लोक सर्जकको बगर जिन्दगी

  • लोकगायक लालबहादुर खातीको गीत–संगीत र पहलमानीको पहेली

- गोकर्ण गौतम

वि सं ०२२ तिरको प्रसंग हो ।

लोकगायक कुमार बस्नेतलाई जमलस्थित राष्ट्रिय नाचघर जानु नौलो थिएन तर एक दिन उल्कै भयो । उनले नाचघरभित्र एक जना बडेमानको ज्यान भएको मान्छे देखे, तिनको अर्धनग्न शरीरमा तेल घसिएको थियो, पाखुरा नै तिघ्राभन्दा ठूला । तिघ्रा त थामभन्दा मोटा । शरीरमा ‘लाइट फोकस’ गर्दा त आँखै तिरमिराउने । कुमार सम्झन्छन्, “मैले त्यस्तो सुगठिलो ज्यान भएको मान्छे कहिल्यै देखेको थिइनँ । हेरेको हेर्‍यै भएँ ।” जबकि, उनले त्यो मान्छेलाई त्यसअगाडि रेडियो नेपालमा भेटिसकेका थिए तर लुगा लगाएको र ज्यान नफुलाएकाले गर्दा त्यतिविघ्न आकर्षित भएनछन् । 

यो प्रसंगचाहिँ ०२९ सालको । 

मदन तामाङको प्रहरी जवानमा भर्ती हुनासाथ एक नम्बर गण, नक्सालमा पोस्टिङ भयो । त्यहाँ धेरै जवान र अधिकृतहरू थिए । किशोरवय पार गर्दै गरेका तामाङको ध्यान अरूतिर तानिएन, एक जना सई (प्रहरी नायब निरीक्षक)लाई देख्नासाथचाहिँ सातोपुत्लो उड्यो । “सई साब यति अग्लो र हट्टाकट्टा कि प्रहरी होइन, खत्रै पहलमानजस्तो लाग्ने,” तामाङ हाँस्दै सुनाउँछन्, “मधुमेहको समस्या रहेछ । सधैँ रोटी मात्र खानुहुन्थ्यो तैपनि प्रत्येक बिहान जिम गर्नुहुन्थ्यो ।” तामाङको सोचाइ आफैँमा गलत थिएन । किनभने, ती सई साब प्रहरी बन्नुअगावै पहलमानीमा नाम कमाइसकेका थिए, नेपालमा होइन, 
भारतको नयाँ दिल्लीमा । 

बस्नेत र तामाङ जसको ज्यान देखेर तर्सिए, आममान्छे भने उनको गीत सुनेर हुरुक्कै हुन्छन् । पहलमानी अनि प्रहरी सेवाभन्दा फराकिलो र लोभलाग्दो ख्याति चुमेका ती गायक थिए, लालबहादुर खाती । जसले जम्माजम्मी एक दर्जन गीत गाए तर सबै जनजिब्रोमा झुन्डिएका छन् । खातीसँग ‘आकाशैको कालो बादलमा...’मा भाका हालेकी चर्चित गायिका ज्ञानु राणा भन्छिन्, “खाती दाइले जुन गीत गायो, त्यही हिट हुन्थ्यो । किनभने, उहाँ निकै सरल, ग्रामीण भेगमा भिजेका शब्द र भाका रोज्नुहुन्थ्यो । स्वर पनि त्यस्तै सुरिलो थियो ।” त्यति भीमकाय ज्यान र सुमधुर स्वरका धनी खाती हामीमाझ नरहेको २२ वर्ष बित्न लाग्यो । १७ पुस ०५२ मा प्राण त्याग गरेका उनका गीत कालजयी छन् । चाहे ‘बारीको डिलमा ओखर बोट...’ होस् वा ‘ए दिदी पोइ पर्‍यो काले...’, ‘च्यानाकुटु... च्यानाकुटु झ्याइँ गर्ने बाजा...’ हरेक गीत श्रुतिमधुर छन्, ती सुन्दा एउटा छुट्टै माहौल सिर्जना हुन्छ । झ्वाट्ट सुन्दा ध्यान तानिहाल्नु र गुनगुनाउन मन लागिहाल्नु उनका गीतका साझा विशेषता हुन् । त्यसैले त लोकगीतमा खातीको ख्याति उच्च र सम्मानित छ ।

