प्रविधि अब्बल, परिणाम कमजोर

  • आधुनिक क्यामेरा प्रयोग हुँदा पनि विशिष्ट दृश्य भाषा निर्माण हुन सकेन

- गोकर्ण गौतम

आकाश अधिकारीले पन्छी र क्रोध फिल्म निर्देशन गरे, आफैँले खेले पनि । खिच्दा स्तरीय लाग्थ्यो तर जब पर्दामा देख्थे, धमिलो आउँथ्यो । आफैँलाई चिन्न मुस्किल पथ्र्यो । दर्शकको आँखा झन् कति बिझाउँथ्यो होला ? तैपनि, खर्च भने अचाक्ली महँगो । जस्तो : एक दशकअघि उनले बनाएको फिल्म शासनको खिचाइ र सम्पादनमै ३३ लाख रुपियाँ सकियो । यसरी खर्च बढी हुनु तर दृश्य ज्यादै कमसल लाग्नुको कारण एउटै थियो, १६ एमएम क्यामेराले खिच्ने अनि पर्दामा देखाउँदाचाहिँ ३५ एमएममा बनाउने । यसलाई प्राविधिक भाषामा ‘ब्लोअप’ भनिन्छ । 

सामान्य ढंगमा बुझ्दा, कम रेजुलेसनको तस्बिरलाई ठूलो बनाउँदा ‘ब्लर’ भएजस्तै पर्दामा दृश्य फाट्थ्यो । यही नियतिको परिणाम थियो, रेड क्यामेरा । अधिकारीले नेपाल भित्र्याएको यो क्यामेरा तत्कालीन समयमा विश्वकै फिल्म उद्योगमा आधुनिक प्रविधि मानिन्थ्यो । “अब्बल फिल्म बन्न ५० प्रतिशत पटकथा र २५–२५ प्रतिशत क्यामेरा र ध्वनिको भूमिका हुन्छ,” निर्देशन, निर्माण र अभिनयमा सक्रिय अधिकारी भन्छन्, “तर, हामीकहाँ उपलब्ध क्यामेरा ज्यादै कमसल थियो । त्यसैले आँटेरै रेड ल्याएँ ।” ०६४ मा नेपाल ल्याइएको यो क्यामेराको पूरा सिस्टमको लगानी ७२ लाख रुपियाँ थियो । 

रेड नेपाल आएकै वर्ष एउटा फिल्म रिलिज भयो, कागबेनी । क्यामेराको उन्नतिको प्रसंगमा यो फिल्मलाई छुटाउनै मिल्दैन । किनभने, यहीँबाट नेपालमा डिजिटल युग सुरु भयो भने चार दशक लामो ‘एनालग सिस्टम’को अन्त्य । यो फिल्म टुके क्यामेराबाट खिचिएको थियो । अर्को उल्लेखनीय सन्दर्भ के छ भने सिलिकन इमेजिङ कम्पनीले यो क्यामेरा सुरुमा जम्मा तीनवटा बनाएको थियो, जसमध्ये एउटा त नेपालमै आएको थियो । “त्यतिबेला नेपालमा टुके आउनु भनेको ज्यादै ठूलो फड्को थियो,” अमेरिकामा सिनेमाटोग्राफी पढेका शैलेन्द्र डी कार्की भन्छन्, “कागबेनीबाट हामीले प्रविधिमा संसारका विकसित मुलुकका फिल्म उद्योगभन्दा कमजोर छैनौँ भन्ने सन्देश दिन सक्यौँ ।” तर, त्यतिबेला टुकेको पूर्ण भाग आएको थिएन । लेन्समै क्यामेराको चिप्स जडान गरिन्थ्यो अनि केबल तार ल्यापटपमा जोडेर रेकर्ड बटन थिच्नुपथ्र्यो । खिचिएको दृश्यको ‘डिस्प्ले’ पनि ल्यापटपमै हुन्थ्यो । यही प्रविधिबाट सानो संसार पनि खिचियो । 

