काठमाडौँबाट केदारमान सिंह

  • केदारमान तिनै पत्रकार हुन्, जसले १९ जेठ ०५८ को दरबार हत्याकाण्डको समाचार ‘ब्रेक’ गरेका थिए एएफपी र बीबीसीमार्फत ।

- राजकुमार बानियाँ

‘आई एम केदारमान सिंह फर्म एजेन्सी फ्रान्स–प्रेस (एएफपी) ।’ 

राजकीय हैसियतको अन्तिम ‘प्रेस मिट’मा राजा ज्ञानेन्द्रसामु यसरी चिनाएका थिए उनले । नारायणहिटी राजदरबारमा राजाले टाउको हल्लाएका थिए, ‘आई नो यू । आई नो यू ।’ 

नयाँ पुस्ताले नचिन्न पनि सक्छ, बीबीसी सुन्ने पुरानो पुस्ताले भने पक्कै चिन्छ, ‘काठमाडौँबाट केदारमान सिंह’लाई । जवानी मात्र नभएर जीवन नै सुम्पिएका निर्भीक पत्रकारलाई । एएफपी, बीबीसी आदि अन्तर्राष्ट्रिय मिडियामा समाचार पठाउने पहिलो पुस्ताका पत्रकारलाई । करिब ४५ वर्षे ‘करिअर’बाट बिदा भएको डेढ दशक नाघिसके पनि आफ्नो पेसाको ‘ग्ल्यामरस’ अध्याय नबिर्सने पत्रकारलाई । 

राजा ज्ञानेन्द्रको त्यो ‘प्रेस मिट’लाई एकदमै रणनीतिक मान्छन् केदारमान । सोल्टी होटलको क्याटरिङको स्वाद अनि ह्वीस्की र बियरमा झुमिसकेपछि मात्र टुुपुल्किए, राजा । मदिरामा झिलीमिली भइसकेका पत्रकारले शिर झुकाएर अभिवादन गरे र जन्मदिनको शुभकामना दिए । जवाफमा पाए, ‘धन्यवाद ।’

केदारमान तिनै पत्रकार हुन्, जसले १९ जेठ ०५८ को दरबार हत्याकाण्डको समाचार ‘ब्रेक’ गरेका थिए एएफपी र बीबीसीमार्फत । त्यो फ्ल्यास समाचार हातले लेखेर फ्याक्समार्फत पठाएका थिए अत्यन्त थोरै शब्दमा । फ्ल्यास समाचार मुस्किलले सातदेखि २० शब्दमा हुन्थ्यो । त्यो पठाएपछि विस्तृत समाचार आधा घन्टा ढिलो भए पनि खासै फरक नपर्ने । “राती हतारहतार रामचन्द्र पौडेल, सुजाता कोइराला र रोयल फिजिसियनसँग भेरिफाइ गरेर पठाएको थिएँ,” उनी सम्झन्छन्, “त्यो खबर पहिले बाहिरी विश्वले थाहा पायो अनि मात्र नेपालीले ।”

पुख्र्यौली थलो बनेपा भए पनि सरोवर–सहर पोखरामा जन्मिन पुगे, केदारमान । बुबा पोखराका बडाहाकिम धनशमशेरको अफिसमा कारिन्दा रहेछन् । उनी जन्मिँदा ज्योतिषीले भनेका रहेछन्, ‘तिम्रो छोरा असाध्यै भाग्यमानी छ । राजादेखि माग्नेसम्म विशेष सम्बन्ध हुन्छ ।’ आमालाई लागेछ, कस्तो उल्लू ज्योतिषी रहेछ π राजासित सर्वसाधारणको कसरी सम्बन्ध हुन्छ ? नभन्दै उनको पेसा नै त्यस्तै पर्‍यो । 

कर्मका बाजे राजदास वादे श्रेष्ठले खोलेको बनेपाको पाठशालामा चर्खा घुमाएर धागो निकाले उनले । त्यसबापत पाँच मोहोर या तीन रुपियाँ पनि लिए । त्यो थियो भारतमा महात्मा गान्धीको हत्या भएको वर्ष अर्थात् सन् १९४८ । बनेपाको सानो खोल्सामा खेलिरहेका बेला पूर्वतिरबाट डाँका मुद्दा लगाएर समातिएका बीपी कोइराला र गणेशमान सिंहलाई पानी खुवाएको पनि उनलाई अझै हेक्का छ ।

