[संस्मरण] ‘मिस्टर परफेक्सनिस्ट’

  • निधनपछि गोपाल गोतामेलाई लेखकका रूपमा दिने एउटा श्रद्धाञ्जली के हुन सक्थ्यो ? मैले त्यही गरेँ ।

- ध्रुवचन्द्र गौतम

विसं ०१० तिर म वीरगन्जमै थिएँ । एक दिन खेल्दाखेल्दै चउरमै कसैले खबर ल्यायो– गोपाल दाइको कथा छापिएको छ, काठमाडौँबाट प्रकाशित प्रगति पत्रिकामा ।

खबर सुन्नासाथ म उत्सुक भएँ । साहित्यिक कथा–कवितासित मेरो परिचय भइसकेको थियो । त्यस्तोमा आफ्नो परिवारको एक सदस्यले लेखेको कुनै रचना पढ्नु एउटा फरक अनुभव थियो । त्यस्तो त्यो मेरो दोस्रो अनुभव थियो । पहिलो अनुभव, धनुषचन्द्रको ‘कहानीको प्लट’ भन्ने कथा पढ्दाको थियो ।  

गोपालचन्द्रको त्यो कथा मैले सास नफेरेर पढेँ भन्दा हुन्छ । एकभन्दा बढीपटक पढेँ । भावुक प्रेमको सुन्दर कथा थियो त्यो, जसमा काव्यात्मक अनुभूति जताततै भेटिन्थ्यो । त्यसबखत गोपालचन्द्रको लेखाइबाट साहित्यिक भाषा यस्तो हुँदो रहेछ जस्तो लागेको थियो । आफूले देखिरहेको, बोलिरहेको, भेटिरहेको आफ्नै दाइ, यसरी छापिएको पढ्नु ठूलो कुरो लागिरहेको थियो । गोपालचन्द्र गौतमले अरू पनि कथा लेखेका छन्, पत्रिकामा छापिएका पनि छन् । तर, अहिले मलाई उनको एउटै साहित्यिक रचनाको सम्झना गर्नुपर्‍यो भने, ‘झ्याउँकीरी’ कथाकै मात्र टड्कारो सम्झना आउँछ । अन्य कथाको सम्झना धमिलो रूपमा आउँछ । 

‘फ्रेन्ड, फिलोसोफर, गाइड’ भन्छन् नि कसैले, मेरा लागि तिनै दाजु त्यस्तै छन् । त्यसमा गोपाल गोतामेसँगको सम्बन्धमा, ‘फ्रेन्ड’ तत्त्व अलिक बढी थियो । कुनै समस्या बताउँदा उनी लामो भूमिका बाँध्थे रोचक किसिमले, त्यसपछि पात्र खडा गर्थे र कथा भन्थे । अन्त्यमा भन्थे, त्यो पनि मै हुँ वा अरू छ भने त्यसको नाम बताउँथे । उनका बयान सुन्दा कुनै आख्यान सुनेजस्तो रमाइलो र कौतूहल हुन्थ्यो । पछि उनी पत्रकारितामा पूर्णत: समर्पित भएर लागे । उनीकहाँ वीरगन्जमा विभिन्न पत्रकारहरू विचार–विमर्श गर्न र खास ‘इस्यु’मा उनको राय जान्न आइरहन्थे । उनलाई भेट्न आउनेमा अहिले मैले सम्झेको एक नाम शत्तिm लम्साल हो । उनी साहित्यिक चेत पनि भएका हुनाले मलाई पनि प्रोत्साहन नै दिन्थे, कुरा गर्दा । वीरगन्जका पत्रकारहरूमा प्रमुख रूपमा जगदीश शर्मा र गोपाल गिरी हुन्थे । जगदीश शर्माले पत्रकारितामा ‘गोपाल गोतामे’ सम्मान पनि राखेका छन्, जुन हरेक साल उनी संलग्न संस्थाले २ फागुनमा प्रदान गर्छ । २ फागुनमा गोपाल गोतामेको पुण्यतिथि हो । 

