[ मतान्तर] असहिष्णुताको बाटोमा जेएनयू

  • ‘भाइब्रेन्ट पब्लिक स्फियर’का रूपमा विकसित जेएनयू बिस्तारै अतिवादी हिन्दुत्ववादको पैरवी गर्ने संस्था बन्दै जाने संकेत देख्न थालिएको छ ।

- उज्ज्वल प्रसाईं

इतिहासमा भारत–पाकिस्तानबीचको कार्गिल युद्ध महत्त्वपूर्ण घटना हो । भारतमा ‘अपरेसन विजय’ भनेर चिनिने सन् १९९९ मा कश्मीरको कार्गिलमा लडिएको त्यो युद्धबारे बहसहरू अद्यापि चलिरहेका छन् । भारत र पाकिस्तान दुवैका लागि सामरिक बहसमा यो विषय बारम्बार उठिरहने महत्त्वपूर्ण विषय हो । भारतीय सेनामा काम गर्ने नेपाली जवानहरूको पनि ज्यान गएकाले हामीले पनि सम्झिने घटना हो, कार्गिल युद्ध । विश्वविद्यालयमा समेत यो र यस्ता अनेक विषयमा बहस र छलफल हुनु स्वाभाविक हो । खास गरी राजनीतिशास्त्र र सुरक्षासम्बन्धी सैद्धान्तिक र व्यावहारिक अध्ययन–अध्यापनका लागि यस्ता विषय उदाहरणका रूपमा बहसमा ल्याउनु अनौठो होइन । तर, यस्ता युद्धलाई राष्ट्रवादी उन्मादका रूपमा तामझामसहित कुनै विश्वविद्यालयमा विजय दिवसका रूपमा मनाउन थालिन्छ भने त्यो गम्भीर विषय हुन पुग्छ । 

केही दिन पहिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा ‘विद्या वीरता अभियान : कार्गिल विजय दिवस’का नाममा एउटा उत्सव मनाइयो । यो उत्सव विद्यार्थीको स्वस्फूर्त पहलमा मनाइएको थिएन । बरू, विश्वविद्यालयका उपकुलपतिको ठाडो निर्देशनमा मनाइएको थियो । खास गरी हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र भारतीय जनता पार्टी (भाजपा)को विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)को सक्रिय संलग्नतामा यो उत्सव मनाइएको थियो ।

विश्वविद्यालयको प्रशासनले नेतृत्व गरेको त्यो कार्यक्रममा कार्गिल युद्ध, त्यसको उपादेयता, त्यसले भारतीय र पाकिस्तानी समाजमा पारेको दूरगामी प्रभाव, त्यस्ता युद्धले प्रभाव पार्ने दुई देशबीचको सम्बन्धबारे बहस वा छलफल केही भएन । न त्यो कार्यक्रममा कुनै राजनीतिशास्त्री वा सुरक्षाविज्ञले विद्यार्थीहरूसँग युद्धको तरिकाबारे कुनै अन्तक्र्रिया नै गरे । कार्यक्रममा सैनिक ब्यान्डका केही सांस्कृतिक प्रस्तुतिहरूसहित भारतीय सैनिकले देखाएको बहादुरीको उच्च प्रशंसा गरियो । कार्यक्रमको नाम अनुसार त्यस युद्धमा भारतले हासिल गरेको जितको ठूला खुसीयाली मनाइयो । भूतपूर्व सैनिक अधिकारी र युद्धमा शहादत प्राप्त गरेका सैनिकका परिवारको उपस्थितिमा २ हजार २ सय फिट लामो भारतको राष्ट्रिय झन्डा फहराएर राष्ट्रवादी झाँकी प्रदर्शन गरिएको थियो । अर्थात्, भारतीय राष्ट्रवादको प्रवद्र्धनका निम्ति बहादुरी र वीरताको पौरुषीय घमन्ड प्रदर्शन जरुरी छ भनेर त्यस्तो दिवस मनाइएको थियो । 

