कहीँ नभएको जात्रा लुम्बिनीमा

  • सम्पदा
  • गुरुयोजना विपरीत धमाधम भौतिक संरचना निर्माण

- श्यामशंकर पाण्डे

लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष आचार्य कर्मा सङ्बो शेर्पाले मायादेवी मन्दिरअगाडि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा आबद्ध गैरसरकारी संस्था थाइ पुङ थाइ फाउन्डेसनलाई बेबी बुद्धको मूर्ति बनाउन अनुमति दिए । 

१० मंसिर ०६९ मा मूर्ति बनाउने पिलर खडा भएपछि मात्र कोषका अरू पदाधिकारी र कर्मचारीले थाहा पाए । गुरुयोजना विपरीत मात्र होइन, बुद्धको संस्कृति र कलासँग मेल नखाने मूर्ति स्थापनाको कोषभित्र र बाहिरबाट समेत व्यापक विरोध भयो । चौतर्फी विरोध र स्थापित मूर्तिले भविष्यमा पार्न सक्ने असरको गम्भीरता नबुझी उपाध्यक्ष शेर्पाले सन् २०१२ को भ्रमण वर्षको चिनो भन्दै बोर्ड बैठकबाट स्वीकृत गराए । लुम्बिनी आउने आध्यात्मिक पर्यटकलाई शान्तिदीपबाट मायादेवी मन्दिरको अशोकस्तम्भ हेर्दै बुद्धत्व झल्काउने गुरुयोजनामा जुन परिकल्पना गरियो, अहिले बेबी बुद्धको मूर्ति त्यसको बाधक बन्न पुग्यो । 

शेर्पाकै पालामा लुम्बिनीको विनियमावली विपरीत कोरियन महाबोधी सोसाइटीले विशाल विहार निर्माण गरेरै छाड्यो । अग्ला भवन सुरक्षाका दृष्टिले खतरायुक्त हुने उल्लेख गुरुयोजनामा छ । तीन तलाभन्दा अग्लो भवन बनाउन नपाइने भनिए पनि उचाइ भने तोकिएको छैन । कोरियन सोसाइटीले त्यसैको फाइदा उठाउँदै विहार निर्माण गर्‍यो । उक्त मन्दिर तीन तल्ले अन्य विहारको तुलनामा दोब्बर अग्लो छ । सुरुमा गुरुयोजना विपरीत भन्दै निर्माण रोक्नुपर्ने पक्षमा देखिएका उपाध्यक्ष शेर्पासहित तत्कालीन सदस्य–सचिव राजेन्द्र थापा, योजना प्रमुख टेम्बा शेर्पा सोसाइटीको निम्तोमा दक्षिण कोरिया भ्रमण गएपछि चुप रहे । अहिले अर्को कोरियन संस्था नेपाल–कोरिया मैत्री संघले हालका सदस्य–सचिव अजितमान तामाङको अनुमतिमा दक्षिण पोखरीको बीचमा गुरुयोजना विपरीत संरचना निर्माण गरिरहेको छ । बुद्ध मूर्तिसहितको फूलबारी बनाउने बताएको यो संस्थाले त्यो पूरा नहुँदै ठूलो आकारको घन्ट झुन्ड्याउने अर्को संरचना थप्दै छ । स्वीकृर्ति लिएको भन्दा ठूलो पिलरमा बुद्धको मूर्ति राखिएको छ । विभागीय मन्त्रीहरूले समेत कोषमा भएको बेथितिको अन्त्य गर्नुको सट्टा त्यसलाई संस्थागत गर्दै आएका छन् । 

