नारी मनको कथा

  • नारीको संघर्ष पुरुषभन्दा बढी नारीविरुद्ध नै हुने गर्छ । सानुको उपन्यासको सारतत्त्व यही हो ।

- रमण घिमिरे

नारीले जति नारीलाई पुरुषले चिनेको हुँदैन । पुरुषलाई पनि एउटी नारीले जति गहिरोसँग चिन्छे, त्यति आफू नजिकको पुरुषले पनि चिनेको हुँदैन । यस अर्थमा नारीजति दुनियाँलाई चिन्ने पुरुष हुँदैनन्, हार्दिकताका दृष्टिले या संवेदनाका हिसाबले । अर्को सत्य नारीको नारीभन्दा ठूलो उत्पीडक पुरुष हुन सक्दैन । र, अधिकांश यस्ता नारी–पीडितहरू पराई या शत्रु नभई, आफ्नै परिवारभित्रका सदस्य हुन्छन् । 

हालै प्रकाशित सानु शर्माको उपन्यास विप्लवीमा यो प्रसंग प्रभावकारी रूपमा उठाइएको छ । एउटा सम्पन्न परिवारमा परिपोषित, शिक्षित र आत्मविश्वासी युवती र एउटा मध्यमवर्गीय परिवारको युवकबीच प्रेमको लहर चल्न थाल्छ । यस लहरमा उठ्ने तरंगको सम्मोहनमा आशक्त भई उनीहरूबीच लगनगाँठो कसिन्छ । यद्यपि, युवतीको परिवारले यस विवाहलाई त्यति सुखद अनुभूति गर्न सक्दैनन् । यस्तो अवस्थालाई प्राय: हरेक अभिभावकले उसको किशोरवयको कच्चा उमेर र चञ्चलतावश गरिएको निर्णयलाई दोषी ठान्छ । सबै अवस्थामा यो सत्य नभए पनि केही प्रतिशत सत्य साबित पनि भएका हुन्छन् । सानुको विप्लवीले धेरै प्रतिशत यस पक्षलाई सकारेको छ । नारी जति समर्पित भएर आफ्नो पति र परिवारप्रतिको जिम्मेवारी काँधमा बोकेर आफ्ना रहरलाई तिलाञ्जली दिन पछि पर्दैनन्, त्यहीँ पति र उसका आमा या बहिनी यस समर्पणको लाभ उठाउँदै उसलाई कहरको जिन्दगी बिताउन बाध्य पार्छन् । शर्माको उपन्यासले उठाएको एउटा गम्भीर सवाल हो यो । 

तर, यसभन्दा पनि गम्भीर रूपमा उनको उपन्यासले उठाएको सन्दर्भ हो, नारी मनोविज्ञान । चाहे वर्षौंअघि लेखिएको रुद्रराज पाण्डेको सुप्रसिद्ध उपन्यास रूपमतीकी सासू हुन्, चाहे आजको आधुनिक युगमा लेखिएको सानुको विप्लवीकी सासू, दुवैको मनोदशा बुहारी भनेपछि त्यसमाथि शासन गर्नैपर्छ भन्ने मानसिकता देखिन्छ । त्यसैले पहिलेदेखि अहिलेसम्म नारीको शत्रु नारी नै हो भन्ने कुरा प्रमाणित गरेको छ, यस उपन्यासले । एउटी साहसी र स्वनिर्णय गर्न सक्ने क्षमता भएकी नारी पनि अन्तत: नारीकै कोपभाजनको सिकार हुन पुग्छे र जसको भरोसा र प्रेममा बाँधिएर सुखद दाम्पत्यको लालसा लिएर दाम्पत्यमा बाँधिएकी हुन्छे, त्यसले पनि जब दोषको भागीदार उसैलाई ठान्छ । यस अवस्थामा नारी कोठा थुनिएर पिटिएको बिरालोको नियतिजस्तै लाचार र असहाय–पीडाले रन्थनिएर विद्रोह गर्नुपर्ने मानसिकतामा पुग्छे । 

विप्लवी उपन्यासमा यस्ता अन्यान्य पात्रहरू पनि देखा पर्छन्, जो कतै नारी र कतै पुरुषको शोषण र उत्पीडनका सिकार भएका हुन्छन् । उसका सहपाठीहरू पनि यस चक्रमा फस्न पुग्छन् । तर, उपन्यासकी नायिका सम्पन्न, शिक्षित हुन्छे र अन्याय सहनु पनि अपराध हो भन्ने ठान्छे र विद्रोह गर्छे । अनि, उच्च शिक्षाका लागि पहिल्यै तय भइसकेको तर पतिको कथित प्रेममा भुलिएर नजाने निर्णय गरेकी आफ्नो मानसिकतालाई समेत परिवर्तित गरेर भारी मनले विदेश जान्छे । 