कार्गिल विजय दिवसलाई सम्बोधन गर्दै जेएनयूका वर्तमान उपकुलपति एम जगदेश कुमारले सरकारसँग विश्वविद्यालयमा सैनिक तोप खडा गरिदिन आग्रह गरे । विद्यार्थीका लागि प्रदर्शनमा राखिने त्यस्तो तोप भारतको वीरता सम्झाउने प्रतीक हुने उनले जिकिर गरे । त्यस्तो सैनिक तोप खडा नगरिएका कारण जेएनयूका विद्यार्थीमा राष्ट्रवादी भावना कमजोर भएको उनको अव्यक्त आशय बुझ्न कठिन थिएन । भारतको बौद्धिक सान बनेको जेएनयूमा जवाहरलाल नेहरुको अग्लो र सुन्दर सालिक छ । नेहरु–पुत्री इन्दिरा गान्धीको अग्रसरतामा स्थापना गरिएको यो अग्रणी शैक्षिक र अनुसन्धान संस्थामा उनै विद्वान् नेता नेहरुको शिक्षा र प्रगतिशीलताप्रति सम्मान प्रकट गर्न उनको सालिक ठड्याइएको हो । आरएसएस पृष्ठभूमिबाट प्राध्यापक बनेका जगदेश कुमार नेहरुको सालिक र उनको सन्देशबाट विद्यार्थीले अध्ययन र अनुसन्धानप्रति प्रेरणा लिन नसक्ने ठम्याउँदै त्यस सालिकको समीप वा त्यसलाई ओझेल पार्ने गरी सैनिक तोप खडा गर्नुपर्ने बताउन थालेका छन् । 

हिन्दुवादी दक्षिणपन्थका प्रवद्र्धक नरेन्द्र दामोदार दास मोदी शक्तिशाली प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि भारतमा राष्ट्रवादी उन्माद ह्वात्तै बढेको छ । भाजपाले आफ्नो हिन्दुत्ववादी वैचारिक धाराको प्रवद्र्धन गर्ने उद्देश्यले भारतका अग्रणी शैक्षिक र अध्ययन–अनुसन्धान प्रतिष्ठानहरूमा जबर्जस्त आफ्नो प्रभाव बढाउन खोजेको छ । नेहरु म्युजियम, लाइब्रेरीदेखि जेएनयूसम्मका सबै संस्थामा अध्ययन–अनुसन्धानमा खासै उपलब्धि हासिल गर्न नसकेका र यस्ता संस्था सञ्चालन गर्न सक्ने ल्याकत प्रमाणित नगरेका व्यक्तिलाई नियुक्त गर्ने परिपाटी पनि स्थापित गरिएको छ । ती संस्थाले अंगीकार गरेका शैक्षिक उन्नयनका लागि आवश्यक उदार दृष्टिकोणलाई जबर्जस्त असान्दर्भिक तुल्याउने भरमग्दुर कोसिस भइरहेको छ । साथै, यस्ता संस्थाहरूमा क्रियाशील विद्यार्थी संगठन र वैचारिक बहस सञ्चालन गर्ने अध्ययन समूहको सक्रियता निस्तेज पार्न अनेक प्रपञ्च रचिएको छ । त्यस्ता षड्यन्त्रको सिकार भएर रोहित भेमुला र मुथुकृष्णन् जीवनान्थमजस्ता विद्यार्थीहरूले आत्महत्या गरे । कतिपय स्वतन्त्र र वामपन्थी लेखक र चिन्तकहरूको त हत्या नै गरियो । सत्ता विरोधी बहस, छलफल र प्रदर्शनलाई निस्तेज पार्ने वा दबाउने निर्मम कोसिस भइरहेको यसबेला जेएनयूजस्तो संस्थामा सैनिक तोप खडा गरिनुपर्ने विश्वविद्यालयका सबभन्दा जिम्मेवार व्यक्तिको रायले ठूलो खतराको संकेत गर्छ । 

