आवरण कथा» कोइराला परिवारमा पार्टी पकडको गठजोड

  • नेपाली कांग्रेसलाई कोइराला परिवारको पकडमा ल्याउन शेखर, शशांक र सुजाताको गठबन्धन

- माधव बस्नेत

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाका पुत्र शशांक कोइराला, जो कांग्रेसका महामन्त्री हुन्, को टोखास्थित निवासमा ४ साउनमा एउटा रोचक साइत जुर्‍यो । त्यहाँ शशांकका अतिरिक्त उनका केन्द्रीय सदस्यद्वय दाइ शेखर कोइराला र दिदी सुजाता कोइरालाले पारिवारिक भेटघाट गरे । सँगै खाना खाए, तस्बिर खिचाए । 

राजनीतिमा सक्रिय कोइराला परिवारको दोस्रो पुस्ताले यो भेटघाट त्यस्तो समयमा जुरायो, जतिखेर स्थानीय तहको दुई चरणको निर्वाचनमा लामो विरासत बोकेको कांग्रेस दोस्रो भएर मर्माहत भएको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको झन्डै डेढ महिना बित्दासम्म मन्त्रिपरिषद्समेत विस्तार हुन सकेको छैन । न त पार्टी महाधिवेशन सकिएको डेढ वर्ष हुन लाग्दा केन्द्रीय समितिले नै पूर्णता पाएको छ । केन्द्रीय समितिको बैठकै नभएको पनि लामो समय बितिसकेको छ । 

संयोग यो मात्र होइन, कोइराला परिवारका यी तीन ‘भेट्रान’ आ–आफैँबीच तीव्र प्रतिस्पर्धामा थिए । कोइराला परिवारको विरासत कसले धान्ने ? यसमा उनीहरूबीच अघोषित युद्ध थियो । आपसमा सहकार्य पनि थिएन । “समसामयिक राजनीतिमा छलफल गर्न हामी धेरै दिनपछि जुटेका हौँ,” महामन्त्री शशांक स्वीकार्छन्, “अब हाम्रो (कोइराला परिवारको) भूमिका के भनेर हामीले 

छलफल गर्‍यौँ ।”

लामो राजनीतिक विरासत बोकेको परिवारका सदस्यहरूबीच छलफल नहुनुको परिणाम प्रधानन्यायाधीशमाथिको महाभियोग, प्रहरी महानिरीक्षक र राजदूत नियुक्तिजस्ता विवादास्पद प्रकरण भएको बुझाइ कोइरालात्रयमा थियो । आफूहरू एकजुट हुन नसकेकाले पनि कांग्रेसलाई विवादबाट जोगाउन सकिएन भन्ने लागेर नै भेटघाट गरिएको शशांक बताउँछन् । 

रगतमै राजनीति बग्ने भनिएको कोइराला परिवारबाट कांग्रेसमा चार जना सक्रिय छन् यतिबेला । बीपीका कान्छा छोरा शशांक, बीपीका साइला भाइ केशव–पुत्र शेखर र कान्छा भाइ गिरिजाप्रसाद–पुत्री सुजाता । यसबाहेक शशांकका जेठा दाजु प्रकाशका छोरा सिद्धार्थले पनि कांग्रेस राजनीतिमा आफ्नो ‘स्पेस’ खोजिरहेका छन् । केही समयअघिसम्म उनी तरुण दलको महामन्त्री हुने योजनामा थिए । तर, राजनीतिमा सक्रिय भएको छोटो अवधि मात्र भएकाले उनले त्यो पदमा उम्मेदवारी दिन पाएनन् ।

बीपीका तीन छोरामध्ये शशांक कान्छो हुन् । जेठा प्रकाश र माइला श्रीहर्ष राजनीतिक मैदानमा छैनन् । ६–७ माघ ०५७ मा पोखरामा भएको दसौँ महाधिवेशनबाट शशांकका जेठा दाजु प्रकाश र शेखरकी आमा नोना केन्द्रीय सदस्य बनेका थिए । नोना त त्यसअघि पनि केन्द्रीय समितिमै थिइन् । १९ माघ ०६१ मा राजा ज्ञानेन्द्रले चालेको कदमलाई स्वीकारेर मन्त्रिपरिषद्मा सहभागी भएपछि प्रकाशलाई कांग्रेसले केन्द्रीय समितिबाट हटायो भने नोनाले ११औँ महाधिवेशनमा छोरा शेखरलाई अघि सार्दै आफूूले विश्राम लिइन् । पञ्चायतको कठिन कालखण्डमा शेखरका दाजु निरञ्जन कोइराला राजनीतिमा सक्रिय थिए ।

