सन्त नेताको महाप्रस्थान

  • पछिल्लो समय कांग्रेसको कुरा गर्दा उनको आँखामा पानी भरिन्थ्यो । आफ्नो रोगभन्दा पनि कांग्रेसमा लागेको रोगबारे चिन्तित थिए जोशी ।

- कमल ढकाल

“सोझो हुनु भनेको बेबकुफ हुनु हो, जसले पनि ठग्छन् मात्रै ।” पाँच वर्षअघि काँडाघारीस्थित डेरामा भेट्दा रामहरि जोशीको आवाज ज्यादै मलिन थियो । माओवादी दबदबाको त्यो समय सिंगो जीवन नेपाली कांग्रेसमा बिताएका निष्ठावान् नेता जोशी साँच्चै निराश देखिन्थे । यसो गर्न सकिन्छ कि, उसो गर्न सकिन्छ कि भन्ने लागिरहन्थ्यो उनलाई । तर, पार्टी नेतृत्व असल र सादगी आदि फोस्रो प्रशंसाबाहेक उनका कुरा सुन्न तयार थिएन ।

म संलग्न भएर ०७१ मा उनको किताब निक्लियो, अँध्यारोबाट उज्यालोतिर । उनले तत्कालीन राष्ट्रपति रामवरण यादवको हातबाट विमोचन गराउन खोजे । यादवले हातैमा ढोगिदिए र मैथिलीमा भने, ‘ तपाईंले ००७ को क्रान्तिमा पर्चा छर्दा हामी जन्मेका थियौँ । तपाईंको पुस्तक विमोचन किन नगर्ने ? यो त मेरो अहोभाग्य हो ।’ यो आखिर कुराकानीमै सीमित बन्यो । राष्ट्रपति कार्यालयभित्रको कर्मचारीतन्त्रले भोलि भोलि भनेर उनलाई झुलायो । प्रजातन्त्र दिवसमा कांग्रेस मुख्यालयमा उनको किताब विमोचन भयो । त्यो पनि छुुस्स । तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाले ‘प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रममा यस्सो किताब देखाइदिए मात्रै । जोशी भन्थे, ‘यहाँ यस्तै हो । सबै पैसाकै पछाडि दौडिएका छन् । मेरो किताबका लागि समय दिने फुर्सद कसलाई छ र !’

‘मधेसलाई उपेक्षा नै गरिरहनुुपर्छ भन्नेमा राज्य पुगेपछि अधिकारका लागि आन्दोलन त चल्ने नै भयो,’ उनी यसै भन्थे । राज्यको उपेक्षाका कारण मधेस आन्दोलनको झिल्को अझै बाँकी रहेको बुझाइ थियो उनमा । जिन्दगीभर मधेसका लागि लडेका जोशीकै घर मधेस आन्दोलनमा जलाइयो । जोशी भने त्यही आन्दोलनमा घाइते भएर आएकालाई खानेकुरा र ओढ्ने–ओछयाउने कसरी उपलब्ध गराउन सकिन्छ भनेर भौँतारिइरहेका थिए । विडम्बना के भने, घर जलेको विवरणसहितको फाइल आफ्नै पार्टी नेता रहेका गृहमन्त्री कृष्ण सिटौलाको हातैमा लगेर दिँदा पनि उनले क्षतिपूर्ति पाएनन् ।  

प्रजातन्त्रका लागि लड्दालड्दै ०४६ मा उनी ६४ वर्ष भइसकेका थिए । त्यसपछि बिहे किन गर्नु भन्ने लागिरह्यो उनलाई । प्रेम, यौन र विवाहबारे प्रतीकात्मक रूपमा लेखिएको ‘कन्फेसन’ नामक पाण्डुलिपि मलाई दिएका छन् । यो किताब गगन थापाबाट विमोचन गराउने योजना थियो उनको । जोशीका भतिजा विष्णुु र बुहारीले आफ्नै छोराभन्दा बढी स्याहारेका थिए । नाति अनुप उनका सारथि थिए । 