सम्मान त उनले मरेपछि मात्र होइन, बाँचुन्जेल पनि पाए । तर, सम्मान र प्रेमले मात्र कसैको जीवनमा व्यावहारिक सुख दिँदैन । खाती पनि त्यस्तै अभागीमध्ये एक भए, पहलमानीमा कीर्ति राखे, इमानदार प्रहरीको छवि बनाए, कुना–कन्दरा पुगेर गीत संकलन गरे, लेखे, गाए र लाखौँलाखको मन जिते । तर, यी बहुआयामिक व्यक्तित्वको मरण ज्यादै कष्टकर र अप्रिय रह्यो । सुन्दै भक्कानो छुट्छ, खातीको दाहसंस्कार गर्ने दाउरा कलाकारहरूसँग दुई–पाँच रुपियाँ उठाएर किनिएको थियो । जबकि, उनलाई दिल्लीबाट नेपाल बोलाउने अरू कोही नभएर तत्कालीन राजा महेन्द्र थिए । खातीका जेठा छोरा कुमार भन्छन्, “दिल्लीका नामूद कुस्तीबाजलाई जितेर चर्चा कमाएपछि बुबालाई महेन्द्र सरकारले नेपाल बोलाएर प्रहरीमा जागिर दिनुभएको थियो ।” 

राजाको निमन्त्रणामा बोलाउँदा पनि मरण भने त्यति दुर्दान्त रह्यो । किन होला ? यो सवाल अनि पहलमानी र गायनका किस्साहरू पल्टाउँदा उल्लेखनीय के भने उनका दर्जनौँ गीत रेकर्ड भए तर उनका जीवनका कैयन् महत्त्वपूर्ण तथ्यहरू भने कतै रेकर्डमा भेटिन्नन् । न उनका परिवारसँग, न उनका सहपाठीसँग नै । लाग्छ, चौतर्फी बेवास्ताको सिकार भएका स्रष्टा हुन्, खाती ।

सिन्धुपाल्चोकबाट दिल्ली
निकै कमजोर आर्थिक अवस्थाबाट गुज्रेको परिवारमा जन्मिए– खाती, २८ भदौ १९९४ मा । जन्मस्थानचाहिँ, सिन्धुपाल्चोकको ठूलो सिरुवारी । चारमध्ये कान्छा छोरा थिए उनी । खानलाउनै धौ–धौ थियो, के पढ्न पाउनू ? कखरा सिक्नु नै सबथोक भयो उनका लागि । चर्को अभावबाट मुक्ति पाउनकै लागि हुनुपर्छ, १३–१४ वर्षकै उमेरमा घरबाट भागेर दिल्ली पुगे । त्यहाँ उनले चिनेजानेका कोही थिएनन् । त्यति फुच्चे, सीप पनि के हुनू ? त्यो विरानो मुलुकको विरानो सहरमा कति हन्डर खेप्नुपर्‍यो होला ? संघर्षका अनेक छालहरूबाट हुत्तिँदै उनी कुस्तीबाजहरूको सानिध्यतामा पुगे । ज्यान अग्लो त थियो, खाइलाग्दोचाहिँ होइन । पहलमान हुन अजंगको शरीर नभई नहुने । त्यसैले कडा शारीरिक अभ्यास र पोषणले खातीलाई दिल्लीको कुस्ती दुनियाँमा बिस्तारै परिचित गराउँदै लग्यो । 

