अस्तव्यस्त यातायात

  • सार्वजनिक सवारी साधनमा यात्रुको कन्तबिजोग

- राजकुमार बानियाँ

२९ असारमा बाँसबारीबाट भृकुटीमण्डपका लागि माइक्रोबस चढे, पूर्वाधारविद् सूर्यराज आचार्य । सहचालकले भाडाबापत १८ रुपियाँ मागे । उनले ५० रुपियाँको नोट दिए । सहचालकले ३० रुपियाँमात्र फिर्ता दिए । निकैबेर पर्खिंदा पनि थप दुई रुपियाँ फिर्ता दिने सुरसार गरेनन् । बरु भाडा फिर्ता माग्दा भीख मागेजस्तो व्यवहार गरे, ‘खुद्रा छैन । कति किचकिच गरेको ?’

दुई रुपियाँका लागि के गलफत्ती गरेको होला भन्ने आम मनोविज्ञान आचार्यलाई थाहा नभएको होइन । पाएपछि उनले कानुनदेखि बग्गीखानासम्मका कुरा सम्झाए, ‘पैसा पनि दिनोस् र सरी पनि भन्नुस् ।’ सहचालक टसमस भएनन् । अहिले नेपाल राष्ट्र बैंकले जारी गरेको सबभन्दा सानो नोट भनेकै पाँच रुपियाँ हो । जनही दुई रुपियाँ फिर्ता नदिने हो भने दिनभरिमा कति कमाउँछन् माइक्रोवालाले ?

काठमाडौँ उपत्यकामा सहचालकले १३ रुपियाँ भाडाको पनि खुलेआम १५ रुपियाँ असुल्छन्, १६ रुपियाँको २० रुपियाँ । बहानाबाजी उही खुद्रा नभएको । आखिर राष्ट्र बैंकले एक र दुई रुपियाँको सिक्का ननिकालेको पनि होइन । त्यसैले उनले तत्कालै ट्वीट गरिहाले, ‘भाडा तिर्दा दुई रुपियाँ फिर्ता लिन कन्डक्टरसँग गलफत्ती नै गर्नुपर्‍यो । गृहमन्त्रीज्यूको ध्यानाकर्षण होस् ।’ तर, गृहमन्त्रीको ‘रेस्पोन्स’ उनले पाएनन् ।

मुलुकको दुरावस्था हेर्ने हो भने सार्वजनिक यातायात नै काफी हुन्छ । कार्यालय छुट्ने समय ४ देखि ६ बजेसम्म खुलामञ्चको बसपार्क, भृकुटीमण्डप र एनएसी (सुन्धारा) पुग्ने हो भने थाहा हुन्छ, सार्वजनिक यातायातका साधनमा यात्रुको कन्तबिजोग !

सार्वजनिक यातायातको साधन निजी क्षेत्रको प्रवेश भए पनि त्यसको नियमन र गुणस्तर अभिवृद्धि गर्ने दायित्व सरकारकै हो । तर, सरकारको यातायात व्यवस्थापन कति निम्सरो छ भने जिम्मेवार निकायहरु टुलुटुलु हेरिेरहेका छन् । यात्रुहरु गाडीमा गुन्द्रुकझैँ खाँदिन्छन् । सहचालकले आदेश दिन्छन्, सुरुमा सुनिन्छ, ‘भित्र–भित्र–भित्र’ अनि घरी ‘यता फर्क,’ घरी ‘उता फर्क,’ ‘सीधा भएर बस,’ ‘मान्दैन भने झरिहाल्,’ ‘आफ्नै गाडी किनेर चढ्’ आदि शब्दको माला दिनहुँ पहिरिन्छन् यात्रु । यसको तुलनामा साझा, धुम्रवराह, सिटी, मेट्रोलगायत ठूला बसका सहचालक महिलाको व्यवहार भने चित्तबुझ्दो छ ।

