फेरि प्रचण्डपथ !

  • माओवादी केन्द्रको बैठकमा प्रचण्डपथ पुनरोदयको आवाज उठे पनि त्यसको सम्भावना कमजोर

- माधव बस्नेत

माक्र्सवाद, लेनिनवाद, माओवादको बाटो हो यो
संसारलाई फेर्न सक्ने प्रचण्डपथ हो यो ।

वि सं ०५८ देखि ०६३ मा शान्ति प्रक्रियामा आउँदासम्म तत्कालीन नेकपा माओवादीभित्र यो गीत निकै चर्चित थियो । सांस्कृतिककर्मीसमेत रहेका पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य मणि थापाले रचेका थिए यो गीत । २९ फागुन ०६२ सम्म आइपुग्दा संसारलाई फेर्ने सपना देखेको प्रचण्डपथलाई लावारिस छोडेर थापा आफैँ माओवादी आन्दोलनबाट बाहिरिए ।

माओवादीले विचारको संश्लेषित रूप प्रचण्डपथ छाडेर पथभ्रष्ट बन्दै गएकाले त्यो आन्दोलन छाड्नुपरेको उनको कथन थियो । तर, संयोग ! यतिखेर थापा पुन: माओवादी केन्द्रमै फर्किएका छन् ।

‘जनयुद्ध’का घनिभूत दिनमा गीत, नारा, दस्तावेज, लामा–लामा लेखमार्फत स्थापित गरिएको प्रचण्डपथलाई २९ पुस ०६५ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले पनि त्यागिदिए । ५–११ मंसिर ०६५ मा माओवादीले भक्तपुरको खरिपाटीमा विस्तारित भेला बोलाएको थियो । त्यो भेलामा प्रचण्ड झन्डै–झन्डै अल्पमतमा परे । यसपछि आफ्नो पक्षमा बहुमत पुर्‍याउन हतार–हतार उनले २९ पुस ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँग एकता गरे । एकतामा सहभागी हुने श्रेष्ठ समूहले प्रचण्डपथ स्वीकार गर्न नसक्ने जनाउ दिएपछि सहकर्मीहरूसँग समेत सल्लाहै नगरी प्रचण्डले आफ्नो नामबाट राखिएको पथलाई नै त्यागेका थिए । करिब नौ वर्षपछि यही २–७ साउनमा सम्पन्न माओवादी केन्द्रको सचिवालय बैठकमा प्रचण्डपथलाई पुन: ब्यूँताउनुपर्ने आवाज उठ्यो । 

वैचारिक–राजनीतिक कार्यदिशामा स्पष्टताको कमी भएको निष्कर्षपछि प्रचण्डपथ ब्यूँताउनुपर्ने प्रस्ताव गरेका थिए, कृष्णबहादुर महरा, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डे, गणेशमान पुन, जगप्रसाद शर्मालगायत नेताहरूले । बैठकमा सबभन्दा पहिले अग्नि सापकोटाले प्रचण्डपथ नयाँ ढंगले ब्यूँताउनुपर्ने प्रस्ताव राखेका थिए । विचारको संकटकै कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्षसहित प्रचण्डपथको विचार संश्लेषण गरी परिमार्जनसहित ब्यूँताउनुपर्ने आवाज आफूहरूले उठाएको सापकोटा स्वीकार्छन् । सापकोटाले नयाँ स्वरूपमा प्रचण्डपथ ब्यूँताउनुपर्ने प्रसंग उठाएपछि अरूले समेत स्वरमा स्वर मिलाएका थिए । सापकोटा भन्छन्, “प्रचण्डपथकै कारण हामीले तत्कालीन राज्यसत्तालाई हायलकायल पार्‍यौँ । २१औँ शताब्दीको जनवाद पारित गर्‍यौँ । ०६४ को संविधानसभा निर्वाचनमा पहिलो भयौँ । ०६५ मा प्रचण्डपथ परित्याग गरेपछि हामीलाई विचारको संकट भयो । त्यसैले प्रचण्डपथ जस्ताको त्यस्तै ब्यूँताउने भन्दा पनि क्रान्तिकारी सारतत्त्वसहित विचारको संश्लेषण गर्नुपर्छ भनेको हो ।”

प्रचण्डपथ ब्यूँताउनुहुन्न भन्ने अर्काथरीको दाबीचाहिँ फरक छ । प्रचण्डसँग जो–जो निकट थिए/छन्, उनीहरूले प्रचण्डपथ ब्यूँताउनुपर्ने प्रस्ताव ल्याएका हुन् । हुन पनि अहिले माओवादी केन्द्रभित्र प्रचण्डपथ गायत्री मन्त्रजस्तो भएको छ । र, कुनै समय प्रचण्डका अत्यन्तै निकट रहेर अहिले किनारामा पर्दै गएकाहरूले पुन: निकट हुनका लागि प्रचण्डपथ ब्यूँताउनुपर्ने प्रस्तावलाई पूरै समर्थन गरेका छन् । प्रचण्डपथ ब्यूँताउनुपर्ने प्रस्ताव त्यस्तो बेलामा ल्याइएको छ, जतिबेला अध्यक्ष प्रचण्डले मन्त्री छनोटको अन्तिम तयारी गरिरहेका थिए । कुनै समय माओवादीभित्र सापकोटा, गजुरेल, पाण्डे प्रचण्डका एकदमै विश्वासपात्रभित्र पर्थे । कुनै वजनदार निर्णय लिनुपर्‍यो भने प्रचण्डले उनीहरूकै सुझाव सुन्थे । तर, पछिल्ला दिनमा वर्षमान पुन, चक्रपाणि खनाललगायत उनीसँग निकट छन् । 

