[फिल्म] सन्देश र मनोरञ्जनको ‘प्याकेज’

  • प्रेममा चर्पी ‘भिलियन’ बनेपछि कथामा रोचकता थपिदै जान्छ ।

- गोकर्ण गौतम

पत्याउन मुस्किल पर्छ तर यकिन आँकडा हो, ५४ प्रतिशत भारतीय परिवारमा शौचालय छैन । तर यसको कारण कमजोर आर्थिक अवस्था मात्र होइन । धर्मसँस्कृति जोगाउने नाममा खुला स्थानमा शौच गरिन्छ ग्रामीण भेगमा । यही कारण हुनुपर्छ, नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि ‘स्वच्छ भारत अभियान’लाई निकै प्राथमिकता दिइयो । यही अभियानलाई परोक्ष सघाउ पुग्ने विषयमा फिल्म नै बनेको छ, ट्वाइलेट : एक प्रेमकथा । अक्षयकुमार स्टारर यस फिल्मले चर्पी नभएकै कारण विवाहमा आइपरेको संकटलाई बडो व्यावहारिक ढंगले उठाइएको छ । पहिलो फिल्ममै निर्देशक श्रीनारायण सिंहले आफूलाई ‘काबिल‘ सावित गरेका छन् । तीन वर्षअगाडि एक १९ वर्षीया युवतीले शौचालय नभएकै कारण पतिको परिवारलाई उजुरी दिएको घटनामा आधारित छ यस फिल्म । 

उत्तरप्रदेशका केशव (अक्षयकुमार) का पिता कति रुढिवादी छन् भने मांगलिक भएकै कारण भैंसीसँग विवाह गरिदिन्छन् छोराको । त्यसपछि केशवको भेट हुन्छ, कलेज टपर जया (भूमी पेड्नेकर) सँग । उमेर ज्यादा र शिक्षा कम भए पनि जया बिवाहका लागि राजी हुन्छिन् तर सुहागरातको भोलिपल्टबाटै उनीहरूको सम्बन्धमा दरार आउँछ, किनभने घरमा शौचालय हुन्न । त्यस घरमा मात्र होइा, पूरा गाँउमै शौचालय छैन । चर्पी बनाउन खोज्दा ससुराले मरिगए दिंदैनन् । अब उनीसँग माइत जानुको विकल्प हुन्न । शौचालयकै कारण उनीहरूको सम्बन्धमा पूर्णविराम लाग्ला ? प्रेममा चर्पी ‘भिलियन’ बनेपछि कथामा रोचकता थपिदै जान्छ ।

हामी एकाइसौं शताब्दीको दोस्रो दशकको पनि अन्त्यतिर छौँ । नौलोनौलो वैज्ञानिक प्रगति भइरहेको जमानामा  शौचालयको केन्द्रमा घुमेको यस फिल्म सामान्य लाग्नु स्वभाविक हो । तर, यही सामान्य विषयलाई असामान्य र प्रभावकारी ढंगले पर्दामा बुनेका छन्, निर्देशक सिंहले । मध्यान्तरसम्म फिल्म सरल गतिमा अगाडि बढ्छ तर चारित्रीकरण र गहकिला संवाद मार्फत दर्शकको ध्यान  अन्त मोडिन्न । भैसीसँगको बिवाह, केशवको पिताको कुरीतिप्रतिको अन्धोपना, लोटा पार्टी (खुला ठाउँमा एकसाथ शौच गर्नु), पत्नीप्रतिको केशवको मायाजस्ता पक्षले फिल्मको वजन बढाएको छ । लेखकद्वय सिद्धार्थ सिंह र गरिमा वहलले धीमा तर विश्वसनीय शैलीमा शौचालयको महत्वबोध गराएका छन् । अप्रत्यक्ष रुपमा महिला सशक्तीकरणको विषयलाई पनि उठाइएको छ । 

साँच्चै भन्दा, मुख्य विषयमा  मध्यान्तरपछि मात्र प्रवेश गरिन्छ । त्यसअगाडि चर्पी नहुँदाका तमाम पीडालाई उजागर गरिएको छ, ग्रामीण जीवनशैलीकै छनक दिने गरी । दोष नागरिकको मात्र होइन, सरकारले शौचालय त बनाइदिएको छ, तर प्रयोगबारे सचेतना जगाउन सकेको छैन । सोही कारण शौचालय भनेर बनाइएको कोठालाई भण्डारदेखि गोठको रूपमा समेत प्रयोग गरिएको छ   । नेपालकै तराई भेगको पनि विडम्बना हो यो । त्यसैले कतिपय दृश्यमा त हाम्रै समाज प्रतिबिम्बिनझैँ लाग्छ । तर यो समस्यालाई सुगा रटाइभन्दा हँसिमजाकको लेपन दिनु निर्देशकको खुबी हो । अर्थात् फिल्मलक्षित वर्गकै भाषा र भोगाइ अनुरुपको छ । 

यस्ता विषयप्रधान फिल्ममा प्राय: कलात्मकताको अभाव हुन्छ, एकोहोरो सन्देश लाद्न खोजिन्छ । यो संक्रमणबाट पूर्णमूक्त छैन ट्वाइलेट : एक प्रेमकथा । अन्तिम १५ मिनेटमा निर्देशकको नियत मूर्त शैलीमा कथा भन्ने वा जर्बजस्ती शौचालय बनाउन बाध्य पार्ने हो ? खुट्याउन मुस्किल पर्छ । यहीँनिर  ‘स्वच्छ भारत अभियान’ कै प्रायोजनमा फिल्म बनाइएको हो कि भन्ने सन्देह पैदा हुन्छ । तर, केशव र जयाको तलाकवाला प्रसंगले फिल्मी साख जोगाएको छ । त्यस्तै, ३६ को स्वरुपमा केशवका पिता आधुनिक सोचमा अग्रसर भएको पत्यार लाग्दैन । तर, यी सब कमजोरीलाई फिल्मको केन्द्रीय विषय र रसिलो प्रस्तुतिले छोपेको छ । 

एयरलिफ्ट र रुस्तमपछि अक्षयकुमारले फेरि एकपटक गम्भीर शैलीका फिल्ममा पनि आफू उत्तिकै फिट रहेको प्रमाणित गरेका छन् । उनको चरित्रसँग दर्शक पूरापूर ‘इन्गेज’ हुन्छन् । यो उनको करिअरकै सम्झनलायक फिल्ममा दरिनेछ । दम लगाके हैसामा मोटी युवतीको भूमिकाबाट वाहवाही कमाएकी भूमिको साख यो फिल्मले अझ माथि उकास्छ । हुलिया, भावभंगिमादेखि संवादमा समेत सफल छन् उनी । अनुपम खेर अर्का प्रिय चरित्र हुन् । ‘हाँस मत पग्ली...’, ‘ट्वाइलेटका जुगाड...’ जस्ता गीतले फिल्मको ‘न्यारेटिभ’ सशक्त बनाएको छ । 

मनोरञ्जन र सन्देशको गतिलो खुराक भएकाले ट्वाइलेट : एक प्रेमकथा हेर्दा अढाइ घन्टा बितेको पत्तै पाइन्न । अक्षयकुमारका फ्यानले त झन् छुटाउनै नहुने फिल्म हो यो ।

प्रकाशित: श्रावण २७, २०७४