नारी मन कतै न कतै सहाराको आवश्यकता खोज्छ । कतै न कतै पोखिन र बग्न चाहन्छ, भावना र कहिलेकाहीँ आवेगसँग । किनभने, उनीहरू मस्तिष्कभन्दा अधिक हृदयसँग जोडिएका हुन्छन् । जहाँ हृदयको न्यानो बिसौनी देख्छन्, मन खोलेर समर्पित पनि हुन्छन् । र, आफूलाई जति नै सतर्क र सजग बनाउने कोसिस गरे पनि उनीहरू लयपूर्ण स्पन्दनमा साटिन्छन् । अनेकौँ ठाउँमा चोइटिए, चर्किए पनि त्यहाँ उनीहरूले ज्ञान प्राप्त गर्छन्– सबै पुरुष खराब हुँदैनन् र सबै महिला उनीहरूले पहिला भोगेको महिलाजस्तै कुटिल हुँदैनन् । पुरुषहरू उदार र सहृदयी पनि हुन्छन् । नारीको अन्तर्मनको ढुकढुकीलाई बुझ्न पनि सक्छन् । यस्ता पुरुष निकट हुँदा उनीहरू कमजोर बनिदिन्छन् र आफूलाई सहज रूपमा समर्पण पनि गर्न सक्छन् । त्यसैले भावना नारी मनको एउटा यस्तो कमजोर पक्ष हो, जसलाई मखमली हृदयले आमन्त्रण गरेपछि त्यो भावनामा हुत्तिएर फेरि स्वतस्फूर्त गाँसिन पुग्छन्, सम्बन्धहरूमा । शर्माको विप्लवीले यो पक्षको पनि रहस्योद्घाटन गरेको छ ।

शर्मा स्वयं नारी भएकाले उनका नारी विषयक अनुभव र अनुभूतिहरू सत्य निकट पुगेजस्तो लाग्छ । हाम्रो समाज जति नै आधुनिक र सभ्य रूपमा विकसित हुँदै गरेको भए पनि पुरातन संस्कार र संस्कृतिबाट अछूतो रहन सकेको छैन । यो पक्षलाई पनि उपन्यासकारले टड्कारो रूपमा उठाएकी छन्, विप्लवीमा । सभ्य, शिष्ट र शिक्षित समाजको आवरणमा नारीहरू आज पनि आफ्नो परिवारभित्र कुण्ठित भएर बाँच्न विवश छन् । ती नारीहरूको खुलेर वकालत गरेकी छन्, उपन्यासकारले र तिनका विरुद्ध हरेक शिक्षित नारीले विद्रोह गर्नुपर्छ भन्ने पनि सन्देश दिएकी छन् परोक्ष रूपमा । उपन्यासले उठाएको प्रमुख सवाल भनेको संयमित विद्रोह हो । जबसम्म कुनै पनि महिलाले घरेलु हिंसाविरुद्ध आवाज उठाउन सक्दिन, जबसम्म आफ्नो अधिकारको प्रत्याभूति स्वयंले गर्न सक्दिन र जबसम्म कथित समाजसम्म यसको परकम्प पुर्‍याउन सक्दिन, तबसम्म नारी यस्तो हिंसाबाट मुक्त हुन सक्दिन । अनि, नारीको संघर्ष पुरुषभन्दा बढी नारीविरुद्ध नै हुने गर्छ । सानुको उपन्यासको सारतत्त्व यही हो । 

विप्लवी विशुद्ध नारी मनको कथा हो । शर्माको भाषामाथिको पकड र कथ्यसँग खेल्ने कलाले यसलाई अझ पठनीय बनाएको छ । उपन्यासभरि पठनक्रममा कतै पनि रोकरोकावट आउँदैन । उनले कथालाई यसरी बुनेकी छन्, पाठकले एक बसाइमै आद्योपान्त उपन्यास छिचोल्न भ्याउँछ ।

विप्लवी

लेखक : सानु शर्मा

प्रकाशक : फिनिक्स बुक्स

पृष्ठ : २०५

मूल्य : २५० रुपियाँ

प्रकाशित: श्रावण २०, २०७४