खुल्ला, तर खाली

  • न त यो पुस्तकले फिल्मी सौन्दर्यको कुरा गर्छ, न त्यो समयको विचार मन्थनको ।

- यज्ञश

भनिन्छ, आत्मकथा आफ्ना झुट लुकाउनका लागि लेखिन्छ । यिनमा सत्यको मात्रा त हुन्छ तर त्यो आफ्ना झुटहरूको बचाउका लागि मात्र राखिएको हुन्छ भन्ने गरिन्छ । हालै बजारमा आएको बलिउड अभिनेता ऋषि कपुरको आत्मकथा खुल्लम खुल्ला : अनसेन्सर्डमा देखिनेगरी ठूला झुट छैनन् । बरू, केही सत्यहरू उजागर गरिएका छन । तर यो किताबको उद्देश्य ऋषि कपुरको स्टारडमलाई अरू निखार्ने मात्रै देखिन्छ । किनभने न त यो पुस्तकले फिल्मी सौन्दर्यको कुरा गर्छ, न त्यो समयको विचार मन्थनको ।

बलिउडका ‘सो म्यान’ राज कपुरका छोरा ऋषि कपुर दुई दशकसम्म रोमान्टिक हिरो थिए । उनकै दाबीअनुसार पर्दामा सबभन्दा धेरै नयाँ हिरोइनको पहिलो जोडी बन्ने सौभाग्य पनि उनले नै पाएका छन् । सन् १९७३ मा आफ्नै पिताले निर्माण/निर्देशन गरेको फिल्म बबीबाट हिरोका रूपमा आउनुअघि उनले पिताकै फिल्म मेरा नाम जोकरमा गरेको किशोरको भूमिकाका लागि प्रतिष्ठित राष्ट्रिय पुरस्कार पाइसकेका थिए । पहिलो फिल्मबाट पाएको राष्ट्रिय पुरस्कारको गरिमालाई छेउ लगाएर ऋषि बलिउडका सिंगिङ डान्सिङ स्टार बन्ने बाटोमा लागे । जुन मैदानमा पहिले नै उनीभन्दा ठूला खेलाडी थिए–उनकै काका शम्मी कपुर । अधेड उमेरतिर ढल्किइरहेका निकै मोटा शम्मीको याहुवाला लट्का झट्कामा अल्झिएका दर्शकलाई नवयुवा ऋषिका कब्बाली र सायरीले केही समय भुलाए । 

बलिउडमा कपुर परिवारलाई ‘फस्ट फ्यामली’ भनिन्छ । त्यहाँको सबभन्दा धेरै हांगा फैलिएको ठूलो रुखका रूपमा लिइन्छ यो परिवारलाई । यसको सुरुवात भारतमा बनेको आवाज भएको पहिलो फिल्म आलम आरादेखि त्यसबेलाको चर्चित फिल्म मुगल–ए–आजमसम्मका अभिनेता पृथ्वीराज कपुरबाट हुन्छ । पृथ्वीराजका छोरा राज, शम्मी र शशी कपुर, राज कपुरका छोराहरू रणधीर, ऋषि र राजीव । रणधीरका छोरीहरू करिश्मा र करिना तथा ऋषिका छोरा रणवीर । यिनका नातामा पर्ने प्रेमनाथ र प्रेम चोपडा हुँदै सरमन जोशीसम्म नै पुग्ने हो भने त आधा बलिउड यही परिवारले भरिएजस्तो लाग्छ । 