रेड क्यामेराको आगमनसँगै टुके, सिक्सके हुँदै एट्केसम्म पुगेको छ, खिचाइ । अझ रेड क्यामेरामा ‘अल्ट्रा प्राइम लेन्स’ पनि लगाइन्छ, जुन हलिउडका ‘ए ग्रेड’का फिल्म खिच्दा प्रयोग गरिन्छ । यो समयका सर्वाधिक व्यस्त छायाकार पुरुषोत्तम प्रधान भन्छन्, “प्रविधि कमजोर भयो भनेर हामीले गुनासो गर्ने ठाउँ छैन ।” उनी यसो किन भनिरहेका छन् भने जति आधुनिक क्यामेरा उपलब्ध भएको छ, नेपाली फिल्मको खिचाइ शैली सोही अनुपातमा स्तरीय हुन सकेको छैन, खास गरी पटकथालाई मूर्तता दिने मामलामा । कुन विधा र विषयवस्तुको फिल्म कसरी खिच्ने ? क्यामेराको सहजताले फिल्मको बहुआयामिक विकासमा कसरी भूमिका खेल्यो भन्ने जस्ता सवालमा गिनेचुनेका फिल्मकर्मीमै अस्पष्टता छ । उनीहरू स्वयं क्यामेराको सहज उपलब्धतालाई फलदायी बनाउन नसकेको स्वीकार्छन् । 

वरिष्ठ निर्देशक तुलसी घिमिरे ‘प्रविधिमा प्रगति भए पनि फिल्म बनाउने सोच उस्तै रहेको’ टिप्पणी गर्छन् । भलै उनको पछिल्लो फिल्म दर्पणछाया २ खिचाइ र कन्टेन्ट दुवै हिसाबमा कमजोर साबित भयो । अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा कमाएको नुमाफुङका निर्देशक नवीन सुब्बा दृश्य भाषा निर्माण गर्न नसकिएको पीडा पोख्छन् । तीतो यथार्थ हो, विशिष्ट दृश्य भाषाबिना जति आधुनिक प्रविधि प्रयोग गरिए पनि त्यो बालुवामा पानी बगाएसरह हुन्छ । तर, अझ पनि कति फिल्मकर्मीमा छायाकन राम्रो हुनु भनेको आवरण सुन्दर भएको र झकिझकाउ दृश्य खिच्नु हो भन्ने भ्रम छ ।

कथालाई मूर्तता दिने खिचाइ शैली र दृश्यलाई कमैले मात्र महत्त्व दिन्छन् । निर्माताहरूबीच प्रतिस्पर्धा नै हुन्छ, यो त्यो क्यामेराले यति लाखको सेटमा खिचेको भन्ने । तर, दृश्य भाषा निर्माणको सवालमा कहीँकतै बहससमेत हुन्न । विडम्बना ! त्यसो भए क्यामेरा जति अब्बल छ, सोही अनुरूप फिल्मको वजन किन बढ्न सकेको छैन ? जबकि, फिल्म भनेको प्रविधि र कलाको संगम हो । त्यसैले जति अब्बल प्रविधि, उति जीवन्त सिनेमा बन्छन् भन्ने विश्वास राखिन्छ तर हामीकहाँ त्यो सुखद परिवेश निर्माण हुन सकेको छैन । रेड क्यामेराबाट खिचिएको पहिलो नेपाली फिल्म काठमाण्डूका छायाकारमध्येका एक कार्कीका अनुसार यो अपजसको निर्देशक र छायाकार समान भागीदार हुन् । निर्देशकले आफ्नो सोच अनुरूपको दृश्य भाषा निर्माण गर्नुपर्छ भने त्यसलाई खिचाइ माध्यमबाट जीवन्तता दिने दायित्वचाहिँ छायाकारको हो । “तर, हामीकहाँ निर्देशक र छायाकार दुवै अलमलमा पर्छन्, खास छलफल पनि हुन्न,” आचार्य, कथा, कबड्डीजस्ता गिनेचुनेका फिल्म खिचेका कार्की भन्छन्, “कुनै निर्देशकले आफ्नो खास शैली बनाउन र निरन्तरता दिन सकेका छैनन् ।”

