‘मेरो नेता मदन भण्डारी मात्र हो’— प्रदीप नेपाल

  • केपीलाई भोट माग्दा पनि म उहाँको गुटमा थिइनँ । गुटमा नभएपछि हारि न्छ  । यो कुरा मलाई थाहा थियो । त्यसैले हारेँ  ।

- सीताराम बराल

आठौँ महाधिवेशनमा महासचिव र नवौँमा उपाध्यक्षमा पराजित भए, एमाले नेता प्रदीप नेपाल । मदन आश्रित प्रतिष्ठान र त्यस अन्तर्गत प्राविधिक शिक्षालय प्रमुखसमेत रहेका उनी पार्टीको ऊर्जा विभागको प्रमुख पनि हुन् । तर, उनी पहिलेजस्तो राजनीतिमा सक्रिय देखिँदैनन् । तिनै नेपालसँग नेपालको कुराकानी : 

कुनै राजनीतिक मञ्चमा देखिनुहुन्न । राजनीति छोडिसक्नुभएको हो र ? 

६० वर्ष पुगेपछि राजनीति गर्दिनँ भनेको थिएँ । साथीहरूको जोडबलका कारण सकिएन । मैले राजनीति छाड्छु भन्दा मान्छेले पत्याउँदैनन् पनि । नपत्याए पनि सत्य त सत्य नै हो । नवौँ महाधिवेशनअघि बालकोट गएर केपी कमरेडलाई ‘तपाईंले जित्नुहुन्छ, अध्यक्ष उठ्नूस्’ भनेँ । उहाँले भन्नुभयो, ‘म अध्यक्ष, तपाईं उपाध्यक्ष उठ्ने हो ।’ 

मैले भनेँ, ‘म उठेर तपाईंको भोट बढ्ने होइन, उठिनँ भने पनि घट्ने होइन । मलाई तपाईंले प्रधानमन्त्री बन्न दिनुहुन्न । अध्यक्ष बन्न पनि दिनुहुन्न । म किन पार्टी रुँघेर बस्ने ? उता (साहित्यतर्फ) गएँ भने स्वतन्त्र ढंगले लागेको कुरा लेख्छु । मन लागेको कुरा पढ्छु । भूपू मन्त्री भन्ने ट्याग झुन्डिरहन्छ । सिद्धियो ।’

‘ल ल ल, तपाईंलाई सम्झाउन सक्दिनँ म’ भन्नुभो । अब ढुक्क भयो भन्ने लागेको थियो । तर, साथीहरूले यस्तो कर गरे, छाड्नै सकिएन । 

नवौँ महाधिवेशनमा ओलीलाई सहयोग गर्नुभएको होइन ? 

ओलीले मुकुन्द न्यौपाने, मजस्ता सिनियर साथीहरूबाट अध्यक्षका लागि सहयोग माग्नुभयो । के भन्नुभयो भने ‘पहिले (आठौँ महाधिवेशन) मा पनि तपाईंले मलाई सघाउनु भएन, यतिन्जेलसम्म बाँचियो, यसपालि चाहिँ सघाउनूस् ।’

हामीले पनि के सोच्यौँ भने ‘ठीकै छ नि त यसपटक केपीलाई सहयोग गरौँ ।’ केपीलाई जिताउन केही जुनियर साथीहरूसँग पनि सल्लाह गर्‍यौँ । हामीले भन्यौँ, ‘केपीले अध्यक्ष हार्नुभयो भने डिप्रेसनले जान पनि सक्नुहुन्छ । जिताइयो भने उहाँको आयु पनि लम्बिन्छ ।’

त्यसैले, ‘जिताऊ साथी हो’ भनियो । जिताइयो पनि । 

ओलीको जितको कारण स्वास्थ्यसम्बन्धी संवेदनशीलता नै हो त ? 

एकदम । एक नम्बर कारण नै यही हो । उहाँले ‘होइन’ भन्न त सक्नुहोला । तर, मुकुन्द न्यौपाने र म छौँ, कुरा गर्न जाने मान्छे । हामीले माधव नेपालसँग पनि कुराकानी गर्‍यौँ, केपी कमरेडको स्वास्थ्यबारे । माधवले भन्नुभयो, ‘ए, त्यसो भए अध्यक्ष हुने हो भने मर्ने बेला नै आउनुपर्‍यो !’

मैले भनेँ, ‘यो त अत्यन्तै असंवेदनशील शब्द हो तपाईंको । जतिसुकै खरो नेता भए पनि त्यसको दिमागमा संवेदना हुनुपर्छ । तर, त्यस्तो संवेदना तपाईंमा रहेनछ ।’ जेहोस्, हामीले भोट माग्दा त्यही (स्वास्थ्य संवेदनशीलता) उठाएर मागेका हौँ ।

केपीलाई भोट माग्दा पनि म उहाँको गुटमा थिइनँ । गुटमा नभएपछि हारिन्छ । यो कुरा मलाई थाहा थियो । त्यसैले हारेँ । आगामी महाधिवेशनमा उठेँ भने फेरि पनि म हार्छु । 

गुटबाजहरू को को हुन् त ? 