केदारमानसहित आठ जनाको टोली पढ्न आएको थियो, काठमाडौँ । दरबार हाई स्कुलमा भर्ना पाइने आशमा पर्खिए लामो समय । बंगाली हेडमास्टर अमरबाबुले ‘वेटिङ लिस्ट’मा राखिदिएका थिए तर हाजिरी कापीमा नाम नलेखिएपछि शान्तिगृहतिर सरे । एसएलसी गरे त्यहीँबाट । स्वतन्त्रता र प्रजातान्त्रिक अधिकार उनका प्रिय थिए । त्यसैले स्कुले उमेरमै टुँडिखेलको गेटनेर श्रीपेच लगाएका मोहनशमशेरले बीपीको गोडा समातेर माफ मागिरहेको चित्र बनाएर टाँस्दै थिए । चन्द्रबहादुर थापा जर्नेलले लखेटिहाले । 

त्रिचन्द्र कलेजमा राजनीतिशास्त्र र अंग्रेजी लिएर स्नातक पढ्दा उनका सहपाठी थिए, हर्क गुरुङ, द्वारिका श्रेष्ठ, अमृत रेग्मी, ओममूर्ति वैद्य आदि । त्यतिबेलाको अंग्रेजी दैनिक दी मदरल्यान्डका सम्पादक/प्रकाशक मणिन्द्रराज श्रेष्ठकी श्रीमती उनकी ठूली दिदीकी मितिनी थिइन् । छोरालाई जस्तो लाडप्यार गर्थिन् । त्यही साइनोका कारण दी मदरल्यान्डमा छिरेछन्, केदारमान । पछि मणिन्द्रराजकै जोडबलमा सगरमाथा संवाद समिति (ससस)मा प्रवेश पाए । त्यो थियो, सन् १९६० अर्थात् ०१७ । उनी जानासाथ ससस राष्ट्रिय समाचार समिति (रासस) भइहाल्यो ।

तिनताका बढीमा म्याट्रिक गरेका सम्पादक थिए अखबारमा । ग्य्राजुएसन गरेका पत्रकार त नगन्य । त्यो समय कस्तो भने कहिले भारत–चीन युद्ध त कहिले भारत–पाक द्वन्द्व । तिनताका अमेरिकाको एसोसिएटेड प्रेस (एपी), बेलायतको रोयटर्स, फ्रान्सको एएफपी दिल्लीमुखी थिए । अन्तर्राष्ट्रिय मिडियाका नेपाल प्रतिनिधि भएर आउने प्राय: पत्रकार भारतीय नै हुन्थे । तिनीहरूले आफूलाई जतिसुकै स्वतन्त्र दाबी गरे पनि ‘प्वाइन्ट अफ भ्यु’ भारतीय नै हुन्थ्यो । कहिले चीनको विरोध त कहिले पाकिस्तानको । 

नेपाली मिडियाका समाचार स्रोत प्रेस ट्रस्ट अफ इन्डिया या सिन्ह्वाका समाचार हुन्थे । गोरखापत्र, रेडियो नेपाल, रासस आदि सरकारी मिडिया हुन् कि गैरसरकारी, तिनलाई उद्धृत गर्दा कहिले भारतमुखी देखिन्थे त कहिले चीनमुखी । सरकारी मिडियामा त कति विरोधाभास हुन्थ्यो भने दिनैपिच्छे पक्षधरता फरक पथ्र्यो । भारत, चीन र अमेरिकाका दूतावासको प्रभाव पनि थोरबहुत परिहाल्थ्यो ।

राजा महेन्द्रलाई तिनताकाका बुज्रुकहरूले सुझाएछन्– सधैँभरि भारतीय समाचार एजेन्सीका मात्र भर परेर भएन । महेन्द्रले बीपीको प्रथम जननिर्वाचित सरकार भर्खरै अपदस्थ गरेको बेला थियो त्यो । रोयटर्स र एपीले शाही ‘कू’को धुनधान विरोध गरेका थिए । यस मामिलामा अलि तटस्थ मानिएको थियो, एएफपी । त्यसैले राजाकै पहलमा यहाँ आयो, एएफपी । त्यहाँ नेपाली नै संवाददाता खोजिएकाले राससबाट एएफपीमा जोडिन पाए, केदारमान ।

