अस्तित्वका लागि विद्रोह

  • पुस्तकले हाम्रो द्विपक्षीय सामाजिक संरचनालाई आख्यानात्मक उल्था गर्न पनि खोजेको छ ।

- सरोज जीसी

आधुनिक मान्छेको सबैभन्दा ठूलो सम्पत्ति परिचय, पहिचान र अस्तित्व हो । जब मानिसले आफूभित्रको ‘म’ र ‘म’को मागलाई चिन्छ, अरू कुरा गौण र तपसिल हुन्छन् । नर्वेजियन नाटककार हेनरी इब्सेनको चर्चित नाटक अ डल्स हाउस (सन् १८७९) की नायिकाले जब आफ्नो अस्तित्व पहिचान गरिन्, लोग्नेको घरको ढोका ढप्काएर बाहिर निस्किन् । हरिमाया भेटवालको उपन्यास कल्लीले पनि आफ्नो अन्तस्करणमा यस्तै राजनीतिक चेतनालाई बोकेको छ ।

समाजमा यो चेतनाको वृद्धि र विकास हुन नदिन धेरै स्वरूपका संरचना निर्मित छन् । अर्थात्, महिलालाई वर्जित गर्ने, हेप्ने र खेदो खन्नका लागि समाजमा अनेक रूप छन् : बोक्सी, सामन्ती वर्ग, लोग्ने आदि । भेटवालको उपन्यासले यस्तै लैंगिक विभेद, रुढिवादी परम्परा, बालविवाह र बाल यौन शोषणजस्ता सामाजिक विचलनका महत्त्वपूर्ण मुद्दालाई उजागर गरेको छ । सामाजिक यथार्थवादी साहित्यमा प्राय: दोहोरिने परम्परागत यी विषयवस्तुले कल्लीमा भने आधुनिक मुद्दाको उठान गरेका छन् : परिचय र अस्तित्वसँगै जोडिन्छ राजनीतिक चेतना । शीर्ष पात्रको मानसिक, सामाजिक र राजनीतिक चेतना वृद्धि नै उपन्यासको सबल पक्ष हो ।


उपन्यासले एउटै समाजको करिब दुई पुस्तालाई समेटेको छ । दुवै पुस्तामा नारी अस्तित्व चपेटामा छ । पहिलो पुस्तामा उपन्यासकारले पितृसत्तात्मक विचारधाराको शान्त शासनको प्रभाव र मनोवृत्तिलाई पात्र सोमे, लक्षिमा, मनमाया र किस्नेद्वारा प्रकाश पारेकी छन् । यो बढी टड्कारो रूपमा सोमेको छोरा मोहबाट स्पष्ट देखिन्छ । सन्तानका रूपमा छोरा हुनु सामाजिक प्रतिष्ठाको विषय बन्छ र अनेक रुढिवादी अपहेलनाबाट मुक्ति । ‘डाँडा कटाउने जात’प्रतिको वितृष्णाले मातृत्वको अस्तित्वलाई पनि सखाप पारेको छ । लाहुरेबाको शान्त शासनले श्रीमतीदेखि सम्पूर्ण गाउँलाई अधीनमा राखेको छ ।

सिंगो समाज नै नारीविपरीत देखिन्छ । पुस्तकको दोस्रो भागले सम्पूर्ण जायजेथा अडाना राखेर वैदेशिक रोजगारमा गएका र त्यसबाट परिवार वा समाज मात्र होइन, एउटा नारीलाई पर्ने सामाजिक र नैतिक आपत्को सजीव चित्रण गरेको छ । अज्ञान, सामाजिक र पारिवारिक दबाबका कारणले कल्लीले पुरुष प्रधान समाजको दमनलाई नकार्न सक्दिन । तर, ऊ एक विकासशील पात्र हो, अनेक हन्डर खाँदै र समस्यालाई झेल्दै विकास हुने । कल्लीले आफ्नो लोग्नेको गाउँको ढोका नै ढप्काई, जब उसले आफ्नो अस्तित्वलाई पहिचान गरी । मान्छे मारेको अभियोगमा विदेशी जेलमा परेपछि उसलाई छुटाउन गरेको संघर्षलाई लैंगिक दृष्टिले श्रेष्ठ ठान्ने डिल्लुको पुरुष अहम्लाई लत्याएर हिँड्छे, कल्ली ।