“विदेशतिर ५० सिटको सार्वजनिक यातायातको साधनमा पाँच जना यात्रु पनि भएनन् भन्ने चिन्ता छ,” आचार्य सुनाउँछन्, “हामीकहाँ सबै जना सार्वजनिक यातायात चढ्न लालायित छन् । तर, यात्रा निकै कष्टकर छ ।” सार्वजनिक यातायातको भाडादर कतै टाँसिएको छैन । सहचालकले जति भन्यो, त्यति तिर्नुको विकल्प छैन । सवारी साधन कति बजेसम्म चल्छन् भन्ने ग्यारेन्टी पनि छैन । मन लागे चलाउँछन्, नलागे थन्काउँछन् ।

सामान्य त कार्यालय समयअघि र पछि सार्वजनिक यातायात अलि खुकुलो हुनुपर्ने हो । तर, उपत्यकामा दिउँसो १ बजे बस चढे पनि कोचाकोच हुन्छ । साँझ ६ बजेपछि खाँदाखाँद नै । यात्रुको पैसाले उनीहरुलाई कहिल्यै पुग्दैन । विडम्बना के भने, सार्वजनिक यातायातका सञ्चालकहरुले भएका थोरै सवारी साधन पनि सडकमा चलाइदिँदैनन् ।

ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकाका २३ वटा रुटमा ७ हजार ७ सय ५९ सार्वजनिक सवारी साधन सञ्चालनमा छन् । त्यसमध्ये माइक्रोबस ३ हजार ५८, नीलो (डल्ले) माइक्रो ३ सय ५०, टेम्पो १ हजार ४ सय ५२, मिनी बस १ हजार १ सय ५८ र बस १ हजार ७ सय ४१ वटा छन् । ४० लाख जनसंख्या भएको काठमाडौँमा यो संख्या अपुग नै हो ।

संख्या ज्यादा भए पनि यात्रुको नजरमा सबैभन्दा झूर सवारी साधनमा आउँछन्, माइक्रोबस । सास फर्ने ठाउँसमेत नराखी खाँदाखाँद गर्नेमात्र नभएर यात्रुमाथि दुव्र्यवहारमा पनि उनीहरु नै अगाडि छन् । कतिसम्म कोचेको हुन्छ भने लास्ट सिटबाट ढोकासम्म आइपुग्दापुग्दै गाडी बत्तिइसक्छ । 

पछिल्लो समय ट्राफिकले भेडाबाख्रालाई जस्तै लखेट्न थालेकाले उनीहरु चढ्ने यात्रु देखेमात्र गाडी रोक्छन्, ओर्लने ठाउँमा मतलब छैन । माइक्रोबसका प्राय: कानको जाली फुट्ने गरी गीत घन्काउँछन् । थापाथलीमा ओराल्नुपर्ने यात्रुलाई जहिल्यै कुपन्डोल पुर्‍याइदिन्छन् । त्यसको मारमा परेका प्रसूतीगृह हिँडेका गर्भवतीहरु कुपन्डोलबाट लुरुलुरु आइरहेका भेटिन्छन् । गुनासो गरे खप्की पाइहाल्छन्, ‘दसचोटि बोलाउँदा पनि नसुन्ने ?’

गर्भवतीहरुको सास्ती हेर्न हो भने भद्रकालीदेखि पुरानो बसपार्क (अहिले सरेको) को भित्तामा लहरै थुप्रिएको छाँद (बान्ता) हेरे हुन्छ । साँच्चै भन्ने हो भने गर्भवतीका निम्ति ट्याक्सी चढ्नुको विकल्प छँदैछैन । माइक्रो बसमा त न सिट छ, गर्भवतीमैत्री व्यवहार । विश्व बैंकको एक अध्ययनअनुसार उपत्यकामा सार्वजनिक यातायातका यात्रुले चालक र सहचालकबाट सास्ती, असुरक्षा र दुव्र्यवहार सहनु पर्दा पनि प्रतिवाद गर्दैनन् । 