०१२/१५ तिर त उनी त्यहाँका गिनेचुनेका पहलमान दर्ज भइसकेका थिए । त्यहीताका उनले दुईपटक मिस्टर दिल्लीको उपाधि जितेका थिए । संगीत अध्येता बुलु मुकारुङका अनुसार खातीले साथीभाइसँगको कुराकानीमा मिस्टर दिल्ली जितेको कुरा गर्थे । खातीका बारेमा खोज अनुसन्धानमा समेत सक्रिय मुकारुङ भन्छन्, “भारतीय दूतावासबाट निक्लने जर्नलमा खाती दाइले बडी बिल्डिङ गरेको ठूलो फोटो म आफैँले देखेको थिएँ । त्यहाँ उहाँका बारेमा लेखिएको पनि थियो ।” त्यस्तै, जीवनको उत्तराद्र्धतिरको एक रेडियो अन्तर्वार्तामा खाती स्वयम्ले दुईपटक मिस्टर दिल्ली भएको बताएका थिए । तर, अन्तरमुखी स्वभावका कारण नजिकका सहपाठीसँग समेत उनले दिल्लीको संघर्ष र सफलता खुलस्त सुनाउँदैनथे । 

दिल्लीमा पहलमानीमा प्रसिद्ध भएपछि तत्कालीन राजा महेन्द्रको आग्रहमा उनी नेपाल आए । प्रहरीमा भर्ना हुन राजा र खाती दुवैको चाह मिलेको थियो । तर, यहाँसम्म आइपुग्दा उनी संगीतमा जोडिएको प्रसंग कतै भेटिन्न । जेठा छोरा कुमारका अनुसार प्रहरी सेवा सुरु गरेपछि मात्र खाती गायनमा आकर्षित भएका थिए । र, त्यतिबेलाका हरेक कलाकारझैँ उनको पहिलो खुड्किलो पनि रेडियो नेपाल नै थियो । 

तीनताका रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापाले लोकगीत कार्यक्रम चलाउँथे, त्यही कार्यक्रममा गीत गाउने लालसा थियो उनको । राजाले बोलाएको र प्रहरी पनि भएकाले रेडियो नेपालमा उनको पहुँच सहज हुन सक्थ्यो तर उनले कहिल्यै त्यो बाटो अपनाएनन् । के चाहिँ हो भने स्वरभन्दा पहिले शरीरमार्फत अरूलाई आफूतिर आकर्षित गर्थे । किनभने, उनको ज्यान आममान्छेको भन्दा बलिष्ठ त थियो नै, सँगै शरीरका हरेक अंग हल्लाउँथे, जादूूझैँ । जस्तो, जनकवि केशरीलाई पनि सुरुमा उनले शारीरिक कौशल देखाएर प्रभावित पारेको थापाकी छोरी ज्ञानु राणा बताउँछिन् । “हाम्रो घरमा आएर खाती दाइले मसल देखाएपछि त बुबा दंगै पर्नुभयो । त्यतिबेला त्यस्तो शरीर कहाँ देख्न पाउनू र ?” खातीको गायनको सुरुआतबाटै नजिक रहेकी राणा सुनाउँछिन्, “खाती दाइचाहिँ मेरो बुबाको फ्यान हुनुहुँदो रहेछ । उहाँले बुबासँग धेरै सिक्नुभयो ।” 

खातीले ०२२/२३ सालतिर रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिएका थिए, जसको निर्णायकमध्येका एक थिए लोकगायक कुमार बस्नेत । उनका अनुसार त्यतिबेला खातीले ‘तिमी कालो रेलको धूवाँले...’ गीत गाएका थिए । प्रतियोगितामा यो गीत उत्कृष्ट त हुन सकेन तर पछि उनलाई जनमानसमा सुपरिचित गराउने गीत बन्यो । सम्भवत: खातीको पहिलो रेकर्डेड गीत यही हो । त्यतिबेला थापाको कार्यक्रममा गाएको एक पैसा पाइँदैनथ्यो । रेडियो नेपालमा ‘कन्ट्रयाक’ भयो भनेचाहिँ प्रतिगीत सात रुपियाँ पाइन्थ्यो । तर, खातीजस्ता भर्खरै आएका गायकले पारिश्रमिक पाउने कुरा भएन । त्यसैले उनका अधिकांश गीत सित्तैँमा रेकर्ड भएका छन् । चाहे ती जतिसुकै प्रसिद्ध किन नहुन् । 

