका प्रहरी थिए । बन्दुकतिर औँल्याउँदै भनेँ, “के तपाईंहरुसँग ऊ त्यो बन्दुकको बिल छ ?” उनी झन् क्रूद्ध भए, “हामी बन्दुक बोक्ने लाइसेन्स होल्डर हाँै । तपार्इं सोध्ने को ?” म पनि क्यामरा बोक्ने लाइसेन्स होल्डर हुँ भन्दै मैले पनि ज्याकेटभित्र रहेको आफू कार्यरत संस्थाको परिचयपत्र उनको हातमा थमाइदिएँ । उनले हेर्दै भने, “ए पत्रकार हो ? अघि नै भन्नुपर्दैन ?” मैले उनीसँग गलफत्तीमा अल्झिनुभन्दा उम्कनु बेस सम्झेँ । 

लौ न हेलो सरकार ! प्रहरीलाई मुस्कानसहितको सेवा त सिकायौ तर क्यामराले हान्ने होइन, खिच्ने हो भनेर कहिले सिकाउने ? 

पैसा फुस, चुनाव भूस

काम–विशेषले साथीसँग जिरी पुग्दा रातको ८ बजिसकेको थियो । भूकम्पले निकै प्रभाव पारेको ठाउँमा हामी भरसक नयाँ होटलमा बस्न चाहिरहेका थियाँै । आँखा डुलाउँदा दुई नयाँ होटलमा आँखा पुगे । एउटा थियो, झकिझकाउ पारस होटल र अर्को अलि अँध्यारो शेर्पा होटल । दुवैतिर कोठाको भाउ बुझ्याँै, भाउ पनि समान । शेर्पा होटलमा भाउ बुझ्ने क्रममा झन्डै ६५/७० वर्षका होटल साहूले भने, “अट्याच बाथरुम छ, टीभीचाहिँ छैन है ।” “टीभी किन छैन नि ?” मैले सोधँे । उनले भने, “छोरा चुनावमा उठेर ।” मेरो प्रश्नको बेमेल जवाफबाट मलाई लाग्यो, साहूजी मदिरामय मुडमा छन् वा उनले मेरो प्रश्न अर्कै सुने । मैले पनि उनको उत्तरलाई पछ्याउँदै पुन: सोधेँ, “चुनावमा जितेनन् त ?” 

उनले आफ्नो अनुहारमा आफँै लोप्पा खुवाउँदै भने, “इस् जित्यो नि ! सबै रुममा टीभी हाल्ने पैसा सकिगो नि !” त्यसपछि उनले छोटकरीमा कुरा सुनाए । उनको कुरा सुनेपछि हामीले टीभी नभए पनि उनै हारेका मेयर सा’पको होटलमा बस्ने निधो गर्‍यौँ । 

खाना खाने बेला तिनै हारेका मेयर गफिन आइपुगे । गफकै क्रममा हामीले सोध्याँै, “के छ जिरीको हालखबर, चुनाव के भो ? कसले जित्यो ?” उनले भने, “फटाहाले जित्यो ।” मैले केही थाहा नभएजस्तो गरेर सोधेँ, “तपाईं पनि उठ्नुभएको थियो र ?” “छैन” भनेर चुप लागेका उनले एकैछिन पछि भने, “जितेको भए पो उठेको भन्नू, हारेको के उठेको भन्नू ।” हामीले उनलाई सान्त्वना दिँदै भन्यौँ, “हारेर के भो र, चुनावमा उठ्नका लागि अभ्यास भो, अर्काेचोटि जितिहाल्नुहुन्छ नि !’ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले निराश हुँदै भने, “चुनाव जित्न टिकट पाएर मात्र हँुदैन रहेछ । तिकडम पनि गर्न जान्नुपर्ने रहेछ । त्यो जानिएन । पैसा फुस भो, चुनाव भूस भो ।” उनले अन्त्यमा दोहर्‍याई–तेहर्‍याई भने, “घिउजस्तो भोटेले कहिल्यै चुुनाव जित्दैन ।” सायद उनको भनाइको तात्पर्य ‘सोझो पाराले चुनाव जितिँदैन’ भन्ने थियो ! 

Follow Ravi Manandhar on Twitter: @ravimanandhar1 

प्रकाशित: श्रावण २९, २०७४