[स्मरण] तीन लाख भारू, आगोमा दनदनी

  • राजा त्रिभुवनले ‘कति छ ?’ भनेर सोधे । जवाफमा मोहनशमशेरले ‘तीन लाख’ भन्न मात्र के पाएका थिए, त्रिभुवनको आक्रोशको पारो चढ्यो ।

- रेवतीरमण खनाल

राजालाई विष्णुको अवतार भनिन्थ्यो । राजा त्रिभुवनसम्मका प्राय: राजाले भगवान् विष्णुको अनुसरण गर्ने प्रयास गरेका छन्, खास गरी श्रीमती जम्मा गर्ने सन्दर्भमा । भगवान् विष्णुले लक्ष्मी र सरस्वतीलाई एकसाथ भित्र्याएजस्तै त्रिभुवनले पनि एकै घरका दुई दिदी–बहिनी शान्ति र ईश्वरीलाई एउटै मण्डपबाट विवाह गरेर दरबार भित्र्याएका थिए ।

त्रिभुवनकी जेठी श्रीमती शान्ति राज्यलक्ष्मीसँग त म त्यति नजिक रहिनँ । तर, कान्छी ईश्वरी राज्यलक्ष्मीदेवीसँग दरबारमा काम गर्दागर्दै ज्यादै नजिक भएँ । उनी कर्मचारीलाई माया र आदर गर्थिन् । हामीलाई ‘तपाईं’ भनेर सम्बोधन गर्थिन् । एक भेटमा ‘ हामी कारिन्दालाई तपाईं भनेको अलिक सुहाएन कि !’ भनेपछि मात्र उनले मलाई ‘तिमी’ भनेर सम्बोधन गर्न थालेकी हुन् । मनमा लागेका कुरा भन्न र केही कुरा सोध्नुपर्‍यो भने उनी कर्मचारीलाई त्रिभुवन सदनमै बोलाएर कुराकानी गर्थिन् ।

एक दिन तत्कालीन ढुकुटी विभागका हाकिम सचिव शारदाप्रसाद प्रधान र मलाई उनले राजदरबारको त्रिभुवन सदनमा डाकिन् । राजा वीरेन्द्रको शुभ राज्याभिषेक सम्पन्न भइसकेको थियो । तर, उनलाई आफ्नो नाति धेरै समय विदेश बसेकाले नेपाली काइदा–कानुनसँग त्यति परिचित नभएको एवं नेपाली सन्दर्भ बुझ्न उनलाई समस्या पर्ने अनुभव गरेकी रहिछन् । त्यसै कारण उक्त सन्दर्भमा कुराकानी गर्न भनेर उनले हामीलाई त्यहाँ डाकेकी रहिछन् । 

कुराकानीका क्रममा राजा–राणा सम्बन्धका पहलुहरू पनि निस्किए । अनेक रोचक प्रसंगका अतिरिक्त राजा त्रिभुवनले आवेश र आक्रोशमा आएर भारतीय रुपियाँ आगोमा जलाएको प्रसंग निस्कियो । त्यसअघि किंवदन्तीका रूपमा सुनिसकेको भए पनि प्रत्यक्षदर्शीको मुखबाट पहिलोपल्ट सुन्न पाइएको थियो, त्यो प्रसंगबारे । 

श्री ३ चन्द्रशमशेरप्रति राजा त्रिभुवनको मात्र होइन, ईश्वरी राज्यलक्ष्मीको पनि धेरै नै आक्रोश रहेछ । चन्द्रशमशेर शंकालु मात्र होइन, साह्रै धूर्त पनि भएको टिप्पणी उनले गरिन् । आफूहरूको चियोचर्चो गर्न दरबारिया कर्मचारीलाई अनेक उपाय अपनाएर हात लिने गरेको पनि उनले बताइन् । कुनै ब्राह्मण–बाह्मणीलाई दान–दक्षिणा दिनुपर्‍यो भने दहीको कतारोभित्र मोहर राखेर पठाउनुपर्ने, धोबीलाई पुराना घडी र केही मोहर दिन मन लागे धुन पठाउने कपडाका खल्तीमा राखेर पठाउनुपर्ने बाध्यता पनि उनले सुनाइन् । सुरुसुरुमा त धोबीले पनि राजा–रानीका कपडाका खल्तीमा झुक्किएर घडी र केही मोहर छुटेछन् भनेर फिर्ता गर्दा रहेछन् । पछि उनीहरूलाई सम्झाएर उनीहरूकै लागि पठाएको हो भनेपछि त्यो समस्या टरेको रहेछ ।