चालकहरुमा जेब्राक्रस, लेन, ट्राफिक लाइट आदि सडक अनुशासनको साक्षरता नै देखिँदैन । गाडी कति गतिमा र कसरी कुदाउने, हर्न बजाउने कि नबजाउने भन्ने समेत ज्ञान छैन । जेब्राक्रसमा समेत हर्न बजाउने उनीहरुको बानी हुन्छ । कारमा हुइँकिएर ठाँटबाट देखाउनेमा पनि त्यो सभ्यता देखिँदैन । 

त्यसो त समस्या चालक र सहचालकको मात्र छैन, यात्रुको व्यवहार पनि त्यत्तिकै ‘निकृष्ट’ छ । उनीहरु सहचालकलाई गरिब र अनपढ भनेर हेप्न खोज्छन् । आफू सम्मानको अपेक्षा गर्छन्, आफैँचाहिँ राम्रो व्यवहार गर्न जान्दैनन् । सार्वजनिक यातायातमा सहचालकलाई तपाईं, हजुर भनेको कतै सुनिँदैन । माइक्रोबसका सहचालक प्राय: फेरिरहन्छन् । कुनै तालिम या लाइसेन्स पनि पाएका हुँदैनन् । 

“माइक्रोमा प्राय: कच्चा उमेरका टिनएजर हुन्छन्, बसका अलि पाका,” माइक्रोबसमै ‘सी’ आकारमा ढल्किएका मानवशास्त्री सुरेश ढकाल भन्छन्, “कीर्तिपुरमा एमए, एमफिल पढ्नेको विद्यार्थी त अरुलाई तथानाम गाली गर्छन्, भौतिक संरचना तोडफोड गर्छन् भने खलासीसँग कस्तो अपेक्षा गर्ने ?”

बसको तुलनामा माइक्रोबसमा उभिने र समात्ने ठाउँ पनि हुँदैन । तर, सबैभन्दा धेरै यात्रु कोच्ने होडबाजीचाहिँ माइक्रोबसले नै गर्छन् । उनीहरु जति कोचेर लान सक्यो, त्यति सफल मानिन्छन् । देशको राजनीतिक र सामाजिक द्वन्द्व पनि माइक्रोबसभित्रै छताछुल्ल हुन्छ । भाडा र सिटका विषयमा विवाद भइहाल्छ । कतिपय सवारी साधनमा एकसेएक ‘कार्डधारी’ भेटिन्छन् । किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म । 

कतिपय अगाडिका दुई सिटबाहेक सबै पुरुषको ठान्छन् । पुरुष सिटमा महिला बस्यो भनेर खिल्ली उडाउँछन् । महिलाको सिट भए पुरुषको सिट खोइ भनेर निहुँ खोज्छन् । वयोवृद्ध, अशक्त र बालबालिकालाई सिट छाडिदिने चलन छैन । अझ बालबालिकाको हकमा न आरक्षण छ, न त अभिभावक नै उसको भाडा तिर्न चाहन्छ । 

यात्रु भनेका दोस्रो दर्जाका होइनन्, यात्रुले पैसा तिरेको बदला सेवा दिएका हौँ र उनीहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्छ भन्ने हेक्का प्राय: चालक–सहचालकमा नभएको उदाहरण हो, भक्तपुरको रुट । कहिलेकाहीँ हजार रुपियाँ देखायो भने पनि खोटो नोट देखाएजस्तो व्यवहार यात्रुले पाउँछन् ।