यो प्रसंग हो, सन् १९६३ को । स्थानीय समाचार एजेन्सीबाट अन्तर्राष्ट्रिय एजेन्सीमा फड्को केदारमान सिंहको ‘म्याराथन जम्प’ नै थियो । राससका कामु महाप्रबन्धक रामराज पौडेलले उनीलगायत गणेशबल्लभ प्रधान, मदनलोचन सिंह, भैरव रिसाल, श्रीकृष्ण उपाध्यायलाई कम्ता दु:ख दिएनन् । राजा महेन्द्र राजकीय भ्रमणमा निस्कँदा केदारमानले छोरी शान्ति सिंहलाई जहाजभित्र पसेको देखेछन्, फर्किएको देखेनछन् । भ्रमण टोलीमा शान्ति गएको बेहोरा झूटो साबित भएपछि १५ दिन निलम्बनमा परे । “पछि त सचिवसँग भेट्न पनि एक्लै नपठाउने,” उनी हाँस्छन्, “मलाई त झन्डै एएफपीमा जान पनि रोकेका थिए ।”

त्यतिबेला अन्तर्राष्ट्रिय मिडियामा आबद्ध हुने दोस्रो पत्रकार भए, केदारमान । एकाध वर्ष पहिल्यै एपीमा जोडिएका थिए, विनय गुरुवाचार्य । “राससमा हुँदा राष्ट्रिय पञ्चायतको बैठकको समाचार टिप्न साइकलमा जानुपथ्र्यो । दिनभर भोकै बस्नुपथ्र्यो । चिया खान पनि नपुग्ने तलब,” उनी ती बबुरा दिन सम्झिन्छन्, “अभावको अनुभूतिभन्दा पनि अभिरुचि हुनुपर्दो रहेछ । अरूले भने पनि नभने पनि मैले त्यसमा सफलता नै पाएँ ।” 

साँच्चै चम्किए, केदारमान सिंह । एएफपीको विशेष संवाददाता हुँदै ०२४ मा ब्युरो चिफ भइसकेका थिए । फ्रान्समै पत्रकारिता तालिम पाएका जो थिए । उनलाई राजा वीरेन्द्रको राज्याभिषेकताका हङकङको ख्यातनामा साप्ताहिक म्यागेजिन फार इस्टर्न इकोनोमिक रिभ्युले ‘अफर’ गर्‍यो भने जनमतसंग्रह (०३६) ताका बीबीसीले । तिनताका काठमाडौँ आएका थिए, मार्क टली । सोल्टी होटलमा बोलाएर केदारमानलाई भनेछन्, ‘तिमीले बीबीसीलाई समाचार किन कभर नगर्ने ?’ अन्तत: केदारमान बीबीसी वल्र्ड सर्भिसका नेपाल संवाददाता भए । 

एएफपीमा ४२ वर्ष, बीबीसीमा २० वर्ष र फार इस्टर्न इकोनोमिक रिभ्युमा करिब २० वर्ष काम गरे केदारमानले । जापानको आशाही सिम्बुनका लागि पनि करिब १० वर्ष समाचार फाइल गरे । लन्डनको डेली टेलिग्राफमा पनि लेखे । सबैतिर स्याबासी नै पाए । भारुदेखि डलर र पाउन्डमा तलब खाए । एएफपीमा केदारमानको उत्तराधिकारी विदेशी आए भने बीबीसीमा सुशील शर्मा ।

उनको अनुभवमा त्यतिबेला विदेशीको नेपाल चासो कि हिमालय हुन्थ्यो कि राजपरिवारमा । “म कतै जागिर माग्न गएको होइन,” उनलाई गर्व छ, “जागिर आफैँ मलाई खोज्दै आयो ।”