पटकपटक डेरा सरिरहे पनि कांग्रेसप्रतिको उनको आस्था कहिल्यै सरेन । उनका कुरा अहिलेका कांग्रेस कार्यकर्तालाई सपनाजस्ता लाग्छन् । उनी भनिरहन्थे ‘अहिले कांग्रेसमा जुुझारुपन नै भएन । पैसा र पावरको प्यादा मात्र बने ।’ सादा जीवन उच्च विचार जीवनदर्शन थियो, उनको । २००४ मै कोलकातामा डीके शाहीको डेरामा उनको भेट हुन्थ्यो, गणेशमान सिंह र बीपी कोइरालासँग । गणेशमान र बीपीसमेत आफूले खाएको भाँडा आफैँ माझ्थे । नेताहरू पनि आदर्शवान् थिए । कार्यकर्ताहरू तिनका आदर्श आचरण पछ्याउनुमा गर्व गर्थे । उनको बुझाइमा त्यो संस्कार माथिबाटै हरायो ।

पछिल्लो समय कांग्रेसको कुरा गर्दा उनको आँखामा पानी भरिन्थ्यो । आफ्नो रोगभन्दा पनि कांग्रेसमा लागेको रोगबारे चिन्तित थिए जोशी । पार्टीमा आदर्श, मूल्य र मान्यतामा खडेरी पर्दै गएकाले उनी गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उठे तर तेस्रो भए । उनी भन्थे, ‘कांग्रेसमा पुराना नेता हराए । पुराना परम्परा पनि हराए । कोही नेता गाउँमा बस्दैन । ठाँटसाथ नेता पुग्छ, भाषण गर्छ, हिँडिहाल्छ । जनताको पीरमर्का केही नबुझीकन यसरी कांग्रेस कसरी चल्छ ?’

विसं १९८२ मा जन्मेका जोशी सर्लाहीको शिक्षा र राजनीतिमा खटिएका थिए । उनलाई सर्लाहीले ०४८ र ०५१ मा सांसद बनायो । दुुईपल्ट मन्त्री पनि बनायो । पद र पावरभन्दा बाहिर बस्न रुचाएरै होला, उनले चुनाव लड्नै छाडिदिन्छुु अर्काेलाई टिकट दिनूस् भन्न थाले । 

यति हुँदाहुँदै पनि निष्ठामा कहिल्यै विचलित भएनन्, जोशी । गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा मन्त्री भएकै बखत काठमाडौँ–१ मा उपचुुनाव भयो । पार्टी सभापति कृष्णप्रसाद भट्टराई चुनाव लडे । उनले जोशीलाई भनेछन्, ‘रामहरिजी तपाईं भाषण गर्न आइदिनुुपर्‍यो ।’ उनले भट्टराईलाई भनेछन्, ‘तपाईंको प्रचारसभामा आउन चाहन्छुु तर सभामा हाम्रा सहयोगीबाटै मञ्चमै गिरिजाप्रसाद कोइरालाको आलोचना भएको छ । एक मन्त्रीको नाताले मैले प्रधानमन्त्रीको आलोचनाको खण्डन गर्नुपर्छ । कि मन्चमै बस्न मिल्दैन कि राजीनामा गरेर आउनुुपर्छ । के गरौँ ? ल भन्नूस् ।’ त्यसपछि भट्टराई बोल्दै बोलेनन् ।

एक साहित्यिक कार्यक्रममा भारतीय राजदूतावासका कर्मचारी अभयकुमारले जोशीको गोडामै ढोगेको देखेर म छक्क परेको थिएँ । कोलकाता पढ्दा आन्दोलनमा लागेको भनेर सम्मान गरेका रहेछन् उनले । 

कसैले सम्मान गरोस् वा आलोचना, उनलाई नछुने भइसकेको थियो । खानपान, पहिरन अनि भौतिक कुरामा मोह नभएपछि उनलाई पैसाको त्यति परवाह भएन । कोरियालीहरू आएर २५ हजार रुपियाँ दिएको कुरा उनी पटकपटक सम्झिरहन्थे, ‘हेर्नुस् त, त्यत्रो पैसा दिएर गए ।’ महँगीले मारेको यो समयमा उनलाई २५ हजार पनि ठूलो रकम लाग्दो रहेछ । 

‘जय नेपाल’ सादगी, इमानदार र निष्ठावान् रामहरि जोशीलाई ! 

प्रकाशित: श्रावण २, २०७४