गण्डकको साँचो भारतसँग

  • सिँचाइ
  • पानी बाँडफाँट सम्झौता पालना नहुँदा नेपाली किसान मर्कामा

- शंकर आचार्य

गण्डक नहरमा ७ साउन साँझ अचानक आठ सय क्युसेक पानी आयो । नहरको इतिहासमै यति धेरै पानी आएको यो सम्भवत: पहिलो पटक हो । नहरको व्यवस्थापन गर्दै आएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन, बहुअरीका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साह लामो प्रयासपछि यति धेरै पानी ल्याउन सफल भएकामा उत्साहित पनि छन् । “निरन्तर चार महिनाको प्रयास सफल भयो,” साह भन्छन्, “भारतीय पक्षसँग निरन्तर सम्पर्क र आवश्यक दबाबपछि यो सम्भव भएको हो ।”

यस वर्ष धान सिजनका लागि भनेर भारतले २० असारदेखि पानी दिएको हो । सुरुआतमै भारतले यस वर्ष ७ सय १८ क्युसेक पानी दिएको हो । तर, उसले आठ सय क्युसेक पानी दिँदा पनि त्यो पर्सादेखि रौतहटसम्मको ८१ किलोमिटर लामो नहरका लागि पर्याप्त हुँदैन । बाराको कोतवालीसम्म ६५ किमि पुग्न नपाउँदै नहरको पानी सकिन्छ । साहका अनुसार भारतले सम्झौताबमोजिम ८ सय ५० क्युसेक पानी दिए पनि त्यसले रौतहटबाहेक पर्सा र बारा जिल्लालाई एकसाथ पुग्दैन । त्यसकारण साताको तीन/तीन दिन पर्सा र बारामा तथा एक दिन पानी प्रवाह हुने बाटोका लागि समय छुट्याइएको छ । पर्सालाई आइतबारदेखि मंगलबार र बारालाई बिहीबारदेखि शनिबारसम्मको समय पानी वितरण गरिन्छ । बुधबार एक दिन बाटोका लागि छुट्याइएको छ । 

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहर नै पूर्वी नहर हो, जो ८१ किमि लामो छ । यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर खेत सिञ्चित गर्ने लक्ष्य थियो । तर, भारतबाटै पर्याप्त पानी नछोडिने भएकाले पर्सा र बाराका पूर्वी भेगका केही गाउँमा मुस्किलले पानी पुग्छ । रौतहटसम्म पुग्दा नहरमा पानी सुकिसक्छ । भारतले आफूलाई पानी पुगेपछि मात्र नेपालतर्फ छाड्ने गरेको छ । 

नेपाल र भारतबीच भएको गण्डक सम्झौता अनुसार २ हजार ५ सय क्युसेक क्षमताको नहरबाट भारतले नेपालतर्फ ८ सय ५० क्युसेक पानी छाड्नुपर्ने हो । तर, उसले नहरको हालसम्मकै इतिहासमा यति पानी नेपाललाई दिएको छैन । तीन वर्षयता उसले मुस्किलले ५ सय ५० देखि ६ सय क्युसेक पानी मात्र छोडेको छ । अझ बेलाबेलामा नेपालतर्फको पानी रोकेर भारततर्फको नहरमा पानी वितरण गरिन्छ । 

गण्डक नहरमा नेपालतर्फ छाडिने पानीको गेट प्रणालीको साँचो तीन वर्षदेखि भारतीय पक्षसँग छ । पर्साको जानकीटोलाभन्दा पश्चिम भारतीय गाउँ इनर्वास्थित गण्डक नहरको नियन्त्रण प्रणालीको गेटको साँचो भारतीय पक्षले आफैँ राखेको हो । यसले नेपाली किसानलाई मर्का परेको छ ।

डिभिजनका सूचना अधिकृत एवं इन्जिनियर सुरेश साह तीन वर्षअघि नहरको गेटको मर्मत–सम्भार प्रयोजनका लागि भारतमा गण्डक नहर हेर्ने पश्चिम चम्पारण रामनगरस्थित दोन शाखा नहरका अधिकारीले साँचो लगेपछि हालसम्म फिर्ता नदिएको बताउँछन् । यसअघि त्यो साँचो डिभिजन कार्यालय आफैँले राख्दै आएको थियो । “हामीले भारतीय पक्षले मर्मत प्रयोजनका लागि मात्र भनेर मागेपछि दिएका हौँ,” साह भन्छन्, “तर, मर्मत सकेर नहर चालू भयो, साँचो फिर्ता आएन ।” पटक–पटक माग्दा पनि भारतीय पक्षले साँचो नदिएको गुनासो साहको छ । 

नहरबाट नेपालतर्फ आउने पानीको मात्राको अनुगमन र नियन्त्रणका लागि सीमा नजिक नहरमा भारतीय भूमिमा रहेको गेट नेपालका लागि अत्यन्त महत्त्वपूर्ण र संवेदनशील मानिन्छ । त्यस गेटमा नहरमा बग्ने पानीको मात्रा नाप्ने प्रणालीका साथै भारतबाट नेपालतर्फ छाडिने पानीको मात्रा थपघट गर्न सकिने प्रणाली पनि छ । नहर नियन्त्रण प्रणाली नै भारतको हातमा भएपछि ‘जसको हात उसकै जगन्नाथ’ त हुने नै भयो । 

प्रकाशित: श्रावण १९, २०७४