[फिल्म] सतही प्रेममा अल्झिएको 'प्रेमगीत २'

  • केन्द्रीय द्वन्द्वलाई विश्वसनीय बनाउन नसक्दा प्रेमगीतबाट ‘प्रेम’ हराएको छ ।

- गोकर्ण गौतम

पर्दामा पात्र प्रेम गर्छन् तर आभास दर्शकलाई हुनुपर्छ । पात्रले पीडा पाउँछन् तर दर्शकलाई दुख्नुपर्छ । हाँसे पनि, रोए पनि, घृणा गरे पनि पात्रसँगसँगै तानिनु पर्छ दर्शक । र, यसका लागि पात्रले संवादमार्फत होइन, निर्देशकले दृश्यमार्फत पात्रको भोगाइ पस्कनु पर्छ । अन्यथा जतिसुकै चमकदार दृश्य होस्, फिल्ममा विरक्त पैदा हुन्छ । हामीकहाँ बन्ने अधिकांश फिल्ममा हुने यस संक्रमणबाट प्रेमगीत २ पनि मुक्त हुन सकेको छैन । केन्द्रीय द्वन्द्वलाई विश्वसनीय बनाउन नसक्दा प्रेमगीतबाट ‘प्रेम’ हराएको छ । 

रामशरण पाठक यस फिल्मका पटकथाकार र निर्देशक हुन् तर उनले न पटकथा खँदिलो लेखेका छन्, न निर्देशनका क्रममा पटकथाका कमजोरीलाई सुधारेका छन् । ‘क्लिसे’ प्लट र कमजोर धरातलमा उभिएका पात्रका कारण सर्वप्रिय हुन सक्ने सम्भावना बोकेको प्रेमकथा फिक्का साबित भएको छ । तर, सिनेमाटोग्राफी, लोकेसन, संगीत र क्लाइमेक्सले फिल्मको लाज बचाएको छ । नामका पछाडि २ राख्नुबाहेक यसको कथाकोप्रेमगीतसँग कुनै सरोकार छैन । 

बर्माबाट आफ्नी हजुरआमाको देश नेपाल घुम्न आएकी छन्, गीत (अश्लेषा ठकुरी) । उनलाई घुमाउने दायित्व आइपर्छ, प्रेम (प्रदीप खड्का)लाई । सुरुमा त उनी गीतलाई बेवास्ता गर्न खोज्छन् तर यात्राका क्रममा उनीहरू नजिकिन्छन् । गीत बर्मा फर्किन्छिन्, यता प्रेम तड्पिन्छ । सम्पर्क नभएपछि प्रेम पनि थाइल्यान्ड जान्छ, जहाँ गीत पढिरहेकी छन् । भेट हुन्छ तर अंगद (सन्तोष सेन) बाधक बनिदिन्छन् । गीतसँग प्रेम गरेकै कारण प्रेमको रामधुलाइ गर्छन्, गीतलाई नछोडे ज्यानै लिने धम्की दिन्छन् । आखिर अंगद को हुन् ? प्रेमले गीतलाई पाउला त ? यो फिल्मको सुन्दरता भनेकै क्लाइमेक्स हो । जुन फिल्मी ह्याङबाट मुक्त छ र यथार्थपरक पनि । 

बर्मामा एक बुर्जुकले नेपालको माया दर्शाउँदै दिएको लम्बेतान भाषणसँगै फिल्म सुरु हुन्छ । गीत नेपाल आएपछि मात्र होइन, प्रेमसँग घुम्न निस्केपछि पनि निर्देशक पाठकले कथामा रोचकता सिर्जन सकेका छैनन् ।

काठमाडौँदेखि मुगुसम्म पुग्दा कुनै अवरोध आउँदैन, न त एकअर्कालाई नजिकबाट नियाल्ने मौका पाउँछन् । मुगुको जीवनशैली नजरअन्दाज गरिएकाले यात्रा सुक्खा लाग्छ । मुगुसम्म पुग्दा त्यतिधेरै समय खर्चेका निर्देशकले फर्कंदा एउटै दृश्य देखाउन आवश्यक ठानेनन् । मध्यान्तरसम्म ‘ट्वीस्ट’को अपेक्षा राखिनु थप निराशातिर धकेलिनु मात्र हो । 

