हाइकु – हाईहाई !

  • नेपाली हाइकु भण्डारमा यी तीन जनाको यो संग्रह उदाहरणीय सम्पत्तिका रूपमा भित्रिएको छ ।

- मुरारि पराजुली

नेपाली साहित्यमा ०१९ देखि देखापरेको हाइकु विधा बिस्तारै विस्तारित हुँदै छ । यसै यात्रामा देखापरेको छ, तीन स्रष्टाको संयुक्त हाइकुसंग्रह खडेरीका फूलहरू । स्रष्टाहरू हुनुहुन्छ– डीबी पुन, खगेन्द्र बस्याल र हृदय लेकाली । 

खडेरीका फूलहरू हाइकु संग्रहमा प्रत्येक हाइकुकारका १६० का दरले जम्माजम्मी ४८० हाइकु संगृहीत छन् । विषयका दृष्टिले यी तीनै स्रष्टाका रचनामा नेपाली राजनीतिमा देखापरेका असंगतिमाथि तीव्र असन्तुष्टि र विरोधको स्वर पाइन्छ भने राजनीतिलाई विकृत पार्ने नेताहरूमाथि व्यंग्यवाण चलाएको देखिन्छ । सामाजिक अव्यवस्था, असमान, अप्राकृतिक र असन्तुलित आर्थिक अवस्था एवं सांस्कृतिक विचलनले हाइकुकारहरू मर्माहत छन् । स्रष्टाहरूले देशप्रतिको अगाध भक्ति, मानवताप्रतिको ऐक्यबद्धता, छिमेकी मुलुकबाट हुने अतिक्रमणप्रति आक्रोश पोखेका छन् । प्राकृतिक विपद्का अगाडि मानिसको निरीहता, मानवीय स्वार्थ र कमजोरीको उपहास, स्रष्टाहरूकै वैयक्तिक अनुभूतिप्रेषणको लालसा, तात्क्षणिक प्रसंगको उत्तेजना आदिलाई यस संग्रहमा भावका रूपमा प्रस्तुत गरेका छन् । 

हाइकुकारहरू राष्ट्रिय भावनाले ओतप्रोत छन् र देशको विशिष्टतामा गर्व गर्दै यसमाथिको वैदेशिक हस्तक्षेप र हेपाहा प्रवृत्तिमाथि आक्रोश ओकलेका छन् । यी हाइकुहरूमा समयचेत छ । केही हदसम्म रुमानी कल्पनाको उडान र भावावेशको डुबुल्की भेटिए पनि मूलस्वरका रूपमा यिनमा प्रगतिशील चेत पाइन्छ । उडन्ते भावुकताभन्दा आफूले बाँचिरहेको परिवेशलाई यथार्थवादी ढंगले चित्रण गर्ने कौशल यी हाइकुकारहरूमा पाइन्छ । 

समीक्ष्य पुस्तकका हाइकुहरूमा सकारात्मक सामाजिक परिवर्तनको चाहना, राजनीतिभित्र नैतिकता र मुलुक समृद्ध तुल्याउने समर्पण, राष्ट्रवाद एवं मानवतावादको वैचारिक स्वर मुखर भएको देखिन्छ ।
डीबी पुन नेपालका अब्बल दर्जाका हाइकुकार हुन् । उनका हाइकुमा विषयक्षेपणको सरल प्रेषण अनि औत्सुक्यको चरम उठान र अन्तमा औत्सुक्यको अप्रत्याशित भेदन वा शमन पाइन्छ । क्रमिकताको कुशलतापूर्ण व्यवस्थापनले मात्रै हाइकु हाईहाई हुनसक्छ । यस कलामा डीबी पुन अकबरी सुनझैँ खारिएका छन् ।