गोपालचन्द्र पछि पत्रकारितामै लागे । वास्तवमा कथा, कविता, नाटक लेखे पनि, पत्रकारिताको उनको लामो इतिहास छ । ००८ सालतिर (दरभंगाबाट) मशाल भन्ने एउटा अखबार प्रकाशित हुन्थ्यो, उनी त्यसका सम्पादक थिए । यही सम्झेर होला, धेरै वर्षपछि विराटनगरमा मैले मनमोहन अधिकारीको अन्तर्वार्ता लिँदा गोपाल दाइले उनलाई ‘आदि पत्रकार’ भनेका थिए । विमर्शको फाइलमा अझै त्यो सुरक्षित हुनुपर्छ । 

त्यसअघि गोपालचन्द्र केही साथीहरूका साथ एउटा क्रान्तिकारी समूहमा संलग्न थिए, जसले राणा शासनबाट देशवासीलाई मुत्तm तुल्याउन चाहन्थ्यो । उनीहरूको त्यो संगठनमा तेजबहादुर अमात्य पनि थिए । 

गोपाल दाइको गालामा एउटा चिरिएको खत थियो । भनिन्छ, एकपटक ती क्रान्तिकारीले एउटा पेस्तोल प्राप्त गरे । त्यसपछि वीरगन्जनजिकको एउटा जंगलमा गए त्यसको जाँच गर्न । पहिलोपटकमा पेस्तोल पड्केन । अर्काेपटक ट्रिगर थिच्दा, गोपाल दाइलाई लाग्यो । उनी ढले । साथीहरू आत्तिए मर्‍यो भनेर । कसैले त भनेछ पनि, यसलाई यहीँ छाडेर भागौँ । कसैले मानेनन् । यस्तैमा गोपालचन्द्र बिउँझेछन् । भनेछन्, तिमीहरू मलाई मारेर भाग्न आँटेको ? यसरी क्रान्ति हुन्छ ? पछि सद्भाव भयो, सबै फर्के । गोली गाला छिचोलेर गएको रहेछ । त्यही छिचोलेको दाग उनको गालामा सधैँभरि रह्यो । 

त्यस्तो क्रान्तिकारी र साहित्यिक पृष्ठभूमिमा राखेर उनले पत्रकारिता गरेका हुन् । त्यसकारण उनको पत्रकारिता फरक खालको हुने नै भयो । कुनै बेला उनी सरकारी जागिर खान्थे र पत्रकारिता गर्थे ।

मातृभूमिमा उनी अत्यन्त सक्रिय थिए । मातृभूमिका सम्पादक गोविन्द वियोगी उनलाई माया मात्र गर्दैनथे, अत्यन्त मान्थे पनि । आत्मीय सम्बन्ध हुनाले गोपालचन्द्रलाई बारम्बार भन्थे, ‘गोपालजी अति माइल्ड लेख्नु होला है, अहिले सिचुएसन त्यस्तै छ ।’ गोपाल दाइ धेरै माइल्ड हुन मान्दैन थिए । कतिपटक त वियोगी दाइसँग रिसाएर फोन राखिदिएको पनि घटना छ माइल्ड हुन नमानेर । तर, उनीहरूबीचको सम्बन्ध यति आत्मीय थियो कि गोपालचन्द्र ‘यतिसम्म गर्ने, यसभन्दा बढी नगर्ने’ सर्त मान्थे । पत्रकारितामा त्यति आत्मीय सम्बन्ध मैले कमै देखेको छु ।

पत्रकारितामा लागे पनि गोपालचन्द्रको साहित्यिक रुचि कम भएन । उनी बेलाबेलामा साहित्यिक समालोचना पनि लेख्थे । बालकृष्ण समको चिसो चुल्हो महाकाव्यबारे लेख्दा नेपाली साहित्यमा नौलो चहक भनेर प्रशंसा गरेका थिए भने विजय मल्लको ‘कालो चस्मा’ (गगल्स)को निकै आलोचना गरेर पनि लेखेका थिए । कथा सुनाउन उनी माहिर थिए । आफूले भविष्यमा लेख्ने कुनै कथा होस् कि अन्य कथा नै, उनी यति कुशलतापूर्वक सुनाउँथे कि श्रोता मुग्ध हुन्थे । भाउजू शान्ता गौतम भन्थिन्, ‘एकपटक गोपाल दाइले ‘गुलसनोवर’को कथा लगातार सात दिन सुनाए । श्रोता उत्सुक भएर निश्चित समयमा सुन्न भनेर आउँथे । उनकी श्रीमती सुधा गौतम भन्थिन्, ‘उहाँलाई त यस्तो गरेर बस्न पाए पुग्थ्यो ।’ यो पक्कै हो, गोपालचन्द्रसँग बस्दा दिन बितेको पत्तै हँुदैन थियो । एकपछि अर्को विषय, साहित्य, राजनीति, फिल्म आदि । वीरगन्ज गएका बखत धनुषचन्द्र, गोपालचन्द्र र म हरबखत साथै हुन्थ्याँै, ईश्वरचन्द्र आवश्यकतानुसार । साँझ ‘बैठकी’ हुन्थ्यो । मैले धेरै मानिसका साथ ‘बैठकी’ गर्ने अवसर पाएको छु । अझै पनि मैले हाम्रो त्यो बैठकीजस्तो ‘बैठकी’ पाउन बाँकी छ ।