लोकतन्त्रमा सार्वजनिक बहसको वृत्त बलियो र सदैव चलायमान रहन आवश्यक छ । चिया पसलदेखि विश्वविद्यालयसम्म खुला बहस र छलफलका चौतारीहरू बन्न सके मात्रै लोकतन्त्र बलियो हुन्छ । दमनका सबै संयन्त्रको प्रयोग गर्न पाउने वैध निकायका रूपमा सत्ता मौजुद भएकाले त्यसको खबरदारी गर्न र उसका ज्यादतीको विरोध गर्न बहस र प्रदर्शनका डबलीहरू आममानिसका लागि सुरक्षित स्थल हुनुपर्छ । 

भारतमा गहन र प्राज्ञिक बहस र खुला अन्तक्र्रियाका लागि ख्याति कमाएको जेएनयूले सबल ‘पब्लिक स्फियर’का रूपमा आफूलाई विकास गरेको थियो । चिन्तनको यो निर्वाध चौतारीमा सालीन बहसदेखि चर्का नाराबाजी सबै हुने गथ्र्यो । यहाँका विद्यार्थी र शिक्षकहरूको उदार प्रयत्नबाट विश्वविद्यालय आफैँमा स्वतन्त्र डबली बनेको थियो । यद्यपि, राजनीतिका नाममा मनी–मसल अर्थात् पैसा र पाखुराको जोर–जबर्जस्ती यहाँ चल्दैन थियो । विद्यार्थी संगठनहरू स्वयं बहस, अन्तक्र्रिया र उनीहरूले उठाउने मुद्दाका भरमा शक्तिशाली वा कमजोर हुने गरेका थिए । 

नियमित रूपमा र कुनै बाहिरी प्रभावबिना नै यहाँ स्वतन्त्र विद्यार्थी युनियनका चुनावहरू सम्पन्न हुने गरेकाले विश्वविद्यालयीय राजनीतिमा जेएनयूको ऊँचो पहिचान कायम थियो । चौबीसै घन्टा खुल्ने पुस्तकालय, चिया पसल र ढाबाहरू पनि आफैँमा बहसका सक्रिय चौतारीहरू थिए । सहिष्णु संस्कारमा हुर्केका विद्यार्थीहरूले निर्वाध ढंगले जुनसुकै विषयमा छलफल, अन्तक्र्रिया र अध्ययन गर्दै आएका थिए । नेहरुका अनेक विचारप्रति पूर्णतया असहमति राख्ने प्राध्यापक, विद्यार्थीहरू, विद्यार्थी संगठन वा कुनै अध्ययन समूहले नेहरुको त्यो अग्लो प्रतिमा ठुन्क्याउने वा त्यो प्रतिमाको असम्मान गर्ने काम कहिल्यै गरेका थिएनन् । किनभने, नेहरुका विचार र उनले चालेका राजनीतिक कदमलाई आलोचनात्मक व्याख्या र विश्लेषण गर्ने छूट उनीहरूले पाएका थिए । 

हुन त महात्मा भनेर पूजा गरिने मोहनदास करमचन्द गान्धीको समेत जमेर आलोचना गर्न विद्यार्थी र प्राध्यापकहरू पछि हट्दैन थिए । तिनलाई उच्च सम्मान गरेरै आलोचना गर्ने संस्कारको विकास गरेको थियो । बीआर अम्बेडकरलाई उत्तिकै सम्मान गर्ने र कडा आलोचना गर्नेहरू पनि यही विश्वविद्यालयमा अटाएका थिए । त्यसो त भीडी सावरकर, बल्लभभाइ पटेलको पनि उत्तिकै अध्ययन र चर्चा हुन्थ्यो । 

