[झटारो] हाम्रा मनका खाल्डाखुल्डी

- लक्ष्मण गाम्नागे

यसपालिको वर्षात्मा काठमाडौँ उपत्यकामा ठूलो पानी परेन । ठूलो पानी नपर्दैमा के भो र ­! अलिअलि झरी परे पनि संघीय नेपालको केन्द्रीय राजधानी महानगर काठमाडौँका विभिन्न ठाउँ आफ्नो पुरानै स्वभाव अनुसार जलमग्न भइहाले, सडकमा भेलबाढी गइहाले । भुक्तभोगीहरूका भनाइमा यी ठाउँहरू उहिले वीरेन्द्र राजाका पालामा पनि डुब्थे, सूर्यबहादुर प्रधानमन्त्री हुँदा पनि डुबेकै हुन्, गिरिजाप्रसादका पालामा पनि यस्तै थियो, ओली प्रधानमन्त्री हुँदा पनि त्यस्तै थियो । शेरबहादुर देउवा चारपटक प्रधानमन्त्री हुँदा पनि हरेकपटक सडकहरू नालामा र नालाहरू खोला र बाढीमा परिणत भएकै छन् । जति पुरे पनि तिनको मति कहिल्यै सुध्रिएन । दर्जनौँ सरकारलाई दशकौँसम्म पनि टेरेनन्, यी अटेरी खाल्डाखुल्डी र फुटेका ढलले । 

यसपालि त झन् बीच सहरको पिच सडकमा आएको भेलबाढीले एउटी बालिकालाई बगाएर ज्यानै लियो, अर्की एउटी नानी सडकमा हिँड्दाहिँड्दै डुबेको भिडिओ देख्दा हाम्रो हृदय नै हल्लियो । ती बालिकाहरूको बलिदानले यसपालि अलि बेग्लै अचम्म भयो । आँगनमा बम पड्किँदा पनि निद्रा नखुल्ने बात लागेका प्रधानमन्त्री देउवाले समेत ठाडा कान लगाए ।  

घटना भएको केही दिनमै प्रधानमन्त्रीले मुख्यसचिवलाई बोलाएर अल्टिमेटमसहितको कडा निर्देशन जारी गर्दै भने, ‘यो काठमाडौँ महानगर हो कि महानरक हो ? उपत्यका हो कि खाडल हो ? तपाईंहरू के हेरेर बस्नुभएको छ ? तुरुन्त जानूस् । १५ दिनभित्र खाडल पुर्नूस्, ढल टाल्नूस्, पोल उठाउनूस्, हिलो हटाउनूस् र मलाई जानकारी गराउनूस्, गइहाल्नूस् ।’ 

प्रधानमन्त्रीको आदेश भुइँमा खस्न नपाउँदै मुख्यसचिव जागरुक भएर भोलिपल्टै स्थानीय विकास, भौतिक योजना तथा यातायात र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवहरूलाई डाकेर खरो रूपमा प्रस्तुत हुँदै भने, ‘तपाईंहरू के हेरेर बसिराख्नुभएको छ ? १५ दिनभित्र सडकका खाडल पुर्नूस्, ढल टाल्नूस्, पोल उठाउनूस्, हिलो हटाउनूस् अनि मलाई रिपोर्ट गर्नूस् । गइहाल्नूस् ।’ 

मुख्यसचिवज्यूको निर्देशन भुइँमा खस्न नपाउँदै सचिवज्यूहरू पनि आफ्नो कर्तव्य पूरा गर्न खटिइहाले । उनीहरूले पनि आफू अन्तर्गतका सम्बन्धित निकाय हेर्ने सहसचिवहरूलाई ‘के हेरेर बसिराख्नुभा छ’ भनेर सोध्दै निर्देशन हस्तान्तरण गरे । 

सचिवज्यूहरूको निर्देशन भुइँमा खस्न नपाउँदै सहसचिवज्यूहरू पनि काममा खटिए । उनीहरूले सडक विभाग, विद्युत्, खानेपानी, टेलिकमलगायतका सडक खनुवा अड्डाका हाकिमहरूलाई मन्त्रालयमै बोलाएर सातो उडाएपछि तिनले पनि आफू मातहतका शाखा प्रमुखहरूलाई तात्तातै निर्देशन दिए । शाखा प्रमुखहरूले फिल्ड इन्चार्जलाई लखेटे । फिल्ड इन्चार्जहरू भने कसैलाई निर्देशन नगरी फिल्डमै पुगे । 

खाल्डा पुर्न फिल्डमा उत्रिएका कर्मचारीलाई भने एउटा आपत् आइलाग्यो । उनीहरू फिल्डमा पुग्दा पानी पर्न छाडिसकेको थियो । ज्यानमारा खाल्डाहरू हिलो, माटो र बालुवाले पुरिइसकेका थिए ।

सडकमा धूलो उड्न थालेको थियो । सबै ठीकठाक भइसकेको थियो । अब के पुर्ने ? प्रधानमन्त्री स्वयंबाट आएको निर्देशन, काम त जसरी पनि फत्ते गर्नैपर्‍यो । अनि, उनीहरूले विगतमा जस्तै यसपालि पनि कागजपत्र, बिल, भर्पाइहरूमा खाल्डाखुल्डी पुरे र रिपोर्ट पेस गरे । रिपोर्ट मुख्यसचिव हुँदै प्रधानमन्त्रीकहाँ पुग्यो । प्रधानमन्त्रीको निजी सचिवालयले यस रिपोर्टलाई आगामी निर्वाचनमा पार्टीको भोट बढाउने अपेक्षासहित प्रधानमन्त्रीको चालू कार्यकालमा भएका महत्त्वपूर्ण कामको सूचीमा समावेश गर्‍यो । अब अर्को कुनै बच्चा सडकका खाडलमा नडुबुन्जेल हामी सबैलाई पनि ढुक्क भयो । 

प्रकाशित: श्रावण ९, २०७४