[टिस्टुङ देउराली] लम्पट नक्कल होइन रैथानेपन

  • विश्वभरमा एकै किसिमको विचार र शिक्षा प्रणालीको पकडले, अझै उपनिवेशीकरणले गर्दा हाम्रोजस्तो देशमा एउटा दास–मानसिकताले जरा गाडेको छ ।

- विवेक पौडेल

क्यामेराको निगरानी नरहेको भए बीबीसी साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चोटिलो प्रश्न सोध्ने युवक सायद ‘पार्टीका मानिस’बाट दर्शकदीर्घामै कुटेर ‘तह लगाइने’ थिए । केही वर्षअघि चुनावी भेलामा हालका एमाले महासचिव ईश्वर पोखरेललाई प्रश्न सोध्ने युवकको हबिगत त्यसको दृष्टान्त हो । माओवादी र मधेसवादी नेताहरू त झन् आमनागरिकको प्राण र दानापानीसमेत तिनको दयाले गर्दा सम्भव भएको ठान्छन् । नेताजीहरू नै यस्ता छन् भने तिनका चम्चा झन् के कम ? यसपालि पनि कार्यक्रम सकिन नपाउँदै तिनले ‘तह लगाउने’ अभियान सुरु गरिहाले ।

जनताको भोगाइ र भावना एकातिर छ, जसलाई एउटा प्रतिनिधि प्रश्नले मुखरित मात्रै गरेको हो । तर नेताजी नजिकका मानिसहरू भने ‘ए, हामीलाई प्रश्न सोध्ने हिम्मत गर्ने, इज्जत नगर्ने ?’ भन्ने रूपमा प्रस्तुत भए । प्रश्नको अर्थ मोड्नेदेखि विदेशी शिक्षाको गुणस्तर र त्यो टीभी कार्यक्रमबारेका असामयिक प्रसंग उठाएर ‘तह लगाउने’ कोसिस अघि बढिहाल्यो । यस्तो गर्नेहरू लठैत कार्यकर्ता मात्रै हुँदैनन्, थुप्रै व्यापारी, सम्मानित व्यवसायी, प्रशासक, स्वतन्त्र भनेर चिनिन चाहने बुद्धिजीवी, लेखक र पत्रकारबाहेक नेताजीबाट खासै केही नपाउने मतदाताकै समूह पनि तिनको साथ रहने गर्छ । यसरी जनताका तर्फबाट बोलिदिनुपर्ने हाम्रा अगुवा नै नेताहरूको अहं पोषण गरेर तिनलाई झन् अनुत्तरदायी बनाउने काममा लागेको फेरि पनि प्रमाणित भयो । वरपरकाहरूबाट यो सबै सुनेर आफ्नो अपरिहार्यतामा झन् आश्वस्त भएका नेताजीहरूलाई पनि आफैँमा गर्व लाग्दो हो । 

अमिल्दो तुलना 

‘राजनीतिमा चासो नदिने, कस्तो नीति बन्दै छ भनेर वास्ता नगर्ने, तर राजनीतिलाई गाली गर्ने बानी ठीक होइन । आफू मतदान नगर्ने अनि दोष चाहिँ राजनीतिलाई दिने ? त्यसो भए तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै नेता पाउनुहुन्छ,’  अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो देशको राजनीतिक बेथिति देखाउँदै केही अघि यस्तो भाषण गरेका थिए । हुन पनि ‘नेता जनताभन्दा गतिलो हुँदैन’ गएको शताब्दीमा धेरैपटक दोहोर्‍याइएको प्रसंग हो । बाराक ओबामाको भाषणपछि हिजोआज नेपाली टेलिभिजिनका बासी टक–सो प्रस्तोतादेखि  छापा, अनलाइन पत्रिका र सामाजिक सञ्जालका विद्वान्हरू पनि यसलाई फेरि उद्धृत गर्दैछन् ।  

हो, नेपाली जनताका रूपमा हाम्रा धेरै कमी–कमजोरी छन् । हाम्रो सामूहिक नैतिकता र जागरण पतनोन्मुख छ । धेरै कुरामा हाम्रो आचरण भ्रष्ट र अवसरवादी पनि होला । हाम्रो राजनीतिक चेतना र छनोटले हामीलाई नै दु:ख दिइरहेको पनि छ । हाम्रा कतिपय परम्परा पछौटे र सुधार नगरी नहुने पनि छन् । दिशाहीन बनाइएकाले धेरै कुरामा हामी आफ्ना राम्रा गुण त्याग्दै खराबी अँगाल्दै गइरहेका छौँ । तर बाराक ओबामाको देशमा मतदान गर्नुको साटो इन्टरनेटमा खेलेर बस्ने युवाको बाहुल्य छ । तुलना गर्दा हाम्रो देश भने घाम, झरी, काम केही नभनी नाम मात्रको लोकतन्त्रका निम्ति पनि उर्लेर मत हाल्ने, चासो राख्नेहरूले भरिएको छ । बडेबडे शक्तिका खेल र भँडुवा बुद्धिजीवी नेतृत्वसँग यसरी एक्लै जुधिरहेका छन, नेपाली जनता । यस्तोमा अमेरिकासँग तुलना गरेको मिल्छ ?

