[अनुभूति] जनयुद्घमा खाना नीति

  • खाना मागेर खाने काम सजिलो थिएन । मोहनविक्रम सिंह समर्थकहरूले ‘माओवादीलाई सुराकी पनि हैन, खुराकी पनि छैन’ भन्थे ।

- दुर्लभ पुन

पञ्चायत ढलेपछि स्कुलमा कांग्रेस बन्ने कि कम्युनिस्ट भन्ने लहर चलेका बेला एकजना कांग्रेस समर्थकले मलाई ‘ कम्युनिस्ट नबन्नु है, उनीहरूले त खाना खुवाउँदा पनि लाइनमा उभ्याउँछन्’ भनेर सचेत पारेका थिए । लाइन लागेर खाएको त हुनेखानेहरूकै मीठो मीठो खाना पाइने ‘बफे भोज’ मा मात्रै देखेको थिएँ मैले । लाइनको खाना त मीठो पो होला भनेर उल्टो कम्युनिस्ट बनेँ । पहिला मालेको अखिल (पाँचौँ) मा लागेको म, पछि माओवादीले ‘जनयुद्ध’ सुरु गरेपछि जनादेश पत्रिका पढ्दापढ्दै माओवादी स्कुलिङमा भर्ती भइसकेको पत्तै भएन । 

माओवादी समर्थकहरू संगठित हुनैपर्छ, एकदिन भूमिगत हुनैपर्छ, एक पटक दुश्मनको घेरामा पर्नैपर्छ, उस्तै परे सहिद पनि बन्नुपर्छ भन्ने भावसाथ संकटकालको बीचमा एक साँझ भूमिगत ‘होलटाइमर’ भइयो । नजाओस् भनेर रुँदै खुट्टा समात्न आउनुभएकी आमालाई समेत पन्छाएर अँधेरी रातमा निस्केँ म एसीएम कमरेड जानमको कमाण्डमा आएको इलाका नं ५ को टोलीसँग ।

छाक टार्ने माओवादी नीति
भूमिगत भएपछि दिनचर्या बदलियो । सम्पर्कका व्यक्ति र घरलाई आधार बनाएर अन्य व्यक्ति र घरहरूमा सम्पर्क जोड्ने, साना–ठूला भेला गरेर राजनीतिक प्रचारकको काम गर्ने र अन्तत: सेल्टर माग्ने, खाना माग्ने । जनादेशमा पढेको जनदिशाको नीतिलाई व्यवहारमा उतार्ने काम यही खाना मागेर खाने बेलामा हुँदो रहेछ । जनताको घरमा खाना मागेर खान सक्नु पनि कला र क्षमताकै विषय रहेछ । कुनै बेला घरका सानातिना काममा सघाइदिएर पनि छाक टार्ने उपाय गरिन्थ्यो । धेरैले त कुरा सुनेपछि आफैँ खानाको ‘अफर’ गर्थे । जनताको भान्सासम्म माओवादीहरूको पहुँच पुर्‍याउने यो नीतिको अर्को महत्वपूर्ण फाइदा भनेको महिला दिदीबहिनीहरूको धारणा बदल्नु र संगठित गर्नुमा थियो । 

खाना मागेर खाने काम सजिलो थिएन । मोहनविक्रम सिंह समर्थकहरूले ‘माओवादीलाई सुराकी पनि हैन, खुराकी पनि छैन’ भन्थे । आँगनमा उक्लेर नमस्कार गर्‍यो भने कसै कसैले ‘खानाको नमस्कार त होला’ भनेर प्वाक्कै भन्थे । डोटीका बूढाबाले एकजना माओवादी कार्यकर्तालाई खाना खाएर सुटुक्क हिँड्न खोज्दा बाटो छेकेर ‘तिमी माओवादी हौ भने राजनीतिक छलफल गरेर जाऊ, हैन भने एक खुराकको ३५ रुपियाँ देऊ’ भनेछन् । जहाँ खाना खाइन्छ त्यहाँ राजनीतिक छलफल गर्नैपर्ने आचारसंहिता जस्तो थियो । 

