पूर्वराजकुमारीको आनाकानी

  • सर्वोच्च अदालतले फैसला गरेको ६ महिना बितिसक्दा पनि पूर्वअधिराजकुमारी प्रेरणा शाहद्वारा विजयावास छाड्न अटेर

- सीताराम बराल

नेपाल ट्रस्टका अधिकारीहरू चैतमा दुईपटक छाउनी (स्वयम्भू)स्थित पूर्वअधिराजकुमारी प्रेरणा शाह बस्दै आएको निवास ‘विजयावास’ पुगे । पहिलोपटक पुग्दा ट्रस्टका अधिकारीहरूलाई त्यहाँ प्रवेश नै दिइएन, त्यत्तिकै फर्कनु पर्‍यो । दोस्रोपटक निवासको मूल ढोका त खोलिदिए तर प्रेरणा र उनका पति राजबहादुर सिंहले भेट नै दिएनन् । निवासका कर्मचारीहरूसँग सामान्य कुराकानी मात्र गरेर ट्रस्टका अधिकारीहरू फर्के ।

उनीहरू त्यहाँ पुग्नुको खास कारण थियो, विजयावास नेपाल ट्रस्ट अन्तर्गत हुने सर्वाेच्च अदालतको फैसलाबारे जानकारी गराउनु । फैसला अनुसार विजयावास अन्तर्गत रहेका घरजग्गा नेपाल ट्रस्ट अन्तर्गत हुने जानकारी गराउँदै त्यो ठाउँ छिटो छाड्न अनुरोध गर्ने योजना थियो उनीहरूको । २१ पुस ०७३ मा सर्वाेच्च अदालतको पूर्ण इजलासले १५ रोपनी १ आनामा फैलिएको विजयावास नेपाल ट्रस्ट अन्तर्गत हुने फैसला सुनाएको थियो । प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले गरेको त्यो फैसलाउपर पुनरावेदन लाग्ने सम्भावना छैन । तर, पूर्वअधिराजकुमारी प्रेरणाले विजयावास छाड्ने छनक दिएकी छैनन् । 

ट्रस्ट भने पूर्वअधिराजकुमारीले विजयावास नछाडे फैसला कार्यान्वयनका लागि सर्वाेच्च अदालतलाई गुहार्ने योजनामा छ । त्यसका लागि फैसलाको पूर्ण पाठको पर्खाइमा रहेको ट्रस्टका अधिकारीहरू बताउँछन् । ट्रस्टका प्रवक्ता लेखबहादुर कार्की भन्छन्, “उहाँ (पूर्वअधिराजकुमारी प्रेरणा)ले त्यो ठाउँ खाली नगरी सुखै छैन । सर्वाेच्चले हाम्रो पक्षमा फैसला गरेकाले ट्रस्टले जसरी पनि त्यो घरजग्गा फिर्ता लिएरै छाड्नेछ ।” 

अन्तत: सरकारकै 
२१ पुस ०७३ मा प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान मल्ल र दीपक कार्कीको पूर्ण इजलासले त्यो घरजग्गा नेपाल ट्रस्ट अन्तर्गत हुने फैसला सुनाएको थियो । तर, पछिल्लो फैसलाभन्दा ६ महिनाअघि सर्वोच्चकै प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भने प्रेरणाको पक्षमा फैसला सुनाएको थियो, ६ असार ०७३ मा । त्यो फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै ट्रस्टले सर्वाेच्चमा पुनरावेदन गरेको थियो । 

खासमा त्यो घरजग्गा प्रेरणालाई उनका बाबु तत्कालीन राजा ज्ञानेन्द्रले दाइजोबापत दिएका थिए । जेठ ०५९ मा राजबहादुर सिंहसँग विवाह बन्धनमा बाँधिएपछि अधिराजकुमारी प्रेरणा पतिसँग त्यही निवासमा भित्रिएकी थिइन् । राजा ज्ञानेन्द्रले विजयावास छोरीलाई दाइजोका रूपमा त दिए तर त्यो उनको आफ्नै निजी सम्पत्तिचाहिँ थिएन । त्यो जग्गा भीमसेन गुठी तथा बन्धन गुठीको नाममा थियो, जसको मोही पूर्वराजा ज्ञानेन्द्रकी फुपू दिवंगत विजया शाह (त्रिभुवनकी अविवाहित छोरी) थिइन् । 
विजया ०४९ मा निधन हुनुअघिसम्म त्यहीँ रहिन् । त्यसपछि तत्कालीन राजा वीरेन्द्रले ०५३ मा त्यो घरजग्गा अधिराजकुमारी श्रुतिलाई दिएका थिए तर नामसारी गरिदिएका थिएनन् । जापानी राजदूतावासले राजदूत निवासका लागि भाडामा लिएकाले त्यसको आम्दानी भने अधिराजकुमारी श्रुतिकै नाममा जाने गरेको थियो । जापानी दूतावासले छाडेपछि केही समय खाली रहेको विजयावास ८ जेठ ०५९ मा राजबहादुर सिंहसँग बिहे हुँदा राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजोस्वरूप दिए । 