ऋषि कपुरले आफ्नो आत्मकथा/संस्मरणमा आफ्नो यो ठूलो र गौरवशाली परिवारको गाथा गाउन  धेरै पृष्ठ खर्चिएका हुन् । यसमा पनि सबभन्दा बढी पिता राज कपुरबारे उनले  धेरै नै लेखेका छन् । तर, ती कुरा फिल्ममेकर राज कपुरबारे भने निकै कम छ । उनले आफ्ना पिताको स्वभाव, तिनले  दिने पार्टी, पिउने ह्विस्की र तिनले प्रेम गरेका अभिनेत्रीबारे बढी लेखेका छन् । उनी पिताको जीवनबाट कति अभिभूत थिए भन्ने जान्न एउटै प्रसंग काफी छ । नरगिससँग राज कपुरको सम्बन्ध त धेरै पहिलेदेखि नै चर्चामा रहेको हो । ऋषिले पुस्तकमा आफ्ना पिताको अर्की अभिनेत्री वैजयन्ती मालासँग समेत सम्बन्ध रहेको स्थापित गर्ने प्रयास गरेका छन् । उनले लेखेका छन् : ‘नरगिससँगको सम्बन्धलाई लिएर मेरा मातापितामा खासै ठूलो झगडा भएको मलाई थाहा छैन । तर, एकपटक वैजयन्ती मालासँगको सम्बन्धलाई लिएर भने माता–पितामा ठूलो तनाव भयो । त्यसबेला दुई महिनाजति आमासहित हामीले पनि घर छोडेर गयौँ । चित्रकुटको एउटा अपार्टमेन्टमा हामी बसेका थियौं । तर, हालैको एउटा अन्तर्वार्तामा वैजयन्ती मालाले मेरा पितासँग आफ्नो प्रेम सम्बन्ध रहेको  अस्वीकार गरेकी छन् । उहाँले प्रचारका लागि त्यस्तो बोलेको आरोप उनले लगाएकी छन् । उनले किन त्यस्तो झुटो बोलिन् मलाई थाहा छैन ।’ 

टाइम्स अफ इन्डियाकी फिल्म समीक्षक मिना अइय्यरसँग मिलेर लेखिएको यो किताब ऋषि कपुरका फ्यानहरूका लागि गतिलो खुराक हुनसक्छ । वा कपुर परिवारबारे गहिरो रुचि हुनेहरूका लागि पनि । पाठकको ठूलो वर्गलाई भने यसको उपादेयता छैन । कारण हो, न त यो पुस्तकले सिनेमा कलाकारबारे कुरा गर्छ, न  बलिउडको फिल्म निर्माण, त्यसको सौन्दर्यशास्त्र वा उद्योगबारे नै कुरा गर्छ । 

किताबको नाम अनुसार केही कुरा भने ऋषिले नलुकाई लेखेका छन् । जस्तै: सन् १९७३ को फिल्मफेयर अवार्ड ३० हजार रुपियाँमा किनेको कुरा । उनले एकजना फिल्मको पीआर एजेन्टलाई ३० हजार दिएर आफूले बबीका लागि उत्कृष्ट अभिनेताको अवार्ड किनेको उनले खुलासा गरेका छन् । र, त्यस वर्ष जंजीरबाट ‘एंग्री यङ म्यान’ बनेका अमिताभ बच्चनको अवार्ड आफूले चोरेजस्तो महसुस भएको उनको भनाई छ । 

किताबमा उनले आफूलाई बिफ (गाइको मासु) खाने हिन्दु हुँ भनेर लेखेका छन् । ‘मेरो धर्म अलग कुरा हो, मेरो खाना अलग कुरा हो । म यी दुइटालाई आपसमा मिसाउदिन,’ उनले लेखेका छन् । यही किताबको सफलताको कामना गर्दै उनले पहिलो प्रति तिरूपतिलाई चढाएका थिए ।

आफूले निकै आश गरेको फिल्म कर्जको असफलतालाई आफ्नो विवाह र श्रीमती नितुका कारण पाएको असफलताका रूपमा बुझेको पनि उनले उल्लेख गरेका छन् । र, त्यो असफलता पछि आफूमा उत्पन्न भएको निराशा र कमजोरीको पनि उनले संक्षिप्त बयान गरेका छन् । 

जावेद अख्तर, सलिम खानजस्ता लेखक र आफ्ना साथीहरू जीतेन्द्र तथा राकेश रोशनसँग परेका झगडाबारे पनि किताबमा उल्लेख छ । कवि तथा गीतकार शैलेन्द्रको मृत्युमा उनले निर्माण गरेको फिल्म तिसरी कसम असफल हुनु र राज कपुरले सहयोग नगर्नु रहेको भनेर जावेदले भनेका कुरामा भने उनले कडा आपत्ति जनाएका छन् । राज कपुरले बरू शैलेन्द्रले तिर्नुपर्ने पैसासमेत तिरिदिएको उनको दाबी छ ।  