प्रचण्डमा कसैले आफ्नो सामान्य आलोचना गर्‍यो भने पनि तरंगित हुने र एकदमै प्रशंसा रुचाउने स्वभाव छ । त्यसैले प्रचण्डपथ ब्यूँताउनुपर्ने प्रस्ताव राखेर उनलाई खुसी बनाउन र मन्त्री पड्काउन बैठकमा त्यो प्रसंग उठाइएको एक सचिवालय सदस्यको दाबी छ । उनी भन्छन्, “तर, ज–जसले प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेका थिए, उनीहरू कोही पनि मन्त्री भएनन् । त्यसैले अब नउठाउन पनि सक्छन् ।” यद्यपि, सापकोटा भने आफूले स्वार्थ प्रेरित भएर प्रचण्डपथको कुरा नउठाएको जिकिर गर्छन् । त्यस्ता तुच्छ आरोपको कुनै तुक नरहेको उनको भनाइ छ ।

खासमा प्रचण्डलाई थप शक्तिशाली बनाउनकै लागि प्रचण्डपथ ब्यूँताउनुपर्ने विषय उठाइएको बुझ्न भने कठिन छैन । पछिल्ला दिनमा प्रचण्ड पार्टीभित्र गुट–उपगुट बढेको निचोडमा छन् । पार्टी विघटन गर्नेसम्मको उनको धम्कीले त्यही अर्थ बुझाउँछ । तर, एकपटक स्थगित गरिसकेको प्रचण्डपथलाई पुन: ब्यूँताउन सजिलोचाहिँ पक्कै छैन । नारायणकाजी श्रेष्ठको समूहले प्रचण्डपथ अस्वीकार गर्ने संकेत गरेकैले ०६५ मा एकता हुने बेलामा त्यसलाई स्थगित गरिएको थियो । त्यो समूह अझै पनि माओवादीभित्रै छ । श्रेष्ठ प्रचण्डपथ ब्युँताएर समस्याको हल नहुने अडानमै छन् । त्यसमाथि हिजो माओवादी मूलधारबाटै आएकाहरूसमेत यतिबेला प्रचण्डपथको सान्दर्भिकता सकिइसकेको निष्कर्षमा पुगेका छन् ।

पार्टी सचिवालय सदस्य महेश्वर दाहाल प्रचण्डपथ ब्यूँताउन सजिलो नभएको बताउँछन् । उनका अनुसार प्रचण्डपथ ब्यूँताउन थालियो भने मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दसँगको एकता प्रयास झन् टाढा पुग्न सक्छ । दाहाल भन्छन्, “जनयुद्धलाई उचाइमा पुर्‍याउन एक समय प्रचण्डपथ सान्दर्भिक थियो । अब ब्यूँताएर त्यसले विचारको संकट हल गर्ला भन्ने लाग्दैन ।” 

प्रचण्ड स्वयंले पनि प्रचण्डपथ ब्यूँताउन सजिलो नदेखेरै हुन सक्छ, बैठकमा विचारलाई भन्दा बढी संगठनलाई जोड दिएका थिए । ‘संगठन, संगठन, फेरि पनि संगठन । मजबुत संगठन भएन भने हामीले जित्न सक्तैनौँ भन्ने देखिइसकेको छ’ प्रचण्डले बैठकमा भनेका थिए । तर, विचार छोडेर संगठन, संगठन भन्दा नै कमजोर भइएकाले फेरि विचार नै मजबुत बनाउनुपर्ने यसका पक्षधरहरूको बुझाइ छ । पार्टीका पोलिटब्युरो सदस्य हेमराज भण्डारी प्रचण्डपथ ब्यूँताउने प्रयास भइरहेको बताउँछन् । तर, दाहालजस्तै उनी पनि त्यो सजिलै ब्यूँतिन सम्भव नभएको ठान्छन् । भन्छन्, “प्रचण्डपथलाई ब्यूँताउने प्रयास त भइरहेको छ तर यसले पार्टी विभाजन पनि हुन सक्छ । प्रचण्डले त्यो जोखिम मोल्नुहोला भन्ने लाग्दैन ।” 