चन्द्रशमशेरले राजा त्रिभुवनलाई अनेक दु:ख दिएको, राजालाई अटेर गरेको र केही माग गर्दा त्यसको आधा मात्र पूरा गरेका अनेक उदाहरण ईश्वरी राज्यलक्ष्मीले हामीलाई सुनाइन् । उनले बताए अनुसार एकपटक राजा त्रिभुवनले चन्द्रशमशेरलाई विशेष कामका कारण आफूलाई पाँच लाख रुपियाँ आवश्यक परेकाले तुरुन्त पठाउन भनेका रहेछन् । चन्द्रशमशेरले केही दिन आलटाल गरेपछि पुस–माघ महिनाको एक रात मोहनशमशेरमार्फत उक्त रकम पठाएका रहेछन् । जाडोको त्यो समयमा राजा त्रिभुवन, रानी कान्ति र ईश्वरी बोर्सी (फलामको मकल)मा आगो तापेर बसिरहेका बेला मोहनशमशेर त्यो रकम लिएर आएको खबर ढोकेले गरे । मोहनशमशेर आएर राजाको दर्शन गरेपछि ‘बुबाले पठाएको’ भन्दै त्रिभुवनका अगाडि नोटका केही बन्डल टक्र्याए । त्यति बेला नेपाली नोटको प्रचलन थिएन । नेपाली सिक्का मात्रै चल्तीमा थिए भने नोट भारतीय चल्थे । चन्द्रशमशेरले भारतीय एक सय रुपियाँका नोटको बन्डल बनाएर त्यहाँ पठाएका रहेछन् ।

राजा त्रिभुवनले ‘कति छ ?’ भनेर सोधे । जवाफमा मोहनशमशेरले ‘तीन लाख’ भन्न मात्र के पाएका थिए, त्रिभुवनको आक्रोशको पारो चढ्यो । केही नबोली बन्डल फुकाएर एक–एक नोट निकाल्दै बोर्सीको आगोमा बाल्न थालेछन् । रानी कान्तिले ‘यो के गरिबक्सेको ?’ भन्दा राजा त्रिभुवनले ‘नोटको तातो हामी पनि महसुस गरौँ न †’ भनेर प्रतिक्रिया दिएछन् । मोहनशमशेर ढोकामै उभिएर त्यो दृश्य टुलुटुलु हेरिरहेका थिए । त्रिभुवनको भनाइ थियो, ‘देशको आम्दानी उनीहरूले जे गरे नि हुने, कसैलाई हिसाबकिताब देखाउन नपर्ने, छोराहरू छुट्टिँदा करोड–करोड भाग लाग्ने, मैले विशेष कामका लागि जाबो पाँच लाख रुपियाँ माग्दा तीन लाख पठाउने ?’ 

त्रिभुवन सदनबाट निस्किएर यो कुरा मोहनशमशेरले चन्द्रशमशेरलाई सुनाउनासाथ पाँच लाख रुपियाँ लिएर चन्द्रशमशेर त्यही राती त्रिभुवन सदन पुगे । पछि चन्द्रशमशेरले राजा त्रिभुवनलाई भनेको संवाद रानी ईश्वरीले यसरी सनाइन्, ‘जेठो (मोहनशमशेर)ले तीन लाख भए पुग्छ भन्ठानेर कम चढाएछ । उसलाई किन जान्ने हुनु परेको ? उसलाई जे कारबाही गर्नुपर्छ, म गर्छु । हजुरबाट आज्ञा होस् मात्र भन्दै चन्द्रशमशेर राजा त्रिभुवनका अगाडि ज्यादै साँचिलो र साखुल्ले बन्न खोजेको दृश्य हेर्नलायक थियो ।’

ईश्वरी राज्यलक्ष्मीले इतिहासको त्यो चर्चित घटना सुनाइर हँदा हामी एकचित्त भएर सुनिरहेका थियौँ । इतिहासको यस्तो घटना प्रत्यक्षदर्शी र स्वयं भोक्ताको मुखबाट सुन्दाको त्यो क्षण अडियो/भिडियोमा कैद गर्न नसक्दा र नजान्दाको थकथकी अहिले पनि भइरहन्छ । त्यतिबेला त्यस कुरालाई यति गम्भीर रूपमा बुझ्न नसक्दाको परिणाम पो हो कि ?

(खनाल राजदरबारका पूर्वप्रमुख संवाद सचिव हुन् ।)

प्रस्तुति : ईश्वरी ज्ञवाली

 

प्रकाशित: श्रावण १०, २०७४