कथा, पात्र र परिवेश अनुरूपको ‘क्यामेरा पेसिङ’ कायम राख्न नसक्दा पर्दामा दर्शकलाई बाँध्न मुस्किल पर्छ । अक्सर नेपाली फिल्मले भोगिरहेको पीडा हो, यो । आखिर सिनेमा भनेको शब्दको दृश्य रूपान्तरण न हो । त्यही दृश्य बलियो नभएपछि मोह हराउने भइहाल्यो । यो समस्या त छँदै थियो, पछिल्लो समय उपलब्ध प्रविधिको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ, कथाको मागबिनै जोनीजीप, ड्रोनको प्रयोग गरेर । यसो गर्दा सतही रूपमा त दृश्य भव्य लाग्छ तर त्यसको आत्मा हुन्न । छायाकार कार्की भन्छन्, “जोनीजीप, ड्रोन हाम्रा लागि नयाँ हो । त्यसैले त्यसको अर्थ र महत्त्व नै नबुझी के–के न पाएझैँ गरेर प्रयोग गरिरहेका हुन्छौँ । खासमा यो दृश्यको दरिद्रता हो ।” उनी छायाकारले पनि आफ्नो दायरा भुल्न नहुने बताउँछन्, त्यो दायरा निर्देशकको भिजन अनुरूपको दृश्य खिच्ने हो, आफू अनुकूलको होइन । त्यसमाथि प्रकाश, ध्वनि, कम्पोजिसनको संयोजन पनि मिलाउनु पर्छ । 

तर, यही नमीठो नियतिबीच सुखद समाचार नभएको भने होइन । मुख्य कुरा त, पर्दामा चम्किला दृश्य देखिन थालेका छन्, त्यो पनि पहिलेभन्दा कम लगानीमा । रेडको आगमनभन्दा पहिले एउटा फिल्मका लागि खिचाइ र सम्पादनजस्ता प्राविधिक पक्षमा घटीमा ३० लाख रुपियाँ लाग्थ्यो । झन्झटिलो पनि थियो । अहिले यही ‘प्याकेज’ १० लाखको हाराहारीमा पाइन्छ । डिजिटल युगमा प्रवेश गरेसँगै फिल्म निर्माणले गति लिनुको मुख्य कारण हो यो । अहिले हामीकहाँ बन्ने ९५ प्रतिशतभन्दा धेरै फिल्म रेड क्यामेराबाट खिचिने छायाकारहरू बताउँछन् । जसको औसत सुटिङ अवधि ४० दिन हो र हामीकहाँ रेड क्यामेरा झन्डै २५ वटा छन् । तर, प्रविधिमा कति छिटो बदलाव आउन थालेको छ भने हिजो आधुनिक लाग्ने क्यामेरा आज पुरानो भइसकेको हुन्छ । सोही कारण रेडलाई पुरानो भयो भन्नेहरू पनि होलान् किनभने आइम्याक्स क्यामेरा जो आइसकेको छ । तर, हाम्रो बजारलाई मापन गर्दा आइम्याक्स क्यामेरा अझ दुई दशक भित्र्याउन नसक्ने/नहुने छायाकार प्रधानको बुझाइ छ । “अब कस्तो क्यामेराले खिच्ने भन्नेमा अड्किएर हुन्न । भइरहेकै क्यामेराको यथाशक्य सदुपयोग गर्नुपर्छ,” तीन करोड रुपियाँमा निर्माण भइरहेको फिल्म कृ खिचिरहेका प्रधान भन्छन्, “किनभने, कन्टेन्ट बलियो छ भने आइफोनले खिचे पनि हुने बेला आइसक्यो ।” 

प्रकाशित: श्रावण ९, २०७४