टाटाको मिनी एसयूभी नेक्सन

- नेपाल संवाददाता

भारतमा टाटा मोटर्सले नयाँ कार नेक्सन लन्च गर्ने तयारी गरिरहेको छ । अबको केही महिनामा बजारमा आइपुग्ने अनुमान गरिएको नेक्सन एसयूभी वर्गमा पर्ने कार हो । यसमा चार जनाका लागि आरामदायी सिट छन् । 
यो कार डिजेल र पेट्रोल दुवै किसिमका इन्जिनमा उपलब्ध हुनेछ । तर, तिनको क्षमता भने फरक हुनेछन् । पेट्रोलमा यो कार १२ सय सीसीको इन्जिनमा उपलब्ध हुनेछ भने डिजेलमा १५ सय सीसीको इन्जिन रहने बताइएको छ । 
जुनसुकै इन्जिन भए पनि यो कारमा ६ गियरको म्यानुअल ट्रान्समिसन रहनेछ । अहिलेका लागि यसमा अटोमेटिक ट्रान्समिसन उपलब्ध नहुने पक्का भइसकेको छ । सिटी, स्पोर्ट र इको गरी तीन किसिमको ड्राइभिङ मोड यो कारको मुख्य विशेषता हो । यसका जुनसुकै भेरिएन्टमा पनि दुईवटा फ्रन्ट एयर ब्याग रहनेछन् । एन्टिलक ब्रेकिङ सिस्टम र इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन (ईबीडी) फिचर पनि हरेक भेरिएन्टमा रहनेछ । इमर्जेन्सी ब्रेक लगाउँदा ईबीडी फिचरका कारण चारै पाङ्ग्रामा ब्रेक लाग्छ र गाडी तुरुन्तै रोकिन्छ । टाटा नेक्सनको मूल्य करिब ६ लाख भारतीय रुपियाँबाट सुरू हुने अनुमान छ ।

प्रकाशित: श्रावण २२, २०७४