ऋषिले आफूले अभिनय गरेका प्राय: सबैजसो फिल्ममाथि गर्व गरेका छन् । र, त्यति नै मात्रामा उनले आफ्ना समकक्षी र समवयी कलाकारहरूको उपेक्षा पनि गरेका छन् । जीतेन्द्र, राकेश रोशन, प्राण, प्रेम चोपडाबाहेक कुनै पनि कलाकार बारे उनले खासै लेखेका छैनन् । अमिताभ बच्चनलाई भने उनले अमिलो मनले भए पनि सबभन्दा ठूलो रुख लेखेका छन्, जसको सेपमा विनोद खन्ना, शत्रुघन सिन्हा, जीतेन्द्र र उनी आफैं थिए । पहिलो फिल्ममा अवार्डका कारण असहज सम्बन्ध भए पनि पछि अमिताभसँग आफूले सहायक भूमिकामा अभिनय गरेको कुरालाई पनि उनले आफ्नो महानता मानेका छन् । त्यसबेलाका सुपरस्टार राजेश खन्नाबारे पनि उनी खासै सकारात्मक देखिँदैनन् । राज कपुरको फिल्म सत्यम् शिवम् सुन्दरम्मा करिब पक्का भइसकेका राजेशलाई निकालेर शशी कपुरलाई ल्याइएको उनले बताएका छन् । 

ऋषिले सबभन्दा बढी सफलता पाएको ८० को दशक बलिउडको सबभन्दा खराब समय मानिन्छ । यो समयका मिथुन चक्रवर्ती, अनिल कपुर, ज्याकी श्राफलगायतका कलाकारका फिल्म बलिउडी मसलाको सबभन्दा खराब मिश्रण भएका फिल्म हुन । तर, यही समयमा नसिरुद्धिन शाह, ओम पुरी, कुलभूषण खरबन्दा, शबाना आजमी, स्मिता पाटिल लगायतले समानान्तर फिल्मलाई अलगै उचाइमा पुर्‍याएका थिए । यसमा ऋषिकै काका शशी कपुर पनि जुनुन र कलयुगजस्ता फिल्म निर्माणमा सामेल भएका थिए । श्याम बेनेगल, गोविन्द निहलानी, सइद अख्तर मिर्जा, केतन मेहताजस्ता निर्देशक र उनीहरूका फिल्मबारे ऋषिको किताबमा एक शब्द पनि उल्लेख छैन । जबकि संसारभर भारतका फिल्मका रूपमा सत्यजित रेदेखि निहलानीसम्मका फिल्म हेरिन्छन् । भारतीय समाजको यथार्थलाई बेग्लै दृष्टिबाट हेर्ने तिनका फिल्मलाई ऋषिले मन नपराएको बुझिन्छ । किताब पढ्दा लाग्छ, ऋषिको संसार पिता राज कपुरबाट सुरु भएको पुत्र रणवीर कपुरमा टुंगिन्छ । उनको सिनेमा गंगाको लम्बाइ यति नै हो । 

फिल्म, कला र साहित्यबारे ऋषिको बुझाइ ठूलो मात्रामा आफ्नै पिताको दर्शनबाट प्रभावित देखिन्छ ।

जो आफैँमा एउटा महत्वपूर्ण कलाकार थिए । ख्वाजा अहमद अब्बास, शैलेन्द्र, एसडी बर्मन, वासु भट्टाचार्यजस्ता कलाकारहरूका संगतमा रहेका राज कपुरले २१ वर्षको उमेर आरके स्टुडियो मात्र खडा गरेका थिएनन्, जागते रहो र तिसरी कसमजस्ता फिल्ममा अभिनय पनि गरेका थिए । उनको फिल्मप्रतिको बुझाइ फराकिलो थियो । तर, यही कुरा ऋषिबारे यो पुस्तक पढेर भन्न सकिँदैन । सन् १९९७ मा आ अब लौट चलेँबाट निर्देशनमा आए पनि ऋषि सफल भएनन् र फिल्म निर्माणलाई खासै महत्व दिएनन् पनि । किताबमा उनले आफ्ना हिरोइनहरू को–को थिए भन्ने चर्चा गर्नमा धेरै समय गुजारेका छन् । उनी ‘मेथड एक्टिङ’लाई पनि मन पराउँदैनन् । उनका लागि जसले हिरोइनको कम्मरमा हात राखेर बगैँचामा नाच्दैन, त्यो हिरो हुन सक्दैन । 