तरुलले छाक टर्दो रहेछ 
एक पटक कर्णाली नदी किनारको एउटा सानो बस्तीमा बास पर्‍यो । म बास बस्न गएको झुपडी कति सानो थियो भने त्यो भन्दा ठूलो त कुनै कुनै चर्पी नै देख्छु काठमाडौँमा । अन्न फारो गर्न साँझ साँझ गोठालाबाट खनेर ल्याएको तरुल खाने चलन रहेछ । त्यही तरुलसँगै भर्खरै सकिएको तिहारको रहलपहल झानेको रोटी (पुरी) पनि थियो । 

खानै लाग्दा लुगा फाटेका र खरानी घसिएका चारजना भान्टाङ भुन्टुङहरूले मलाई घेर्न आइपुगे । सानोलाई एउटा रोटी थमाइदिएको मात्र के थिएँ सबै झम्टन आइपुगे । मैले खासै नरुचाउने तर उनीहरूको लागि ‘अति मीठो’ त्यो झानेको रोटीको कारणले पो रहेछ म घेरिएको । मन कटक्क खायो । अर्को रोटी पनि बाँडेर दिएँ र लागेँ तरुलतिर । टिमुर मिसाएको नुन खुर्सानीसँग मीठै मानेर खाइयो । तर मलाई अन्नको सट्टा त्यसले छाक टर्ला भन्ने लागेकै थिएन । राति पक्का भोक लाग्ने भो भन्ने चिन्ताका साथ एउटा कुनामा सुतियो । तर बिहानैसम्म भोक लागेन । 

तरुलले पनि छाक टर्दो रहेछ । केही भाते डलरखोरहरूले चामलै नफल्ने ठाउँको ‘भातमरी’ लाई नै भोकमरी भनेर हल्ला मच्चाउने गरेको कुरा सम्झेँ । यहीँनेर रोल्पाका एकजना कमरेडले एक माना पीठोलाई एक डोको सिस्नुसित पकाएर दशजनाको छाक टारेको र अघाउनेहरू अचम्मै परेको घटना सम्झन्छु । 

एकल महिलाको मर्म पोखिँदा
एउटा बैठकमा भाग लिन रोल्पा जाने क्रममा दिउँसोको खाना खाने बेला सुर्खेतको छाप्रे पुगेको थियो हाम्रो टोली । ‘रुट कमान्डर’ का रूपमा रहेकी तत्कालीन पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलाकी छोरी कमरेडले देखाइदिएको घरमा खाना माग्न उक्लिएँ । 

ढोकामा पुगेर ‘भित्र को हुनु हुन्छ ? नमस्कार है’ भनेँ । भित्र घरपेटी दिदी रहिछन् । एउटा काखे बालक छेउमा पल्टिरहेको थियो । मलाई पुलुक्क हेरिन् । नमस्कारको जवाफ त कता हो कता गर्न लागेको कामसमेत रोकेर ट्वाँ परेर मलाई हेर्न थालिन् । मलाई भने खानाकै चिन्ता । खाना नपाइने छाँट देखेर ‘म माओवादी हुँ, खाना पाइन्थ्यो कि भनेर आएको, व्यवस्था नहुने भए म अन्त जान्छु है ?’ भनेर निश्चित गर्न खोजेँ । उनले झल्याँस्स हुँदै ‘छ छ आउनूस् न’ भनेर अँगेनानेर बसाइन् । बसेर खाना नआउन्जेल मच्चीमच्ची राजनीतिक प्रशिक्षण दिन थालेँ । उनले ‘अँ’, ‘ अहँ’ केही नबोली बेलाबेलामा मतिर हेर्दै भान्साको काम गर्दै रहिन् । 

मेरो कुरामा कुनै रुचि नदिएको देखेपछि विषयवस्तु बदलेर घरव्यवहारको कुरा निकालेँ । उनी त रुन पो थालिन् । म अप्ठ्यारोमा परेँ । कारण सोधेँ । कुरा सुनेर मै पनि अक्क न बक्क परेँ । वास्तवमा मेरो अनुहार त उनको दिवंगत श्रीमान्सँग मिल्दो रहेछ । छ महिनाअघि खोलामा माछा मार्न जाँदा दुर्घटनामा परेर श्रीमान् बितेका रहेछन् । मलाई त के भनौँ के नभनौँ ? भयो । उनको पिरको अगाडि मेरा फोस्रा गफको के काम ? पस्किएको खाना खान्छु भनेको गाँस कति गहु्रङ्गो !

