चुनावको गतिविज्ञान र नयाँ दल

  • हालै सम्पन्न स्थानीय निकायको चुनावमा ठूला र पुराना दुई दल नेकपा एमाले र नेपाली कांग्रेस तथा केही हदसम्म नेकपा माओवादी केन्द्रलाई नै जनताले रोजे । किन त ?

- जैनेन्द्र जीवन

स्थानीय निकायको चुनावमा विवेकशील र साझा, यी दुई नयाँ र साना दल मिडिया र सामाजिक सञ्जालमा निकै चर्चित भए । उनीहरूका मेयर उम्मेदवार काठमाडौँ र ललितपुर महानगरपालिकाको चुनावी प्रतिस्पर्धामा तेस्रो र चौथो स्थानमै आए । तर, अन्यत्र कतै पनि त्यस्तो उल्लेख्य मत ल्याउन सकेनन् । अर्को त्यस्तै दल नयाँ शक्ति नेपालको त चुनावमा कन्तबिजोग नै भयो । समग्रमा, हालै सम्पन्न स्थानीय निकायको चुनावमा ठूला र पुराना दुई दल नेकपा एमाले र नेपाली कांग्रेस तथा केही हदसम्म नेकपा माओवादी केन्द्रलाई नै जनताले रोजे । किन त ? कारण केही सामान्य छन् त केही हाम्रो समाज एवं राजनीतिसापेक्ष । 

नामले मात्रै नयाँ

नयाँ धारका दलको आवश्यकता र औचित्य नभएकै भने होइन । वर्षौंदेखि पटक–पटक सत्तामा रहेका ठूला र स्थापित दलहरू राष्ट्रनिर्माणमा अक्षम र सुशासन दिन अनिच्छुक देखिएपछि राजधानीका खास गरी पढेलेखेका, सचेत र मुखर जनता असन्तुष्ट र निराश थिए । जनताको यो मनोविज्ञान बुझेरै केही समययता खुलेका यी तीन नयाँ दलले विकास, सुशासन र स्वच्छ राजनीति दिने प्रतिज्ञा गरेका हुन् । त्यसमध्ये विवेकशील र साझा दल एवं तिनका मेयर उम्मेदवारले मानिसमा केही आशा जगाएका पनि हुन् । उनीहरूको राजनीतिक अनुभव र अपिल निकै कम भए तापनि नियतमा शंका गर्ने ठाउँ थिएन, छैन । बाबुराम भट्टराईको नयाँ शक्तिको कुरा भने केही भिन्न छ ।

देशकै प्रधानमन्त्री भइसक्दा पनि एकातिर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्कोतिर आफ्नो नरम वैचारिक एवं भारत–नीतिका कारण पार्टीको ‘र्‍याडिकल’ धार, दुइटैले मिलेर आफूलाई कहिल्यै पनि पार्टी अध्यक्ष हुन नदिने बुझेपछि माओवादीमा बसेर सधैँ प्रचण्डको ‘टू–आई–सी’ बनिरहनुभन्दा नयाँ पार्टी खोलेर भए पनि अध्यक्ष हुनु ठीक भनेर उनले नयाँ शक्ति गठन गरेका हुन् ।

नयाँ शक्तिको हरिबिजोगका पछाडि थुप्रै कारण छन् । माओवादीको १० वर्ष लामो क्रूर विद्रोहको औचित्य र उपलब्धिबारे बहस चलिरहनेछ, जसको निक्र्योल इतिहासले गर्नेछ । आजका मितिसम्मको स्थिति भने आमजनमत र बौद्धिक जगत् त्यस विद्रोहलाई अनावश्यक र त्रासदीपूर्ण एवं खेर गएको कालखण्ड ठान्छ ।