भारतीय व्यापारिक डालमिया परिवारमा विवाह गरेका उनी नेपाली राजनीतिमा निष्क्रिय भएको धेरै भइसकेको छ । बीपीका अर्का भाइ तारिणीका छोरा ज्योति पनि राजनीतिमा जम्न सकेनन् । पछिल्लो समयमा उनी विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरममा आबद्ध थिए । गच्छदारले पनि अनुशासनको कारबाही गरेर उनलाई निष्कासन गरिसकेका छन् । फेरि कांग्रेसमै आउन चाहिरहेका छन् उनी । तर, अहिलेको यथार्थ के हो भने कोइराला परिवारबाट एक जना मात्रै शीर्ष नेतृत्वका लागि अघि बढ्न सक्छन् । र, त्यो दौडमा छन्, शेखर, शशांक र सुजाता । यीमध्ये कसले मार्ला त बाजी ?

को होला उत्तराधिकारी ?

०६२/०६३ को जनआन्दोलनपछि नै सही, शेखर–शशांकको तुलनामा गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई आफ्नो उत्तराधिकारी बनाउन निकै जोडबल गरेका थिए । जस्तो : शेखर–शशांकलाई पन्छाउँदै उनले सुजातालाई उपप्रधान र परराष्ट्रमन्त्री बनाए । गिरिजाप्रसाद जीवित छँदै सुजातालाई कांग्रेसको अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत बनाइयो । गिरिजाप्रसादलाई भाउजू तथा शेखरकी आमा नोनाले नजिकबाट सहयोग गरेकी थिइन् । जसको एउटा प्रमुख कारण कोइराला परिवारको ‘लिगेसी’का रूपमा आफ्नो छोरा शेखरलाई उनले अघि बढाइदिऊन् भन्ने चाहना थियो । किनभने, ०५१ को मध्यावधि चुनावको मुखबाट शेखर सक्रिय राजनीतिमा हाम फाल्दा शशांक चिकित्सा पेसामै थिए भने सुजाता पनि सक्रिय भइसकेकी थिइनन् । बीपी–पुत्र प्रकाश राजनीतिबाट बिस्तारै ओझेलमा पर्दै थिए । तर, गिरिजाप्रसादले शेखरभन्दा धेरै पछि मात्र सक्रिय राजनीतिमा हाम फालेकी छोरी सुजातालाई यसरी च्यापे कि जिम्मेवारीको ठूलै भारी बोकाइदिए । यसपछि आफूले विश्वास गरेका देवर गिरिजाप्रसादले धोका दिएको निष्कर्षसहित नोना स्तब्ध हुन पुगिन् । त्यही चोट नै उनको मृत्युको कारण बनेको दाबी गर्नेहरूको पनि कमी छैन, कांग्रेसभित्र । 

तर, सुजाताले गिरिजाप्रसादकी छोरी हुनुबाहेक खासै पृथक् पहिचान बनाउन सकिनन् । भाँती नपुर्‍याई प्रस्तुत भइदिने, आफूले बोलेको बाहेक सत्य नदेख्ने, ‘लुज टक’ गर्ने, कार्यकर्ताबीच खासै घुलमिल नहुनेजस्ता समस्या उनमा देखिए । यद्यपि, उनमा सकारात्मक गुण छँदै छैनन् भन्ने होइन । त्यसमा पनि पछिल्लो पटक बिरामी भएपछि उनी पूर्ववत् महत्त्वाकांक्षाबाट पछि हटेजस्तो देखिन्छ । उनी आफैँले पनि निकटस्थहरूसँग कांग्रेसको नेतृत्वमा पुग्न आफू दौडबाट पछि हटिसकेको बताउने गरेकी छन् । उनीसँग नजिकबाट घुलमिल गरेका कांग्रेसका एक नेता भन्छन्, “अब सुजाताले मैदान छाड्नु भयो भन्दा पनि हुन्छ ।” तर, ऐनमौकामा सुजाताले दाजु शेखर वा भाइ शशांकमध्ये कसलाई साथ दिन्छिन्, त्यो भने हेर्न बाँकी छ ।