मध्यान्तरपछि कथाले गति त लिन खोज्छ । तर, नेपाल बसाइका क्रममा गीतसँगको सम्बन्ध जति गहिरो र कसिलो देखाइन्छ, त्यस आधारमा प्रेम त्यति त्यागी र ‘आसिक’ प्रेमी होला भनेर दर्शकलाई पत्यार लाग्दैन । यसका लागि निर्देशकले पहिल्यै उनीहरूलाई अति समर्पित देखाउनु पथ्र्यो । त्यस्तै धरातल कमजोर छ, नेपाली केटाप्रतिको अंगदको एकोहोरो आक्रोशको । उनको ‘फ्ल्यासब्याक’ मात्रले त्यो हदसम्मको घृणालाई ‘जस्टिफाइ’ गर्दैन । जबकि, गीत उनको नजिकका नातेदार पनि होइनन् । यसरी पात्र र तिनीहरूको सम्बन्धलाई वजनदार बनाउन नसकेका निर्देशकले क्लाइमेक्सचाहिँ निकै बुद्धिमत्तापूर्वक खिचेका छन् । अंगद र प्रदीपको फाइट त आकर्षक छ नै, रिङबाट पैदा गरिएको संवेदनाले जोकोहीको मन छुन्छ । यहाँ गीत र अंगदको अभिव्यक्तिको प्रयोग साँच्चै सराहनीय छ ।
 
फेरि पनि क्लिसे दृश्य त कति हो कति ? प्रेम लिफ्टमा अड्किएर एयरपोर्ट जान नपाएको, औषधि हालेको पानी पिएर पखाला लागेको, फेसबुकमा प्रेमसँग साथी बन्न गीतले गरेको हर्कत, प्रेमका बुबाले गीतको खातिरदारी गर्नुको नियत, प्रेमका साथीहरू र गीतकी हजुरआमाको उपस्थिति आदि आदि । भनिहालियो, बर्मादेखि थाइल्यान्ड अनि काठमाडौँ हुँदै मुगुसम्म पुगेको छ, प्रेमगीत २ को कथा । थाइल्यान्ड र मुगुका चहकिला दृश्य लोभलाग्दो शैलीमा कैद गरिएका छन् । तर पनि दर्शकको मन चंगा हुँदैन । किनभने, फिल्म सुन्दर देखिने दृश्यहरूको एल्बम मात्र होइन । दृश्यमा आत्मा हुनुपर्छ । नत्र असनको गल्लीमा रुमल्लिएको जात्रा र पशुपति क्षेत्रमा सीमित पशुपतिप्रसाद किन अब्बल ठहरिन्थे !

फिल्मको सुरुआतमा लेखिन्छ, आमभन्दा अलग प्रेमकथा । बर्मेली केटी र नेपाली केटाको माया हाम्रा लागि नवीन भन्न सकिएला तर निर्देशकले दाबी गरेजस्तो चरित्र र प्रवृत्तिगत रूपमा यो विछट्टै नौलो प्रेमकथा होइन । तैपनि, उनी घिसिपिटी र आयातीत प्रेमकहानीभन्दा माथि उठ्न खोजे, त्यो सकारात्मक छ । प्रेमगीतबाट प्रदीप जसरी ‘सरप्राइज प्याकेज’का रूपमा उदाएका थिए, त्यसलाई निरन्तरता दिन सकेका छैनन् । भिन्न लुक्स र फाइटबाहेक अभिनयमा कुनै प्रगति छैन । उनीसँगको अपेक्षा यति मात्र होइन । सुनील पोखरेलसँग अभिनय प्रशिक्षण लिएको भनिएकी अश्लेषाले निराश तुल्याउँछिन्, उनको अनुहारको भावभंगिमा र संवाद बोल्ने शैलीमा स्वाभाविकताको सुगन्ध छैन । अभिनयमा आमूल परिवर्तन नगरे हिरोइनको भीडमा हराउने डर छ । निर्मातासमेत रहेका सन्तोष सेन एक्सन दृश्यमा जमेका छन् । निर्माताका रूपमा फिल्मलाई ‘रिच’ बनाउन कुनै कन्जुस्याइँ गरेका छैनन् । शिशिर भण्डारीलाई राखिनुको एउटै उद्देश्य हँसाउनु हो तर उनलाई ‘ओभर–एक्टिङ’ले गाँजेको छ ।

लोकेसन छनोट र पुरुषोत्तम प्रधानको छायांकन पूरापूर तारिफयोग्य छ । आवरण मात्र हेर्ने हो भने केही दृश्य अन्तर्राष्ट्रिय स्तरका छन् । ‘कहानी यो प्रेमगीतको...’सँगै अन्य गीतहरू श्रुतिमधुर छन् । रेनेशा वान्तवा राईको कोरियोग्राफी उस्तै आकर्षक लाग्छ । पाश्र्वध्वनि र कलाकारको वेशभूषा पनि प्रसंशनीय छ । 

प्रदीपका ‘हार्डकोर फ्यान’का लागि मात्र हो, प्रेमगीत २ । दाँज्दै पर्दा, मेकिङमा प्रेमगीतभन्दा अब्बल छ भने कथा र कथा भन्ने शैलीमा कमजोर ।

 

प्रकाशित: श्रावण १३, २०७४