नोटबुक

  • सार्वजनिक यातायात, सार्वजनिक स्वास्थ्य र सार्वजनिक शिक्षाबारे तीन टुक्रा

- विमल आचार्य

डा केसीको बस यात्रा 

अफिस थापाथलीबाट हिँड्दै हिँड्दै त्रिपुरेश्वर हुँदै एनएसीतिर जाँदै थिएँ । बेलुका पौने आठ बजेको थियो । माइक्रो–म्याक्रो बसदेखि टेम्पुको पर्खाइमा उभिएका थिए, थुप्रै यात्रु । तिनलाई जिस्काउँदै थिए, वरपर पार्किङ गरिएका अनि झुम्मिँदै आइरहेका ट्याक्सीहरू । म बनस्थली जाने माइक्रोबस पाइहालिन्छ कि भनेर पर्खिबसेको थिएँ । अलि पर सडकछेउ उभिएको कसैलाई देखेँ, पछिल्तिरबाट । तालु मात्रै हैन, टाउको नै खुइलिएको । अंग्रेजी यू आकारमा पछाडि मात्र सेतोमा यदाकदा कालो मिसिएको कपाल । नीलो टिसर्ट र सेतो प्यान्टमा उनलाई कताकता देखेजस्तो लाग्यो । नजिकै गइहेरेको उनी त मास्कविहीन पो रहेछन् । मास्कविहीन किन भनेको भने, टीभीमा उनलाई सधैँ मास्कमै देखियो अर्थात् सधैँ अनशनरत अवस्थामै जो देखियो । 

डा गोविन्द केसीका पक्षमा धेरै ट्वीट र स्टाट्स लेखिएकै हो । एकचोटि यसैउसै उनी अनशनरत हुँदा टिचिङ अस्पताल छिरेको पनि थिएँ, त्यतिबेला भेट्न पाइएन । रजिस्टरमा ‘दुई शब्द’ लेखेर सहमति–सही धस्काएर निस्केको थिएँ । पछिल्ला दुई वर्ष मिडियामा सबैभन्दा बढी छाएको राजनीतिइतरको कोही मनुवा छ भने डाक्टर केसी नै छ । भावुक नभईकन भन्दा पनि मलाई जहिल्यै यी इमान र निष्ठा, सेवा र करुणा, हठ र हठात्का पर्याय नै लागिरहन्छ । 

‘सर नमस्कार, कता जान लाग्नुभा ?’ मैले बिनापरिचय सोधेँ । 

‘टिचिङ जान लाको, हेर्नूस् न बस नै आउँदैन,’ उनले आफ्नो सीधा हातलाई नाइन्टी डिग्रीमा खुम्च्याएर घडी हेरे । आठ बज्न तीन मिनेट बाँकी थियो । 

एकैछिनमा सिटी मेट्रो लेखिएको सुन्तला रङको ठूलो बस आयो र हामीभन्दा धेरै अगाडि रोकियो । बूढा दौडिँदै गए र चल्दै गरेको बसमा झुन्डिए । उनले सिट पाएनन्, उभिएरै चले । म हेरेको हेर्‍यै भएँ । के कुनै दिन डा केसी सार्वजनिक यातायातको स्वास्थ्य सुधार्न पनि अनशन बस्लान् ! 

पुरुष बाहिर 

असारको पुछारतिरको एक साता परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल, थापाथलीमा बस्नुपर्‍यो । बेड खचाखच भएकाले क्याबिन लिएर बसियो । श्रीमतीको अप्रेसन गर्नुपर्‍यो । तर, यो यस्तो केस/अस्पताल रहेछ, ढोकाढोकामा भर्‍याङभर्‍याङमा यत्रतत्र सूचना टाँसिएको छ, जसमा बिरामी कुरुवाका लागि महिला मात्र एक जना बस्न भनिएको छ । श्रीमतीले भोग्नुपरेको प्रसव पीडामा चाहेर पनि साथ दिन सकिँदो रहेनछ । पुरुषमध्ये श्रीमान्लाई पनि बस्न नदिनु चाहिँ अनौठै लाग्यो । जवाफ पनि रोचक पो पाइयो— श्रीमान्कै कारण श्रीमतीलाई अति नै पीडा भइरहेको हुन्छ, श्रीमान्लाई सामुन्ने देख्दा श्रीमती रिसाएर झम्टिन पनि सक्छिन् रे । 

अप्रेसनपछि चार दिन अस्पताल बसियो । जनरल वार्डमा त धेरै आमाहरू हुने हुँदा पुरुष बस्दा गाह्रै पनि हुँदो हो । तर, क्याबिन लिइसकेपछि त्यहाँ अरू कसैलाई ‘डिस्टर्ब’ पनि त हुँदैन । एक रात कुरुवा दिदीलाई पालो दिन र श्रीमतीको रमाइलो–पीडामा साथ भनेर आफैँ बसियो । राति गार्ड चेक गर्न आए र मलाई अपराधीझैँ बाहिर निकालिछाडे । पति/पितालाई बिल्कुल पन्छाइदिने, स्याहारसुसार गर्नै नदिने यो कस्तो पुरुषमैत्री–नारीविरोधी व्यवस्था हो के ! 

मानविकी नियोजन

बिहान बिहान नेपालकै सबैभन्दा पुरानो कलेजमा मानविकी संकायतिर साहित्य पढाउँछु । यसरी पढाउन थालेको पाँच वर्ष भइसक्यो । तर यी पाँच वर्षमा के भयो भन्नुहोला भने हरेक वर्ष सय, पचास, बीस, दश हुँदै यसपालि त विद्यार्थी संख्या पाँच पनि पुगेन । विश्वविद्यालयमा मानविकी संकायका भूगोल, राजनीतिशास्त्र, इतिहास, दर्शनशास्त्र, संस्कृति, संस्कृत, अर्थशास्त्र, नेपाली भाषा–साहित्यजस्ता विषयमा विद्यार्थी संख्या घट्दै घट्दै जानु संयोग मात्रै होइन । यो हाम्रो राज्यको मानविकी संकाय नियोजन परियोजनाकै परिणाम हो । 

भर्खरै एसईई उत्तीर्ण एक जना प्रतिभावान् नानी अर्थशास्त्र पढ्न चाहन्थिन् । राजधानीका धेरै नामी कलेज चहारिन्, तर उनले अर्थशास्त्र पढ्न पाइनन् । भर्खरै उनी विज्ञान संकायमा भर्ना भएकी छिन्, पढ्न मन नलागीनलागी । कसैले नपढ्ने, कसैलाई चासो नहुने यो विषय म किन पढ्न चाहिरहेकी छु, म नै पो गलत हुँ कि भन्ने मनोविज्ञानले उनलाई ग्रस्त पारेको छ । कक्षा चलाउन संख्या नै पुग्दैन, ए प्लस ल्याएको मान्छे मानविकी पढेर के गर्छाै ? पैसा कसरी कमाउँछौ ? आधुनिक–अत्याधुनिक विषय नपढेर के 

‘आउटडेटेड’ विषय पढ्न खोजेको भनेर बारम्बार भन्नु अपराध हो कि 

‘काउन्सिलिङ’ मात्र ? समाजविज्ञानका विषयमा रुचि बढाउनु 

त कताकता रुचि भएकालाई समेत अवसर नहुनु हाम्रो कस्तो 

विडम्बना ? हामीलाई चाहिएको जनशक्ति प्राविधिक मात्र हो कि सिर्जनशील र आलोचनात्मक पनि ? 

प्रकाशित: श्रावण ४, २०७४