मुन्ना माइकल: आवरण मात्रै झकिझकाउ

  • डान्सप्रेमी तीन पात्रको चाखलाग्दो समीकरण सिर्जना गर्न नसक्दा यो फिल्म अब्बल हुने अवसरबाट चुकेको छ ।

- गोकर्ण गौतम

मूलधारका हिन्दी फिल्मका लागि गीत र डान्स अपरिहार्य हुन् । तर कथालाई प्रभावकारी बनाउने होइन, दर्शकलाई तान्ने मसलेदार अस्त्रका रुपमा प्रयोग गरिन्छ । बलिउडमा डान्सको क्रेज कति बढिरहेको छ भने डान्सकै कथामा फिल्म बन्न थालेका छन् । सब्बिर खानको नयाँ फिल्म मुन्ना माइकल त्यही लहरको पछिल्लो उदाहरण हो । जसको नामै माइकल अर्थात् माइकल ज्याक्सनबाट लिइएको छ । धमाकेदार डान्सरको छवि बनाएका टाइगर श्राप शीर्ष भूमिकामा छन् तर टाइगर फ्यान हुनुको अलावा माइकल ज्याक्सनसँग यस फिल्मले कुनै सरोकार राख्दैन । माइकल ज्याक्सनजस्तै मुन्ना माइकल स्टाइलिस छ, तर गुदीमा निकै कमजोर । डान्सप्रेमी तीन पात्रको चाखलाग्दो समीकरण सिर्जना गर्न नसक्दा यो फिल्म अब्बल हुने अवसरबाट चुकेको छ ।

मुम्बईमा माहोल नमिलेपछि प्रतिभावान् डान्सर मुन्ना (टाइगर) नयाँ दिल्लीमा संघर्ष गर्न थाल्छ । अरुलाई नहेप्ने र आफूलाई हेप्नेलाई रामधुलाई गर्ने स्वभाव छ, मुन्नाको । संयोगले उसको भेट ग्याङस्टार महिन्दर (नवाजद्दिन सिद्धिकी)सँग हुन्छ । महिन्दरलाई जसरी पनि डान्स सिक्नु छ । र, त्यसको कारण हुन्, दीपिका उर्फ डोली (निधी अग्रवाल), जो क्लबमा डान्स गर्छिन् । डान्स गरेरै आफूभन्दा आधा उमेरकी डोलीको मन जित्ने अड्डी कस्छ, विवाहित महिन्दर । सोही कारण मुन्नालाई डान्स गुरु राख्छ । मुन्ना डान्स सिकाउन मात्र होइन, डोलीलाई पट्याउन पनि सहयोग गर्छ तर कस्तो आपत् आइलाग्छ भने डोली चाहिँ मुन्नालाई मन पराउँछे । जबकि महिन्दरलाई जुनसुकै हालतमा डोलीलाई दुलही बनाउनु छ । यी तीनको सम्बन्धमा आउने उकाली–ओरालीसँगै फिल्म अगाडि बढ्छ । क्लाइमेक्स अति सामान्य छ । 

डान्समा अब्बल भए पनि उमेरकै कारण पाखा लाग्नुपरेको तीतो तर यथार्थपरक प्रसंगसँगै फिल्म सुरु हुन्छ । तर जब मुन्ना ठूलो हुन्छ, डान्सलाई त्यति नै गहन शैलीमा पस्कनबाट निर्देशक पछाडि हटेका छन् । डान्सर बन्दा परिवार र समाज बाधक बनेको त पीडा पोखिन्छ तर दृश्यबाट होइन, पात्रका संवादबाट । सोही कारण कथाप्रतिको दर्शकको संवेदना ह्रास आउँदै जान्छ । महिन्दरको आगमनसँगै फिल्मले गति त लिन्छ, तर त्यसलाई कायम राख्न नयाँ घटना सिर्जिएको छैन । अर्थात् तीव्र गतिमा डान्स गर्ने पात्रको कथा निकै सुस्त गतिमा भनिएको छ । मध्यान्तर अघिसम्म कहिले कथा अगाडि बढ्ला भनेर कुर्नुपर्छ भने मध्यान्तरपछि यति सतही रुपमा देखाइएको छ कि कथा अगाडि बढेको पत्तै पाइन्न । ‘ट्वीस्ट’ त छँदै छैन । सम्पादनमा कन्जुस्याइँ गरिएको छ ।

डान्स रियालिटी सोको फाइनलमा अप्रतियोगी मुन्नाको आगमन निकै अस्वाभाविक लाग्छ भने मुख्य पात्र डोलीको पृष्ठभूमिलाई पूरै नजरअन्दाज गरिएको छ । उनमा सिर्फ डान्सबाट नाम र दाम कमाउने लालसा मात्र छ । मुन्नालाई आदर्श पात्रका रुपमा प्रस्तुत गरिएको छ । आजको जमानामा केटीको मन जित्न महिन्दरले गर्ने अनेकन् हत्कन्डा पत्यार लाग्दैन तर तीन भिन्न चरित्रका डान्सरको चरित्रीकरण रोचक छ । त्यसमा पनि कास्टिङ अझ अब्बल । हास्यशैलीको ग्याङस्टारको भूमिकामा नवाजले सम्झनालायक काम गरेका छन् । उनको जबर्जस्त अभिनय त देखिएकै हो, यसपटक डान्स पनि देख्न पाइन्छ । अनि डान्स र फाइटमा आफूलाई दक्ष प्रमाणित गरिसकेका टाइगरको अभिनय यसपटक निकै माझिएको छ । उनलाई सुहाउँदो चरित्र हो, यो । डेब्यु फिल्ममै निधिले लोभलाग्दो काम गरेकी छन् । ‘डिङ डङ...’, ‘स्वाग...’ लगायतका गीत र तीनको कोरियोग्राफी सानदार छ । 

नवाज र टाइगरका जबर्जस्त फ्यानका लागि मात्र हो, मुन्ना माइकल । नत्र हेर्नुपर्ने खास कारण छैन किनभने फिल्म पुरानै घिसीपिटी संरचनाभन्दा माथि उठ्न सकेको छैन ।

 

प्रकाशित: श्रावण ६, २०७४