[अनुभूति] लेखकको पनि मुख हुन्छ !

  • साहित्य समाजको प्रतिविम्ब हो भने र साहित्यकार भविष्यका द्रष्टा हुन्, पथप्रदर्शक हुन् र संस्कृतिका प्रणेता हुन् भने ले खनबापत उचित पारिश्रमिकको व्यवस्था राष्ट्रले नै गर्नुपर्छ ।

- तारानाथ शर्मा

‘सबैजसो प्रतिष्ठित निबन्धकारहरूका रचना संकलित भइसकेका छन् । तपार्इंको पनि एउटा निबन्ध चाहियो,’ मलाई अनुरोध गरिन्छ ।

‘पारिश्रमिक कति पाइन्छ नि ?’ म सोध्ने साहस गर्न थालेको छु ।

‘नेपाली भाषा र साहित्यको सेवा गर्छु भन्ने तपाईंजस्ता प्रसिद्ध लेखकले पनि पैसाको आशा गर्न सुहाउँछ ?’ म उल्टो उत्तर पाउँछु ।

‘अहिले म शब्दकोशमा लागेको छु, मलाई फुर्सद छैन निबन्ध लेख्ने,’ म पन्छिन खोज्छु ।
‘ल, तपाईंको निबन्ध नभई त हुँदै हुँदैन । तपाईंले पनि लेख नदिने हो भने नेपाली भाषाको पत्रिका निकाल्ने नै किन ? तपाईं नाइँ भन्न पाउनुहुन्न,’ घोषणा हुन्छ ।

तारानाथ अब साहित्यलाई पनि व्यापार बनाउन लागेको छ भनेर होहल्ला पिटिन्छ । तर, तारानाथको मात्र होइन, हरेक लेखकको खाने मुख हुन्छ भन्ने यथार्थताप्रति भने पूरै आँखा चिम्लिइन्छ ।

वकिलले मद्दाको व्याख्या वा बहस गरेबापत शुल्क पाउँछ, डाक्टरले रोगीको छाती छामेबापत पारिश्रमिक पाउँछ र त्यसरी नै लेखकले पनि लेख लेखेबापत केही ज्याला किन नपाउनू ? त्यति मात्र होइन, पत्रिकामा छापिने अक्षरहरू सजाउने ‘कम्पोजिटर’, छाप्ने ज्यामी र ‘प्रुफ’ संशोधन गर्ने श्रमिकले उचित मूल्य नपाई काम गर्दैन भने लेखकले मात्रै किन प्रतिभा र परिश्रमको पैसा नपाउनू ?

हो, यता आएर केही पत्रपत्रिकाले लेखकलाई पनि पारिश्रमिकले सम्मान गर्न थालेका छन् । केही पुरस्कारहरू पनि लेखनलाई भनेर छुट्याइन थालेका छन् । यसो भए तापनि बौद्धिक समाजमा जति आर्थिक सम्मान लेखकहरूले पाउनुपर्ने हो, त्यति तिनले पाएका छैनन् ।

पारिश्रमिकको कुरो उक्काउँदा मलाई साझा प्रकाशनको उदाहरण दिन मन लाग्छ । मेरा प्रशस्त पुस्तक त्यस प्रकाशनले अनेकौँ संस्करण छापेको थियो । सात वर्षको अमेरिकावासपछि ती पुस्तकको पारिश्रमिक लिन जाँदा म तीनछक पर्नुपरेको थियो । 

नेपालमा मात्र होइन, भारतका दार्जीलिङ र अरू ठाउँका समेत पाठ्यपुस्तकका रूपमा वर्षौं स्वीकृत र प्रचलित ती पुस्तकको लेखकस्व पुग नपुग ६ हजार रुपियाँ मात्र मैले सात वर्षसम्ममा जम्मा भएको पाएँ ∕ यसरी वर्षको एक हजार रुपियाँ पनि यस लेखकले पाउन सकेन । 