त्यसैले नै माओवादीको मूलधार माओवादी केन्द्रले समेत त्यस संकथनको खण्डन गर्न सकिरहेको छैन । र, गणतन्त्रजस्ता केही राजनीतिक परिवर्तनलाई उपलब्धिका रूपमा देखाएर विद्रोहको औचित्यको बहसबाट पन्छिन खोजिरहेछ । यस्तोमा पनि त्यो विचार र त्यो ब्रान्ड नै पूरै त्यागेर गैरमाक्र्सवादी धारको अर्कै दल बनाएका बाबुराम भने कथित ‘जनयुद्ध’को प्रतिरक्षा गर्ने निरर्थक प्रयास गरिरहन्छन् । नयाँ शक्ति दलमा हाबी र सक्रिय पूर्वमाओवादीको ठूलो पंक्तिको संवेदनशीलतालाई हेरेर उनले यसो गरेका हुन सक्छन् । तर, यसबाट त माओवादी विद्रोहलाई अनावश्यक ठान्ने गैरमाओवादी जनसमुदायलाई यो पनि अर्को माओवादी दल हो कि नयाँ शक्ति भन्ने खुट्याउनै गाह्रो भयो । माओवादी नै भए थुप्रै माओवादी दलका भीडमा अर्को थप माओवादी दल किन चाहियो ? र, साँच्चिकै नयाँ दल भए माओवादीको क्रूर हिंसात्मक आन्दोलनको महिमागान किन ? मतदाताले त मत दिनुपूर्व यस्तो अन्योलको स्पष्टता खोज्ने नै भए, जुन बाबुरामले दिन सकिरहेका छैनन् । 

उनी जहिल्यै गर्वका साथ आफूलाई पहिचानवादी राजनीतिको हिमायती बताउँछन् । यसपालि त जातीय–क्षेत्रीय पहिचान पक्षधर दल संघीय समाजवादी फोरमसँग तालमेलै गरेर उनी चुनावमा गए, जसको आफ्नै चुनावी प्रदर्शन राम्रो रहेन । वास्तवमा केही वर्ष पूर्वनियोजित र प्रायोजित रूपमा उत्कर्षमा पुर्‍याइएको जातीय क्षेत्रीय पहिचानको मुद्दा यसपालि मुद्दै बन्न सकेन । र, पहिचानवादीजति प्राय: सबैलाई मतदाताले अस्वीकार गरिदिए । तर, देशको राजनीतिमा आइरहेको यत्रो ठूलो परिवर्तनलाई बाबुरामले भने बुझ्नै सकेनन् वा बुझ्न चाहेनन् । 

उनी वैचारिक नेता हुन्, जसको संगठन क्षमता कमजोर छ । उनी व्यवहार कुशल पनि छैनन् । उनी निर्वैयक्तिक जनसम्पर्कमा जति कल्पनाशील र सफल छन्, त्यति नै वैयक्तिक जनसम्पर्कमा कमजोर । बोली, भावभंगिमा सबै रुखो छ । राजनीतिक स्वच्छताको चर्को नारा दिने उनी प्रधानमन्त्री भएका बेलामा उनकै परिवार र नजिकका सहकर्मीहरू, जसमध्ये कतिपय अहिले उनीसँगै नयाँ शक्ति दलमै छन्, भ्रष्टाचारका अनेकन् विवादमा मुछिएका कुरा जनताको स्मरणमा ताजै छ । त्यसैले उनलाई ढोंगी भन्ने पनि धेरै छन् । संक्षेपमा भन्दा बाबुरामको दललाई अरू दलभन्दा आदर्शवान र साँच्चिकै नयाँ धारको दल मान्दै मत दिनुपर्ने कुनै औचित्य र आधार मतदाताले फेला पारेनन् । 

सामाजिक–राजनीतिक परिवेश

विवेकशील र साझा दलले पनि काठमाडौँ र ललितपुर दुई महानगरपालिकामा बाहेक अन्यत्र कतै पनि उल्लेख्य मत ल्याउन नसक्नुका कारण थुप्रै छन् । एक त, अन्यत्र हावा पनि नचल्दा काठमाडौँ उपत्यका प्राय: ‘एन्टी इन्कम्बेन्सी’को हुरी चल्ने ठाउँ पनि हो । अर्को, काठमाडौँमा बहुराष्ट्रिय कम्पनीको सीईओदेखि फुटपाथछेउ तरकारी बेच्नेसम्म कसैलाई पनि आफ्नो संरक्षणका निमित्त दल चाहिँदैन, जो गाउँका मान्छेलाई चाहिन्छ । किनभने, यो महानगर हो र यही नै महानगरीय संस्कृति पनि हो । यहाँका अधिकांश जनताले त आफ्नो इलाकाका विभिन्न दलका स्थानीय नेतृत्वलाई चिन्दा पनि चिन्दैनन् ।

