कि अधिमूल्यन, कि अवमूल्यन

  • एक–दुइटा पंक्तिलाई लिएर झुर भन्नु अनि उसै गरी एक–दुइटा पंक्तिलाई लिएर सुपर भन्नु उही प्रवृत्ति हो ।

- विमल आचार्य

साहित्यकार भानुभक्त आचार्यको आदिकवित्वबारे थुप्रै विमर्श छन् । भानुभक्तको पक्षमा व्यक्त गरिएका तर्कको खण्डनमा विपक्षीका तर्फबाट पनि उत्तिकै जोडदार वितर्क प्रस्तुत भएका छन् । सुरुमा ‘वादविवाद प्रतियोगिता’का केही नमुना हेरौँ । मोतीराम भट्टले विसं १९४८ मा पहिलोपल्ट आदिकवि भने, उनलाई । लेखेका छन्, ‘गोर्षा भाषामा हुनता धेरै नामका कवि भानुभक्तभन्दा पहिले भए तर कविताको मर्म जानी पद्य लेख्ने कविहरूमा पहिला आदिकवि भानुभक्त नै हुन् ।’ 

विसं १९९७ मा दार्जीलिङबाट सूर्यविक्रम ज्ञवालीको सम्पादनमा भानुभक्त स्मारक ग्रन्थ प्रकाशित भयो । ‘हुकुम बक्सेको’ शीर्षकमा श्री ३ जुद्धको भनाइ छापियो, ‘अध्यात्म रामायणलाई सरस नेपाली भाषामा श्लोकबद्ध गरी उतारी रामरस फैलाउने कवि भानुभक्ताचार्य नेपाली भाषाका आदिकवि हुन् भने पनि हुन्छ ।’ ज्ञवालीले भानुलाई ‘शान्तिका पुजारी, धर्मका अवतार, प्रेमका मूर्ति, नेपाली जातिका गौरवसूर्य, नेपाली साहित्यका सूत्रधार, नेपाली जातिका धर्मगुरु’ भनेका छन् । मोतीले दिएको आदिकविले जुद्धशमशेरको ‘हुकुम बक्सेको’ पछि औपचारिकता पायो । 

इतिहासकार बाबुराम आचार्यले विसं २००३ मा भनेका छन्, ‘कविमा हुनुपर्ने तिनै गुण लालित्य, सरलता र विचारको मौलिकता भानुका प्रसिद्ध ‘रामायण’ र अरू फुटकर कवितामा समेत पाइन्छन्, अपूर्व विशेषता र लक्षणले भरिएको हुनाले हाम्रा भाषाका आदिकवि भनेर यिनलाई कान्छी औँलामा गन्न सकिन्छ ।’ कथाकार गुरुप्रसाद मैनालीले भनेका छन्, ‘रामायण लेखिनुपूर्व नेपाली भाषामा कुनै प्रख्यात ग्रन्थ रचना भएको पाइँदैन, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य हुन् ।’ लक्ष्मीप्रसाद देवकोटा भन्छन्, ‘शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि !’ बालकृष्ण सम भन्छन्, ‘समाज सुधारक क्रान्तिकारी दोरंगी ।’ 

हृदयचन्द्रसिंह प्रधानले ‘बाहुनवादी, परम्परावादी, नारी स्वतन्त्रताका विरोधी, सती प्रथाका समर्थक, अप्रगतिशील लेखक’ भनेका छन् । रामकृष्ण शर्माले भनेका छन्, ‘गजाधर सोतीकी घरबूढी अलक्छिन्की रहिछन् भनी रच्ने भानुले फेरि कुमारी चोक कुर्नुपर्ने थियो, न्यायालयमा जवाफदेही हुनुपर्ने थियो ।’ तारानाथ शर्मा भन्छन्, ‘आदिकवि संज्ञा नै हटाइदिए सबैभन्दा वैज्ञानिक ।’ निनु चापागाईं भन्छन्, ‘शासक वर्गका सांस्कृतिक हतियार, शासक वर्गका गायक, विभाजनकारी, सामन्तवादी, पछौटे, सामन्तवादका पृष्ठपोषक ।’ निनुले थप भनेका छन्, ‘सामन्तवादका पृष्ठपोषक राजाहरूको सालिक तोड्नु अन्यथा हुँदैन भने तिनको स्वार्थ अनुकूल साहित्य सिर्जना गर्नेहरूको सालिक तोड्नु कसरी अन्यथा हुन्छ ?’ ०६२/६३ को आन्दोलनमा भानुभक्तको सालिक तोडिएका बारे उनले दिएको यस्तो प्रतिक्रिया सर्वथा बेठीक लाग्छ मलाई । प्रचण्डको स्वार्थ अनुकूल साहित्य सिर्जना गर्नेहरूको होस् वा अरू जोकोहीको स्वार्थ अनुकूल साहित्य सिर्जना गर्नेहरू, कसैको पनि सालिक तोड्नु विवेकशील कदम हुँदै होइन । सालिक बनाउँदै नबनाउनु, बनाइसकेपछि किन तोड्नू र † तर, ख्याल हुनुपर्ने विषय के हो भने मिथिला क्षेत्रमा विद्यापतिको नभई भानुको मात्र सालिक उठाउनु अदूरदर्शी र हेपाहा तरिका हो नै । 