कहिलेकाहीँ बहस पनि हुन्थ्यो, साहित्यिक । बहसमा कुनै कुनै विषयमा राय बाझिन्थ्यो । धनुषचन्द्र र गोपालचन्द्रसँग म एक्लैले बहस गर्नु पथ्र्यो । गोपाल दाइ त्यस्तोमा कुनै कुनै बेला भन्थे, ‘दाजु हेर † यिनीहरू दू अक्षर पढलिया, सन्तन को दु:ख दिया हुन् । कहिलेकाहीँ भन्थे, ‘तिमीहरू नामी बनिया हौ, त्यसकारण तिमीहरूको जे पनि चल्छ तर मलाई मञ्जुर छैन ।’ यस्तै यस्तै । मैले यसरी पाएका ज्ञानमा सर्वश्रेष्ठ ज्ञान म त्यहीँ पाउँथेँ । 

उनीसँग बहुमुखी प्रतिभा थिए । कविता, कथा, नाटक, समालोचना, निबन्ध के लेखेनन् ? तर, पछि उनको चाख पत्रकारितामै भयो । दुई अखबार सँगसँगै चलाउँथे, एक प्रकारले । काठमाडौँको मातृभूमि र वीरगन्जको अचेल । 

गोपाल दाइ यसप्रति सदैव सजक थिए, कुन सामग्री मातृभूमिमा दिने र कुन अचेलमा । मातृभूमिका लागि लेख्दा मैले कतिपटक देखेको छु, कागजका गोला चारैतिर यति धेरै छरिएका हुन्थे कि विश्वासै हुँदैन थियो, एक जनाले एउटा न्यूज बनाउन वा एउटा लेख लेख्न यतिपटक लेख्छ । 

एक दिन त मैले सोधेँ, के भयो ?

उनले भने, “चित्तै बुझेन ।”

अचम्म के भने उनी त्यस्तो रातभरि गरिरहेका रहेछन् । धचजस्तै पत्रकारितामा उनी ‘परफेक्सनिस्ट’ थिए । साँच्चि भन्ने हो भने निमित्त नायक टेलिसिरियलमा एक दृश्यमा जुन प्रेम–पत्रका टुक्राहरूको ओइरो लाग्छ, त्यो लेख्दा मैले गोपालचन्द्रको कोठामा छरिएका ती कागतका गोला पनि सम्झेको थिएँ ।

गोपाल गोतामे प्राय: भन्थे ‘धुरे ! म पनि गुलेरी हुन्छ । हिन्दीका लेखक चन्द्रधर शर्मा गुलेरी, जसले थोरै कथा लेखे, तिनमा पनि उसने कहा था भन्ने एउटै कथाले उनलाई प्रख्यात बनाएको थियो ।’ गोपाल दाइले तिनैलाई संकेत गरेका हुन् । उनले एउटा कथाको प्लट सुनाएका थिए । मैले ‘यो कथा लेख्नुपर्छ’ भनेँ । उनले लेखे । उनले लेखेको अन्तिम कथा त्यही थियो । त्यो कथा, ‘तृष्णा’ शीर्षकमा मधुपर्कमा छापियो । मलाई लाग्छ, ‘तृष्णा’ले नेपाली यौन–कथामा उत्कृष्ट स्थान राख्छ ।