बस्नेतका अनुसार ठाडो भाकामा खाती निकै पोख्त थिए, स्वर पनि सुरिलो । शब्द त झन् तौलिएर मात्र रोज्ने । धेरैले ख्याल नगरेको अर्को रोचक तथ्यचाहिँ खातीले कहिल्यै अरूको शब्द र संकलन/संगीतमा गाएनन् । हरेक गीतमा उनकै शब्द र संकलन हुन्थ्यो । राणाका अलावा उनले तीर्थकुमारी र तारा थापासँग युगल गीत गाएका छन् । सायद आफैँ श्याम वर्ण भएर होला, उनका गीतमा ‘काले’ वा ‘कालो’ शब्द धेरै प्रयोग हुन्थ्यो । ‘तिमी कालो रेलको धूवाँले...’, ‘ए दिदी पोइ पर्‍यो काले...’, ‘लाले काले दुवै हुँ म...’, ‘आकाशमै कालो बादल...’ आदि–आदि । 

गीत रेकर्ड गर्दा रमाइलो बानी थियो उनको । त्यतिबेला स्टुडियो छिरेपछि नीलो बत्ती बल्थ्यो, जसको संकेत हुन्थ्यो, गाउनका लागि तयार हुनु । अनि, रातो बत्ती बलेपछि चाहिँ गाउनु पथ्र्यो । खाती भन्ने गर्थे, ‘मलाई यो संसारमा अरू केहीसँग डर लाग्दैन तर रातो बत्ती बलेपछि होस–हवास् उड्छ ।’ मुकारुङ भन्छन्, “यही भनाइले खाती दाइ संगीतप्रति कति गम्भीर र संवेदनशील हुनुहुन्थ्यो भन्ने देखाउँछ ।” 
यता, उनको सुमधुर गायनले लोकप्रियता कमाइरहेको थियो । उता, प्रहरी सेवामा उनको इमानदारी र पहलमानीका अनेक कथाले चिनारी अझ मजबुत र फराकिलो बनाइरहेको थियो । उनी कति बलिया भने लरी (आजकलको ट्रकजस्तो) एक्लै धकेल्न सक्थे । तिनताका त्रिचन्द्र कलेजबाट सिंहदरबार सामान ओसार्न शिक्षा मन्त्रालयले लरी दिएको थियो । त्यसलाई पछाडिबाट धक्का नदिई मरिगए स्टार्ट नहुने । तर, कसैले आँट गर्दैनथे । खातीका लागि भने लरी धकेल्ने ड्युटीजस्तै थियो । लरी हाँक्ने ड्राइभर पनि चानचुने थिएनन् । उनी थिए, थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्ट । 

प्रहरी सेवामा पनि उनको छवि स्वाभिमानी र निर्भीक थियो । मुख्य कुरा त उनको ज्यान ठूलो र अग्लो भएकाले जोकोही डराउँथे । तत्कालीन प्रहरी संयन्त्रले उनको यही क्षमताको प्रचुर फाइदा लिएको थियो । जस्तो : बझाङ, रोल्पा, रुकुम, डडेल्धुराजस्ता दुर्गम भेगमा प्रहरी चौकी स्थापना गर्न उनको ठूलो भूमिका छ । बझाङ जाँदा त उनले गीत पनि लेखे, ‘बझाङको डाँडा...’ । खासमा जागिरका सिलसिलामा गाउँ–गाउँ घुम्दा उनले स्थानीय भाका र गीत संकलन गर्न पनि पाए । 

