‘चरा र वन्यजन्तुका लागि नेपाल उत्कृष्ट गन्तव्य’

  • नेपालका बाघमाथि किताब लेख्न किन आवश्यक ठान्नुभयो ?

- मनोज पौडेल

हेमसागर बराल चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । संरक्षण क्षेत्रमा तीन दशकदेखि क्रियाशील बराल चरा, वन्यजन्तु र जैविक विविधताका जानकार मानिन्छन् । नेपाल पन्छीविद् संघका अध्यक्षसमेत रहेका बराल संरक्षण क्षेत्रका अग्रणी संरक्षणकर्मी हुन् । नेपालका चराहरू र नेपालका स्तनधारी वनयजन्तुहरू लगायतका विषयमा दर्जन बढी महत्वपूर्ण पुस्तक लेखेका बरालले पछिल्लो समय नेपालका बाघसम्बन्धी पुस्तक लेख्दै छन् । विश्वकै सबैभन्दा पुरानो संरक्षणसम्बन्धी संस्था जुलोजिक सोसाइटी अफ लन्डन, नेपाल च्याप्टर प्रमुख बरालसँग चरा, वन्यजन्तु, पर्यापर्यटन र यसको संरक्षणका विषयमा गरिएको कुराकानी : 

चराचरुंगीका क्षेत्रमा कसरी लाग्नुभयो ?
चरा हेर्न वन–जंगल, आरक्ष र निकुञ्ज नै जानु पर्दैन । घर, आँगन र बगैँचामा पनि देख्न सकिन्छ । चरामा निकै विविधता पाइन्छ । आवाजमा पनि उस्तै विविधता छ । गीतारु चराको गीत र संगीतमा पनि उत्तिकै आकर्षण छ । त्यो सुन्दा निक्कै रमाउँछु । तीन दशकअघिसम्म चराचुरुंगीका क्षेत्रमा खासै अध्ययन अनुसन्धान भएको थिएन । यसैले उत्साहित भएर लागेको हुँ ।

चरा संरक्षण किन आवश्यक छ ?
पारिस्थितिकीय प्रणाली सन्तुलित राख्न आवश्यक छ । मानिस र चराचुरुंगीको पुरानो सम्बन्धलाई प्रगाढ बनाइराख्न पनि चरा जोगाउनुपरेको छ । धार्मिक, सांस्कृतिक आस्था र सम्बन्धसँग पनि चराचुरुंगीले सरोकार राख्ने हुँदा बचाउनुपरेको छ । 

प्रकृतिमा चराचुरुंगीको महत्व के छ ? 
बालीनालीलाई फाइदा पुर्‍याउँछ । बालीनालीलाई हानि गर्ने किरा–फट्यांग्रा खाएर उब्जनी बढाउन मद्दत गर्छ । कतिपयले रुखबिरुवा विस्तृतीकरणको काम पनि गर्छन् । परागसेचन पनि गर्छन् । कतिपयले समय र मौसमको पनि संकेत गर्छन् । ‘काफल पाक्यो’ भन्ने चराको आवाज सुन्नासाथ वसन्त ऋतु आगमनको संकेत थाहा हुन्छ ।  

पर्यटनमा चराचुरुंगीेको स्थान छ ?
नेपालमा चरा पर्यटनको सम्भावना छ । हालसम्म ८ सय ८६ प्रजातिको चरा नेपालमा पाइएको छ । दुई साता चरा हेर्न निस्कियो भने चार सयदेखि पाँच सयसम्म चरा सजिलै देखिन्छ । थोरै समयमा बढी चरा देखिने मुलुकमा नेपाल पर्छ । तर अन्य मुलुकमा बढी समय लाग्छ । तराई चराको यस्तो बासस्थान हो जहाँ साइबेरिया र उत्तर अमेरिकामा पाइने चरा पनि देखिन्छ । 

विदेशीका लागि नेपाली चराको आकर्षण के हो ?
वन, घाँसे मैदान, सिमसारमा आश्रित चरा हेर्न विदेशी यहाँ आउँछन् । मांसाहारी चरा पनि उत्तिकै आकर्षणमा पर्छ । विश्वमा नौ प्रजातिको गिद्ध नेपाल र भारतमा मात्र पाइन्छ । नेपालमा आयो भने सजिलै नौ प्रजातिका गिद्ध देख्न पाउने भएका कारण पनि यहाँ विदेशी आकर्षण बढेको हो । त्यस्तै कोही कोही हिमाल र पहाडमा देखिने आकर्षक र मनमोहक चरा हेर्न पनि आउँछन् । 

चरासँगै वन्यजन्तुको पनि आकर्षण छ, नेपालमा ?
प्रशस्त छ । प्रकृतिप्रेमीहरू चरापछि वन्यजन्तु हेर्नै नेपालमा बढी आउँछन् । सबैभन्दा बढी बाघ हेर्न नेपालमा विदेशी पर्यटक आउँछन् । त्यसपछि हिउँचितुवा, हाब्रे र गैँडा हेर्न आउँछन् । बाघका लागि नेपाल विश्वमै प्रसिद्ध छ । यहाँ बाघ सजिलै देख्न सकिन्छ । 

नेपालका बाघमाथि किताब लेख्न किन आवश्यक ठान्नुभयो ? 
बाघले वन–जंगलको पारिस्थितिकीय प्रणाली स्वस्थ बनाउँछ । वनको जीवनचक्र स्वस्थ र राम्ररी चल्छ । बाघ पाइने वन क्षेत्र हराभरा र पानीका मूलहरू स्वच्छ हुन्छ । पोसिलो आहारा पाइन्छ । वन्यजन्तु र चौपायामा रोग ब्याधी लाग्दैन । मानिसहरूले मूलको स्वच्छ पानी पिउन पाएर रोग ब्याधीबाट जोगिन्छन् । अध्ययन गर्दै जाँदा बाघ संरक्षण किन आवश्यक छ भन्ने बुझेपछि किताब लेख्ने प्रयास गरेको हुँ ।

नेपालका अहिले बाघको अवस्था के छ ?
नेपालमा पहिलो पटक सन् २००८ मा बाघगणना हुँदा १२५ थियो, संख्या । सन् ०१३ मा गणना हुँदा १९८ पुगेको थियो । संरक्षणको प्रयास राम्रो भएपछि बाघ बढ्दै गएका छन् । बासस्थान, खानपान, स्याहारमा राम्रो सुधार र चोरीसिकारी नियन्त्रण भएकाले संख्या ह्वात्तै बढेको हो । 

विदेशमा समेत नेपालको बाघ संरक्षणको प्रशंसा के कारणले हो ? 
छोटो समयमै नेपालले बाघको संख्या दोब्बर बनायो । सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा विभिन्न मुलुकको सहभागितामा भएको बाघसम्बन्धी बैठकमा खुलेर सबैले नेपालको प्रशंसा गरे । नेपालबाटै धेरै कुरा सिक्नुपर्ने सहभागीले बैठकमै भने । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा सेनाले सुरक्षा दिने नेपाल मात्र हो । संसारको कुनै पनि मुलुकमा दिँदैनन् । 

 

प्रकाशित: श्रावण २, २०७४