खगेन्द्र बस्याल नेपाली हाइकुमा लय भरेर काव्यप्राण प्रतिस्थापन गरिरहेका हाइकुकार हुन् । यिनी अक्सर आफ्ना हाइकुमा शब्दको यान्त्रिक सम्मिलन गर्नेभन्दा अनुप्रासीय चमत्कारको प्रयोगले साँच्चै काव्यात्मक बनाउन क्रियाशील साधक हुन् । कथ्यविषयका दृष्टिले यिनी झिनामसिना वा तात्क्षणिक घटनामा पनि हाइकुलाई पक्रने दुवाली थापिरहेका भेटिन्छन् ।

हृदय लेकाली पनि सूक्ष्मतामा गहनताका निम्ति घोत्लिरहने सर्जक हुन् । यिनी हतारो गर्नुभन्दा लामो परीक्षण र साधनाले भावको सुन्दर चित्रण गर्न रुचाउँछन् । यिनमा औत्सुक्य र बैठानको शिल्प उत्तरोत्तर आरोहणशील रहेको अनुभव गर्न सकिन्छ ।

जापानमा अत्यन्त लोकप्रिय रहेको हाइकु नेपालीमा आइपुग्दा अलि कृत्रिम कविताजस्तो लाग्छ । कवितालाई चिनाउने मूल तत्व भनेको लय नै हो तर नेपालीमा लेखिएका अधिकांश हाइकुमा लयको झुन्झुन पाइँदैन । अक्षरको गणनामा घोत्लिएका हाम्रा हाइकुकारले यसको लय व्यवस्थापनमा खासै ध्यान दिएको देखिँदैन । तीन पंक्तिको हुनाले यसमा लयको व्यवस्थापन हुन नसकेको भनूँ भने हाम्रा त्रिपदीय भईकन पनि रोइलाजस्ता लयपूर्ण, लालित्यपूर्ण, भावपूर्ण र कथ्यपूर्ण गीत दुनियाँमा कहाँ भेटिएलान् र, तर त्यही त्रिपदीय हाइकुले लयको एक फाँकी झोक्का पनि उन्मेष गर्न नसकेको देखिन्छ ।

बाह्य लय खोज्नका लागि वार्णिक, मात्रिक वा आक्षरिक पुनरावृत्ति हुनैपर्दछ । बाह्यलय अन्तर्गतका वार्णिक, मात्रिक वा आक्षरिक आवृत्तिको भनौँ वा छन्दको खोजी नभएकाले नेपाली हाइकुले लयलाई त्यति विघ्न पक्रन नसकेको हो कि भन्ने लाग्छ । होइन, आन्तरिक लय खोज्ने हो भने पनि त्यसमा छ/सात हरफले फेरो मारेको हुनुपर्छ र त्यहाँ वर्णहरूको आवृत्तिजन्य व्यवस्थापन एवं अनुप्रासीय चमत्कार हुनैपर्दछ । तर नेपाली भाषिक विशिष्टतामा रहेको तीन हरफे हाइकुमा गद्यमुक्तकमा जत्तिको चलखेल गर्ने औसर नजुरेकाले होला कि आन्तरिक लयको पनि कौशल खासै भेटिएको छैन । तथापि यस संग्रहका हाइकुकारहरू वर्णगत आवृत्ति वा अनुप्रासीय गठनमा केही मात्रामा भए पनि लागिरहेकाले भविष्यमा लयमधुर हाइकुको योगदान हुने आशा गर्न सकिन्छ । नेपाली हाइकु भण्डारमा यी तीन जनाको यो संग्रह उदाहरणीय सम्पत्तिका रूपमा भित्रिएको छ । 
 

खडेरीका फूलहरू
विधा : हाइकु 
लेखक : डीबी पुन, खगेन्द्र बस्याल र हृदय लेकाली
प्रकाशक : सीता पुन, रेनुका बस्याल र सरस्वती बस्नेत
पृष्ठ : १३६
मूल्य : १०० रुपियाँ
प्रकाशित: श्रावण २४, २०७४