विकास बजेट अनुत्पादक क्षेत्रमा

  • ऐतिहासिक सम्पदा संरक्षणमा भन्दा जथाभावी नयाँ निर्माणमा जोड

- बाबुराम विश्वकर्मा

विसं ०७० को संविधानसभामा काठमाडौँ क्षेत्र–२ बाट निर्वाचित सांसद हुन्, दीपक कुइँकेल । नेपाली कांग्रेसबाट निर्वाचित यी सांसदले भर्खरै सकिएको आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्रका चारवटा मन्दिर निर्माण तथा मर्मत गर्न झन्डै आधा करोड रुपियाँ खर्चेका छन् । उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको ४९ लाख रुपियाँ मन्दिर निर्माण र मर्मतमा खर्च गरेका हुन् । काठमाडाँैका निर्वाचित तथा समानुपातिक सहित ३१ सांसदमध्ये उनी मन्दिर निर्माणमा दिल खोलेर लगानी गर्नेमा पर्छन् । 

हुन पनि सडक र बाटोघाटोपछि उनले मन्दिर निर्माणलाई नै प्राथमिकता दिएका हुन् । आफैँ पनि धर्मकर्ममा रुचि राख्ने उनी जनताले माग गरेका कारण कूल योजनामध्ये १० प्रतिशत मठ–मन्दिरसँग सम्बन्धित रहेको बताउँछन् । प्रत्यक्ष निर्वाचित सांसद भएकाले उनी क्षेत्र–२ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छनोट समितिका संयोजक पनि हुन् । त्यसैले त्यो कार्यक्रमको तीन करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५० लाख रुपियाँ बाँडफाँटमा कुइँकेलको निर्णायक हैसियत छ । उनले चाहेको योजनामा लगानी गर्न कसैको छेकबार छैन । भन्छन्, “जनताले नै माग गरेको हुनाले ठूलो रकम मठ–मन्दिर निर्माण र मर्मतमा गएको हो । किनभने, अहिलेका मानिसलाई मनशान्ति चाहिएको छ, मनशान्ति मन्दिरबाटै प्राप्त हुन्छ ।”

सांसद विकास कोषका नाममा चिनिने उल्लिखित दुवै कार्यक्रमको बजेट मन्दिर विकासमा लगाउने कुइँकेल एक्ला सांसद भने होइनन् । धेरैले सांसद विकास कोषको रकम मठ–मन्दिर निर्माण र मर्मतमा लगाएका छन् । टोलैपिच्छे मन्दिर र मठ बनाउने क्रम बढ्दै गएको स्थानीयको माग अनुसार मन्दिरमा कोषको पैसा गएको सांसदहरूको जिकिर छ । नेपाली कांग्रेसकै सांसद तथा पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले आफू निर्वाचित भएको काठमाडौँ क्षेत्र–८ को कंकेश्वरी मन्दिर पुन:निर्माणमा मात्रै गएको आर्थिक वर्षमा काठ खरिदका लागि ३४ लाख रुपियाँ खर्च गरे । “मेरो क्षेत्र मन्दिर, बाजागाजा र संस्कृतिको केन्द्र हो, धर्म र जीवन एकअर्काका परिपूरक भएकाले आफ्नै रुचिले मन्दिरमा लगानी गरेको हुँ,” जोशी भन्छन्, “हाम्रो समाजमा कंकेश्वरी माताले आफ्नो रक्षा गर्छन् भन्ने धेरैको विश्वास छ र म पनि विश्वास गर्छु । त्यसैले मन्दिर निर्माण प्राथमिकतामा परेको हो ।”

देशको सबैभन्दा पुरानो र परम्परागत दल नेपाली कांग्रेसका सांसदले मठ–मन्दिर निर्माणमा लगानी गर्नु नयाँ कुरा होइन । धर्ममा खासै विश्वास नभएको, १० वर्ष सशस्त्र विद्रोहमा धर्मको धज्जी नै उडाएको नेकपा माओवादी केन्द्रकै सांसदले समेत कोषको रकम मन्दिर निर्माण र मर्मतमा लगाएका छन् । माओवादीकी समानुपातिक सांसद रूपा महर्जनले अघिल्लो आर्थिक वर्षको बजेटबाट काठमाडौँको नगार्जुन नगरपालिका–९ को महादेव मन्दिर निर्माण गर्न २ लाख ५० हजार रुपियाँ लगानी गरिन् । मन्दिरमा गरिएको लगानी धर्मका कारणले नभई पर्यटक आकर्षित गर्नका लागि भएको महर्जनको दलिल छ । भन्छिन्, “मैले धर्मकर्म छाडेको २० वर्ष भयो तर त्यो मन्दिरमा पर्यटक लैजान सकिन्छ कि भनेर लगानी गरेकी हुँ ।” 

