अलैँचीले अप्ठ्यारो

  • मूल्य घट्दा किसान–व्यवसायीबीच आरोप–प्रत्यारोप

- लक्ष्मी गौतम

पाँचथर ।। पहाडका अलैँची किसान र तराईका अलैँची व्यवसायीबीच लेनदेनको व्यवहार हुनुपर्ने हो । तर, पछिल्लो समय दुवै एकआपसमा आरोप–प्रत्यारोपमा ओर्लिएका छन् । किसानको उत्पादन नै गुणस्तरीय नभएको गुनासो व्यवसायीहरूले लगाए । ठूला खरिददारहरूले नै बेइमानी गरेकाले अलैँचीको गुणस्तरमा औँला उठेको दुखेसो किसानहरूले पोखे । जबजब अलैँचीको बिक्री मूल्य घट्न थाल्छ, त्यतिबेला किसान र व्यवसायीबीच बाझाबाझ हुन थाल्छ । यसपटक पनि यस्तै भयो । 

अलैँचीका ठूला व्यवसायीहरू विर्तामोडमा छन् । अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालय पनि विर्तामोडमै छ । अधिकांश जिल्लाको अलैँची विर्तामोडमा संकलन भएर बाहिरी देश निर्यात हुन्छ । यस वर्ष पहाडी जिल्लामा उत्पादन भएको अलैँची विर्तामोड बजारसम्म पुग्न नपाउँदै गुणस्तरको विवाद उठ्यो । मूल्य कम तोकियो । विगत वर्षसम्म प्रतिकिलो तीन हजार रुपियाँसम्म बिक्री भएको अलैँची यस वर्ष घटेर ८ सय ५० रुपियाँ प्रतिकिलोका दरले बिक्री गर्नुपरेपछि किसान कर्किनु आफैँमा अस्वाभाविक पनि भएन । “जस्तोसुकै अलैँची उत्पादन गरे पनि बिक्छ भन्ने मानसिकता किसानहरूमा छ, यस्तो मान्यताले गर्दा गुणस्तरहीन अलैँची उत्पादनमा वृद्धि हुँदैछ,” अलैँची व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक नेपाल भन्छन्, “मूल्य अकासिएपछि अलैँचीमा मिसावट गर्ने र तौल बढाउन राम्ररी नसुकाउने अनि पानीमा भिजाउनाले पनि गुणस्तर खस्किएको हो ।”

तर, किसानहरू यो आरोपमा सत्यता भेट्दैनन् । “हामी होइन, व्यवसायीहरू इमानदार नभएकाले अलैँचीको गुणस्तरमा ह्रास आएको हो, चाँडो कमाउने चक्करमा व्यवसायीहरूले नै गुणस्तर बिगारेका छन्,” पाँचथर फालेलुङ–५ का किसान देवीप्रसाद नेपालको गुनासो छ, “विशेष गरी ठूला ट्ेरड सेलरले इमान्दारी नदेखाउँदा अलैँचीको मूल्यमा गिरावट आएको हो ।”

पाँचथर, ताप्लेजुङ, इलाम र संखुवासभामा उल्लेख्य मात्रामा अलैँची उत्पादन हुन्छ । यी जिल्लामा कृषि उपजको निर्यातमा सबैभन्दा ठूलो हिस्सा अलैँचीले नै लिएको छ । नेपालबाट निकासी भएको ९९ प्रतिशत अलैँची भारतीय बजारमा निर्यात हुन्छ । भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भएको दोष लगाएपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नेपालको भनाइ छ । यस भेगको अलैँचीले ट्ेरड मार्क (सामूहिक व्यापार चिह्न) पनि पाएको छ । यहाँ उत्पादित अलैँची एभरेस्ट विग कार्डमका नामले अन्तर्राष्ट्रिय बजारसम्म निकासी हुन्छ । यसैले पनि नेपालको अलैँची तेस्रो मुलुक निर्यात हुन नदिन भारतको भूमिका भाँजो हाल्ने तहसम्म पनि पुग्ने गरेको आंशका गर्ने व्यवसायीहरूको कमी छैन । 

प्रकाशित: श्रावण २४, २०७४