उपन्यासमा पितृसत्ताको कठोर र चर्को विरोध केही छैन । वर्णित दु:ख र अन्याय एकातिर आफैँमा आलोचनात्मक बलियो तर्क हो भने अर्कोतिर शान्त विद्रोह । शीर्ष पात्रको मस्तिष्कमा पितृसत्तात्मक विचारधारा यति हावी छ, उनका वरिपरिका विपरीत घटना सामान्य र सत्य लाग्छन् । कल्लीलाई लाहुरेबाको चकलेटभित्रको जाल पनि सकारात्मक लाग्छ । अज्ञानको कारणले कल्लीले यथास्थितिवादी समाजलाई स्वीकार्नुबाहेक अरू कुनै विकल्प छैन । यद्यपि, समयको अन्तरालसँगै विशेष गरी राजधानीमा आगमनपश्चात् आएको परिवर्तन अन्तत: शान्त विद्रोहमा बदलिन्छ । कथाबाट देखिने स्पष्ट अन्याय र शोषण कथाको बलियो पक्ष हो । मुग्ध पार्ने भाषाशैली र आञ्चलिकताले कथाको परिवेश, पात्रको मानसपटल र कथाको गहिराइ बुझ्न पाठकलाई सघाउँछ । भाषिक विलासिता पटक्कै छैन । परम्परागत शैलीको एकल धारमा कथा सरसर्ती बगेको छ । गरिब हुनुको मानसिकता, लक्षिमाका आशा, उपशंकाको मनोवैज्ञानिक उथलपुथल पनि प्रस्ट प्रस्फुटन गरेको छ उपन्यासले । केही महत्त्वपूर्ण घटनापछिको काव्यिक टिप्पणी र सानदार चित्रात्मक अलंकारले उपन्यासलाई झनै कसेका छन् ।

उपन्यासको सुरुआत र मध्य देहाती, शान्त अनि शालीन छ भने अन्त्य शीघ्र र अत्तालिएको छ । उपन्यास समाप्तिमा कठिनाइ भान हुन्छ । डिल्लुको फिरौती, कल्लीको परिवर्तन, सपनाको कथा आदिको सुरुआत, विकास र अन्त्य आकस्मिक र अलि बढी अनियोजित देखिन्छ । केही कथांश राम्रोसँग काँटछाँट गरिएको छैन । जस्तो : पात्र कल्लीको यथेष्ट चित्रण । करिब उसको भ्रूण अवस्थादेखि युवाअवस्थासम्म । नारीलाई सामाजिक संकुचित घेरामा आफ्नो अस्तित्वको कठिनाइको बयान नै उत्कर्षमा छ । मूल कथामा विदुषीको प्रवेशसँग आगमन पाउने सिद्धार्थ राणालाई विदुषी सहरमा बस्ने आधुनिक नारी भएता पनि ‘नारी भाग्य’बाट बच्न सकिन भन्ने मात्रै देखाउन तानिएको छ । यसले कथामा त्यति ठूलो सान्दर्भिकता थप्दैन । त्यस्तै, डिल्लुलाई जेलबाट मुक्त गर्ने अभियानको लहरोले अर्को कथाको पहरो तान्छ, बलराम, सपना र डिल्लुको त्रिकोणात्मक प्रेमकथा । यो आफैँमा एउटा सिंगो कथा हो । यो कथा उपन्यासको उत्तराद्र्धमा सुरु हुन्छ र यहीँ समाप्त हुन्छ । यो सरप्राइज प्याकेजका रूपमा आउन चाहन्छ तर त्यति शक्तिशाली भने भएको छैन । जातीय छुवाछूतको मुद्दा र बलरामको बलिदानलाई उजागर गरेको छ । स्वदेशका घटनाक्रम चुस्त र चित्रात्मक देखिन्छन् भने विदेशको वर्णन अलि सुस्त र ढुलमुले किसिमको छ । कल्पनाशीलता अलि झांगिन पाएको छैन ।
पुस्तकले हाम्रो द्विपक्षीय सामाजिक संरचनालाई आख्यानात्मक उल्था गर्न पनि खोजेको छ ।

सुरुआतमा पुरुष–सत्तात्मक समाजलाई स्वीकार्नुपर्ने परिस्थितिलाई प्रस्ट वर्णन गरेको छ । उपन्यासले चेतनाको विकाससँगै यथास्थितिवादी समाज र विशेष गरी पुरुष प्रधानताको अन्धोपनविरुद्ध विद्रोह गर्ने पात्रको निर्माण गरेको छ ।

कल्ली

स्रष्टा : हरिमाया भेटवाल
प्रकाशक : शिखा प्रकाशन
पृष्ठ : २८८ 
मूल्य : ३७५ रुपियाँ
प्रकाशित: श्रावण २४, २०७४