एकदम खप्पिस भनेका ओली र वामदेव गौतम । उहाँहरू गुट बनाउनु हुन्छ, जोगाउनु पनि हुन्छ । उहाँहरूको गुटमा कहिले को बलियो हुन्छ, भन्न सकिँदैन । दुवै हाराहारी छन् गुट बनाउन र चलाउनमा । आफ्नो गुटका मान्छेलाई बिर्सिंदैनन् ।

भनेपछि एमाले भनेकै गुटहरूको झुन्ड हो !

हो त ! पार्टी भनेको गुट नै हो । 

जस्तो : नवौँ महाधिवेशनमा परिणाम आयो । मैले लुम्बिनीका सबै कमरेडहरूसँग हात मिलाएर बधाई दिएँ, ‘तपाईंहरूको अञ्चल अब दादा हुने भयो’ भनेर । पार्टी केन्द्रमा लुम्बिनीबाट यति धेरै मान्छे आए कि, त्यहीँकाले नै अध्यक्षलाई नचाउने स्थिति आयो । 

पार्टी नेतृत्वमा आएपछि ओली सफल–असफल के हुनुभयो ?

राजनीतिमा त के के हुँदो रहेछ के के ! ओली सफल पनि हुनुभयो । उहाँकै नेतृत्वमा (चुनावमा) पार्टीले सफलता पनि पायो । अडान त पहिले पनि नलिने होइन, लिनुहुन्थ्यो । तर, स–साना कुरामा लिएको अडान नदेखिने । प्रधानमन्त्री भएपछि ठूलै कुरामा अडान लिने मान्छे रहेछ भन्ने पनि देखियो । पछिल्लो अवस्थामा आएर उहाँले आफूलाई झन्डै–झन्डैको राजनेता बनाउनु भयो । 

आफ्नै छुच्चोपनाको कारण सत्ताबाट हट्नु पनि पर्‍यो नि, होइन ? 

केपीले सत्ता छोड्नु भएको होइन, बलात् छोडाइएको हो । छोडाउने षड्यन्त्रको आरम्भ संविधान जारी गर्नुअघि भारतका विदेशसचिव एस जयशंकर नेपाल आएपछि भयो । एयरपोर्टमा झर्नासाथ उनी अन्त कतै गएनन्, सीधै केपी ओलीको घरमा गए, ‘संविधान जारी नगर्नू’ भने । त्यतिखेर उहाँले जे जवाफ दिनुभयो, त्यतिखेरै उहाँको सरकार ढल्छ भन्ने लागिसकेको थियो । 

प्रधानमन्त्री बन्नुभएको त संविधान जारी भएपछि हो नि !

हो । तर, बनेपछि ढल्छ भन्ने लागेको थियो । जब भारतले आँखा तर्छ नि, त्यसपछि कुनै न कुनै अनिष्ट हुन्छ, हुन्छ नेपालमा । उहाँ प्रधानमन्त्री बन्ने कुरा त थाहा भइसकेको थियो दिल्लीलाई । तर, त्यो घटनापछि केही हुन्छ भन्ने पक्का थियो । हाम्रो राजनीतिको अभिशाप नै दिल्ली हो । 

एकातिर दिल्लीलाई गाली गर्नुहुन्छ । अर्काेतिर मदन आश्रित प्रतिष्ठानका भवन भारतीय सहयोगमै बनेका रहेछन् । यो कस्तो राष्ट्रवाद हो ?

यो भवनका लागि सहयोग लिने बेला म शिक्षामन्त्री थिएँ । मदन आश्रित स्मृति प्राविधिक शिक्षालय छात्रावास भवन बनाउन नेपाल सरकारसँग सहयोग माग गरेँ । अर्थ मन्त्रालयका साथीहरूले भवन बनाइदिने तर छात्रावास बनाउन नसक्ने बताए । उनीहरूले नै छात्रावासका लागि सहयोग लिइदिने पनि भने । मेरै अगाडिबाट फोन गरेर सहयोगका लागि अनुरोध गरे । त्यसरी सहयोग लिइएको हो । 

क्याबिनेट मन्त्री भइसकेको मान्छे, वामदेव गौतम उपप्रधानमन्त्री हुँदा सल्लाहकार हुन किन जानुभयो ? 

वामदेवको शैली छलफल गर्ने होइन, ‘यसो गर्ने’ भन्दिने हो । बैठकमा भन्नुभयो, ‘यसपालि राम्रो काम गर्न जाने हो, मलाई गृहमन्त्री बनाउनु पर्‍यो ।’ सबैले बनाइदिए । बनाएपछि उहाँले बोलाउनु भयो, ‘तपाईंले मलाई सघाउनु पर्‍यो’ भन्नुभयो । ‘केमा सघाउनु पर्‍यो ?’ मैले सोधेँ । ‘सफल, एकदम राम्रो गृहमन्त्री बनाउन सघाउनु पर्‍यो’ भन्नुभयो । 

‘प्रोटोकल कन्सस’ कहिले पनि भइनँ म । मैले भनेँ, ‘तपाईंको एक खालको बानी छ, मेरो पनि आफ्नै खालको छ । एकअर्कालाई गाली गरेर पनि मिल्ने दुवैको बानी हो । ६ महिना जसरी पनि टिक्छु । मेरो खल्तीमा जहिल्यै राजीनामा हुन्छ । यदि मैले दिएको सल्लाह मान्नुभएन भने म राजीनामा दिन्छु ।’ 

‘ल ल ल हुन्छ, ल’ भन्नुभयो । 

जागिर खान जानुभएको त हो ?

