ओझेल पर्ने डर

- नेपाल संवाददाता

एउटा फिल्म हिट हुनु मात्र पर्छ, हिरोइनको व्यस्तता ह्वात्तै बढ्छ । तर, आना शर्माको हकमा यस्तो भएन । डेब्यु फिल्म जेरीले मनग्ये पैसा कमाउँदा पनि आना कुनामा परिन् । अनि, भन्न थालियो– जेरी अनमोल केसीको स्टारडमले चलेकाले आनालाई फाइदा भएन । उनी आफैँले चाहिँ पढाइमा केन्द्रित भएकाले फिल्ममा निरन्तरता दिन नसेकको बताइन् । कारण जेहोस्, जेरी रिलिज भएको तीन वर्षसम्म ‘एक्सन–कट’बाट पर रहिन् । यति भएपछि उनी गुमनाम भएको चर्चा चल्नु स्वाभाविक भइहाल्यो । तर, यो आशंकालाई उनले गलत साबित गरेकी छन् । किनभने, २ भदौमा उनी अभिनीत दोस्रो फिल्म ग्याङस्टार ब्लुज प्रदर्शन हुँदैछ । यस फिल्ममा उनको अपोजिटमा छन्, आशिरमान देशराज जोशी । आशिरमानको ‘ क्रेज’ पनि लोभलाग्दो छ । कतै पहिले अनमोलझैँ यसपटक आशिरमानको छायामा त पर्ने होइनन् उनी ? 

प्रकाशित: श्रावण २४, २०७४