गिद्द रेस्टुराँमा संरक्षण प्रयास

- नेपाल संवाददाता

गिद्द रेस्टुराँ । झट्ट सुन्दा गिद्दका परिकार पाइने स्थलजस्ता लाग्छन् । तर, नेपालमा खोलिएका गिद्द रेस्टुराँ गिद्द संरक्षणका लागि खोलिएका हुन्, जहाँ उनीहरुलाई सुरक्षित खानाको व्यवस्था हुन्छ । हुन त पिठौली, नवलपरासीका गिद्द रेस्टुराँ चल्तीका खानपान स्थलजस्ता पनि देखिन्नन्, जंगलझैँ लाग्छन् । त्यहाँ गिद्दहरु सुरक्षित भएर प्रजनन गर्न पाउँछन् । ग्राहक उनीहरुका बानीबेहोरा हेरेर दंग पर्छन् । ती रेस्टुराँमा कतिपय निकै दुर्लभ मानिएका गिद्दका बच्चा हुर्काएर छाडिन्छ, जसले वैज्ञानिकहरुका लागि उनीहरुको अस्तित्वका लागि कत्तिको अनुकूल वातावरण छ भन्ने जानकारी दिन्छ । विशेष स्याहार–सुसारसाथ हुर्काइएका दुर्लभ गिद्द जंगलमै बनाइएको ठूलो पिंजडामा त्यसबाहिर हुर्किरहेका जंगली गिद्द देख्दै बानीबेहोरा सिक्छन् । 

त्यसो त नेपालमा गिद्दलाई फोहोरी चराका रुपमा हेरिन्छ । घरमा गिद्दले टेके शुभ नहुने अन्धविश्वास छ । पर्यटक आउन थालेपछि भने स्थानीयहरुको मानसिकतामा परिवर्तन आएको छ । अमेरिकाको नेसनल पब्लिक रेडियोका लागि डेनियल प्रेइसले आफ्नो सामग्रीमा भनेकी छन्, ‘लोपोन्मुख प्रजातिका गिद्द संरक्षणका लागि संरक्षणकर्मीहरुले नेपालमा अन्तिम प्रयास गरिरहेका छन् ।’ 

प्रकाशित: श्रावण २२, २०७४