महामन्त्री शशांकका अनुसार कोइराला परिवारको पछिल्लो भेटघाटमा प्रदेश–२ मा हुन लागेको स्थानीय तह निर्वाचनमा तीनै जना खटेर कांग्रेसलाई पहिलो पार्टी बनाउने छलफल भएको थियो । महामन्त्रीका नाताले शशांक तराईका सबै जिल्लामा पुग्ने, तराई–मधेसमा बलियो प्रभाव बोकेको पर्सा जिल्लामा शेखर खट्ने र अर्को जिल्ला सिरहामा सुजातालाई जान प्रस्ताव गरिएको थियो । तर, सुजाताले स्वास्थ्य प्रतिकूल रहेकाले जान नसक्ने बताइन् । यो घटनाबाट पनि के अन्दाज गर्न सकिन्छ भने सुजाता बिस्तारै मैदानबाट बाहिरिँदै छिन् । त्यसो त ०६४ को संविधानसभामा प्रत्यक्षमा पराजित भएपछि ०७० को निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने आँट नगरी समानुपातिक कोटाको चाहना राख्नुले पनि उनी राजनीतिबाट पछि हट्दैछिन् भन्ने बुझ्न सकिन्थ्यो । 

अब पालो रह्यो, शेखर र शशांकको । नागरिकता अनुसार ९ भदौ ००७ सालमा जन्मिएका हुन्, शेखर । अर्थात्, दाजु–भाइ–बहिनीमध्ये शेखर जेठा हुन् । ९ असोज ०११ सुजाता र ८ कात्तिक ०१५ का हुन् शशांक । संयोग शशांक हुर्कंदै गर्दा कांग्रेस ०१५ को आमनिर्वाचनको मैदानमा थियो । ०४६ को आन्दोलनमा चिकित्सकका तर्फबाट शशांकले सक्रिय सहभागिता जनाएका थिए । यता शेखरचाहिँ विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दैदेखि विद्यार्थी राजनीतिमा आबद्ध थिए । चिकित्सा विज्ञान पढेपछि उनी सक्रिय राजनीतिबाट अलग्गिए । भलै, पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा उनको कुनै न कुनै प्रकारको संलग्नता हुने गथ्र्यो । कोसी अञ्चल अस्पताल, वीर अस्पतालको चिकित्सक हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिसम्म भए शेखर । 

१६ पुस ०३३ मा बीपी र गणेशमान राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट फर्कंदै गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न जाने क्रममा ठूलै धरपकड भयो । त्यसबेला वीर अस्पतालमा कार्यरत शेखरलाई पनि पक्राउ गरी तीन महिना जेल हालियो । 

पेन्सन प्राप्त गर्न एक वर्ष मात्र बाँकी रहँदा ०५१ बाट शेखर पूर्णकालीन राजनीतिमा होमिए । काका गिरिजाप्रसादको सानिध्यमा रहेर ०६२ मा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन शेखरले ठूलै भूमिका निर्वाह गरेका त छन् नै, काकाको संगतले राजनीतिक दाउपेच पनि रामै्र गरी बुझेका छन् । ०३३ यताका सबैजसो आन्दोलनमा सहभागी हुनु, ०४८ देखिका सबै निर्वाचनमा पार्टीको चुनावी मोर्चामा खट्नु, पार्टीको मूलधारमै बसेर काम गर्नु, देश दौडाहामा रम्नु, कार्यकर्तासँग प्रत्यक्ष सम्बन्ध राख्नु उनको सबल पक्ष हो । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिसँग जानकार भइरहनु र त्यही अनुसार छलफल, भेटघाटमा प्रस्तुत हुनुलाई पनि उनको असल पक्षका रूपमा लिन सकिन्छ । कांग्रेस वृत्तले धेरथोर प्रश्न पनि गर्छन् यिनलाई । खास गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर र उपकुलपति भएको समयलाई लिएर । 

