‘जंगबहादुर इतिहासकै ब्रिलिएन्ट पात्र हुन्’

राणा खलकका भित्रिया र राणाकालीन इतिहासका जानकार राजनीतिज्ञ सागरशमशेर जबरा अहिले लेखक बनेर चर्चामा छन् । राणा शासनको उदय र पतनलाई लिएर उनले लेखेको पुस्तक सिंहदरबार अहिले बजारमा छ । नेपाली कांग्रेसको राजनीतिमा जीवन समर्पित गरेका उनीसँग त्यसै पुस्तकको सेरोफेरोमा रहेर गरिएको कुराकानी :

८० को हाराहारी उमेरमा पुगेर लेखक बन्नुभएको छ नि ?

लेखक बन्ने प्रयत्न र लेखाइको सुरुआत भएको एक दशक भइसकेको छ । सामग्रीको संकलन, अन्तर्वार्ता र स्रोतको प्रमाणीकरण गर्दैमा केही समय लाग्यो । खासमा भन्ने हो भने नेपाली कांग्रेसको इतिहासमा राणाकालीन युग पनि गाँसिएको छ । यो इतिहाससँगै शासनरत राणा परिवारको वंशक्रममा हामी तीन दाजुभाइ (भरत, जगदीश र म) पनि समयको साक्षी थियौँ नै । हामी तीनै जना राणा वंशज भइकन प्रजातान्त्रिक अभियान र स्वतन्त्रताको चेतना लिएर अघि बढेका थियौँ । 

कसरी यो पुस्तक लेख्ने सोच आयो ? 

राणाकालीन समयको इतिहास लेख्दा कि एउटा पक्ष कि अर्को पक्षको चर्को स्तुति अथवा निन्दा गरिएको मैले पाएको छु । यसमा ९० प्रतिशतजति लेखाइ राणाकालको विरोधमा केन्द्रित छ । राणा शासनका ‘इन्साइडर र आउटसाइडर’ दुवै रहेका हामी तीन दाजुभाइमध्ये एकले इतिहासको सही अध्याय लेख्ने निधो भयो । यसमा मैले कोलकाता पुगेर भरत दाइलाई अनुरोध गरेँ । उहाँले लेख्न चाहनुभएन । सिमला पुगेर जगदीश दाइलाई भनेँ । उहाँले ‘मेरो क्षेत्र साहित्य हो, इतिहास तिमी नै लेख’ भन्नुभयो । यसकारण म पुस्तक लेख्न बसेको हुँ ।

राणा इतिहासका बारेमा त अरूले पनि लेखेकै छन् नि ?

इतिहासका बारेमा सही किताबको अभाव त छ नै, कतिपयमा इतिहासको अपव्याख्या पनि भएको छ । पुरुषोत्तमशमशेर राणाले इतिहासलाई राम्रोसँग अभिलेखबद्ध गर्नुभएको छ, यो विस्तृत पनि छ । तर, उहाँ सधैँजसो चन्द्रशमशेरविरुद्ध लेख्न रुचाउनुहुन्छ । पछि भेटघाट भएका बेला उहाँ आफैँले भन्नुभयो– ‘हो, मैले अलिक हडबडाएर लेखेको रहेछु ।’ बरू, भीमबहादुर पाँडेले लेखेको पुस्तक त्यस बखतको नेपाल निकै आधिकारिक र अर्थपूर्ण छ । 

इतिहासको आधिकारिकता पहिल्याउन मैले ४० जति विज्ञ राजनीतिज्ञ र जानकारसँग राजनीतिक अन्तर्वार्ता लिएको छु । हामीकहाँ सही अध्ययन र ज्ञान नभएकै अवस्थामा इतिहास लेखिएको अवस्था छ । म भने जुद्धशमशेरदेखि पछिसम्म इतिहासको कठघरामा कतिपय देखिएको र कतिपय सुन्दै आएको क्षणको साक्षीसमेत हुँ । अर्कातिर, धेरैले नेपालको अथवा राणाकालीन इतिहासको कुरा लेख्ने क्रममा काठमाडौँ केन्द्रित हुने गरेका छन् । म भने विराटनगर, पाल्पादेखि भारतमा कोलकाता, बनारससम्म इतिहास उधिन्दै पुगेको छु । 

तपाईंले जंगबहादुर राणालाई इतिहासकै ‘ब्रिलिएन्ट’ पात्र भन्नुभएको छ, यसको आधार के हो ?

जंगबहादुर राणालाई सधैँ गाली गर्ने एउटा भाँडो मात्रै बनाइयो । मैले त इतिहासमा पृथ्वीनारायण शाहपछि ‘ब्रिलिएन्ट’ पात्रमा जंगबहादुर र बीपी कोइरालालाई मात्रै देखेको छु । गणेशमानजी र किसुनजीलाई पनि म योग्य ऐतिहासिक पात्र मान्छु । कतिपयले प्रचण्ड र केपी ओलीलाई पनि सक्षम राजनीतिज्ञ भन्छन् तर यी दुवै चतुर हुन् । म नैतिक र राजनीतिक रूपले यिनलाई नेता मान्नै सक्दिनँ । जंगबहादुरका हकमा हामीकहाँ उनको ‘पर्सेप्सन’ बल्ल बुझ्न थालिएको छ । ‘कि बुद्ध बन्छु कि जंगबहादुर बन्छु’ भनेर बनाइएको स्लोगनमा पनि आ–आफ्नै बुझाइ होला । इतिहास बुझ्दा जंगबहादुरलाई मैले ‘ब्रिलिएन्ट’ पाएको छु, सामान्य ‘पर्सेप्सन’भन्दा धेरै माथि । 

अरू राणा प्रधानमन्त्रीका बारेमा चाहिँ ?

चन्द्रशमशेरका बारेमा धूर्त र निरंकुश भन्ने अवधारणा यथावत् छ । शिक्षा क्षेत्रमा चन्द्रशमशेरले निकै काम गरेका हुन् । सन् १९२३ को नेपाल–व्रिटिस मैत्री सन्धिका बारेमा जसले जे भने पनि ‘नेपाल स्वतन्त्र रहिरह्यो’ भन्ने आधार त त्यहीँबाट बनेको हो । जुद्धशमशेरको ‘इमेज’ अलिक माथि देखिन्छ, जसका बारेमा बालकृष्ण समले पनि सह्राएर लेख्नुभएको छ । पद्मशमशेरलाई रुन्चे राजा भनिन्थ्यो, हो पनि । तर, शिक्षा क्षेत्रमा पद्मशमशेरले केही काम गरेकै हुन्, तत्कालीन संविधान ल्याउने कामका हिमायती पनि उनै हुन् । बरू, मोहनशमशेर र देवशमशेरको ‘इमेज’ कमजोर छ, मेरो ‘पर्सेप्सन’ र लेखाइमा । 

इतिहास लेखनका लागि माध्यम किन अंग्रेजी छान्नुभयो ? 

अंग्रेजीमै लेख्ने निधो गर्नुको कारण यस भाषाप्रति औसतमा मेरो राम्रै पकड रहेको स्वमूल्यांकन छ । अर्को कुरा, मेरो छोराकै पुस्तालाई हेर्ने हो भने (पाठकीय स्वादमा) नेपालीभन्दा अंग्रेजी भाषा सहज र सरल लाग्ने अवस्था आइसकेको छ । 

प्रकाशित: श्रावण १७, २०७४