विश्वविद्यालयका होस्टलका मेसमा आएर विद्यार्थीहरूसँग अन्तक्र्रिया गर्न सत्ताको नजरमा कसिंगरजस्ती बनेकी अरुन्धती रोयले कहिल्यै धक मान्नु पर्दैन थियो । भाजपा र आरएसएसको समर्थन गर्ने विद्यार्थीहरूले रोयको विरोधमा कालो झन्डा प्रदर्शन गर्ने छुट पनि पाएका थिए । उनको विचार र लेखनीलाई ठाडै चुनौती दिएर त्यही भान्सा छलफलमा प्रश्न गर्ने स्वतन्त्रताको उपयोग पनि गरेका थिए । भूमण्डलीकरणको जयजयकार चलेको कांग्रेस (आई)को सरकारमा नवउदारवादी भूमण्डलीकरणको कडा आलोचना गर्ने वन्दना सिभाहरू आएर बोल्न यहाँ कसैले व्यवधान खडा गर्दैनथ्यो । विश्व बैंकका आलोचक जोसेफ स्टिगलिजदेखि नक्सलवादको समर्थक भनेर पक्राउ परेका जीएन साइबाबासमेत उपस्थित भएर आफ्ना विचार राखेको यही पंक्तिकारले देख्न–सुन्न पाएको हो । 

यसको मतलब जेएनयू केवल बागीहरू आएर बोल्ने अखडा मात्रै थिएन । सत्तामा रहेकै बेला शशि थरुरजस्ता विद्वान्ले छलफल चलाउने गरेका थिए, भाजपा समर्थित विद्यार्थीहरूको पहलमा उनीहरूको पक्षपोषण गर्ने चिन्तकहरूलाई समेत यहाँ आएर बोल्न र अन्तक्र्रिया चलाउन कुनै बन्देज थिएन । एपीजे अब्दुल कलामजस्ता ठूलो सम्मान पाएका पूर्वराष्ट्रपति र वैज्ञानिकलाई उनको आणविक भक्तिका कारण विरोध गर्न र आलोचनात्मक प्रश्न सोध्नसमेत यहाँका विद्यार्थी अग्रसर थिए । त्यसो गर्ने विद्यार्थीलाई यहाँ कसैले तारो बनाउँदैनथ्यो । 

अब त्यस्तो सहज अवस्था रहेन । सत्ता र सत्ताका कमजोरी अनि ज्यादतीमाथि प्रश्न उठाउने प्रत्येक विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले तारो बनाउन थालेको छ । त्यति मात्रै होइन, विश्वविद्यालयको सत्तामाथि प्रश्न उठाउने वा सन्देह व्यक्त गर्ने प्राध्यापकहरूको बढुवा रोक्नेलगायतका प्रपञ्च पनि सुरु भएको छ । सिंगो विश्वविद्यालयको उदार र स्वतन्त्र चिन्तन गर्न इच्छुक समुदाय अहिले संकटमा फसेको छ । यसैबीच भाजपा समर्थित विद्यार्थीहरूसँग विवादमा परेका नजिब नामका विद्यार्थीलाई बेपत्ता बनाइएको छ । विद्यार्थी संगठनहरूले बेपत्ता विद्यार्थीको पक्षमा वकालत गर्दा उनीहरूलाई अनेक धाकधम्की दिइएको विद्यार्थीहरूले साउतीमा सुनाउन थालेका छन् ।

‘भाइब्रेन्ट पब्लिक स्फियर’का रूपमा विकसित जेएनयू बिस्तारै अतिवादी हिन्दुत्ववादको पैरवी गर्ने संस्था बन्दै जाने संकेत देख्न थालिएको छ । सैनिक तोप खडा गर्ने उपकुलपतिको जुन स्तरमा विरोध अपेक्षा गरिन्थ्यो, विद्यार्थीहरूमाझ त्यसो गर्ने हिम्मत जुट्न नसक्नुले सुखद भविष्यको संकेत गर्दैन । भारतीय लोकतन्त्रले कस्ता संकट झेल्न सक्छ भनेर अध्ययन गर्न वा अनुमान गर्न जेएनयूको रूपान्तरण हेरे काफी हुन्छ । 

प्रकाशित: श्रावण १७, २०७४