पीडाका पदचापहरू
गायन र पहलमानीबाट नाम त कमाएका थिए तर दाम फिटिक्कै थिएन । प्रहरीको जागिरबाट आउने तलबले त्यति ठूलो परिवार पाल्नै मुस्किल हुन्थ्यो । मधुमेह र उच्च रक्तचापको समस्या त छँदै थियो, बिस्तारै आँखाको दृष्टि कमजोर भयो । तर, कसैको साथ पाएनन् । अनि, उनका केही सहकर्मीले ‘बरू दिल्लीमै बसेको भए हुन्थ्यो’सम्म भने । तर पनि उनमा रक्तिभर पश्चात्ताप थिएन । बरू गीतबाटै जवाफ दिए :
लाले काले दुवै हुँ म
नेपालको पाले 
म त आफ्नै देशको पाले । 


प्रहरी सेवा र देशप्रति यति अगाध स्नेह थियो तर आफूभन्दा सिनियरले आँखाको कमजोरीलाई लिएर खिसी गर्न थालेपछि सह्य भएन र जागिर छाड्ने निधो गरे । उनले ०३९ मा स्वैच्छिक अवकाश लिए, जतिबेला डीबी लामा प्रहरी महानिरीक्षक थिए । माइली छोरी ईश्वरी प्रधान सम्झिन्छन्, “रिटायर्ड हुने दिन पनि बुबाले राजारानीका अगाडि पहलमानी देखाउनु भएको थियो । उमेर हँुदाहुँदै छोड्नु पर्दा पनि दु:खी हुनुहुन्थेन ।” 

अवकाशपछिको जीवन त झन् कष्टकर हुन थाल्यो । सन्तानबाट पनि पर्याप्त साथ पाएनन् । मुख्य कुरा त पोषणयुक्त खानेकुराको सन्तुलन नमिल्दा शरीर सुक्दै गयो । नजिकका साथी र परिवारजनका अनुसार रक्सी पिएर बाहिर कहिल्यै नहिँडे पनि बिस्तारै हरेक साँझ रक्सी नभई ननिदाउने अवस्थामा पुगे । कमाइ नभएकाले उनलाई निराशाले पनि गाँज्दै लग्यो । उनको संगत पाएका संगीतकार मुकारुङ भन्छन्, “उहाँजत्तिको चर्चित व्यक्तिले बक्सिस लिन खोजेको भए ठूलै सम्पत्ति पाउनुहुन्थ्यो तर त्यतातिर उहाँको कहिल्यै दिल गएन । जति दु:ख भए पनि आफ्नै पौरखमा रमाउने स्वभाव थियो ।”

के झोक चलेछ कुन्नि, खाती ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार बने, काठमाडौँबाट । चुनाव चिह्न थियो, मन्दिर । पहलमान, प्रहरी सेवा अनि गायनबाट कमाएको प्रसिद्धिले चुनाव जितिन्छ भन्ने आशा थियो उनको । ट्रक र जिप भाडामा लिने, ट्रकमा कार्यकर्ता राख्ने, जिपमा आफू बस्ने । अनि, भाषण दिने, गीत सुनाउने, पहलमानी देखाउने योजना सुनाउँथे साथीहरूसँग । प्रचारप्रसारमा सघाउन ओमविक्रम विष्टलगायतका त्यतिबेला चर्चामा रहेका कलाकारसँग भनिसकेका थिए । तर, खानै धौधौको अवस्थामा पुगेका खातीले ट्रक र जिप भाडामा लिने पैसा कहाँबाट ल्याउनू ? पछि ट्रयाक्टरबाटै काम चलाए । ट्रयाक्टरको बीचमा सानो मन्दिर थियो, त्यही देखाएर मत माग्थे । जबकि, त्यही चुनावमा पद्मरत्न तुलाधार, विमलमान सिंह, जोगमेहर श्रेष्ठ, नानीमैया दाहालजस्ता घघडान उठेका थिए । खातीको लज्जास्पद हार भयो । त्यतिबेला तुलाधर र सिंह विजयी भए । 