एउटा घोषणाको भरमा एकैदिनमा काठमाडौँ सम्भवत दक्षिण एसियाकै पहिलो हर्नमुक्त सहर बन्न सक्यो । यस्तो व्यापक सामूहिक सहकार्यका लागि प्रेरित गराउन विकसित र शिक्षित भनिएका देशका निम्ति मुस्किल हुन्छ । जबकि प्रचलित सिद्धान्त भन्छ, ती देशजस्तो उन्नत र एकैनासको सामाजिक बनोटमा त्यस्तो सहकार्य सहज हुन्छ, विविधता भएको र पछि परेको देशमा हुँदैन । अनि नेपालीलाई यहाँका नेता वा अरू देशका जनतासँग तुलना गरेको कसरी मिल्छ ?

राज्यविहीनताको स्थितिमा पनि नेपालमा सामुदायिक वन, कुलो, खेती, बीउ, जलसम्पदा, सामुदायिक सहिष्णुता लगायत देशैभरि सामूहिक सहकार्यका सफल उदाहरण छन् । हजारौँ वर्षको मौलिक अनुभवले अर्जित यही गुण ‘नेपालीपन’ हो, जसका कारण हामी यति जटिल भूराजनीतिबीच पनि अथाह सम्भावना बोकेर जीवितै छौँ । अहिले पनि सीमाबाट केही किलोमिटर पारि धर्मको नाममा क्रुर घटना भइरहँदा नेपालपट्टि चुनावी नतिजाले सामुदायिक र धार्मिक भाइचारा जीवितै रहेको सन्देश दिएको छ, वर्षौंदेखि त्यसलाई भत्काउने संगठित प्रयास हुँदा पनि । यसबारे राम्ररी अध्ययन गरेर सैद्धान्तीकरण गर्ने काम बाँकी रहुन्जेल नेपालबाट विश्वले सिक्ने अवसर गुमाइरहनेछ । नेपाल आफैँले चाहिँ तिनको संरक्षण र विकास गर्नुको साटो भत्काइरहेको छ, अरूको उपदेश र सिकोमा ।  

नेपालजस्तो सांस्कृतिक, आर्थिक, शैक्षिक र अरू धेरै सन्दर्भले विविधतायुक्त देश विश्वमा धेरै कम छन् । न नेपाल लामो लोकतान्त्रिक अभ्यास वा उच्च शैक्षिक र आर्थिक स्तर भएको देश नै हो । न त हामीसँग कसैको पनि स्मृतिमा विश्वास गर्न लायकको राज्य प्रणालीको अनुभव नै छ । सय वर्षभन्दा बढी चलेको यस्तो बेथितिबीच पनि यो देश र यहाँको समाज अझै कसरी यति जीवन्त र आशावादी छ ? अनि सतही तर्क बोकेर अन्यत्रका थोत्रा उदाहरण दिँदैमा र उद्धरण उग्रँदैमा यहाँको समाजको व्याख्या गरेको ठहर्छ ? कसैले कुनै विश्वविख्यात सिद्धान्त वा वादको आधारमा योजना बनाएर हाम्रो समाज यस्तो भएको होइन । तैपनि नेपाली समाजले यहाँसम्म आइपुग्दा आजपर्यन्त कत्राकत्रा शक्तिका खेल र आफ्नै सीमाभित्रका हिंसा, षड्यन्त्रजस्ता अनेक प्रहार पचाएको छ, भलै त्यसको निम्ति ठूलो मूल्य चुकाउनु पनि परिरहेको छ ।

समस्याको जरो

समस्या हामीकहाँ राम्रा विश्वविद्यालयमा पढेका वा तालिम लिएका मानिसको कमी हुनु होइन । त्यस्ता मानिस हाम्रो कर्मचारीतन्त्र, राजनीतिदेखि बौद्धिक जगत्मा पनि राम्रै संख्यामा छन् । बरू त्यस किसिमका योग्यताबाहेक अरू गुण खासै नभएका मानिसको बोलवाला हुनुचाहिँ हाम्रो समस्याको एउटा कारण हुनसक्छ । कसरी त ?

