नोटबुक

- पर्वत पोर्तेल

सांसद हराएको सूचना !
गोर्खाल्यान्ड आन्दोलनको ‘इपिसेन्टर’ दार्जीलिङ पुग्दा आममानिसको आक्रोश खास गरी दुई जना व्यक्तिप्रति बढी लक्षित थियो । एक थिइन्, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र अर्काचाहिँ भारतीय जनता पार्टीका सांसद एसएस अहलुवालिया । 

ममताप्रतिको आक्रोश स्वाभाविकै थियो । किनभने, दार्जीलिङमा बंगाली भाषा जबरजस्ती लाद्न खोज्ने उनको प्रपञ्च नै थियो । त्यही भाषाको विवाद अहिले गोर्खाल्यान्ड आन्दोलनमा रुपान्तरित भएर विराट रुप धारण गरेको छ । 

आफ्नो क्षेत्रका सांसद अहलुवालियाविरूद्ध पनि दार्जीलिङवासी आक्रोशित देखिए । उनीविरूद्ध चर्का नारा त सुनिएन तर बन्द बजारका भित्ताभित्तामा उनको फोटोसहितको विवरण टाँसेर व्यंग्य कसेको चाहिँ देखियो । जहाँ लेखिएको थियो, ‘सांसद हराएको सूचना ।’ 

पछिल्लो लोकसभा निर्वाचनमा दार्जीलिङबाट जितेर सांसद बनेका थिए अहलुवालिया । आफ्नो चुनावी घोषणापत्रमा उनले प्रस्ट भनेका थिए, ‘ हाम्रो पार्टी स–साना राज्य गठनको पक्षमा छ, गोर्खाल्यान्ड गठनमा पनि सहयोग गर्नेछु ।’ यसो भनेर उनले दार्जीलिङका नेपालीभाषी (गोर्खा)को मन मात्रै जितेनन्, चुनावै जिते । 

तर, चुनावका बेला गरेको प्रतिबद्धतालाई अहलुवालियाले पूरा गरेनन् । विगत डेढ महिनाभन्दा बढी समयदेखि चर्किएको गोर्खाल्यान्ड आन्दोलनबारे अझैसम्म उनले मुख खोलेका छैनन् । आफ्नै पार्टी सत्तामा रहँदा पनि गोर्खाल्यान्डका लागि सिन्कोसम्म नभाँचेको बरु ‘मुखमा पानी’ हालेर बसेको आरोप आन्दोलनकारीको थियो । त्यही आक्रोश दार्जीलिङका चोक–चोकका भित्तामा पोखिएको रहेछ । 

च्याँठ्ठिएका चामलिङ
पहिले–पहिले गोर्खाल्यान्ड आन्दोलनप्रति सिक्किमका मुख्यमन्त्री पवन चामलिङको खासै प्रतिक्रिया रहँदैनथ्यो । आन्दोलनलाई सामान्य रुपमा मात्रै लिन्थे उनी । तर, यसपटक बढी नै आक्रोशमा आए । आन्दोलनका क्रममा ३ असारमा जब तीन जना आन्दोलनकारी सुरक्षाकर्मीको गोलीको सिकार भए, तब उनले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई कडा पत्र लेखे । पत्रको आशय थियो–गोर्खाल्यान्ड संवैधानिक माग हो, चाँडो समाधान गर । 

मुख्यमन्त्रीले गृहमन्त्रीलाई पत्राचार मात्रै गरेनन्, सिक्किमे जनतालाई गोर्खाल्यान्डको समर्थनमा आन्दोलन गर्ने छूट पनि दिए । चामलिङले प्रेस सल्लाहकार तथा पूर्वसांसद भीम दाहाललाई पत्रकार सम्मेलन गरेरै गोर्खाल्यान्ड आन्दोलनप्रति राज्यको आधिकारिक धारणा सार्वजनिक गर्न लगाए । लगत्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आन्दोलनलाई उकास्ने प्रयत्न सिक्किमले गरिरहेको आरोप लगाइन् । सिलिगुडी पुगेका सिक्किमे सवारी साधनमाथि बंगाली समुदायबाट तोडफोड पनि भयो । केही समय नाकाबन्दी पनि बेहोर्‍यो सिक्किमले । 

जब प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर चामलिङ फर्किए, तब झन् कडा रुपमा प्रस्तुत भए । मोदीसँग उनले के कुरा गरे, त्यो बाहिर त आएन तर यतिचाहिँ के अनुमान लगाइयो भने मोदीको समर्थन लिएर उनी च्याँठ्ठिएका हुन् । उनले एउटा सभाबाटै बंगाललाई चेतावनी दिए, ‘तिमीहरु चामल रोक्छौ भने हामी पनि टिस्टाको पानी बन्द गरिदिन्छौँ ।’ 

चामलिङको यो अभिव्यक्तिपछि खाद्यान्न आपूर्ति मात्रै सहज बनेन, सवारी साधनमाथिको तोडफोड पनि रोकियो । त्यसयता सिक्किममा नारा नै छ, चामलिङ सरकारको जय होस् ।

ममताहीन ममता 
सन् २०१० को अन्त्यतिर ममता बनर्जी चार दशक लामो समयदेखि सत्तामा रहेको कम्युनिस्ट सरकारलाई हराएर पश्चिम बंगालको सत्तामा उदाइन् । मुख्यमन्त्रीको शपथ ग्रहण सक्नेबित्तिकै दार्जीलिङको पहिलो भ्रमण गरेकी ममताले गोर्खाल्यान्ड आन्दोलनप्रति लक्षित गर्दै भनेकी थिइन्, ‘वंग भंग होवेना’ अर्थात् बंगाल टुक्रिँदैन । 

खास गरी दार्जीलिङका जनतालाई जातजातमा विभाजित गरेर गोर्खाल्यान्ड मुद्दालाई सदाका लागि निस्तेज पार्ने उनको ‘ग्य्रान्ड डिजाइन’ थियो । दार्जीलिङमा प्रभुत्व कायम गर्ने उनको मुख्य लक्ष्य थियो । तर, सफल भइनन् । 

गोर्खाल्यान्ड आन्दोलनकी प्रखर विरोधी ममताले आन्दोलनमा तीव्र दमन गरिरहेकी छन् । उनी यतिसम्म भन्न थालेकी छन् कि ‘ गोर्खाल्यान्ड आन्दोलनलाई चीन र नेपालको प्रत्यक्ष सहयोग छ ।’ कडा स्वभावकी ममता नाम जस्तै ममतामयी देखिइनन् । 

प्रकाशित: श्रावण २२, २०७४