मन्दिरदेखि चर्चसम्म

  • बाँकेका सांसदद्वारा मन्दिर, मस्जिद, गुम्बा र चर्चलाई १० देखि ७५ प्रतिशतसम्म बजेट

- जनक नेपाल

बाँकेको दुर्गम क्षेत्र राप्तीपारि बघौडाका जनता सडक, विद्युत्, भरपर्दो स्वास्थ्य सेवाको अभावले वर्षौंदेखि पिछडिएका छन् । कल्भर्ट नहुँदा वर्षायाममा ससाना नाला तर्नसमेत मुस्किल हुन्छ । शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पर्याप्त लगानी हुन नसकेको गुनासो एकातिर छ । त्यस क्षेत्रका सांसद दिनेशचन्द्र यादवले भने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाखमध्ये ७५ प्रतिशत अर्थात् ३६ लाख ५० हजार रुपियाँ मन्दिर र मस्जिदलाई बाँडेका छन् । 

सांसदले मतदाताका माग प्रत्यक्ष सम्बोधन गर्न सकून् भनेर कोषबाट एउटा योजनाका लागि १ लाखदेखि १० लाख रुपियाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । बाँके–२ का एमाले सांसद यादवको प्राथमिकता भने मन्दिर र मस्जिदमा देखियो । पूर्वाधार विकास कोषको लाखौँ रुपियाँ खर्च गर्न नसके पनि धार्मिकस्थलमा छुट्याएको बजेट भने पूरापूर खर्च गरेका छन् उनले । 

त्यही क्षेत्रको पूर्वाधार विकास विशेष कार्यक्रम अन्तर्गतको तीन करोड रुपियाँ खर्च हुन सकेन । सांसद यादवले हतार–हतार ९० लाख रुपियाँको सोलार प्यानल किनेर स्थानीयलाई बाँड्ने उपाय निकाले । सोलार किनिएपछि पनि उक्त शीर्षकको ७५ लाख रुपियाँ फिर्ता भयो । तर, धार्मिकस्थलका नाममा छुट्याइएको बजेट भने सबै खर्च भयो । 

उनले लक्ष्मणपुरस्थित जब्दहवा बाबा मन्दिरलाई १० लाख, लक्ष्मणपुर–२, राधाकृष्ण मन्दिर निर्माणमा सात लाख र उदयपुरस्थित शिव मन्दिरमा तीन लाख रुपियाँ खर्चिए । त्यस्तै, पिप्रहवा र जैसपुरका शिव मन्दिरलाई दुई–दुई लाख, खल्ला पुरैनी हनुमान मन्दिरलाई एक लाख, पुरैनी यज्ञशालालाई १ लाख ५० हजार र मटेहिया–४ स्थित करारीदास मन्दिरलाई एक लाख रुपियाँ उपलब्ध गराए । मटेहिया–८ को शिव मन्दिरलाई एक लाख, नरैनापुर–४ को दुर्गा मन्दिरलाई एक लाख, कम्दी–८ को तपसीबाबा मन्दिर र मजारलाई एक लाख रुपियाँ बाँडे । त्यसै गरी लक्ष्मणपुर मियामजारलाई दुई लाख, कटकुइया र होलियाका शिवपार्वती मन्दिरलाई एक–एक लाख तथा नेपालगन्ज–२४ स्थित दुर्गाभगवती मन्दिरमा दुई लाख रुपियाँ खर्च भएको जिल्ला समन्वय समितिले जनाएको छ । एमाले सांसद यादव जनताको माग अनुसार आफूले मन्दिर र मस्जिदमा धेरै बजेट छुट्याएको दाबी गर्छन् । “सांसद कोष आखिर जनताकै पैसा हो । जनताको माग त्यही भएपछि मैले रोक्न सकिनँ,” उनी भन्छन्, “अझै पाइनँ भन्ने गुनासो छ ।”

सांसद कोषको रकम भौतिक पूर्वाधार निर्माण र समुदायको जीवनस्तर उकास्नभन्दा धार्मिक काममा खर्चने यादव एक्ला सांसद भने होइनन् । कांग्रेस सांसद बादशाह कुर्मीले कोषको २८ लाख २५ हजार रुपियाँ मन्दिर र गुम्बालाई दिए । प्रशासनिक खर्च १ लाख ५० हजारबाहेक त्यो झन्डै ६० प्रतिशत हो । उनले आफ्नो गाउँ परसपुरमा शिव मन्दिर बनाउन मात्र १० लाख रुपियाँ खर्चिए । त्यस्तै, कोहलपुरको रामजानकी मन्दिरलाई दुई लाख, नेपालगन्ज–२८, नहरपुर्वाको महायज्ञशालालाई पाँच लाख र वनकट्टी मन्दिरलाई एक लाख रुपियाँ बाँडेका छन् ।

त्यस्तै, पिप्रहवामा गुम्बा निर्माण गर्न १ लाख ५० हजार, साईगाउँको बढैया शिव मन्दिरलाई दुई लाख, बेलभार शिव मन्दिरलाई १ लाख ५० हजार, नवाजीगाउँ मन्दिरलाई १ लाख ५० हजार, नेपालगन्ज–१२ को राममन्दिरलाई दुई लाख र बनियागाउँ मन्दिरलाई १ लाख ७५ हजार रुपियाँ खर्चिएको छ । कांग्रेसकै सांसद सर्वतआरा खानले कोषको झन्डै ४० प्रतिशत रकम मस्जिद र मन्दिरलाई बाँडिन् । उनले जामा मस्जिदलाई तला थप्न १० लाख, अन्नपूर्ण मन्दिर मर्मत गर्न एक लाख र एक मिनारा मस्जिदलाई ६ लाख २५ हजार वितरण गरिन् । 