सांसदहरूको लगानी मन्दिरमा मात्र छैन, गुम्बातिर पनि गएको छ । नेकपा एमालेकी समानुपातिक सांसद पेम्बा लामाको सक्रियतामा काठमाडौँका तीन सांसदले संयुक्त रूपमा दुईवटा गुम्बामा १२–१२ लाख रुपियाँ लगानी गरेका छन् । गएको आर्थिक वर्षको बजेटबाट तीनचुलीस्थित ह्योल्मो गुम्बामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १० लाख रुपियाँ र निर्वाचन क्षेत्र विकास कार्यक्रमको दुई लाख रुपियाँ लगानी गरिएको छ । त्यस्तै कामनपा–६, रामनगरको मुगुम गुम्बामा पनि त्यति नै रकम लगानी गरिएको छ । पेम्बालाई गुम्बामा लगानी गर्न साथ दिनेमा उनकै दल एमालेका निर्वाचित सांसद रामेश्वर फुँयाल र मन्त्री तथा नेपाली कांग्रेसकी समानुपातिक सांसद अम्बिका बस्नेत छिन् । लामा भन्छिन्, “हामी तीन जनाले सल्लाह गरेर नै गुम्बामा लगानी गरिएको हो ।”

माओवादीकै सांसद एवं राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई पनि मन्दिर निर्माणमा लगानी गर्न जनस्तरबाट माग नआएको होइन । तर, उनले सांसद विकास कोषको रकम अहिलेसम्म कुनै पनि मठ–मन्दिर, गुम्बा, बिहार, चर्च, मस्जिद आदिमा लगाएका छैनन् । भन्छन्, “यो उत्पादनमूलक क्षेत्र होइन, त्यसैले मैले यसमा खर्च गर्न चाहिनँ ।” 

पुराना मठ–मन्दिर, पाटी–पौवा, गुम्बा–बिहारको जिर्णोद्धार र मर्मत आवश्यक पनि छ । किनभने, ती इतिहास र सम्पदा हुन् । ०७२ को भूकम्पले काठमाडौँ उपत्यकाभित्र त्यस्ता ऐतिहासिक सम्पदा प्रशस्तै क्षतिग्रस्त बनाएको छ । तर, तिनको जिर्णोद्धार तथा मर्मत न्यून मात्रै भएको छ । सांसद विकास कोषको रकम यस्ता सम्पदाको पुन:निर्माणमा लगाउनुको साटो हचुवाका भरमा जथाभावी नयाँ मठ–मन्दिर तथा गुम्बाको निर्माण भइरहेको छ । 

व्यवस्थापिका–संसद्मा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ५ सय ९१ सांसदलाई प्रतिसांसद ५० लाख रुपियाँ र २ सय ४० निर्वाचन क्षेत्रलाई प्रतिक्षेत्र तीन करोडका दरले वार्षिक करिब ११ अर्ब रुपियाँ विनियोजन हुँदै आएको छ । काठमाडौँ जिल्ला समन्वय समितिको आँकडा अनुसार गएको आर्थिक वर्षमा मात्रै निर्वाचन क्षेत्र पूर्वाधार विकास र निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा डेढ करोड रुपियाँभन्दा बढी लगानी गरिएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा झन्डै दुई करोड रुपियाँ मठ–मन्दिर, गुम्बामै खर्च भएको छ । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन क्षेत्र विकाससम्बन्धी उल्लिखित दुईवटा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले जारी गरेको नियमावलीले समेत रकम मठ–मन्दिर तथा गुम्बा आदिमा खर्च गर्न पाउने व्यवस्था गरेको छ । तर, त्यसमा पुराना र ऐतिहासिक सम्पदा र नयाँ निर्माण, केमा खर्च गर्न पाइने भनेर खुलाइएको छैन् । त्यही छिद्रमाथि टेकेर सांसदहरूले निर्वाचन क्षेत्रको विकास गर्न विनियोजन गरिएको रकम अनुत्पादक क्षेत्रमा खर्च गरेका हुन् । प्राध्यापक कृष्ण पोखरेल भन्छन्, “जनतालाई रिझाउन र पपुलिस्ट हुन धर्मका नाममा मन्दिर, गुम्बा आदिमा लगानी गर्ने प्रवृत्ति बढ्दो छ । सांसदले अनुत्पादक क्षेत्रमा यसरी लगानी गरेकै कारण सांसद विकास कोषको औचित्य र सान्दर्भिकतामाथि नै बहस गर्ने बेला भएको छ ।” 

प्रकाशित: श्रावण १९, २०७४