बीपीको छोरो भएर जन्मिएकाले पिताका गतिविधि सानैदेखि देख्नुलाई नै सहभागिता मान्नु एउटा कुरा, नत्र कांग्रेसको सक्रिय राजनीतिमा शशांक सबैभन्दा पछि उदाएका हुन् । १–४ भदौ ०६२ को ११औँ महाधिवेशनअघि चिकित्सा पेसाबाट राजीनामा दिएर उनी केन्द्रीय सदस्यको उम्मेदवार भए र जिते पनि । त्यसो त शशांकले काका गिरिजाप्रसादलाई महाराजगन्जस्थित घरमा लामो समय आवासको व्यवस्था मिलाए । सबैका कुरा सुन्ने, कसैका कुरा अप्रिय लागे पनि प्रतिक्रिया नदिने, कसैसँग तीतो नबोल्ने, आफूलाई लागेका कुरामा खासै अडान नराख्ने स्वभाव छ यिनको । त्यसैले कांग्रेसका सबैजसो नेता–कार्यकर्ताको नजरमा उनी प्रिय छन् । 

शशांकले जुनसुकै नेता–कार्यकर्तासमक्ष एउटै चिन्ता तथा नारा प्रस्तुत गर्छन्, त्यो हो, ‘बीपीसँग सपना थियो, समय थिएन । हामीसँग समय छ । सपना छैन ।’ शशांकको कमजोरी जिल्ला–जिल्लामा खट्न नसक्नु, जहाँ पायो त्यही ‘एडजस्ट’ हुन नसक्नु, अध्ययनशील नहुनु आदि हुन् । कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, “बीपी–पुत्र हुनु नै काफी भयो । अरू उल्लेखनीय पक्ष केही छैन ।”

विराटनगरको विरासत

विराटनगरलाई कांग्रेसको पुख्र्यौली गढ र बीउ मानिन्छ । शेखरका लागि सम्भावना के भने विराटनगरमा शशांक र सुजाताको तुलनामा उनको सक्रियता निकै देखिन थालेको छ पछिल्ला दिनमा । ०६४ देखि ०७० को निर्वाचन आसपाससम्म आइपुग्दा विराटनगरमा शेखर र सुजाताको चर्को प्रतिस्पर्धा थियो । ०७० को निर्वाचनमा सुनसरीको क्षेत्र त्याग्दै सुजाताले मोरङ–१ मा दाबी गरेकी थिइन्, जहाँ आमोद उपाध्यायलाई टिकट दिइयो । त्यहाँ सुजाता आमोदलाई हराउन खुलेआम लागेको उजुरीपछि पार्टी केन्द्रले उनीसँग स्पष्टीकरण नै सोध्यो । यसपछि उनी मोरङ अर्थात् विराटनगरबाट ‘ब्याक’ भइसकेकी छन् । 

कोइराला परिवारमा विराटनगरले जसलाई अनुमोदन गर्‍यो, उही स्थापित भएको इतिहास छ । यो कोणबाट हेर्ने हो भने शेखर अघि देखिन्छन् । १४ असारमा भएको निर्वाचनमा पनि विराटनगरमा भीम पराजुलीलाई टिकट दिलाउनेदेखि विजय गराउनसम्म उनको भूमिका महत्त्वपूर्ण रह्यो । किनभने, उपेन्द्र यादवसँग एकता गरेर लडेपछि विराटनगरमा करिब १ हजार ५ सय मतान्तरले एमालेका विनोद ढकालले जित्ने आकलन गरिएको थियो । त्यहाँ कांग्रेसलाई जिताउन पराजुलीले टिकट पाएकै दिनदेखि शेखरले मुकाम मात्र जमाएनन्, विजयी मेयरले शपथ लिएपछि मात्र काठमाडौँ फर्किए । जबकि, शशांक र सुजाता निर्वाचनअघि एक दिन पनि विराटनगर पुगेनन् । विजयी र्‍यालीमा सहभागी हुन काठमाडौँबाट एउटै जहाजमा गएका शशांक पराजुलीको घरमा देखा मात्र परेर औपचारिकता पूरा गरे । र्‍यालीमा सहभागी हुनुको साटो उनी सुनसरी लागे र साँझ मात्र विराटनगर फर्किए ।