कांग्रेसकी अर्की सांसद आशा विकले पनि झन्डै एक चौथाइ रकम धार्मिक काममा खर्च गरिन् । उनले प्रज्ञा गुम्बा, सीतापुरलाई दुई लाख, सोनपुर कालिकामाई मन्दिरलाई १ लाख ५० हजार, रनियापुर शिव मन्दिरलाई एक लाख र नौबस्ता शिव मन्दिरलाई १ लाख ५० हजार रुपियाँ बाँडिन् । त्यस्तै, हनुमानगढी मर्मतका लागि १ लाख ५० हजार, दुर्गाकालिका तथा शिव मन्दिरका लागि २ लाख ५० हजार र वनकटवाको रामजानकी मन्दिरलाई एक लाख रुपियाँ बाँडचुँड गरेकी छन् । बाँके–१ का एमाले सांसद देवराज भारले झन्डै १० लाख रुपियाँ धार्मिक काममा लगाए । उनले ओमशान्तिलाई भवन निर्माण गर्न ४ लाख ७५ हजार दिएका छन् । त्यस्तै, कोहलपुर किरण नालास्थित पशुपति मन्दिरलाई एक लाख, चपरगौडी मन्दिरलाई एक लाख, पिपरी थारुगाउ मन्दिरलाई एक लाख र रामजानकी मन्दिरलाई दुई लाख रुपियाँ बाँडेका हुन् । 

'सांसद कोष आखिर जनताकै पैसा हो । जनताको माग त्यही भएपछि मैले रोक्न सकिनँ, अझै पाइनँ भन्ने गुनासो छ ।' - दिनेशचन्द्र यादव, सांसद

बाँके–४ का एमाले सांसद दलबहादुर सुनारले पनि मन्दिर र चर्चलाई साढे पाँच लाख रुपियाँ बाँडे । उनले वनकटवा–९ मा चर्च बनाउन १ लाख ९५ हजार दिएका छन् भने गडरई पश्चिमपूर्वा मन्दिरलाई १ लाख ४५ हजार, बागेश्वरी–६ को नवदुर्गा मन्दिरलाई १ लाख ९५ हजार रुपियाँ खर्च गरेका छन् । यसैगरी कांग्रेस सांसद मैकुलाल वाल्मीकिले काली मन्दिरलाई एक लाख, वाल्मीकि मन्दिरलाई तीन लाख, रनियापुर शिव मन्दिरलाई एक लाख र अन्नपूर्ण मन्दिरलाई एक लाख रुपियाँ दिएका छन् । 

राप्रपाकी सांसद गीता सिंहले पनि ११ लाख रुपियाँ मन्दिरमा खर्च गरिन् । उनले मन्दिर मर्मतमा आठ लाख, टिटिहिरिया मन्दिरलाई एक लाख र हनुमानगढीका लागि दुई लाख रुपियाँ खर्च गरेकी छन् । अर्का कांग्रेस सांसद अब्दुल अमिद सिद्दिकीले जामा मस्जिद तला थप्न र इदगाहका लागि १०/१० लाख रुपियाँ खर्चिएका छन् । एमाले सांसद गौरा प्रसाईं र साबिया परबिन तथा माओवादी केन्द्रकी अन्जना चौधरीले भने धार्मिक स्थललाई बजेट बाँडेका छैनन् । चौधरीले सहिद स्मृति पार्क फत्तेपुरका लागि १० लाख र शमशेरगन्जमा सहिद गेट बनाउन चार लाख छुट्याएकी छन् । 

कांग्रेस बाँके सचिव तप्त पौडेल निर्वाचन क्षेत्र विकास कोषको रकम सांसदले मनपरी बाँडचुँड गरेको स्वीकार्छन् । त्यसरी बजेट बाँड्दा पार्टीसँग कुनै सरसल्लाहसमेत नहुने गरेको प्रति असन्तुष्ट पौडेल भन्छन्, “स्थानीय विकासमा पार्टीका पनि प्रतिबद्धता हुन्छन् । तर, सांसदले त्यो सबै बेवास्ता गर्दै व्यक्तिगत पैसा बाँडेजस्तो गरेका छन् ।” 

धार्मिकस्थलमै धेरै बजेट खर्च गरिनुका पछाडि मुख्यत: दुई उद्देश्य देखिएको छ । एक, सरकारी कोषको बजेट चन्दा वा दानको शैलीमा बाँडेर धार्मिक भावनात्मक राजनीतिक लाभको आकांक्षा । अर्को, तारबार, माटो पटान, पर्खाल निर्माण वा मर्मत शीर्षक देखाएर गरिने खर्चमा आउने कमिसन । “निर्वाचन क्षेत्रका प्राथमिकताप्रति सांसदहरूले बेवास्ता गरेको गुनासो धेरै आउँछ,” जिल्ला समन्वय समितिका संयोजक हरि प्याकुरेल भन्छन्, “कार्यकर्ताहरूमा पनि कोषको रकम बाँडीचुँडी खाने हो भन्ने भावना छ । त्यसले योजना छनोट र खर्च प्रभावकारी हुन नसकेको सत्य हो ।” 

प्रकाशित: श्रावण १९, २०७४