यसै सन्दर्भमा मेरो बराबर त्यस्ता साहित्यकार र पाठ्यपुस्तक लेखकहरूसित साक्षात्कार हुन्छ, जसले लेखेरै घर बनाएका छन्, भवन ठड्याएका छन् र कार किनेर चढेका छन् । यस्तो कौशल लेखनको नभएर चाकरीको हुनुपर्छ, बाङ्गा हातको हुनुपर्छ, चिप्ल्याइँको हुनुपर्छ । जहाँ इमानको ढाड भाँचिन्छ, प्रतिभाको उछित्तो काढिन्छ र मौलिकतामाथि बन्चरो बजारिन्छ, त्यहाँ लेखन फस्टाउँदैन, साहित्य उँभो लाग्दैन र बौद्धिकता जगमगाउँदैन । जहाँ शठताले नैतिकताको वक्तृता दिन्छ, गुरु–परम्पराको हठवादिताले साहित्यलाई कँज्याउँछ र गाईजात्राले कविता र नाटकलाई नेतृत्व दिन्छ, त्यहाँ स्वतन्त्र लेखकको छाती उढ्नु, कविको मन मर्नु र उपन्यासकार उदासीन हुनु अस्वाभाविक होइन ।

त्यसो भएर पनि जब हामी बोरिस पास्तर्नाक र अलेक्जान्दर सोल्झेनित्सिनजस्ता उपन्यासकारहरूलाई फलामे पर्दाभित्रै कुँजिएर र कुच्रिएर पनि विश्वलाई अमर कृतिहरू दिन सफल भएका देख्छौँ, हाम्रा हृदयमा आशा र उत्साहको अदम्य दियो अनन्तसम्म टिम्टिमाइरहन्छ । नेपालमै पनि बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमाल ००७ सालअघिको निरंकुश स्थितिमा समेत प्रज्ज्वल भएर चम्किएका थिए । 

००७ सालले फुक्का गरेपछि पनि धेरै चम्किला तारा नेपाली साहित्यको आकाशमा उदाए तर तिनले उचित पारिश्रमिक कहिल्यै पाएनन्, पुरस्कारहरू पाएनन् र भौतिक जीवनका सुख–सुविधा पाएनन् । तिनलाई नून–तेलको समस्याले र परिवारको पेट पाल्ने पीडाले सधैँ पोलिरह्यो, पोलिरह्यो । हो, बर्लिनको पर्खाल भत्किसकेको छ र संकीर्णता तथा भ्रष्टताका भवनहरू पनि धमाधम भत्कने छन् तर नेपाली साहित्यकारहरूको दैनिक समस्या भने सुरसा भएर मुख बाएको बाएकै छ ।

हिजोसम्म शारीरिक श्रम पनि ढंगसित गर्न नसकेर पेट पाल्न धौधौ पर्ने छिमेकी जब आज धमर्धुस जीउ सुकसुकाउँदो कारभित्र ढसमस्स पार्दै झिक्रैझिक्राले आकाश सिँगारिएको पाँचतले झिलिमिली भवनबाट सुलुल्ल चिप्लँदै निस्कन्छ, मेरो मन आतेसले भरिन्छ र मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि हप्काउन मन लाग्छ किनभने उनले कुन सुरमा यस्तो अव्यावहारिक श्लोक कथेका थिए त ?
गरिब भन्छौँ सुखको मझैँ धनी
मिल्दैन संसारभरि कतै पनि !

 
अथवा
हातका मैला सुनका थैला के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले !

देवकोटाको पनि मुख थियो । उनको पनि परिवार थियो । उनलाई पैसाको अभाव थियो र उनले धनकै अभावमा अकालै मर्नुपर्‍यो भन्ने कुरो अब इतिहास नै भइसकेको छ । चाहे गोपालप्रसाद रिमाल हुन्, चाहे अगमसिंह गिरी हुन् वा चाहे अच्छा राई ‘रसिक’ हुन्, पैसाकै अभावमा उचित उपचार हुन नसकी मृत्युको मुखमा पस्न पुगे । भूपी शेरचन, हरिभक्त कटुवाल र जीवन आचार्यजस्ता कति प्रतिभाको अकाल मृत्युको कारण नै यही आर्थिक अभाव हो । 

प्रतिभाले प्रतिष्ठा पाएन, प्रेरणा पाएन र पैसा पाएन भने पूर्वाग्रहपीडित पर्खालहरू भत्काएर पनि वातावरणको सिर्जना गर्नुपर्ने परम आवश्यकता पर्छ । साहित्य समाजको प्रतिविम्ब हो भने र साहित्यकार भविष्यका द्रष्टा हुन्, पथप्रदर्शक हुन् र संस्कृतिका प्रणेता हुन् भने लेखनबापत उचित पारिश्रमिकको व्यवस्था राष्ट्रले नै गर्नुपर्छ । राष्ट्रिय बौद्धिकताका सम्बद्र्धन र प्रतिनिधित्वको पूर्ण उत्तरदायित्व लिने साहित्यकारहरूप्रतिको लगानीबाट नै मुलुकका स्तरीयताको नापो गरिन्छ भन्ने तथ्यप्रति आँखा चिम्लने शब्दहरू नै लेखकको पनि मुख हुन्छ भन्ने स्वीकार गर्दैनन् !
 