समाचार लेख्दा पटकपटक अप्ठ्यारोमा पनि परे उनी । महेन्द्र जयन्ती एवं पञ्चायती संविधान दिवसका अवसरमा १ पुस ०४४ मा आयोजित समारोहमा काठमाडौँ नगरपञ्चायतका प्रधानपञ्च हरिबोल भट्टराई सामेल भएनन् भन्ने बेहोराको समाचार पठाएका थिए उनले । बीबीसी हिन्दी सेवाले त्यो समाचार अनुवाद गर्दा स्वर्गीय श्री ५ वीरेन्द्र जयन्ती फुकिदिएछ । प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठले राती उनलाई सुत्नै दिएनन् । फोनमा धम्काएछन्, ‘तेरो घर जलाइदिऊँ ? जिउँदो राजालाई स्वर्गीय भनिदिने ?’ उनले जवाफ फर्काए रे, ‘घरमा मेरो ८०–८५ वर्षका आमाबुबा छन् । १४–१५ जनाको परिवार छ । घर किन जलाउने, मलाई नै मारे भइहाल्यो नि †’ बीबीसीले तत्काल गल्तीका लागि माफी माग्यो र उनी जोगिए । 

अघिल्लो दिन त्यसरी धम्काएका मरीचमानले नेपालगन्ज भ्रमणमा राजाको ‘बाइट’ बीबीसीमा बजाएबापत ‘धन्यवाद बक्स’ भएको पनि सुनाएछन् फोनमै । आगो लगाऊँ भन्ने, धन्यवाद पनि दिने मरीचमानको दोहोरो चरित्र देखेर उनलाई उदेक पनि लाग्यो । राजाको बाइटमा रहेछ, ‘नेपालको सन्दर्भमा प्रजातन्त्र भनेको लक्जरी हो । हाम्रो मुख्य समस्या त गरिबी हो ।’ 

जनमतसंग्रहमा फार इस्टर्न इकोनोमिक रिभ्युमा राजा महेन्द्रको सैनिक टोपीधारी फोटो राखेर समाचार लेखे, पञ्चायतलाई जबर्जस्ती जिताउन लागिएको छ । म्यागेजिन हेरेकै राती १२ बजे बहालवाला प्रधानमन्त्री सूर्यबहादुर थापाले फोन गरेर तर्साएछन्, ‘राजाको कदममा किन शंका गर्नुहुन्छ ? अरू भएको भए कारबाही गर्थें, तपाईंलाई सम्झाएको मात्र ।’ त्यसैले जनमतसंग्रहलाई ‘फ्रि एन्ड फेयर’ भनेर स्वागत गरेका बीपीलाई सम्झाएका थिए, ‘विश्वेश्वरबाबु बुमर्‍याङ हुन्छ ।’ 

केदारमानले कृष्णप्रसाद भट्टराईको ‘चमेरो पोलिसी’ भनेर व्यंग्य गरे भने शेरबहादुर देउवाबारे त प्रधानमन्त्री भएका बेला नै फार इस्टर्न इकोनोमिक रिभ्युमा लेखिदिए, ‘बौद्धिकहरू के भन्छन् भने देउवा रोयल कांग्रेस हुन् । उनले प्रजातन्त्रलाई नै चाँदीको किस्तीमा राखेर दरबारको पाउमा बुझाउँछन् ।’ त्यो थाहा पाएपछि देउवा रिसले आगो भइहाले । बोलचाल नै बन्द भयो “राजा ज्ञानेन्द्र र युवराज पारसको करकापमा परी देउवाले संसद् विघटन गरेपछि जनतामा देउवाको छवि राम्रो भएन,” उनी भन्छन्, “उनले अझै पनि यसबारे मुख खोलेका छैनन् । उल्टै लुकाइरहेका छन् ।” 

थुप्रै प्रसंग छन् पत्रकार जीवनका । जनकपुरमा राजा महेन्द्रमाथि बम आक्रमण हुँदा राससको प्रतिनिधिका रूपमा खटिएका रहेछन्, केदारमान । त्यो समाचार राससका महाप्रबन्धक भोग्यप्रसाद शाहले पठाउन मानेनन् । राजप्रासाद सचिवालयको ‘कन्फर्मेसन’ आउने कहिले कहिले ? त्यसैले उनले त्यो समाचार मदरल्यान्डलाई पठाइदिए । त्यसको जस पाए उनका साथीले । दरबारको ‘फेवर’ पनि पाए । 