उपत्यकाका कतिपय स्थानमा भने बाटो साँघुरो भएकाले माइक्रोबसको विकल्प छैन । वनस्थली चोकबाट अलिक माथि छ, खरीबोट । त्यहाँ बिहान पाँच बजेदेखि साँझ अबेरसम्म स्कुलमा विद्यार्थीको जस्तो लाइन लाग्छ । कहिलेकाहीँ ६० जनासम्मको लाइन हुन्छ । त्यो पनि सिटका लागि होइन, गाडी चढ्नका लागि मात्र । सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार बसले २६ देखि ५६ जना र मिनीबसले १५ देखि २५ र माइक्रोबसले १४ यात्रु राख्न सक्छन् । तर, यहाँ १४ सिटे माइक्रोबसमा एकपटकमा ३० जनासम्म चढ्छन् । 

त्यसो त सबै सार्वजनिक यातायातका साधन उस्तै भने छैनन् । नियमित यात्रुहरुको नजरमा साझा, सिटी, महानगर, अरेन्ज, धुम्रबराह, राष्टिय सार्वजनिक यातायात राम्रा छन् । सबभन्दा खराब भने विभिन्न नामधारी माइक्रोबस र नेपाल यातायात गनिन्छन् । “साझा, महानगर आदि अनावश्यक रोकिँदैनन्, प्याक पनि हुँदैनन्,” एक यात्रु सुनाउँछन्, “सबभन्दा यात्रु खाँद्ने भनेका गन्हाउने सिट भएका थोत्रा बस हुन्, अब यात्रुको सम्मान गर्ने हो भने, ठूला नयाँ बस ल्याउनुको विकल्प छैन ।”

‘बाँसबारीबाट पुल्चोक पुग्नुपर्ने, ट्याक्क साझा भेटियो, ठ्याक्क सिट पाइयो, फ्याट्ट ट्वीट गरियो, सेल्फी खिचेर ।’ यता यसरी ट्वीट पस्कछन् पूर्वाधारविद् सूर्यराज आचार्य, उता एक महिनाभित्र जाम खुलाउने तदर्थवादी धारणा राख्छन् गृहमन्त्री जनार्दन शैली । मानौँ, गृहमन्त्रीले बन्दुक तेर्साउनासाथ 

जाम खुलिहाल्छ ।

आचार्यका विचारमा तत्काल सुधारका लागि निजी क्षेत्रले सहजै उभिन मिल्ने ठूला बस ल्याउनुको विकल्प छैन भने अर्कातिर कति बजेदेखि कतिबजेसम्म चल्छ ? कति कति मिनेटको फरकमा चल्छ आदि न्यूनतम जानकारी दिनैपर्छ । दीर्घकालीन रुपमा मेट्रो रेल चलाउन ढिलो गरे समस्या झन् जटिल हुन सक्छ । त्यसपछि रेल, बस र माइक्रोबसको एकीकृत सार्वजनिक यातायात प्रणालीले सार्वजनिक यातायात व्यवस्थित हुन सक्छ । गुणस्तरीय र भरपर्दो सार्वजनिक यातायात सेवा उपलब्ध रुट भए मात्रै मोटरसाइकल नियन्त्रण पनि सम्भव हुन सक्छ ।

काठमाडौँ महानगरपालिकासँगको समन्वयमा ‘सार्वजनिक स्मार्ट सिटी साइनबोर्ड’ राख्ने तयारीमा लागेका ट्राफिक प्रहरी महाशाखाका डीआईजी मिङमार लामा सार्वजनिक यातायात आधुनिक सहरी सभ्यताको परिचय भएकाले यसलाई व्यवस्थित बनाउन लागि परिरहेको सुनाउँछन् । “बेलाबखत यातायात व्यवस्था कार्यालय र ट्राफिक महाशाखाबाट समेत संयुक्त अनुगमन टोली बनाएर छड्के पनि भइरहेको हुन्छ,” उनी भन्छन्, “महाशाखाको नं १०३ र महानगरीय ट्राफिक प्रहरी परिसरको नं ११०३ मा आएका उजुरीका आधारमा कारबाही हुन्छ । उजुरी नआई त हामीले पनि कसरी कारबाही गर्ने ?” 

प्रकाशित: श्रावण ३, २०७४