ढाकरभित्रको सुन्दरता

  • कवितामा भरियाको जीवनवृत्ति र भोगाइको सम्पूर्ण भूगोल अटाएको छ ।

- रमण घिमिरे

भरियाले भारी बोक्छ कि भारीसँगसँगै आफ्नो जिन्दगीको बोझ पनि बोक्छ ? भरियाले ढाकरमा भारी बोकेर एक ठाउँबाट अर्को ठाउँको भूगोल मात्र पार गर्छ कि स्वयं आफ्नो गन्तव्य पनि भेट्छ ? यीलगायत प्रश्नहरूको सटीक उत्तर दिनेश अधिकारीको काव्यसंग्रह भरियाको भूगोलले दिने प्रयत्न गरेको छ । सोझो अर्थमा कविताले सम्बोधन गरेको भरिया भारी बोक्ने परम्परित भरिया नै हो तर लाक्षणिक अर्थ खोतल्दा देशको जिम्मेवारी बोक्ने सरकार, विभिन्न पेसाका अधिकारकर्मीहरूको कुरा पनि चुस्सचुस्स आउँछन् । 

यी दुईमा फरक के भने साँचो भरियाले विभिन्न भूगोल नाप्दै सक्कली भारी नै बोकिरहेको छ तर अरू कथित भरियाहरूले जिम्मेवारीको भारी बोकेको मात्र आडम्बर गरिरहेछन् । हो, जसरी भारी बोक्ने भरियालाई कुन बाटोमा कति जंघार गर्नुपर्छ, कति कुइनेटा र गल्छेँडाहरू पार गरेपछि गन्तव्यमा पुगिन्छ भन्ने एकएक कुराको ज्ञात हुन्छ र उनीहरू त्यो गन्तव्यमा पुग्ने बाटो मात्र हिँड्छन् । तर, अर्का प्रवृत्तिका भरियाहरू आफ्नो गन्तव्यमा पुग्ने बाटा, गल्ली र मोडहरूको हेक्का हुँदाहुँदै पनि छड्के बाटो हिँडिदिन्छन् र जिम्मेवारीको भारी साहू (जनता)को हातमा पुग्नुअघि नै चुक्छन् । 

भरियाको भूगोलको यो राजनीतिक पाटो मात्र हो र काव्यमा यसले थोरै ठाउँ पाएको छ । मूल कुरा त भरियाको नियति नै हो । १२ अध्यायमा बुनिएको यो काव्य भरियाको यात्राको आरम्भ बिन्दुको सुखद वर्णनबाट सुरु हुन्छ र एउटा भरियाको दुखान्त कथामा पुगेर अन्त्य हुन्छ । एउटा त्रासदीपूर्ण नाटकको पटाक्षेप भएजस्तो या एउटा यात्राले उचाइमा टेक्नुअघि नै विराम लाएजस्तो भरियाको जिन्दगी पनि अनिश्चयको कहालीलाग्दो बाटोमा यात्रारत छ । भरिया भारीमा रमाउँछ, उसलाई कुनै भारी बोझ हुँदैन । ओरालीमा पिँडुला बाँउडिऊन् कि उकालीमा सासले साथ छोड्न खोजेजस्तो गरोस्, ऊ हर्दैन यात्रामा । ऊ एउटा निश्चित गन्तव्यमा पुगेर मात्र यात्रा बिसाउँछ । त्यो पनि क्षणिकतामा ।

कविले भरियाको भूगोलमा भरियाको निष्ठा र जिम्मेवारीका आलोकमा सामान्य व्यवसाय गरेर बाँचेका नागरिकले पालना गरेको कर्तव्यलाई पनि वर्णन गरेका छन् । यस वर्गको दर्शन भनेकै मिहिनेत र इमानदारी हो । अनि, कविको भरियाप्रतिका दर्शन भने एउटा भरियाको वास्तविक घर त बाटो नै हो, छानो भएको तर कहिलेकाहीँ मात्र पुगिने वास्तविक घर त उसको पाहुनाघर हो । 

महत्त्वाकांक्षाहीन, सपनारहित अनि भविष्यप्रतिको कल्पनाविहीन यी भरियालाई कविले उड्दो चरोका रूपमा व्याख्या गरेका छन् । भुर्र उडेपछि कुन डालीमा पुगिने हो, कुन जातको रूखमा ओत लाग्नुपर्ने हो ? चरोलाई कुनै सुर्ता र उसको कुनै योजना पनि हुँदैन । भरिया त्यही उड्दो चरो हो, उसको उडानको अवतरण निश्चित हुँदैन । 