खाइसकेर निस्कने बेलामा केही त बोल्नैपर्ने थियो । मैले जीवन र मृत्युको प्रक्रियाबारे सम्झाउने प्रयास गरेँ । आफूले आन्दोलनमा भोग्नुपरेका वियोगान्त दृष्टान्त पनि सुनाएँ । एउटा परिवारमा आउने विपत्तिलाई सामूहिक र सामाजिक तरिकाले सम्हाल्ने संस्कृतिको विकास गर्ने प्रयासमा नै पार्टी हिँडिरहेको जस्ता कुराहरू राखेँ । शान्त भावमा मेरो कुरा सुनिन् । अनि बिदावारी भएर आफ्नो समूहलाई छोप्न हिँडे । उनी भान्साको दैलोमा उभिएर हेरिरहेकी थिइन् । मलाई जनताको प्रत्येक घरमा एउटा न एउटा पिरलोले फेरो मारेर बसेको छ भन्ने लागिरह्यो ।

खाना माग्दा गाली र फुलौरा
सेती–महाकाली स्वायत्त गणतन्त्र घोषणासँगै एकीकृत जनप्रतिरोध अभियान चल्यो । तत्कालीन सेती–महाकाली ब्युरो इन्चार्ज जनार्दन शर्मा (प्रभाकर)को दह्रो प्रशिक्षण पाएको कालीकोटे अभियानकर्मी टोलीलाई लिएर डोटी फर्किंरहँदा बोगटान क्षेत्रमा शाही सेनाको अपरेसन चलेको सूचना आयो । अछामको तुर्माखाँदबाट रुट बदलेर कर्णालीपारि सुर्खेत लागियो । त्यहाँबाट डोटीको गतिविधि नियाल्ने र ठाउँ खाली हुनासाथ प्रवेश गर्ने निर्णय गर्‍यौँ । 

त्यो कर्णालीको छालमा त्यत्रो टिमलाई कसले खुवाउने ? उही खानाकै समस्या देखियो । स्थानीय एरिया कमिटीले चामल भण्डारण गरेको सूचना पाएपछि लगामको डाँडा उक्लिएँ । माथि धुरीमा पुगेपछि एउटा मात्रै घर देखापर्‍यो । त्यहाँ पुग्दा घरका मान्छेहरूले खाना खाइसकेर गाईबाख्रा फुकाउने बेला भएको रहेछ । 

‘नमस्कार हजुर, म पार्टीको मान्छे हुँ । खाना बचाउनुभएको छ कि ?’ मात्र के भनेको थिएँ । घरपेटी महिला त ग्रिनेड पड्केझैँ ‘ तिमी माओवादीहरूलाई खुवाउने भात छैन मसँग । घरको काम गर्न नसकेर मागेर खान आएकाहरूलाई मैले किन खान दिने ?’ भनेर पड् कन थालिन् । एक त थाकेर लोत परेर पुगेको, बस्न पाएको छैन, अप्रत्याशित गालीको वर्षा भएपछि त म खङ्ग्रङ्ग्रै भएँ । कतै यता पनि शाही सेना त आइपुगेन भनेर वारिपारि हेरेँ । सब ठीकठाकै देखिन्थ्यो । गाली ‘ननस्टप’ गएकै छ । बाख्रा फुकाएर गोठाला जान तयार भएका उनका छोराछोरीहरूले घरको पेटीमा लहरै उभिएर रमिता हेरिरहेका थिए । 

