अब डुअल स्क्रिन स्मार्टफोन

- नेपाल संवाददाता

अहिलेका स्मार्टफोन पछाडि दुईवटा रियर क्यामेरासहित आउन थालेका छन् । स्मार्टफोनका क्यामेरामा प्रयोग भएको यो पछिल्लो प्रविधि हो । र, चिनियाँ स्मार्टफोन कम्पनी मिजुले डिस्प्ले स्क्रिनमा पनि नयाँ प्रविधि प्रयोग गरेको छ । हालै घोषणा गरिए अनुसार यसका स्मार्टफोनमा दुईवटा डिस्प्ले स्क्रिन हुनेछन् । 

डुअल स्क्रिनसहित मिजुको प्रो–सेभेन र प्रो–सेभेन प्लस स्मार्टफोन यही महिनाको अन्त्यसम्ममा बजारमा आइपुग्ने अनुमान छ । यी स्मार्टफोनका पछाडि पनि एउटा सानो डिस्प्ले स्क्रिन हुनेछ, जसमा नोटिफिकेसन, समय र मौसम हेर्न सकिन्छ । यी स्मार्टफोनमा पनि दुईवटा रियर क्यामेरा हुनेछन्, जसको क्षमता १२ मेगापिक्सेल हुनेछ । सेल्फीका लागि भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । तर, पछाडि पनि डिस्प्ले स्क्रिन भएपछि सेल्फीका लागि फ्रन्ट क्यामेरा नै प्रयोग गर्नु पर्दैन । 

प्रो–सेभेनमा ५.२ र प्रो–सेभेन प्लसमा ५.७ इन्चको फ्रन्ट डिस्प्ले रहनेछ, जुन १ हजार ८० पिक्सेल क्वालिटीको हुनेछ । एन्ड्रोइड ७.० अपरेटिङ सिस्टममा आधारित यी स्मार्टफोनको मूल्य क्रमश: ४ सय ३० र ५ सय ३० डलर पर्ने अनुमान छ । 

प्रकाशित: श्रावण २३, २०७४