[परदेशबाट] मुस्किल छ यहाँ

  • जिन्दगी के हो भनी अझ राम्रोसँग बुझायो, विदेशको बसाइले । यस्ता काम गरियो, जुन नेपालमा कहिल्यै गरिँदैन थियो होला ।

- विश्वास हमाल

धेरै पछि आज उसँग भेट भयो । परदेशको व्यस्त जिन्दगी, एकै सहरमा बसेर पनि काम नपरी भेट नै नहुने । नेपालबाट आएको केही सामान पुर्‍याउन आएको थिएँ । ‘दाइ ड्रिंक्स लिऊँ है ?’ रेड वाइन आफ्नो ग्लासमा हाल्दै उसले भनी । मलाई अचम्मै लाग्यो उसको यो परिवर्तित रूप देखेर । 

केही वर्षअगाडि मात्रै म उसलाई लिन एयरपोर्ट गएको थिएँ । पावरवाला चस्मा अनि नेपालबाट छुट्टिने बेलामा लगाइदिने खादा झोलाको साइड पकेटमा कोचारेर खैरो रंगको सुटकेस लतार्दै आएकी थिई, ऊ । लामो यात्रापछिको थकित मुद्रामा पनि विदेशको नयाँ जिन्दगीप्रति उसको कौतूहल प्रस्टै देखिन्थ्यो । उसले अपार्टमेन्टमा पुगेर नेपालमा आफ्ना आमाबुबालाई फोन गरी । अनि, मैले सोधेँ, ‘तिमी ड्रिंक्स गछ्र्यौ भने बियर, वाइन छ ।’ उसले निकै अप्ठ्यारो मानेर भनेकी थिई, ‘कहाँ ड्रिंक्स गर्नु, बरू जुस दिनूस न †’ उसलाई ड्रिंक्स गरेको पटक्कै मन पर्दैन रे † नातामा ऊ मेरो बहिनी पर्छे, काठमाडौँकै हुनेखाने परिवारमा सुखसँग हुर्केकी । नयाँ सपना बोकेर विदेश छिरेकी थिई । अहिलेसम्म जागिर त परै जाओस्, घरको काम पनि राम्रोसँग गरेकी थिइन होला । 

बहिनीमा यो परिवर्तन देखेपछि मैले पनि आफ्ना सुरुआती दिन सम्झेँ । जागिरको खोजीमा कहाँ धाइनँ ? पढाइभन्दा काम जरुरी थियो बाँच्नका लागि । कलेजको पढाइ सकेर बाँकी समय जागिर खोज्न हिँड्दै बित्थ्यो । त्यसै त यो उराठलाग्दो फिनल्यान्ड, अझ दिनभरि लखतरान भएर थाकेको शरीर कोठामा आउँदा त झन् उराठ लाग्थ्यो । फिनल्यान्ड छिरेको तीन महिना हुँदा पनि कतै जागिर पाइने आश थिएन । 

नेपालतिर सोचिन्थ्यो विदेश छिर्नु मात्र ठूलो कुरा हो, छिरेपछि त जसोतसो जिन्दगी बनिहाल्छ । यस्तो विकसित देशमा कम से कम पढाइ खर्च जुटाउने सानोतिनो काम कसो नपाइएला ? तर, त्यो एउटा भ्रम रहेछ । यहाँ जागिर पाउन गाह्रो नै हुँदो रै’छ । अझ अंग्रेजी नचल्ने युरोपेली देशमा त सानोभन्दा सानो कामका लागि पनि भाषा नै ठूलो कुरा । गुगल ट्रान्सलेटमार्फत अनलाइनमा कामका लागि फारम भर्‍यो, कतै कतैबाट फोन आएपछि थाहा पाइहाल्ने भाषाको समस्या ।

यी सबैका बाबजुद जिन्दगीमा एक किसिमको रमाइलोचाहिँ थियो । सफा र व्यवस्थित जिन्दगी, तीव्र गतिको इन्टरनेट, समयमै आइपुग्ने सार्वजनिक सवारी । फेरि कलेजको पढाइ अनि नयाँ साथीहरू । यहाँ एक किसिमको स्वतन्त्रता थियो । समाजले के भन्ला, उसले के ठान्ला भन्ने सोच्नु केही थिएन । त्यसैले त सानैदेखि लामो कपाल पाल्ने इच्छा यहाँ आएर पूरा गरेँ । मजस्तै अरू धेरै साथीले पनि आफ्नो स्वतन्त्रताको उपयोग गर्दै कसैले कान छेड्ने त कसैले कपाल रंग्याउँदा रहेछन्, परदेशका सुरुआती दिनमा ।