मेरो डापी उपन्यास ईश्वरचन्द्रले प्रकाशन गराइदिए । त्यसमा अन्य परिश्रम गोपालचन्द्रले गरिदिए । उनको पत्रकारिताको उपनाम सञ्जय प्रयोग गरेर भूमिकासमेत लेखिदिए । त्यो भूमिका मेरो कृतिबारे लेखिएको एक उच्चकोटिको भूमिकामध्ये एक मान्छु । 

उनी ०४६ को आन्दोलनमा ‘झन्डा बोकेर हिँड्छु’ भन्थे । गोविन्द वियोगी दाइ भन्थे, आन्दोलनलाई सहयोग गर्ने अरू पनि उपाय छन् । सारांश यो कि उनी सुरुदेखि अन्त्यसम्म प्रगतिशील आस्थाका पत्रकार/लेखक/विचारक रहे । उनी चिन्तनशील थिए । त्यसकारण नेताहरू मनमोहन अधिकारी, भरतमोहन अधिकारी, राधाकृष्ण मैनाली आदि उनीसित भेट्न/विमर्श गर्न आउँथे । मानिसलाई आफ्नो तर्कद्वारा सन्तुष्ट पार्ने खुबी थियो उनमा । त्यसकारण बारम्बार उनलाई भेट्न आउँथे नेताहरू । वीरगन्ज जेलमा राजनीतिक बन्दीहरू हुन्थे । दसैँ–तिहार वा अन्य विशेष बेलामा, उनी तिनका लागि घरबाट परिकार पठाइरहन्थे । कति नेताहरू, अहिले पनि त्यो सम्झिन्छन् । 

व्यत्तिmत्व उनको अत्यन्त सरल थियो तर जीवन्त थियो । प्रकाश काफ्लेको समयमा जब मानव अधिकार आयोग गठन भयो, पहिलो अध्यक्षता उनैलाई ग्रहण गर्न आग्रह गरिएको थियो, उनले मानेनन् । कारण थियो, उनको संकीर्ण स्वभाव । अन्त्यमा, करै गरेर गोपाल गोतामे दाइलाई प्रथम उपाध्यक्ष बनाइयो । प्रकाश काफ्ले भनिरहन्थे, ‘ गोपाल दाइका नाममा मानव अधिकार पुरस्कार राख्छु, उहाँको फोटो कार्यालयको ढोकामा झुन्ड्याउँछु ।’ पछि काफ्लेको पनि निधन भयो । 

गोपाल दाइको निधन अचानक भएको थियो । अहिले पनि त्यस परिस्थितिको बयान गर्न म असमर्थ छु । हामी सबै दाइभाइ त्यस बखत वीरगन्जमै थियौँ । रमाइलो एकाएक शोकमा परिणत भएजस्तो भएको थियो । उनका छोराछोरी, बुहारीहरू सब थिए, केवल गोपाल दाइ एक्कासि उठेर हिँडिदिएका थिए । जीवनमा यस्ता शोकको कल्पना गरिएको हुँदैन तर आउँदो रहेछ । 

निधनपछि गोपाल गोतामेलाई लेखकका रूपमा दिने एउटा श्रद्धाञ्जली के हुन सक्थ्यो ? मैले त्यही गरेँ । मैले पढेको उनको पछिल्लो कथा, ‘झ्याउँकीरी’माथि एउटा टेलिफिल्म बनाएँ र प्रदर्शित गरँे ।

स्मृतिको जंगलैजंगल छ, कति हिँड्नू ? मेरा सबै दाइ मेरा ‘रोल मोडेल’ हुन् अर्थात् अनुकरणीय । अरूका नजरमा गोपाल दाइ कस्ता थिए ? नमुनास्वरूप म एकै जनाको भनाइ उद्धृत गर्छु यहाँ । धनुषचन्द्रको साला अर्थात् शान्तादेवीको भाइ सुरेश अधिकारी मसँग भन्थे, ‘तपार्इंहरू पाँचै जनामा मलाई गोपाल सबभन्दा मन पर्छ ।’ 

स्मृतिको त सीमा हुँदैन तर लेख्नुको सीमा छ । त्यसकारण गोपाल गोतामेबारे अहिलेलाई यत्ति नै । 

प्रकाशित: श्रावण २०, २०७४