एसियाली मूलका अमेरिकी प्राध्यापक डिसी काङको कुरा एकछिन मनन गरौँ । उनी इतिहासका एक कहलिएका प्राध्यापक हुन् र उनको विशेषज्ञता आफ्नै पुर्खाको देशको इतिहास हो । विश्वका नामी विश्वविद्यालयहरूमा पढ्दा उनले अमेरिकी गृहयुद्ध, स्पेनिस उपनिवेशीकरण, नेपोलियनको उदय, बेलायत र डच इस्ट इन्डिया कम्पनीका उपलब्धि, राज्य–विकासबारे युरोपेली अनुभव र पश्चिममै भएका दार्शर्िनक आन्दोलनबारे प्रशस्त शिक्षा पाएका रहेछन् । तर आफ्नै विशेषज्ञता र पुर्खाको देशका ठूला–ठूला घटनाबारे भने पढाइ सकिँदासम्म पनि निकै कम जानकारी पाएको उनको अनुभव छ । जति थाहा पाए, त्यो पनि सबै पश्चिमा आँखाकै, सीमित हेराइ र अनुभवका आधारमा । पछि किताब लेख्न थप अनुसन्धान गर्दा मात्रै उनले अचम्मलाग्दा नयाँनयाँ कुरा थाहा पाउन थाले ।

हाम्रै कुरा गर्दा धेरै क्षेत्रका विज्ञहरूलाई आफूले पढेको कुनै विदेशी देश वा विश्वविद्यालयको विचार प्रणाली राम्ररी थाहा हुनसक्छ । तर हाम्रा समस्याको मौलिक समाधानमा तिनको क्षमता भने निम्छरो देखिएको छ । युरोपेली मोडेलको धर्मनिरपेक्षता, राष्ट्रविकास, संघीयता, पुँजीवाद, समाजवाद, प्रतिस्पर्धा, व्यक्तिगत स्वतन्त्रताजस्ता विषयमा तयारी विचार ओकल्ने मानिसहरू असंख्य एनजीओ, आईएनजीओ, अनुसन्धान र सरकारी अड्डामा खचाखच छन् । तर सयौँ वर्षअघि नै गुठी वा रोधीजस्ता परम्पराले कसरी सामुदायिक सहकार्य र सहअस्तित्व विकास गर्‍यो भन्नेबारे हामीलाई निकै कम थाहा छ । भक्तपुरको जुजु धौ किन यति मीठो छ भनेर खोज्ने हो भने त्यसबारे निकै कम जानकारी पाइन्छ । दसौँ शताब्दीमा जुम्ला कसरी त्यति समृद्ध थियो वा काठमाडौँको खेतीप्रणाली र समाजमा त्यस्तो के थियो, जसले यहाँको उत्पादकत्व निकै माथि पुर्‍याएको थियो ? यस्ता प्रश्नको उत्तर दिनसक्ने विज्ञहरू भेट्टाउन गाह्रो छ ।

रानीपोखरीको मर्मत वर्षौंसम्म सुरु हुन सकेको छैन । पहिलेका मर्मत नै राम्ररी नगरेकाले त्यसको पानी जम्मा गर्ने क्षमता पनि नष्ट भएको ठानिएको छ । रानीपोखरी आकाश वा पाइपबाट जम्मा पारेको पानीको दह मात्रै होइन । हजार वर्षभन्दा पहिलेदेखि काठमाडौँ वरपरका डाँडाबाट राजकुलो, जमिनमुनिका प्राकृतिक पानी–भण्डार, ढुंगेधारा सञ्जाल र पोखरी यसका जीवनधारा थिए । नयाँ इँटा थप्दैमा, ट्यांकरबाट पानी खन्याउँदैमा वा रंगरोगन गर्दैमा रानीपोखरी पुन:निर्माण हुँदैन । बरू, उपत्यकाका अरू पोखरी, चौर, पाटीपौवा, हिटी, सत्तल र परम्परा जसरी नै यो अझै मासिन सक्ने खतरा छ ।