यो हो प्रचण्डपथ 

२६ माघ– १ फागुन ०५७ मा भारतको भटिन्डा, पन्जाबमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनबाट माओवादीले ‘जनयुद्ध’को विचार संश्लेषण गर्दै औपचारिक रूपमा प्रचण्डपथ अँगालेको हो । तथापि, प्रचण्डपथ किन र कसरी ल्याइयो ? नाम जुराउन कति छलफल गरियो भन्ने अन्तर्य बुझ्नचाहिँ अलि अघि फर्कनुपर्ने हुन्छ । भदौ ०५४ मा भारतकै फरिदावादमा भएको केन्द्रीय समितिको चौथो विस्तारित बैठक त्यसको प्रारम्भ विन्दु थियो । त्यो बैठकका खास गरी दुईवटा एजेन्डा थिए । पहिलो, आधार इलाका निर्माणको प्रक्रियामा प्रवेश गर्ने र दोस्रो, नेतृत्व केन्द्रीकरणको विधि तय गर्ने । किनभने, यतिबेलासम्म पार्टीमा नेतृत्व एकल वा सामूहिक भन्ने विवाद चर्किसकेको थियो । त्यसैले यस बैठकमा आधार इलाका निर्माणका बारे सबै एकजुट भए तर नेतृत्वको केन्द्रीकरणका विषयमा बाबुराम भट्टराईले फरक मत मात्र राखेनन्, कार्य विभाजन समान ढंगले हुनुपर्ने प्रस्ताव पनि गरे । 

उनको यही प्रस्तावपछि प्रचण्ड र उनी निकटहरू तरंगित हुन पुगे । र, प्राधिकारसहितको नेतृत्व केन्द्रीकरण गर्ने प्रयत्नमा लागे । मंसिर ०५५ मा लखनउमा भएको पोलिटब्युरो बैठकमा ‘जनयुद्ध’लाई सैद्धान्तीकरण गर्न र विचार–राजनीतिको तहमा उठाउने प्रयास भयो । तर, मूर्तता पाउन सकेन । भदौ ०५६ मा भारतकै रोपडमा भएको केन्द्रीय समिति बैठकमा भट्टराईमाथि आक्रमण केन्द्रित भयो । यस बैठकमा वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्लेले प्रचण्डलाई पार्टीबाहिर र भट्टराईलाई पार्टीभित्र स्थापित गर्नुपर्ने प्रस्ताव राखे, जो एकमतले पारित भयो । 

यसपछि वैशाख ०५७ मा जलपाइगुडीमा बसेको केन्द्रीय समिति बैठकमा पनि ‘जनयुद्ध’को विचार संश्लेषण गर्ने बहस चल्यो । मोहन वैद्यले ‘प्रचण्ड विचारधारा’ भन्नुपर्ने प्रस्ताव राखे । अन्य सदस्यले त्यसलाई नकारे । त्यहाँ प्रचण्ड र भट्टराईबीच ‘पार्टीको निर्देशक विचार’ भनेर संश्लेषण गर्ने सहमति भयो । र, ‘क प्रचण्डको नेतृत्वमा पार्टीको निर्देशक विचार’ भन्ने अन्तरिम प्रस्ताव पारित भयो । तर, भारतस्थित प्रवास शाखालगायतले मोहन वैद्यको प्रस्तावलाई समर्थन गर्दै प्रचण्ड विचारधारा भन्नुपर्ने आवाज उठाए । यसपछि प्रचण्ड, भट्टराई, वैद्य, सीपी गजुरेलले अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन (रिम) कमिटीका प्रतिनिधिहरूसँग छलफल गरे । रिम कमिटीका सदस्यहरूले ‘विचारधारा’ नभन्न आग्रह गरे । यसपछि माघ–फागुन ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट प्राधिकारसहितको प्रचण्डपथ ल्याइयो, जसमा पार्टी अध्यक्षमा सर्वाधिकार सुरक्षित राखियो । 

दोस्रो राष्ट्रिय सम्मेलनद्वारा पारित ‘महान् अग्रगामी छलाङ : इतिहासको अपरिहार्य आवश्यकता’ दस्तावेजमा ‘एक महान् उपलब्धि’ उप–शीर्षक दिएर प्रचण्डपथबारे उल्लेख गरिएको छ, ‘पार्टी एकतादेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क प्रचण्डको सही र अविछिन्न नेतृत्वका कारण आज पार्टी एकताको केन्द्रविन्दुका रूपमा कमरेड प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ । अत: सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा विकसित विचार शृंखलालाई पार्टी प्रचण्डपथ नामकरण गर्दछ ।’ 

त्यतिबेला प्रचण्डपथको नाम जुराउने कामचाहिँ रामबहादुर थापा र टोपबहादुर रायमाझीले गरेका थिए । अहिले धीमा स्वरमै सही, प्रचण्डपथ ब्यूँताउनुपर्ने आवाज उठिरहँदा थापा मौन छन् भने रायमाझीचाहिँ ब्यूँताउनुको उपादेयता सकिइसकेको निष्कर्षमा छन् । 
 

Follow Madhab Basnet on Twitter: @MadhabBasnet1

प्रकाशित: श्रावण १६, २०७४