यहाँ मानिस आ–आफ्नो स्तर अनुसार स्वावलम्बी छन्, त्यसैले मन परेको दल रोज्न स्वतन्त्र छन् । 

तर, गाउँको वास्तविकता भिन्नै छ, जहाँ यथार्थ/मनोवैज्ञानिक, आइपरेका/सम्भावित सबै संकटबाट संरक्षणका निमित्त वा सहजकर्ताको भूमिकामा मानिसलाई दल चाहिन्छ । सरसहयोग, ऐँचोपैँचो, सरकारी कार्यालयमा भनसुनदेखि अन्यान्य व्यवहार सबैका निम्ति दल आवश्यक पर्छ । दलका स्थानीय नेता–कार्यकर्ता नभेटिए स्थानीय ठूलाठालू चाहिन्छ । र, ती ठूलाठालूलाई शक्ति वा प्रतिष्ठाका निम्ति फेरि राजनीतिक दलकै संरक्षण वा आबद्धता चाहिन्छ । त्यस्तो आबद्धता र संरक्षण दिन सक्षम यो देशमा फेरि पनि कांग्रेस, एमाले र माओवादी नै हुन्, जसको देशव्यापी संगठन र सञ्जाल छ । त्यो हैसियतमा नपुगेका हुँदा नै विवेकशील र साझा दलले गाउँको मत पाएनन् । 

सामान्य अवस्थामा ठूला र स्थापित दललाई साना र नयाँ दलले चुनावमा टक्कर दिन त्यसै पनि अत्यन्त गाह्रो हुन्छ । बनिसकेको संगठनको लाभ र सत्तामा गइरहने दललाई सजिलोसँग प्राप्त हुने स्रोत–साधनको लाभ नयाँ दललाई हुँदैन । अनिश्चित भविष्यको भयले अपरिचित र अपरीक्षित दललाई मानिसले हत्पति भोट हाल्दैनन् । धेरै मतदातामा ‘मातृ पार्टी सिन्ड्रोम’को मनोविज्ञान पनि हुन्छ, जुन सितिमिति बदलिँदैन । त्यसबाहेक, राजनीतिको मैदानमा प्रतिस्पर्धी दल नै नभएका वा कम भएका बखत खुलेका दललाई प्राप्त हुने लाभ नयाँलाई प्राप्त हुँदैन ।

कांग्रेस एउटा पनि क्रियाशील दल अस्तित्वमा नभएको बखतमा जन्मेर (प्रजा परिषद्लाई क्रियाशील नमानिएको) र सफल क्रान्ति गरेको सबभन्दा पुरानो दल हो । त्यसैले देशको माटोमा उसको जरा र जग बलियो छ । एमालेचाहिँ दलहरू प्रतिबन्धित रहेका र तिनको संख्या पनि थोरै भएका बखत जनआन्दोलनको गर्भबाट, दलउपरको प्रतिबन्ध फुकुवा हुनासाथै जन्मेको/एकीकृत भएको दल हो । यो दल चुस्त पनि छ । अनि, माओवादी केन्द्र सशस्त्र विद्रोह तथा तेस्रो जनआन्दोलनको गर्भबाट जन्मेको दल हो, जसको राम्रो/नराम्रो आफ्नै इतिहास छ । यो लाभ नयाँ शक्ति, विवेकशील र साझा दललाई प्राप्त हुन सक्दैनथ्यो, भएन । 