वामदेवजीको सल्लाहकार बनेर जानुको मुख्य कारण यो होइन । म उहाँलाई सफल बनाउन, सहयोग गर्न नै गएको हुँ । केही सुझाव दिएको थिएँ । तर, मेरो कुरा सुनिएन । सुझाव कार्यान्वयन भएनन् । नभएपछि राजीनामा दिएँ । 

वामदेवलाई ‘भ्रष्टाचारी नम्बर एक’ घोषणा गरेको तपाईंले नै होइन ? 

एमाले स्थायी समितिको एउटा टिमले भ्रष्टाचारी ठहर गरेको हो । त्यो टिमको तर्फबाट कसले बोल्ने भन्ने त्राहिमाम् थियो । बोल्न कोही नचाहने, मैले बोलेँ । बोलेपछि राती १२ बजेतिर वामदेव आफैँले फोन गर्नुभयो, ‘ किन बोल्या आफैँ, किन बोल्या’ भन्नुभयो । मैले भनेँ, ‘सबै मान्छेको सातो गाथ्यो, त्यसैले मैले आफैँ बोलेको ।’ 

फेरि जति झगडा गरे पनि, जति गाली गरे पनि मैले विश्वास गर्ने नेता भनेको त्यही वामदेव एउटा हो । सबै नेता आफूलाई सुरक्षित गर्न खोज्छन् । यो संसारकै रीत पनि हो । तर, वामदेव षड्यन्त्र गर्नुहुन्न । म पनि गर्दिनँ । हामी दुई जनाको यसै कारणले मिल्ती छ । 

पार्टीमा तपाईंले नेता मान्ने मान्छे को हो ? 

नेता भनेको बेग्लै चीज हो । नेता मान्ने भनेको मनले हो । मेरो नेता हुने हो भने मलाई लिड गर्नुपर्‍यो, काम गराउन सक्ने क्षमता हुनुपर्‍यो । त्यस्तो अगुवालाई नेता मानिन्छ । त्यस हिसाबले मेरो नेता भनेको मदन भण्डारी मात्र हो । केपी ओली, माधव नेपाल र झलनाथ खनालचाहिँ मेरा समकालीन साथी हुन् । किनभने, हामी सबै जना ०२० को दशकमा राजनीतिमा लागेका हौँ । 

तपाईंले माने पनि, नमाने पनि पार्टीको नेतृत्व गरेर ओली, नेपाल, खनाल नेता त भइसक्नुभयो नि † 

म यो कुरा मान्दिनँ । पार्टीको स्थायी समिति छ । त्यसमा आधाभन्दा बढी मैले उत्पादन गरेका मान्छे छन् । विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल मैले उत्पादन गरेका मान्छे हुन् । अहिले पनि 

गएर सोध्नुभयो भने विष्णु पौडेलले ‘प्रदीप नेपाल नै मेरो एक मात्र नेता’ भन्नुहुन्छ । 

प्रसंग फेरौँ, पार्टीको चुनाव हार्दा दु:ख त लाग्यो होला नि ? 

मैले मन्त्रीको कुर्सीमा बसेर अन्तर्वार्ता दिँदा एउटा वाक्य बोलेको छु, ‘मन्त्री त आवधिक हो । मूल रूपमा म साहित्यकार हुँ । मलाई गर्व साहित्यकार हुनुमै लाग्छ ।’ मेरो अन्तिमको बाटो भनेको साहित्य नै हो । 

राजनीति गर्नेको अन्तिम गन्तव्य भरसक प्रधानमन्त्री, नभए मन्त्री बन्ने हो । अरूलाई पदमा गइनँ भने ‘म मन्त्री हुन पाउँदिनँ होला’ भन्ने लाग्ला । तर, मेरो गन्तव्य त्यो होइन । त्यसैले राजनीतिमा तलमाथि पर्दा, जितहार हुँदा मलाई कुनै दु:ख लाग्दैन ।

त्यसो भए अब संसद्मा पनि उठ्नुहुन्न ? 

मैले जति गर्नु थियो, गरेँ । अहिले पनि पार्टीले दिएको काम गरिरा’छु । बैठकमा गइरा’छु । तर, अब म सक्दिनँ । 

किन यस्तो ? 

प्रकृति आफ्नै तालमा हिँड्छ । हामीले यताउति गर्दा सकियो भने जितेजस्तो लाग्छ, नसके हारियो जस्तो । तर, म हरेस खाएर होइन, सम्मानित विकल्प भएकाले राजनीति छाड्न लागेको हुँ । लेखन भनेको सम्मानित विकल्प हो नि ! होइन र ? 

प्रकाशित: श्रावण ९, २०७४