‘भीरका बाटाहरू’, ‘बाटो र जीवन’, ‘भोक र भतेर’, ‘कुराको भार– कुरैको टेको’, ‘सराप्दै मान्नुपर्ने देउताहरू’, ‘एउटा अर्को जिन्दगी’, ‘गाउँखाने कथा र देश’, ‘चुपचाप समय र लुटेरा आँखाहरू’, ‘फेरिने भाखा र नफेरिने बह’, ‘हिमाल ! टोपी फुकाल !’, ‘देश खोज्दै’ र ‘जिन्दगी : कुराको दुनाटपरी’ गरी १२ वटा शीर्षकमा बुनिएको भरियाको भूगोलमा भरियाको यथार्थ गाथा प्रस्तुतिको साकार स्वरूपमा जीवन्त अभिव्यक्ति भएर पोखिएको छ पानाभरि । पाठकलाई कविताको जुन व्याकुल तिर्खा लाग्छ, यस्ता व्याकुल पाठकलाई भरियाले धित मर्ने गरी तिर्सना मेटाइदिन्छ । 

विषयवस्तु र प्रस्तुति दुवैले भरियाको भूगोललाई उम्दा र पठनीय बनाएका छन् । हुन त दिनेश अधिकारी कवितामा विम्ब र प्रतीकका माहिर खेलाडी मानिन्छन्, त्यसैले यस प्रसंगमा उनको चर्चा नगर्दा पनि हुने हो । तर, यस काव्यले उनलाई आफ्ना अघिल्ला शैलीबाट अझ परिष्कृत गराएर नौलो तर चोटिलो धारामा प्रवाहित गराएको छ । ‘सराप्दै मान्नुपर्ने देउताहरू’ यसको एउटा बेजोड नमुना हो । भनिन्छ नि ‘जहाँ सूर्य पुग्न सक्तैन, त्यहाँ कवि पुग्छ ।’ हो, यो काव्यमार्फत अधिकारीले भरियाका त्यस्ता पाटाहरूलाई उधिनेका छन्, जुन पाटामा अनादिदेखि प्रकाशको आगमन भएको छैन । साहू भरियाका देउता हुन्, यिनले भारी बोकाएनन् भने भरियाको गाँस सकिन्छ । त्यसैले यिनीहरू साहूले अति गर्दा तिनका विरुद्ध न हडताल गर्न सक्छन् र मागपत्र दिएर ‘अल्टिमेटम’ दिन सक्छन् । त्यसैले यिनलाई सराप्दै पनि यिनको भारी बोक्न बाध्य छ, भरिया । अधिकारीको कविताको हरफले भन्छ ‘मेरपछि मात्र पेटको उपनिवेशबाट मुक्त हुन्छ’ भरिया ।

कवितामा भरियाको जीवनवृत्ति र भोगाइको सम्पूर्ण भूगोल अटाएको छ । यहाँ बाटामा आउने लुटेराको कथा छ, बाटामै भेटिने प्रेमिकासँगको क्षणिक प्रणयको व्यथा छ । यहाँ चरेस र गाँजासम्म बोक्नुपर्ने विवशताको पाटो छ, देश र राज्यले ठगेका निरीहहरूको लाचारी छ । भावनामा बग्दाबग्दै कवि एक ठाउँमा मार्मिक बन्न पुग्छन् र देशलाई महिनावारी भएकी महिलाको बग्ने रगतसँग तुलना गर्न पुग्छन् । तर, समग्रमा भरियाको सिलसिलेवार जीवन–यात्राको एउटा रोचक काव्यकथाजस्तो भएको छ, भरियाको भूगोल । भरियाको कथामा जति नै दु:ख अभिव्यक्त भए पनि कविता आफैँले भने भरियाले बोक्ने थुन्सेभित्रको जीवनको सुन्दर वर्णन गरेका छन् । 

 

भरियाको भूगोल

लेखक : दिनेश अधिकारी 

प्रकाशक : नेपालय

पृष्ठ : १०९

मूल्य : २४५ रुपियाँ

प्रकाशित: श्रावण २४, २०७४