प्रेरणाले दाइजो त पाइन् तर श्रुतिका पालामा झैँ घरजग्गा उनको नाममा पनि नामसारी गरिएन । त्यतिबेलासम्म पनि विजयावास रहेको जग्गा गुठीकै नाममा थियो । तीन वर्षपछि मात्र ०६२ मा त्यसलाई ‘श्री ५ महाराजधिराज, नारायणहिटी राजदरबार’का नाममा नामसारी गरियो । ‘श्री ५ महाराजधिराज’का नाममा नामसारी गरिएको चार दिनपछि त्यो घरजग्गा अधिराजकुमारी प्रेरणालाई दाइजो दिइएको जानकारी दरबारको राजकीय सम्पत्ति कोषलाई दिइएको थियो । 

राजतन्त्रको विधिवत् उन्मूलनपछि पनि प्रेरणा त्यहीँ बस्दै आइन् । तर, नेपाल ट्रस्ट, जो पूर्वराजपरिवारका नाममा रहेको अचल सम्पत्तिको राष्ट्रियकरणपश्चात्को मालिक हो, ले त्यो घरजग्गा आफ्ना नाममा नामसारी गर्ने निर्णय असोज ०६७ मा गर्‍यो । २०६३ को अन्तरिम संविधान (धारा १५९ उपधारा ४)मा ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजका परिवार (छोरा दीपेन्द्र र नीराजन)को सम्पत्ति नेपाल सरकार मातहत ल्याई ट्रस्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्ने’ उल्लेख थियो । संविधानको यही व्यवस्था अनुसार त्यो घरजग्गा आफू मातहत ल्याउने निर्णय ट्रस्टले गरेको हो ।

त्यही निर्णयका आधारमा घरजग्गा छाड्न ट्रस्टले प्रेरणालाई ताकेता गर्न थाल्यो । प्रेरणाले आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपत्र दिलाइदिन आग्रह गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई पत्राचार गरिन् । प्रधानमन्त्री कोइरालाले मागबमोजिम त्यो घरजग्गा उनको भएको प्रमाणपत्र दिनसक्ने स्थिति थिएन । त्यसपछि प्रेरणाले प्रधानमन्त्री कोइराला–नेपाल सरकार र ट्रस्टविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिन् । 

दाइजोबापत पाएको घरजग्गा आफूलाई कुनै जानकारी नदिई ट्रस्ट मातहत ल्याइएको प्रेरणाको दाबीलाई प्रधानन्यायाधीश साहसहितको संयुक्त इजलासले सदर गरिदियो । प्रेरणाका तर्फबाट रिट दायर गरेका अधिवक्ता धु्रव कोइरालाका भनाइमा नेपाल ट्रस्ट ऐनले श्री ५ वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति मात्र नेपाल ट्रस्टमा जाने उल्लेख गरेको छ । तर, त्यो घरजग्गा वीरेन्द्र र उनको परिवारका नाममा कहिल्यै नरहेकाले सर्वाेच्चले प्रेरणाको पक्षमा फैसला सुनाएको थियो । 

सर्वाेच्चले प्रेरणाको पक्षमा फैसला सुनाउँदा थप तीन तर्क पनि गरेको थियो । एक, प्रेरणाले त्यो घरजग्गा ०६२ मा पाएकी हुन् । तर, ट्रस्टको ऐन ०६४ मा आएकाले पश्चात्दर्शी कानुनका आधारमा गरिएको निर्णय मान्य हुँदैन । दुई, सम्पत्तिवालाको स्वीकृतिबिना ट्रस्टको स्वामित्वमा लैजानु प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ । तीन, निर्णय गर्नुअघि सम्पत्तिकी मालिक प्रेरणासँग बुझेको, सूचना वा जानकारी दिइएको, आफ्ना कुरा राख्न उचित मौका दिइएको देखिएन । 

तर, संयुक्त इजलासको फैसलाप्रति ट्रस्टले चित्त बुझाउन सकेन र सर्वोच्च अदालतको ढोका ढकढक्यायो । त्यसको ६ महिना नबित्दै २१ पुसमा प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले विजयावास महाराजधिराजको नाममा रहेको र नेपाल ट्रस्ट ऐन, २०६४ बमोजिम महाराजधिराजको नाममा रहेको सम्पत्ति ट्रस्टका नाममा हुने फैसला सुनायो । 