यसरी लेखक जनचेतना संवाहक हुनाले राजनीतिप्रति पनि उसको राम्रो चाख पाइन्छ । यसको कारण के हो भने सभ्य समाज राजनीति र अनेकौँ सामाजिक संगठनहरूद्वारा सञ्चालित हुन्छ । साहित्य हुन पनि विराट् परिवेशमा फैलिएको हुन्छ, जसभित्र राजनीति, अर्थनीति, सामाजिकता, इतिहास र जातीय सांस्कृतिकता सबै पक्षहरू पर्छन् । सभ्य समाज राजनीति र अनेकौँ संगठनहरूका सहायताले मानवप्रतिको अभियानमा निरन्तर संलग्न हुन्छ । सामूहिक हितका भावनाबिना व्यक्तिगत स्वतन्त्रता र सभ्य अस्तित्वको कल्पना गर्न पनि सकिँदैन । त्यसो हुनाले सामाजिकता र मानव सभ्यतासित अनिवार्य रूपमा गाँसिएको राजनीति पनि साहित्यभित्र पर्न सक्दैन भन्नु तार्किकता र वैज्ञानिकतादेखि बाहिरको कुरो हो । 

हो, राजनीति र साहित्यको सम्बन्ध हुन्छ तर साहित्यलाई बाटो देखाउने कार्य राजनीतिको होइन किनभने साहित्यको उद्देश्यले राष्ट्रिय सीमा र समयको बन्धनलाई फड्केको हुन्छ । तर, यता केही साहित्यिक संगठनहरूले लेखकका हित, मर्यादा र अधिकारका विषयमा राजनीतिका सहयोगले होहल्ला गरिरहेका छन् । यसो गर्दा उनीहरू समस्त जनहित, गौरव र मर्यादालाई वास्ता नगरी सीमित दलीय स्वार्थपट्टि ढल्किएर कार्य गरिरहेका देख्दा मेरो छाती चरक्क चर्किन्छ । हाम्रा पृथ्वीनारायण शाहले कति रमाइलोसित हृदयभित्रैदखिको स्नेह छर्लंग पार्दै भनेका थिए, ‘हाम्रो नेपाल सबै जातको फूलबारी हो !’ हो त, हामी सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरू हौँ र हाम्रो प्यारो राष्ट्र सबैको घर हो !

हामी लेखकहरूले कसैको स्वार्थमा काम गर्ने हो भने ती सम्पुूर्ण सर्वसाधारण जनता हुनुपर्छ र तिनकै हितमा लेख्नु नै हाम्रो महान् कर्तव्य हो । कुनै राजनीतिक समूह, कुनै व्यापारिक संघ र कुनै प्रशासनिक संस्थानका निर्देशनमा राष्ट्रको विकास हुन सक्छ भनी अरू समूह, संघ र संस्थानको उछित्तो हुने निकृष्ट कार्य हुन्छ र त्यस्तो स्वार्थी कृत्य इमानदार लेखकबाट हुनु हुँदैन र हुदैन पनि । देशभक्त लेखक जनताको हृदय हो, मुटु हो र उसले आफ्नो पेट पाल्न त्यस्ता तत्त्वहरूको संसर्गबाट आफूलाई सधैँ बचाउँछ, टाढै राख्छ । त्यसको अर्थ हो मुख छ भन्दैमा मुलुक भाँड्ने व्यक्ति सफल लेखक हुनै सक्दैनन् । बरू, भोकै बस्नु बेस हो, मुखैको स्वार्थमा बग्नु निकृष्टता हो । त्यही हार्दिक सिद्धान्तलाई मुटुमा, मनमा र मस्तिष्कमा राखेर म कलम चलाउँदै आएको छु र हाम्रा प्यारा पशुपतिनाथ बाबासँग सधैँ प्रार्थना छ– म लेख्छु र लेखेरै मर्ने छु तर पेट भर्नलाई म जनताको विपक्षमा पेट भर्ने कृत्यमा कहिल्यै पनि फस्ने छैन !

प्रकाशित: श्रावण २५, २०७४