[झटारो] सचिवज्यूको सडक सिद्धान्त

  • खाडल पुर्ने भए किन यत्रो पढेलेखेर, लोक सेवा पास गरेर हजार कोसिस गरेर सचिव पदमा पुग्नुपथ्र्यो, निरक्षरै बसेर ज्यामी नै भइहालिन्थ्यो नि !

- लक्ष्मण गाम्नागे

यस वर्षको गाईजात्रा पर्व आउनुभन्दा २० दिनअघि नै संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राजधानीका सडकको दुरावस्थाबारे सडकमा उपद्रो मच्चाउने मन्त्रालयका सचिवहरू र लेखा समितिका सदस्य सांसदहरूबीच एक ऐतिहासिक छलफल भएछ । 

सडकको भद्रगोल अवस्थाबारे माननीयहरूले थुप्रै प्रश्न, जिज्ञासा र आक्रोश पोखेपछि सचिवहरूको जवाफ दिने पालोमा खानेपानी तथा सरसफाइ सचिवले बन्द–हडतालहरू नभएकाले सडकको दुर्दशा बढ्दै गएको रहस्य खोलेछन् । सचिवज्यूको कुरा सुनेर बैठकमा सहभागी सबैका कान ठाडाठाडा भए । सचिवले आफ्नो भनाइलाई थप प्रस्ट पार्दै भनेछन् :

हुन त बन्द–हडताल भनेको सामाजिक अपराध हो तर कुनै समय नेपालमा हजुरहरूले नै सबैभन्दा धेरै बन्द–हडताल गर्नुहुन्थ्यो । बन्दले गर्दा सडक खाली हुन्थे, हामीलाई काम गर्न सजिलो हुन्थ्यो । राष्ट्र निर्माणमा हजुरहरूको त्यो योगदान अविस्मरणीय छ । अहिले राजनीतिक दलहरूको अकर्मण्यताले गर्दा बन्द हुनै छाडे अनि सडकमा पनि भ्वाङैभ्वाङ पर्न थाले ।

पैदल यात्री तथा सवारी चालकहरूले राम्ररी आँखा नहेरी हिँड्नाको दोष पनि हामीमाथि नै खनिनु आपत्तिजनक छ । उदाहरणका लागि सामाखुसीको सडकमा उर्लिएको भेलमा एउटी स्कुले केटी डुब्नुमा हाम्रो के दोष ? सडकमा समुद्र बगेको देख्दा देख्दै तिनले त्यसरी झ्वाम्मै हाम फाल्नु हुन्छ ? आखिर तिनी ढलमा पसेर सजिलै बाहिर निस्किएर घरतिर लुरुलुरु गइछन् । त्यो भिडिओ बनाउनेहरूले तिनी डुबेको दृश्य मात्र देखाएका छन्, निस्किएर हाँस्दै हाँस्दै घर गएको चाहिँ देखाउनु पर्दैन ? यसबाट के प्रस्ट हुन्छ भने यो हामीलाई गाल पार्न रचिएको षड्यन्त्र मात्र हो । 

त्यस्तै अर्को घटनामा पनि मृतक केटीकै गल्ती छ । गएको वर्ष त्यही ठाउँमा एक जना युवालाई बाढीले बगाएको थियो । त्यस्तो दुर्घटनाग्रस्त क्षेत्रमा जानु हुन्छ ? आगो र पानीसँग जोगिएर हिँड्नू भनेर हाम्रा पुर्खाहरूले त्यसै भनेका हुन् र !

माननीयज्यूहरूले हाम्रो पदको ख्यालै नगरी हामीलाई सडकका खाडल किन नपुरेको भनेर सोध्नुभयो । खाडल पुर्ने भए किन यत्रो पढेलेखेर, लोक सेवा पास गरेर हजार कोसिस गरेर सचिव पदमा पुग्नुपथ्र्यो, निरक्षरै बसेर ज्यामी नै भइहालिन्थ्यो नि ! अथवा निरक्षरै बसेर हजुरहरूजस्तै मन्त्री, सांसद बनेर झन्डा हल्लाइन्थ्यो नि ! अर्को कुरा उपत्यकाका यी खाडलहरू मञ्जुश्रीका पालादेखिका हुन् । त्यो बेला मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकालाई बस्तीयोग्य बनाउँदा यहाँको ढल व्यवस्थापन कसरी गर्ने भन्ने पनि सोच्नु पथ्र्यो । त्यस बेलादेखिको गल्ती दुई–चार वर्ष सचिव पदमा बस्ने हामीले सल्टाउन सम्भव छ ? 

खानेपानीको पाइपभन्दा माथि ढल राखेको बारे पनि माननीयज्यूले निकै आक्रोशमा प्रश्न राख्नुभयो । फलाम र सिमेन्टीका पाइप हुन्, हत्तपत्त फुट्दैनन् । कदाचित् कुनै दिन ढलको पाइप फुटेर खानेपानीमा मिसिएछ भने त्यही बेला टालौँला भन्ने दूरदर्शी सोच राखेर त्यसो गरिएको हो । अन्त्यमा एउटा जिज्ञासा पनि राख्न चाहन्छु, आफू मन्त्री भएका बेला हजुरहरू के हेरेर बस्नुभयो र अहिले मन्त्री नभएका बेला हाम्रो सातो खानुहुन्छ भनेर सोध्न मिल्छ कि मिल्दैन ? धन्यवाद । 

यसरी एक जना सचिवको जवाफबाटै सबै माननीयहरू सन्तुष्ट भएकाले त्यस दिनको बैठक त्यहीँ सकिएछ ।

प्रकाशित: श्रावण १७, २०७४