खाना खान नपाइने भए पनि केमा चित्त नबुझेको रहेछ ? नबुझी नजाने सोचमा त्यो गाली सुनेर पर्खिरहेँ । आधा घन्टा जति फत्फताएपछि उनी थाकिछन् । एकछिन सुस्ताएपछि टार्ने हिसाबले ‘ मकैको खाजा खाने हो त ?’ भनेर सोधिन् । ‘जे दिनुहुन्छ, खान्छु’’ भनेँ । एकछिनमा काँसाको बटुकोमा एक बटुको खाजा आयो । उकालोको पसिना बगाइ र गाली खुवाइले ओठतालु सुकेका थिए । खाजा निल्नै सकिएन । ती महिलालाई टिठ लागेछ क्यारे ‘मोही खाने ?’’ भनेर सोधिन् । नाइँ भन्ने कुरै थिएन । 

खाइसकेपछि बल्ल मैले ‘यति धेरै किन रिसाउनुभयो दिदी ? हाम्रो पार्टी र साथीहरूले केही बिगार गरे कि ?’’ भनेर सोधेँ । वास्तवमा माओवादी साथीहरूले सहकारी बाख्रापालन गर्ने भनेर दुईवटा बोका लगेका तर नाफा दिने त कुरै छाडौँ फर्केर पनि नआएका रहेछन् । त्यो अव्यवस्था माथिको रिस ‘कहाँ पोखौं ?’ भएको बेला म बबुरो फेला परेको रहेछु । शान्त भइसकेकी ती दिदीलाई मेरो पालो आधा घन्टा सम्झाएँ । गुनासो ठाउँमा पुर्‍याइदिने वाचा गरेर बाटो लागेँ । आधा घन्टा गाली खाएर भए पनि पार्टीको जनसम्बन्धलाई थप बिग्रन दिइएन भन्ने आत्मसन्तोष बोकेर बेँसी झरेँ ।

अन्तत: खाना खान लाइनमा 
पार्टीको काममा घरदैलो गर्दा जनताको घरमा खाना खाए पनि आन्तरिक बैठक भेला हुँदा मेस चलाउनु पथ्र्यो । ती मेसहरूमा खाँदा अन्तत: थालै नबोके पनि लाइनमा उभिनैपर्ने । त्यतिखेर ती कांग्रेस समर्थकले ‘कम्युनिस्टले लाइन लगाउँछन््’ भनेको खुब सम्झन्थेँ । तर ती लाइनमा खाना मीठो हुँदैनथ्यो । मासु पाकेको दिन भने रमाइलै हुन्थ्यो । डोटीको आधारक्षेत्रमा भएको एउटा क्षेत्रीय प्रशिक्षणको मेसमा तत्कालीन पश्चिम कमान्ड इन्चार्ज पोष्टबहादुर बोगटी (दिवाकर)ले भसक्कै मासु खाएको देखेर निकै खुसी लागेको थियो । उहिले नेताहरूले धेरै खाएको देख्दा खुसी लाग्थ्यो । कम्तीमा रोगबाट त नेतृत्वको रक्षा भयो भन्ने लाग्थ्यो । नेताहरूले लुकीलुकी काजु किसमिस खाए भनेर गरेका आलोचना वाहियात लाग्थ्यो ।

मेसमा खाइसकेपछि पखालेर ल्याएको थाल जाँच गर्ने जाँचकी कमरेडहरूले गरेको कडाइले कहिलेकाहीँ निकै दु:ख पाइन्थ्यो । एक पटक रुकुमको काँक्रीमा चलेको मेसमा तत्कालिन स्थायी समिति सदस्य देव गुरुङलाई राम्ररी थाल सफा नगरेको भनेर फर्काइदिएछन् । बूढालाई थाल बोकेर धारातिरै फर्कंदै गरेको देखेको थिएँ । माओवादी पार्टीभित्र समानताको सिद्धान्त कायम राखिएको एउटा उदाहरण थियो त्यो । 

प्रकाशित: श्रावण ४, २०७४