तीव्र प्रतिस्पर्धा

शशांकका अघि शेखरलाई स्थापित हुन सजिलो छैन । जसका लागि एउटा उदाहरण काफी हुन्छ । उदाहरणले भन्छ, बीपी ‘ लिगेसी’ वा उनीप्रतिको श्रद्धाका कारण उनकै पुत्र भएका कारण शशांकलाई जसरी लिइन्छ, शेखरलाई त्यसरी लिइन्न । त्यो कसरी भने पार्टीको १३औँ महाधिवेशनमा रामचन्द्र पौडेलले आफ्नो समूहबाट शेखरलाई महामन्त्री उठाउने पक्कापक्कीजस्तै गरेका थिए । शेखर पनि आकांक्षी थिए । तर, देउवाले पौडेल समूहमै रहेका अर्जुननरसिंह केसीलाई महामन्त्रीमा उठाएपछि शशांकलाई उम्मेदवार नबनाए हार्न सकिने आकलनमा रातारात योजना परिवर्तन गरियो । परिणाम, शशांक महामन्त्रीका उम्मेदवार बनाइए । शेखरलाई पछि हटाइयो ।

कांग्रेसको २९ जनाको कार्यसम्पादन समितिभित्र पनि छैनन्, शेखर । कांग्रेसको यो समिति यस्तो हो, जसले निर्वाचनमा टिकट दिने व्यक्तिको चयनलगायतका महत्त्वपूर्ण निर्णय गर्छ । बीपीको लिगेसीकै कारण शेखरभन्दा झन्डै ११ वर्षपछि कांग्रेस मैदानमा आएका शशांक महामन्त्री भइसकेका छन् । शेखरले निकटस्थहरूसँग आफू ‘सी ग्रेड’को कोइरालामा परेको बताउने गरेका छन् । नेपालसँगको कुराकानीमा पनि उनले यो कुरा स्वीकारेका छन् । भन्छन्, “बीपी–गिरिजाप्रसादको सन्तान नभई केशव–नोनाको छोरो हुनुले मैले बढी मिहिनेत गर्नुपर्छ ।” 

कोइराला परिवारसँग लामो समयदेखि उठबस गरेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा सांसद पुरुषोत्तम बस्नेत परिवारभित्रका कसले बाजी मार्छन् भन्ने अहिल्यै भन्न सक्ने अवस्थामा छैनन् । भन्छन्, “शेखर वा शशांक दुवैसँग कोइराला परिवारको विरासत छ । उनीहरू मिलेर जानुको विकल्प छैन । त्यसैले अहिले यसैले बाजी मार्छ भन्नु चाँडो हुन्छ ।”

जानकारहरूका अनुसार देउवाबाट कांग्रेस अघि बढ्दैन भन्ने टुंगोमा शेखर, शशांक, सुजाता तीनै जना पुगेका छन् । “अबको महाधिवेशनमा शेखर वा शशांकमध्ये एक जना सभापतिमा उठ्छन्,” कोइराला परिवारको सम्बन्धबारे जानकार कांग्रेसका एक नेता भन्छन्, “शेखर सभापतिमा उठे, शशांक उठ्दैनन् । शशांक उठे, शेखर उठ्दैनन् । उनीहरू दुईमध्ये एक नै कांग्रेसको अबको सभापति पदका प्रत्यासी हुन्छन् ।” कतिसम्म भने कोइराला परिवारका यी त्रिमूर्तिबीच शशांक सभापति निर्वाचित हुन सके र राजनीतिक परिस्थिति आफू अनुकूल रहे शेखरलाई प्रधानमन्त्री बनाउने तहसम्मको योजना बनेको स्रोतको दाबी छ । भलै, तत्कालका लागि यस्तो योजना ‘मनको लड्डु घिउसँग खाने’ जस्तो किन नहोस् । 

तर, एउटा कुराचाहिँ के पक्का हो भने जुनसुकै महागुट, गुट र उपगुटमा रहे पनि पार्टीलाई परिवारको हातमा पुर्‍याउन दोस्रो पुस्ताका यी तीनै कोइराला एकजुट हुनेछन् । त्यसैले तीनतिर फर्किएका कोइराला परिवारको दोस्रो पुस्ताका यी तीनै सदस्यले ‘ हामी एक हौँ’को शैलीमा खिचाएको तस्बिर सार्वजनिक गर्नुले पार्टी लगाम फेरि एकपटक पारिवारिक वृत्तभित्रै राख्ने कसरतको प्रारम्भ हो भन्ने बुझ्न गाह्रो पर्दैन । 