पार्टी निर्माण प्रक्रिया बहुधा लामो र जटिल हुन्छ, रातारात हुँदैन । लामो समयदेखि सबै चुनावमा पालैपालो पहिलो र दोस्रो बनेका कांग्रेस र एमाले त्यो प्रक्रिया र परीक्षणबाट खारिएर आएका दल हुन् । चुनाव परिचालन गर्नसक्ने हैसियतका उनीहरूको संगठन संयन्त्र र सामाजिक सञ्जाल देशका कुनाकाप्चासम्मै फैलिएका छन् । उनीहरूका स्थानीय नेतृत्व पनि प्राय: समुदायमा भिजेका वा परिचित मानिसहरू नै छन् । यी सबैमा लामो इतिहास र प्रजातन्त्र वा परिवर्तन ल्याउन उनीहरूले गरेका योगदानजस्ता ‘फ्याक्टर’को सम्मिश्रण हो । त्यसले पहिलेदेखि मत दिई आएका मतदाताको मत उनीहरूलाई नै दिलाउँदो रहेछ, अघिपछि तिनै मतदाताले जतिसुकै गाली गरे पनि । 

हामीकहाँ मुद्दाका आधारमा प्रतिनिधि छान्ने चलायमान मतभन्दा यस्तै अपरिवर्तनशील मत धेरै छ । ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’ वा मतदाता ‘फ्याटिग’का कारण लगातार तीन–चारवटा चुनाव एउटै दलले जितेका स्थानमा भने अर्को दलले पनि जित्ने गरेका छन् । तर, त्यो आलोपालो पनि धेरैजसो कांग्रेस र एमालेकै बीचमा भइरहेको छ । यसो हुँदाहुँदै पनि राजधानीकै एउटा ठूलो तप्का विवेकशील र साझाजस्ता नयाँ दलप्रति आकर्षित हुनु उनीहरूका लागि मात्र होइन, लोकतन्त्रको निमित्त समेत शुभसंकेत हो । ठूला दलहरूलाई राम्रो काम गर्न चेतावनी पनि हो ।

शिक्षित र स्वावलम्बी जनसमुदाय भएका औद्योगिक प्रजातन्त्रहरूसँग तुलना गरेर अथवा हाम्रो सामाजिक–राजनीतिक परिवेश नबुझीकन फ्रान्समा डेढ वर्षअगाडि जन्मेको एउटा नयाँ दलले ठूला र स्थापित शक्तिहरूलाई चुनावमा बढार्‍यो भनेर, त्यसको पुनरावृत्ति यहाँ हुनु जरुरी छैन । हो, मधेस आन्दोलनको गर्भबाट जन्मेका केही दलले हामीकहाँ र अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनको ‘बाइ प्रोडक्ट’का रूपमा जन्मेको आम आदमी पार्टी (आप)ले दिल्लीमा, आन्दोलनलगत्तैको चुनावमा अप्रत्याशित नतिजा ल्याएका थिए । तर, त्यस्तो सधैँ हुँदैन । यसर्थ, विवेकशील र साझा दुवै दलले एउटै चुनाव परिणामबाट हरेस नखाई लागिरहे आफ्नो स्थिति उकास्दै लैजान सक्ने देखिन्छ ।

यहाँसम्म कि भविष्यमा कुनै समय वैकल्पिक शक्ति नै पनि बन्न सक्ने छन् । राजनीतिमा धैर्यको ठूलो खाँचो हुन्छ । कांग्रेसकै उदाहरण लिऊँ न । क्रान्ति गरेर प्रजातन्त्र ल्याएको १० वर्षपछि भएको पहिलो चुनावमा दुईतिहाइ बहुमत पाए पनि डेढ वर्षमै सैन्य ‘कू’द्वारा सत्ताच्यूत भएपछि जेलनेल र निर्वासन झेली झेली ३० वर्षसम्म धैर्य गरेकै कमाइ आज ऊ खाइरहेछ, युगानुकूलको परिवर्तन र जनचाहना अनुसारको काम खासै गर्न नसक्दा पनि । 

प्रकाशित: श्रावण ९, २०७४