‘भोलि भोलि भन्दा भन्दै सब घर बितिगो...,’ ‘रोज रोज दर्शन पाउँछु...’ जस्ता दुई–चारवटा व्यंग्यात्मक पंक्तिका आधारमा क्रान्तिकारी कवि, कुशल व्यंग्यकार, विद्रोही कवि भन्न मिल्दैन । अनि, तत्कालीन वैश्विक सामन्तवादका पक्षमा उसै गरी दुई–चारवटा पंक्ति लेखे भन्दैमा ‘शासक वर्गका सांस्कृतिक हतियार, शासक वर्गका गायक, विभाजनकारी, सामन्तवादी, पछौटे, सामन्तवादका पृष्ठपोषक’ भन्न मिल्छ र ? 

एक–दुइटा पंक्तिलाई लिएर झुर भन्नु अनि उसै गरी एक–दुइटा पंक्तिलाई लिएर सुपर भन्नु उही प्रवृत्ति हो । अधिमूल्यनविरुद्ध अवमूल्यन र अवमूल्यनविरुद्ध अधिमूल्यन गर्नैपर्छ भन्ने छैन । समालोचना भनेको तर्ककै लागि मात्र तर्क प्रस्तुत गर्ने स्कुले वादविवाद प्रतियोगिताजस्तो मात्र त होइन होला । यस सन्दर्भमा एउटा अनुसन्धान पठनीय छ । सांस्कृतिक इतिहासकार प्रत्यूष वन्तले सन् १९९९ मा सिन्हासमा एउटा लेख लेखेका छन्, भानुभक्तबारे । ७० पृष्ठ लामो उक्त लेखले भानुभक्तलाई कसकसबाट कसरी टेका दिएर उभ्याइयो भन्ने सन्दर्भ र प्रसंग खोतलेको छ । ‘राष्ट्रिय प्रतीक’को राजनीतिबारे उनले गहकिला तर्क गरेका छन् । यस्ता तर्क, जुन तथ्यमै अडिएका छन् । 

कुनै पनि व्यक्ति र उसको कामलाई समग्रतामा नहेरी उसबारे कही भन्नु उसको अटोसाइजको फोटो हेरेर छातीको नाप बताएसरह हो । ‘वीरेन्द्र जिन्दावाद’ लेखेकै आधारमा भूपीलाई राजावादी कवि हुन् भन्न कहाँ सकिन्छ ? 

तत्कालीन वैश्विक पृष्ठभूमि, समाज–संरचना र इतिहासको अध्ययनबिना कृतिको मात्र कोरा व्याख्याले सही अर्थ दिँदैन । 

भानु न त ‘शासक वर्गका सांस्कृतिक हतियार, शासक वर्गका गायक, विभाजनकारी, सामन्तवादी, पछौटे, सामन्तवादका पृष्ठपोषक’ कवि मात्र हुन्, न ‘समाज सुधारक क्रान्तिकारी दोरंगी ।’ भानुभक्त केवल कवि हुन् । उनको वैचारिकी, उनको सामाजिकता इत्यादिबारे अहिलेको आँखाले हेर्दा देखिने अनेकन् दृश्यबारे बहस गर्न सकिन्छ । यस हिसाबले उनी सती प्रथाका समर्थक र नारी स्वतन्त्रताका विरोधी नै हुन् । आज दुई सय वर्षपछि त कति मान्छे धार्मिक, जातीय, गोत्रीय, नश्लीय रूपमा संगठित भई नशा लागेजसरी लठ्ठ वा पागल भएका छन् भने भानुमा कति प्रगतिशील, कति अप्रगतिशील ? समाजशास्त्रमा व्यक्ति गौण हो, समाज प्रधान हो । उनी पनि सामन्ती समाज व्यवस्थाका उत्पादक–लेखक हुन् । 

भानुका ‘भक्त’ तथा भानुप्रति सधैँ तिक्त विरोध पोख्नेहरू दुवै अतिवादी हुन् । कुनै पनि लेखक (र, व्यक्ति) ‘भगवान्’ हुनै सक्दैन, न त ‘राक्षस’ । भगवान् वा राक्षसमा विश्वास गर्ने वा यस्तो देख्नेहरू अन्धविश्वासी हुन् । कोही पनि न भगवान्, न दानव, केवल कमी–कमजोरीसहितको मानव । 

प्रकाशित: श्रावण १०, २०७४