राजा महेन्द्रसँग वीरगन्जमा अन्तर्वार्ता गर्ने मौका पाउँदा उनले आक्रमणबारे सोधेछन् । महेन्द्रको जवाफ उनी सम्झन्छन्, ‘म देश र जनताको सेवाका लागि मैदानमा उत्रिएको हुँ । कालो झन्डाले स्वागत गरुन् वा फूलको गुच्छा र लावा–अबिरले । मलाई केही फरक पर्दैन । त्यतिबेला मलाई त केही भएन । बरू डा तुलसी गिरीजी सिटमनि लुकेका रहेछन् । मलाई केही भएको छैन, किन डराएको भनेर मैले उठाएँ ।’

उनी राजाहरूसँग न धेरै टाढा भए, न अति नजिक । उनको अनुभवमा महेन्द्र टाउको मात्र हल्लाउँथे भने वीरेन्द्र ‘भेरी प््रmयांक’ । तर, दरबारबाट दिइने तक्मा, इनाम र पुरस्कार कहिल्यै लिएनन् उनले । त्यसैले गोरखा दक्षिणबाहु तेस्रो नलिएर दरबारलाई होच्चाएको बात पनि लाग्यो उनलाई । लिएको भए राजावादी वा दरबारिया भन्ने खतरा त छँदै थियो, बीबीसी र एएफपीले अनुमति पनि दिएका थिएनन् । बरू, उनले पत्रकारिता छाडिसकेपछि दुई लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार पाए, ०६८ मा । “पुरस्कार र तक्माका लागि म कतै हात जोड्न गइनँ, पत्रकारिताको दुरुपयोग पनि गरिनँ,” उनी भन्छन्, “फ्रि एन्ड फेयर जर्नालिजम गरेर कसैलाई खुसी पार्न सकिँदैन । कसैलाई होच्याउनु वा उचाल्नु पनि पत्रकारिता होइन ।” 

सक्रिय पत्रकारिता गर्दा गर्दै उनको मुटुमा अचानक गडबडी भयो । नेपालमै आठ लाख रुपियाँ खर्चेर डबल पेसमेकर राखियो उनमा । दिल्लीबाट डाक्टर झिकाइवरी नेपालमै पहिलोपटक त्यसरी पेसमेकर राख्नु आवश्यक थिएन भनेछन् अमेरिकी डाक्टरले । खासमा  उनलाई आउटेक भल्भमा समस्या भएको रहेछ । अमेरिका गएका बेला उनले त्यसको शल्यक्रिया गराए । “सोसल सेक्युरिटी र इन्स्योरेन्सबिना अमेरिकामा महँगो अप्रेसन गराएँ,” उनी सम्झन्छन्, “एएफपी, बीबीसीमा कमाएको पैसा स्वास्थ्यमा स्वाहा भएजस्तो लागेको थियो । तर, त्यो लगानीजस्तो पो भयो ।” अहिले उनको फुर्तिफार्ती त्यसकै प्रभाव हो । त्यसयता स्वास्थ्यमा खासै समस्या छैन । 

काठमाडौँ, भोटेबहालको उनको घर सुनसान छ । घरमा कोही छ भने केदारमान दम्पती मात्रै । साँच्चै भन्ने हो भने उनको परिवार नै अमेरिकामा छ । तीन भाइ, बहिनी, पूर्वपत्रकार छोरा सुसममान र छोरी नीनासिंह सुवालसहित २५ जना छन् सिकागोमा । शान्ति विद्यागृह पढ्दा नै अफेयरमा परेकी न्युरोडकी दिव्यकुमारीको बलियो साथ उनलाई छ । ०१७ सालदेखिको त्यो दाम्पत्य अटुट छ । केदारमानलाई गाडी हाँक्न मनाही गरेका छन् डाक्टरले । कम्प्युटरमा टाइप गर्दा औँला नै बांगिएका छन् । त्यसैले उनी बिलकुल फुर्सदमा छन् । फुर्सदिला ७६ वर्षीय केदारमान विशाल झ्यालखाना फेसबुकमा झुल्किन्छन्, नयाँनयाँ स्टाइलमा । 

प्रकाशित: श्रावण २२, २०७४