देउवासामु ‘स्थायी’ चुनौती

- नेपाल संवाददाता

नेपालमा प्रधानमन्त्रीमा निर्वाचित हुन जति असहज छ, उत्तिकै असहज पदमा रहिरहन पनि छ । पछिल्ला ११ वर्षमा १०औँ प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा पदमा पुग्दा देशलाई अस्थिरता र संक्रमणबाट बाहिर निकाल्नु नै मुख्य चुनौती छन् । 

अहिलेको उनको प्रधान चुनौती मधेसको राजनीतिक अस्थिरतालाई साम्य पार्नु हो । देशले ऐतिहासिक रुपमा दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनको बाँकी तेस्रो चरण मधेसी बाहुल्यको प्रदेश–२ मा गर्नुछ ।

देउवाको खास परीक्षा त्यससँगै हुनेछ । मधेसका माग संविधान संशोधनबाट सुल्झाउन दुईतिहाइ मत चाहिन्छ, जसमा हालको प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहयोग अपरिहार्य छ । मधेसीहरु आफ्नो माग पूरा नभएसम्म चुनाव हुन नदिने मुडमा छन् । एमाले भने संशोधनको विपक्षमा छ, जुन मुद्दाकै आडमा उसले स्थानीय निर्वाचनमा राम्रो अग्रता लिन सफल भयो । उता दुवै छिमेकी आ–आफ्नै स्वार्थलाई काठमाडौँले सुनिदियोस् भन्ने चाहन्छन् । भारत, नेपालसँगको खुला सिमाना र रणनीतिक साझेदारका रुपमा आफ्नो सुरक्षा संवेदनशीलताप्रति बढी सरोकार राख्छ । तर, त्यसै बेला उसले गरेको नाकाबन्दीका कारण देउवाले चीनसँगको सहकार्यको औचित्य देखिरहेका छन् ।   

नेपालमा प्रजातान्त्रिक रुपमा सरकार गठन हुन थालेपछि राज्यले आफ्ना पार्टीका कार्यकर्ता, आफन्त र कर्मचारीलाई पोस्ने परिपाटीकै रुपमा विकास भयो । ‘देउवा यसमा अछूतो रहलान् भन्ने अपेक्षा कमै छ,’ वल्र्ड पोलिटिकल रिभ्युका लागि दीपक अधिकारीले लेखेका छन्, ‘तैपनि, उनले प्रदेश–२ मा चुनाव गराए भने त्यसलाई मुख्य उपलब्धि नै मान्नुपर्छ ।’ 

प्रकाशित: श्रावण ९, २०७४