नोटबुक

- बाबुराम विश्वकर्मा

उही भाते गोष्ठी

असार मसान्तमा बजेट सक्न काम न काजका गोष्ठी आयोजना गर्नु एक प्रकारको फेसन नै हो । हालै राष्ट्रिय दलित आयोगका सदस्य मन्जित ताम्राकारले करै गरेपछि गोष्ठीमा सहभागी हुने निधो भयो । गोष्ठीमा सहभागी हुन आइतबारको सम्पादकीय बैठक सकेर थापाथलीबाट जब दलित आयोगको गाडीमा बसियो, तब सुरु भयो रमिता । गोष्ठी अपराह्न १ बजे सुरु हुने भनिएको थियो तर आयोजकले थापाथलीमै १ बजाइसकेका थिए ।

जबकि, प्रमुख अतिथि एमाले उपाध्यक्ष वामदेव गौतम पौने १ बजे कार्यक्रमस्थल पुगिसकेका थिए । आयोजकभन्दा अघि नै गौतम पार्क भिलेज पुगेको थाहा पाएपछि गाडीको पछिल्लो सिटमा बसेका आयोगका सदस्य गोविन्द सुनार आकाशै खसेजसरी भन्न थाले, “लौ बर्बाद भयो । ढिलो भयो, वामदेवले गाली गर्नुहुन्छ ।” त्यसपछि बीचको सिटमा बसेका गोविन्द गाडीभित्रैबाट हत्त न पत्त चालक सिटमा बसे अनि आफैँ चलाउन थाले । यो दृश्यले मेरो मुटुको धड्कन बढिसकेको थियो । किनभने, गोविन्दको पाराले पार्क भिलेज पुग्ने हो या अस्पताल भन्ने टुंगो थिएन । त्यसमाथि उनी मोबाइलमा भन्दै थिए, ‘‘अब १० मिनेटमा आइपुग्छौँ, वामदेव कमरेडलाई कफी ख्वाएर राख्नुहोला ।”

यो सबै ताण्डव देखेपछि ‘गाडी रोक्नूस्, म ओर्लिन्छु जान्नँ’ भनौँ कि भइसकेको थियो । तर, त्यसो भनिहाल्नचाहिँ सकिनँ । तर, म र मन्जित दुवैले भनेपछि गोविन्दले गाडीको गति कम गरे । बल्लबल्ल पार्क भिलेज पुगियो । कार्यक्रम एक घन्टा ढिलो सुरु भयो । तैपनि, प्रमुख अतिथि र अतिथिहरुको कुनै गुनासो रहेन । बरु, प्रमुख अतिथि गौतम सबैभन्दा पहिला बोलेर हिँडे अनि अतिथिहरु पालैपालो बौल्दै निस्किँदै गरे । 

त्यसपछि लाग्यो, कार्यक्रमको नाम जे दिए पनि यो उही पुरानै भाते गोष्ठीबाहेक केही रहेनछ । दलित आयोगको विधेयक कस्तो हुने भन्ने छलफल गर्न यूएनडीपीले पैसा दिएको रहेछ । बेलुका ७ बजेसम्ममा गोष्ठी सक्ने, ८ बजे कक्टेल डिनर गर्ने अनि सहभागीलाई यातायात खर्च दिएर घरघर गाडीमा पुर्‍याउने बन्दोबस्त रहेछ । म पनि के कम ! कार्यक्रमको बीचैमा जुरुक्क उठेर माइक्रोबस चढेर घरतिर लागेँ । फर्किंदै गर्दा भाते गाष्ठीमा गएर समय र स्वास्थ्य बर्बाद नगर्ने पुरानो अडानको फेरि एकपटक याद आयो ।

आँखा तर्ने बानी

सार्वजनिक यातायातमा यात्रा गर्दा जतिसुकै कष्ट भए पनि अनेक कुरा देख्न पाइन्छ । २ साउनमा कार्यालय आउँदा थोत्रो बस खचाखच थियो । एक जना पुरुषले बसमा बसेकी एउटी महिलाको झुक्किएर खुट्टा कुल्चिए, पछि उनले ‘सरी’ भने । ती महिला केही बोलिनन् । झन्डै ३० सेकेन्डपछि ती महिलाले आँखा तरेर, घुरेर खुट्टा कुल्चिने पुरुषलाई हेरिन् । तर, त्यो दृश्य ती पुरुषले देखेनन् । 

यस्तो दृश्य महिलाहरुको प्रतिक्रियास्वरुप प्राय: देखिने गर्छ । आफूविरुद्ध भएको अन्यायको खुलेर विरोध गर्न नसक्दा आँखा तरेर असन्तुष्टि पोख्ने तरिका हो, यो । कसैको काम वा कुरा चित्त नबुझे आँखा तरेर वा अनुहार बिगारेर प्रतिक्रिया दिँदा आफूभित्रको आक्रोश कम होला । तर, यो तरिका शोभनीयचाहिँ होइन । कसैले अन्याय गरेमा खुलेर विरोध गर्ने र प्रस्ट रुपमा भन्ने नै उपयुक्त विधि हो । महिलाले आँखा तर्नु अनि पुरुषले कुनै कुरा चित्त नबुझेमा सम्बन्धित पक्षले नसुन्ने गरी गाली गर्नु वा सराप्नु अनौठा स्वभाव हुन् । यसको साटो खुलेर भन्ने, संवादबाट विवाद हल गर्ने तरिका सही हो 

। क्षमा माग्दा क्षमा दिनुको साटो आँखा तर्नु वा नसुन्ने गरी सराप्नु राम्रो होइन । 

महाभियोगले माइलेज

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । उनीसँग लामो समयपछि त्यही भाते गोष्ठीकै क्रममा पार्क भिलेजमा भेट भयो । हामी गफिँदै थियौँ । यत्तिकैमा सामाजिक क्षेत्रमा क्रियाशील हीरा विश्वकर्मा हाम्रो चिया गफमा मिसिए र मीनलाई भने, “तपाईंले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको प्रस्ताव दर्ता गरेर विश्वकर्मा जातिकै अपमान गर्नुभयो, तपाईंको साटो अरु कसैले त्यो काम गरेको भए हुन्थ्यो ।” हीराको कुराले मीनलाई खासै छोएन । किनभने, शेरबहादुर देउवाको निर्देशनमा उनले तत्कालीन प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गरेका थिए । र, त्यही कारण राष्ट्रिय सञ्चारमाध्यममा उनले अहिलेजति स्थान कहिल्यै पाएका थिएनन् । उनी त्यसैमा मक्ख थिए । महाभियोग प्रस्ताव किन ल्याइयो र किन फिर्ता लिइयो भन्ने कुरासँग उनलाई सरोकार थिएन । आखिर चर्चाको कुरो जो पर्‍यो । जे छ, चर्चामै छ ! 

 

प्रकाशित: श्रावण ९, २०७४