देउवा दाउ 

नेपाली कांग्रेसको १३औँ महाधिवेशन भएको डेढ वर्ष मात्र हुँदै गरेकाले १४औँ महाधिवेशनको प्रतिस्पर्धा कस्तो होला ? अहिले नै आकलन गर्न हतारो हुनेछ । तर पनि, पृष्ठभूमिमा चालिँदै गरेका केही संकेत, अभिव्यक्तिले तीन वर्षपछि हुने महाधिवेशनमा कसैले चासो नै दिइरहेका छैनन् भनेर बुझ्नु पनि अन्यथा हुनेछ । शेरबहादुर देउवा निकट एक प्रभावशाली केन्द्रीय सदस्यका अनुसार आगामी महाधिवेशनको ‘रिहर्सल’मा सभापति देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल हुँदै वरिष्ठ सदस्यहरूसमेत सलबलाउन थालेका छन् । 

देउवाले एकपटक फेरि कांग्रेसको सभापति हुने लालसा राख्न सक्छन् । उनले आफू निकटहरूसँग त्यो मनसाय व्यक्त गरेका पनि छन् । तर, परिस्थिति सधैँ आफ्नो काबुमा नरहन सक्छ भन्नेमा समेत उनी उत्तिकै सजग छन् । त्यसैले उनी आफ्नाबारे जति चिन्तित छन्, श्रीमती आरजुका लागि ‘स्पेस’ तयार गर्न पनि उत्तिकै विचलित छन् । त्यसैले १४औँ महाधिवेशनमा आफूले जित्ने पक्कापक्की भए मात्र देउवा उम्मेदवार बन्नेछन् । 

जित्नका लागि कोइराला परिवारदेखि पुराना नेताहरूको लिगेसी आफूसँग छ भन्ने देखाउनुपर्ने बाध्यता छ देउवालाई । यसमा उनलाई महेन्द्रनारायण निधि–पुत्र विमलेन्द्रले त साथ दिइरहेका छन् नै । तर, कोइराला खानदान र दिवंगत सर्वोच्च नेता गणेशमान सिंह–पुत्रले साथ दिएका छैनन् । त्यसैले अहिलेदेखि नै देउवा बीपी–पुत्र शशांक र गणेशमान–पुत्र प्रकाशमान सिंहलाई आफ्नो पक्षमा तान्न इच्छुक छन् । “शशांकलाई आफ्नो पक्षमा तान्न सके कदाचित आफू उम्मेदवार नभए सभापतिमा उनलाई उठाउने र त्यो टिमबाट श्रीमती आरजुलाई महामन्त्री बनाउने ताकमा छन् देउवा,” सभापति एवं प्रधानमन्त्री देउवाका कदमबारे जानकार नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, “त्यसो भए कोइराला परिवारबाट पनि सभापति बन्ने, आफ्नो उत्तराधिकारी पनि पैदा हुने देउवाको ठम्याइ छ ।

देउवा शेखरलाई मनैदेखि रुचाउँदैनन् । प्रचण्ड सरकारमा शेखरलाई परराष्ट्रमन्त्री सिफारिस नगर्नु त्यही कारण हो । सुजाताले चाहिँ आफूलाई सहयोग गर्ने उनको विश्वास छ । शेखर आफ्नो कित्तामा नआए पनि, सहयोग नगरे पनि बीपी–पुत्र शशांक, गिरिजाप्रसाद–पुत्री सुजाता र गणेशमान–पुत्र प्रकाशमानलाई निकट बनाउन सके लिगेसी पनि जोडिने, पार्टीभित्र आफ्नो पल्ला भारी पनि हुने निचोडमा छन्, देउवा । तर, महामन्त्री शशांक कसैले चाहना गर्दैमा आफू कसैको पछि लाग्न नसक्ने बताउँछन् । “महाधिवेशन आउन अझै धेरै बाँकी छ । अहिले नै कता गएर सभापति 

उठ्ने वा नउठ्ने भन्नु हतारो हुनेछ,” उनी भन्छन्, “म सिद्धान्त रक्षा र पार्टी हितका लागि कांग्रेस भएको हुँ ।”

 

Follow Madhab Basnet on Twitter: @MadhabBasnet1

प्रकाशित: श्रावण ९, २०७४