नछाड्ने नियत 
न्यायिक परम्परा अनुसार प्रधानन्यायाधीश–सहितको पूर्ण इजलास सबैभन्दा उच्च इजलास हो । सुरुमा प्रेरणाले गरेको हकदाबी अनुसार त्यो घरजग्गा उनका नाममा हुने फैसला प्रधानन्यायाधीशसहितकै इजलासले गरेको थियो । तर, त्यो संयुक्त इजलास थियो, जसमा तत्कालीन प्रधानन्यायाधीश साहका अतिरिक्त न्यायाधीश चोलेन्द्रशमेशर राणा थिए । ट्रस्टको मागदाबी अनुसार घरजग्गा ट्रस्टको हुने फैसलाचाहिँ सर्वाेच्चको पूर्ण इजलासले गरेको हो, जसमा न्यायाधीशद्वय दीपक कार्की र सपना प्रधान मल्ल थिए ।

पूर्ण इजलासको फैसला भएकाले त्यस अनुसार विजयावास छाड्नुको विकल्प प्रेरणासँग छैन । यही कुरा जानकारी गराउन गत चैतमा ट्रस्टका अधिकारीहरू विजयावास पुगेका थिए । तर, विजयावासका कर्मचारीहरूले पत्र बुझ्ने आदेश नभएको भन्दै बुझ्न मानेनन् । दोस्रोपटक चैत दोस्रो साता पनि ट्रस्टको टोली पत्र नबुझाएरै फर्कियो । पत्र बुझ्न नमान्नु र फैसला आएको ६ महिना बितिसक्दा पनि घरजग्गा नछाडेपछि ट्रस्टका अधिकारीहरू प्रेरणाले सहज रूपमा विजयावास नछाड्ने निष्कर्षमा पुगेका छन् । खासमा प्रेरणाले विजयावास छाडेपछि त्यहाँ ट्रस्टको कार्यालय स्थानान्तरण गर्ने योजना थियो । त्यसैले ‘सर्वाेच्चको फैसलाको जानकारी’ गराउने र घरजग्गा छाडिदिन आग्रहसहित ट्रस्टमा कानुन हेर्ने उपसचिव पुरुषोत्तम खतिवडाको टोली चैत पहिलो साता विजयावास पुगेको थियो । 

उपसचिव खतिवडाका भनाइमा पूर्ण इजलासको फैसलाबाट कानुनी रूपमा विजयावासमाथि अधिकार स्थापित भए पनि व्यावहारिक रूपमा ट्रस्ट मातहत ल्याउने प्रक्रिया सुरु नहुनुको कारणचाहिँ फैसलाको पूर्णपाठ नआउनु हो । पूर्णपाठ आउनासाथ ट्रस्टले घरजग्गा छाडिदिन प्रेरणालाई पत्र लेख्ने र बुझ्न नमाने ढोकामा सूचना टाँस गर्ने प्रक्रिया सुरु हुनेछ । त्यति गर्दा पनि नछाडे फेरि सर्वाेच्च अदालतलाई गुहार्नुको विकल्प नरहने र प्रहरी–प्रशासन लगाएर खाली गर्ने प्रक्रिया सुरु हुने उनी बताउँछन् । ट्रस्टका प्रवक्ता कार्की पनि कुनै हालतमा विजयवास ट्रस्ट मातहत आउने दाबी गर्छन् । भन्छन्, “सहज रूपमा उहाँले त्यो घरजग्गा छाडिदिनु हुनेछ भन्ने अपेक्षा छ । सहज रूपमा छाड्नु भएन भने अप्ठ्यारो 
उहाँहरूलाई नै पर्नेछ ।” 

लोभले विलाप

भीमसेन तथा बन्धक गुठीका नाममा रहेको विजयावास आफ्नो नाममा दर्ता गरेको भए प्रेरणाले गुमाउनुपर्ने स्थिति नै आउँदैनथ्यो । तर, ‘श्री ५ महाराजधिराज’का नाममा राख्दा कर दस्तुर बुझाउनु नपर्ने विश्लेषणका साथ प्रेरणाका नाममा नामसारी नगरी ‘श्री ५ महाराजधिराज’कै नाममा राखियो । 
‘श्री ५ महाराजधिराज’ व्यक्ति नभई संस्था थियो । यसै आधारमा त्यो घरजग्गा राजा वीरेन्द्रको ठहर गर्दै ट्रस्ट मातहत ल्याउने निर्णय नेपाल सरकारले गर्‍यो, जसलाई सर्वाेच्च अदालतको पूर्ण इजलासले सदर गरिदियो । करको लोभले गर्दा प्रेरणाले त्यो घरजग्गा गुमाउनुपर्ने परिस्थिति सिर्जना भयो । 

दाइजोबापत पाए पनि बिहे र बिहेपछि पनि त्यहाँ थप निर्माण र सजावटमा पूर्वअधिराजकुमारी प्रेरणाले करोडौँ रुपियाँ खर्च गरेकी छन् । विजयावास परिसरका ग्लास हाउस, नानीगन्जजस्ता भवन पुराना भएपछि भत्काएर झन्डै पाँच करोड लागतमा तिनै नाममा नयाँ भवन बनाएकी छन् । 
 

प्रकाशित: श्रावण २३, २०७४