तत्कालीन संस्कृति मन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा भएको कोषको बैठकले अमेरिकी संस्था याङ रिग येसे इन्करपोरेटेडलाई दुईवटा प्लट दिने निर्णय गर्‍यो । सोही संस्थालाई काम सुरु नहुँदै कोषले थप दुईवटा प्लट उपलब्ध गरायो । कोषको विहार नियमावली–०५८ मा एउटा देशको एक मात्र संस्थालाई एउटा प्लट दिने व्यवस्था छ । नियमावली विपरीत कोरियालाई चार, थाइल्यान्डलाई तीन, कम्बोडिया र बर्मालाई दुई–दुईवटा प्लट दिइएको छ । बुद्ध धर्म मानिने ४२ मुलुकका थेरवादीका लागि केन्द्रीय नहरको पूर्वतर्फ १३ र महायानीहरूलाई पश्चिमतर्फ २९ वटा प्लट दिने योजना विपरीत १८ वटा मुलुकलाई मात्र बाँड्दा ३६ वटा प्लट सकिएका छन् । 

अब थेरवादीका लागि प्लट छैन । नियम ३ (२) विपरीत थाइल्यान्डलाई तीनवटा प्लट दिँदा तत्कालीन उपाध्यक्ष शेर्पाको विशेष जोड रह्यो । ४ भदौ ०५४ मा गुरुयोजनाले वन क्षेत्र मानेको प्लट कोरिया महाबोधी सोसाइटीलाई विहार निर्माण गर्न दियो । दबाबमा प्लट लिएर लुम्बिनीमा बनेका र बनिरहेका गुम्बा तथा विहार पनि गुरुयोजना मुताबिक छैनन् । 

बुद्धिष्ट एसोसिएसन अफ चाइनाले बनाएको विहारको उत्तरपट्टि हुनुपर्ने प्रवेशद्वार दक्षिणपट्टि छ भने दक्षिणतर्फ हुनुपर्ने भियतनाम विहारको प्रवेशद्वार पूर्वतर्फ । कोष र विदेशी संस्थाले आफ्नो स्वार्थ अनुकूल जोड दिँदा गुरुयोजना अनुसारका संरचना निर्माण, पुरातात्त्विक उत्खनन् र उद्यान विकास छायामा परेका छन् । 

मिलेर काम गर्नुपर्ने विनियमावलीको आशय विपरीत आपसी शंका, स्वार्थ तथा सबै पदाधिकारी एकै पटक नजुट्दा निर्णयमा विलम्ब भई काम प्रभावित हँुदै आएको छ । कोषका पूर्वकोषाध्यक्ष ओम अर्याल भन्छन्, “क्षमतावान् तथा स्थानीयलाई नियुक्ति, पदाधिकारीलाई क्षेत्रगत कामका आधारमा जवाफदेही र जिम्मेवार नबनाउँदासम्म कोषभित्र अराजकताको अन्त्य हुँदैन ।” 

जापानी वास्तुविद् प्रा केन्जो टांगेले विसं ०३५ मा कोरेको गुरुयोजनाले लुम्बिनीलाई बौद्ध तीर्थस्थल र विश्व पर्यटन केन्द्र बनाउने परिकल्पना गरेको छ । तर, पदाधिकारीहरूको ध्यान त्यताभन्दा पनि गुरुयोजना विपरीतका काममा रह्यो । विदेशी संस्थाहरूले पनि सहयोगका नाममा कोषमाथि अनुचित दबाब दिँदा टांगेको परिकल्पना अनुसार विकास हुन सकेको छैन । “जागिरे मानसिकताबाट आएका पदाधिकारी व्यक्तिगत फाइदाका योजनामा लाग्दा लुम्बिनीको विकास व्यवस्थित र सोचे अनुरूप हुन सकेन,” लुम्बिनीका जानकार संस्कृतिविद् प्रा गितु गिरी भन्छन्, “सरकारी स्तरबाटै गम्भीर रूपमा समीक्षा गरेर अगाडि बढ्नु पर्छ ।” पदाधिकारीका यस्तै कमजोरी समातेर विदेशी संस्थाले आफू अनुकूलको काम गराउँदै आएका छन् । परिणाम, लुम्बिनीमा विकास भइरहेको त देखिन्छ तर गुरुयोजना विपरीत । 

प्रकाशित: श्रावण १९, २०७४