बन्द भयो हात्ती सफारी

- नेपाल संवाददाता

 

यदि हात्तीमा बसेर चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारीमा निस्किने तपाईंको धोको छ भने अब त्यो पूरा नहुन सक्छ । किनभने, त्यहाँ यस्तो सेवा बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज हात्ती सफारीकै लागि प्रख्यात ठाउँ थियो । अहिले त्यहाँ हात्ती सफारीमा नयाँ तर दयालु तरिका अपनाइएको छ । 

पहिला पर्यटकहरु हात्तीमा बसेर सफारीमा निस्कन्थे । अब भने उनीहरु हात्तीसँगै हिँड्छन् । पहिला हात्ती सफारीका साधनजस्तै थिए भने, अहिले उनीहरु गाइडजस्तै भएका छन् । चितवनमा सफारीको यस्तो नयाँ तरिका टाइगर टप्स एलिफेन्ट क्यापले हात्तीहरुकै हितका लागि काम गर्ने एक अमेरिकी परोपकारी संस्थाका संस्थापक क्यारोल बक्लीसँग मिलेर तयार पारेको हो । त्यहाँका हात्तीलाई अहिले फलामे साङ्लाले बाँधेर राख्न पनि छोडिएको छ । बरु, उनीहरुलाई घेरिएको मैदानभित्र खुला रुपमा हिँड्न दिइन्छ ।

सफारीमा निस्कँदा हात्तीमाथि आठ जनासम्म पर्यटक बस्न सक्थे । अचेल पर्यटक हात्तीसँगै हिँडे पनि माउते भने हात्तीमाथि नै बस्छन् । किनभने, माउते पनि पर्यटकसँगै हिँड्दा हात्ती अलमलमा परेको देखियो । सुरुमा यो तरिका माउतेहरुलाई नै ठीक लागेको थिएन । अहिले भने यही तरिका ठीक भएको उनीहरुले बुझ्न थालेका छन् । सन् १९९८ देखि माउते रहेका काले कुमालले द गार्डियनसँग भनेका छन्, ‘अहिले हात्तीहरु पनि खुसी देखिन्छन् । मान्छे बोक्दाको जस्तो हल्लिएर उनीहरुको ढाडमा घाउ पनि हुँदैन । यो एकदमै सही तरिका हो । र, अरुले पनि यस्तै गरेको हामी देख्न चाहन्छौँ ।’

प्रकाशित: श्रावण १५, २०७४