ऋषिले आफ्नी पत्नी अभिनेत्री नितु सिंह र पुत्र रणवीर कपुरबारे पनि लेखेका छन् । तर, यो किताबभरि उनकी प्रेमिका, पत्नी र सन्तानकी आमा नितु मात्रै छिन्, अभिनेत्री नितु गायब छिन् । उनले नितुको अभिनयबारे एक शब्द पनि खर्चिएका छैनन् । यसबाट उनले नितुलाई अभिनेत्रीका रूपमा कुनै भाउ नदिएको प्रस्ट हुन्छ । रणवीरले पनि अभिनय गरेका फिल्महरू आफूलाई मन परेको र उनको अभिनय शैली पनि मन नपरेको उनले उल्लेख गरेका छन् । जबकि, रकस्टार र बर्फीजस्ता फिल्मबाट रणवीरले पाएको समीक्षकको प्रशंसा ऋषिले समेत इष्र्या गर्ने किसिमको छ । 

लामो समय रक्सीको लतमा डुबेका ऋषिको करिअरको दोस्रो इनिङ छोरा रणवीरको स्टारडमसँगै सुुरु भएको हो । पहिलो इनिङमा कभी कभी र सागर जस्ता केही स्मरणीय फिल्ममा अभिनय गरे पनि ऋषि कपुरलाई सम्झिइने खेल खेल मे, अमर अकबर एन्थोनी, सरगम, प्रेम रोगजस्ता फिल्मका लागि हो । बरू, अभिनय र चरित्रको विविधताको हिसाबले उनको करिअरको दोस्रो इनिङ बढी रंगीन देखिन्छ । यसमा उनले दो दुनी चारमा निम्न आय भएको शिक्षकको भूमिकामा राम्रो छाप छोडेका छन् । यस्तै, अग्निपथको खलनायक, कपुर एन्ड सन्सको हजुरबाजस्ता उनका चरित्र स्मरणीय छन् । 

रणवीरको भूमिकाबाट आदि र नितुको नोटबाट अन्त्य हुने यो किताबमा ऋषिले केही तार बजाएका त छन् तर तिनको झंकार धेरै चर्को छैन । पुस्तकको सबभन्दा ठूलो कमजोरी के हो भने यसले कुनै पनि प्रसंगलाई गहिराइमा पुगेर भन्दैन । धेरै प्रसंगहरू लेखकले छोएर मात्रै छोडेका छन् । बलिउडी मसला फिल्मकै शैलीमा एकोहोरो बढाइँचढाइ मात्र छ, व्याख्या छैन । एक–दुइटा हल्काफुल्का प्रसंगबाहेक ऋषि कपुरको समयको गतिलो इतिहास पनि यसलाई मान्न सकिँदैन । 

एउटा चलेको कलाकारको आत्मकथा वा स्मरण त्यस समयको दस्तावेज हो । त्यसरी हेर्दा खुल्लम खुल्ला यस्तो कोठाजस्तो देखिन्छ, जसको ढोका त खुल्ला छ तर कोठाभित्र खासै केही छैन । ऋषि आफ्नो समयका जति चम्किलो स्टार थिए, उनको किताब उनको समयको त्यस्तै चम्किलो दस्तावेज बन्न सकेको छैन ।

खुल्लम खुल्ला : अनसेन्सर्ड

लेखक : ऋषि कपुर (मीना अइय्यरको साथमा)

प्रकाशक : हार्पर कलिङ

पृष्ठ : २८४

मूल्य : ५९९ भारतीय रुपियाँ

प्रकाशित: श्रावण ४, २०७४