समय बदलियो तर अवस्था बदलिएन । धेरै हन्डर खाएपछि एउटा टर्किसको बारमा ग्लास धुने काम पाएँ । त्यो पनि हप्ताको दुई दिन रातीको १ बजेदेखि बिहान ५ बजेसम्म । त्यो काम पाएको दिन त भिसा लागेको दिनभन्दा पनि बढी खुसी भएको थिएँ । कामबाट बिहान ३ बजे घरमा फोन गरेको थिएँ, जागिर पाएँ भनेर ।

त्यसबेला जस्तो हुन्छ, जे हुन्छ, मात्र काम चाहिएको थियो, गुजारा चलाउन । अहिले सोच्दा लाग्छ, त्यो टर्किसले पनि मेरो बाध्यताको फाइदा उठाएको थियो, थोरै पैसामा काम गराएर । त्यसपछि फेरि भारतीयको एउटा रेस्टुराँमा वेटरको काम गर्न थालेँ । समय बिस्तारै परिवर्तन हुन्छ, कति कुराहरू मन नपरे पनि, जति नै अप्ठ्यारो भए पनि समयसँगै बानी पर्दै जाँदो रहेछ । जिन्दगी के हो भनी अझ राम्रोसँग बुझायो, विदेशको बसाइले । यस्ता काम गरियो, जुन नेपालमा कहिल्यै गरिँदैन थियो होला ।
मान्छे भन्छन्, नेपालमा ‘सोर्स–फोर्स’ धेरै चल्छ । तर, नेपालमा भन्दा बढी सोर्स–फोर्स यता चल्दो रै’छ । मात्र फरक के भने, हाम्रोमा पैसा लिएर काम गरिन्छ, यतातिर निस्वार्थ रूपमा आफ्ना मान्छेका लागि मात्रै काम गरिँदो रहेछ । जस्तो : मैले काम गर्ने ठाउँमा एक जना मान्छे चाहियो, मेरै सिफारिसमा माथि उल्लेख गरिएकी बहिनीले काम पाई ।

यो त्यतिबेलाको प्रसंग हो, जतिबेला म पत्रिका घर–घरमा पुर्‍याउने काम गर्थें । दैनिक पत्रिका रातीको १ बजेतिर छापिएर आउँथ्यो । बिहान ६ बजेसम्म जसरी पनि काम सक्नुपर्ने । यदि त्यो समयसम्म ग्राहकले पत्रिका पाएनन् भने काम धरापमा पर्न सक्थ्यो । उनीहरूले तुरुन्त ‘ कम्प्लेन’ गरिहाल्थे । सहरका चोकचोकमा रहेका बाकसमा ड्राइभरले ल्याएर छोडेपछि त्यसलाई घरघरमा पुर्‍याउने काम हाम्रो हुन्थ्यो । 

डिसेम्बरको त्यो रात पूरै हिमपातमय थियो, माइनस १० डिग्रीको चिसोमा जिन्दगीको पहिलो जागिरका लागि ऊ तयार नै देखिन्थी । ऊ मसँगै एक हप्ता ट्रेनिङमा थिई । पत्रिका खसाल्नुपर्ने बिल्डिङको साँचोको झुप्पा बोकेर साइकलपछाडि पत्रिकाको चाङ राखेर मैले उसलाई ट्रेनिङ दिन थालेँ, पत्रिका घरभित्र छिराउँदा बिस्तारै गर्नुपर्ने, बिल्डिङमा ढकढक आवाज ननिकाली हिँड्ने अनि ठीक घरमा मात्र पत्रिका खसाल्ने । 

धेरैपछिको भेटमा थाहा भयो, विश्वविद्यालयको अन्तिम सेमेस्टर पढ्दै गरेकी ऊ मध्यरातको चिसो सिरेटोमा अझै पनि साइकल कुदाउँदै पत्रिका खसाल्दै हिँड्दी रै’छे । अचेल ऊ चस्मा लगाउन छाडेर, लेन्स लगाउँछे । 

ट्रेनिङ अवधिमा हातभरि पत्रिका बोकेर १२ तलाको बिल्डिङबाट झर्दै गर्दा असिन–पसिन भएकी मेरी बहिनीलाई मैले एकपटक सम्झिएँ । त्यतिबेला मतिर हेर्दै उसले भनेकी थिई, ‘सारै गाह्रो रैछ है दाइ विदेशमा ?’ मैले टाउको मात्र हल्लाएँ । नेपालमा पनि कहाँ सजिलो छ र ? 

(हमाल गुन्द्रुकपोस्टडटकमका ब्लगर हुन् ।) 

प्रकाशित: श्रावण २२, २०७४