समयले उनलाई अझ रापमा धकेल्दै थियो । कतिसम्म भने स्कुल–कलेज पुगेर पहलमानी देखाउँदै दुई–चार रुपियाँ जम्मा गर्नुपर्ने अवस्था आयो । त्यति सुपरिचित गायक चटकेजसरी शरीरको अंग हल्लाउँदै हिँड्नुपर्दा मनमा कति चोट परेको हुँदो हो ? त्यतिबेला त उनको ज्यान पनि पहिलेजस्तो गठिलो थिएन । गायनबाट त उनले कहिल्यै पैसा नपाएको परिवारजन बताउँछन् । रेडियो नेपालमा उनको गीत त बज्थ्यो तर कसैले वास्ता गर्दैनथे । त्यति हृष्टपुष्ट मान्छे ५५ वर्ष नपुग्दै घरमै थलिन पुगे । कान्छी छोरी असारी श्रेष्ठ गहभरि आँसु पार्दै भन्छिन्, “समयमै उपचार गर्न सकेको भए बुबा त्यति छिट्टै थला पर्नुहुन्नथ्यो । तर, खाना त राम्रो थिएन, कहाँबाट औषधि पाउनू ?” तीन वर्ष त घरमै ओछ्यानको ओछ्यानै भए । 

०५२ को तिहार त्यसरी नै झिलमिल–झिलमिल भयो, जति अरू बेला हुन्थ्यो तर खातीको जीवनको प्रकाश भने त्यहीँबाट धिपधिपाउन थाल्यो । मधुमेह र प्रेसरले गर्दा खानामा धेरै सजग हुनुपथ्र्यो तर तिहारमा चिल्लो–पिरो खाए, रसपान पनि भइहाल्यो । के निहँु पाउँ भनेर बसेको शरीरलाई पुगिहाल्यो, तिहारको रौनक सकिन नपाउँदै उनी घरमा बोल्दाबोल्दै ढले । तत्काल कालीमाटीबाट वीर अस्पताल पुर्‍याइयो । उनलाई त पक्षघात भएछ, एक पाखो शरीर त मरेतुल्य । दुई महिना अस्पतालमै बास भयो । परिणाम, त्यति अजंगको ज्यान मकैको ढोँडजस्तो भयो । त्यति सुमधुर स्वर, पूरै सुक्यो । आँखा ठ्याम्मै बन्द । भएको पैसा सकियो तर खातीको रोग बीसको उन्नाइस भएन । 

र, १७ पुसको दिन उनले अन्तिम स्वास लिए । 

तर, नियतिको खेल कस्तो भने मरेपछि पनि उनको शरीरले सुख पाएन । किनभने, उपचार गरेको पैसा ‘क्लियर’ नभएकाले अस्पतालले लास उठाउन दिएन । वासुदेव मुनाल, धर्मराज थापा, ज्ञानु राणालगायतका कलाकारले पैसा उठाए, लास बोकेर घाटसम्म लगे र जलाए । तर, त्यतिबेला खातीको लास मात्र जलेन, बहुआयामिक र देशभक्त स्रष्टाप्रतिको राज्यको तीतो व्यवहार पनि सँगै जल्यो । राणा भावुक हुन्छिन्, “आज हामी खाती दाइको गीत सुनेर रमाउँछौँ तर उहाँको जीवनचाहिँ पलपल रोएर बित्यो । दाहसंस्कार गर्ने दाउरा किन्नसमेत चन्दा उठाउनु पर्‍यो । यस्ता कैयन् खातीहरू छन् हामीकहाँ ।” 

सायद यस्तै हुनु रहेछ र पो, उनले पहिल्यै गाएका थिए : 
ढुंगे बगर माया ढुंगे बगर
माया छँदैछ हल्ला नगर 
जाँदैछु म यहाँबाट
फर्केर आउँदिनँ । 

प्रकाशित: श्रावण २२, २०७४