माथि भनिएजस्तो विश्वभरमा एकै किसिमको विचार र शिक्षा प्रणालीको पकडले, अझै उपनिवेशीकरणले गर्दा हाम्रोजस्तो देशमा एउटा दास–मानसिकताले जरा गाडेको छ । अनुहारले स्वदेशी तर आत्माले सधैँ विदेशी बनिरहन खोज्ने चाहनाले अन्तत: यता न उताका शिक्षितहरूको यस्तो भीड जम्मा भएको छ, जसलाई न आफ्नोबारे राम्ररी थाहा छ, न अरूबारे । यस्तै नेपाली अनुहार भएका मानिसको भीड हाम्रो निर्णायक स्थान ओगटेर बसेको छ ।

विवेक गुमाएको नेतृत्व

शिक्षाको असली उद्देश्य मानिसलाई विवेकी बनाउनु हो । कुनै एक किसिमका देश, समाज वा सन्दर्भकाबारे भरिपूर्णज्ञान बोकेर अथवा कुनै धारका विद्वान्, विचारपद्धति वा विश्वविद्यालयबारे मात्र प्रशस्त जानकारी राखेर कोही शिक्षित कहलिन त सक्ला, तर विवेकी भने हुन सक्दैन । त्यसको निम्ति समय, सन्दर्भ र समाज हेरेर ठीक–बेठीक छुट्याउन सक्नेगरी ज्ञान प्रयोग गर्नसक्ने क्षमता चाहिन्छ । आवश्यक परे आफैँले सिकेका कुरा विपरीत नयाँ ज्ञान सिर्जना गर्न सक्नु वा पुराना ज्ञानको उत्खनन पनि गर्न सक्नुपर्छ ।

एक्लो बृहस्पति भएरै पनि आफ्नो समाज र प्रकृतिको हितमा निरन्तर ब्रह्मले देखाएको बाटोमा तल्लीन रहने गुण कुनै डिग्री र विश्वविद्यालले मात्रै दिन सक्दैन । तर इतिहासका प्राय: सबै राम्रा, सुखदायी र अनपेक्षित उपलब्धि यस्तै निष्ठाको बलमा उभिन सक्नेहरूका पहलबाट नै सम्भव भएका छन् । महात्मा गान्धी, गोविन्द केसी वा नेपालकै अन्य स्मरणीय ऐतिहासिक व्यक्तिहरू विश्वविद्यालय शिक्षाको आधारमा त्यस्ता बनेका होइनन्, आफ्नो विवेकको आधारमा भएका हुन् ।

अहिले हामी विवेकशून्यहरूको नेतृत्वबाट शासित हुन अभिशप्त छौँ । यो समस्या राजनीतिको मात्रै होइन । राजनीतिलाई सहयोग गर्ने प्रशासनसंयन्त्र, देशको दिशानिर्देश गर्नुपर्ने बौद्धिक समुदाय र समाजका अन्य अगुवाको मूल चरित्र पनि यस्तै छ । एउटा स्वाभिमानी देशको प्रतिनिधिका रूपमा होइन, बरू एउटा गाडी, एउटा ओहोदा, एउटा छात्रवृत्ति वा विदेशी नियोगले प्रदान गर्ने एउटा विदेश भ्रमणजस्ता सुविधाको लोभमा डुबेर जे गर्न पनि पछि नपर्नेहरू हाम्रो समाज हाँक्ने स्थानमा बसेका छन् । 

हाम्रा नीति निर्माण र राष्ट्रिय बहसका मुद्दामा विदेशी दातृसंस्था, नियोगहरू र तिनको पक्षपोषण गर्नेहरूकै हालिमुहाली छ । ती हाम्रो विकास गरिदिने असल नियतसाथ मात्र उपस्थित छन् भन्ने कुरा हामीले प्रश्नै नगरी पत्याउने भइसकेका छौँ । किनभने, प्रश्न उठाउनेबित्तिकै तिनबाट लाभान्वित बौद्धिक नेतृत्व प्रतिरक्षामा जुर्मुराइहाल्छ । हुन पनि हो, हामीले सानोमा लगाएका खोपदेखि यात्रा गर्ने बाटो र दूरसञ्चार प्रविधि सबै विदेशी सहयोगमै आएका होलान् । तर यस्ता कारण देखाएर अन्ध विदेशी सिको होइन, मौलिक नेपालीपन जगेर्ना गरौँ भन्ने आवाजको खिल्ली उडाइनु आत्मघाती हो । विश्वको कुनै एउटा पनि देश वैदेशिक सहयोग र यस्तो लम्पट पराधीन मानसिकता बोकेर अघि बढेको उदाहरण छ ?

संवैधानिक निकायका पदाधिकारीहरू, अदालत, प्रहरी, प्रशासन, वैदेशिक नीतिनिर्माण, राजनीतिदेखि बौद्धिक क्षेत्रसमेत विदेशी नियोगका आँखामा राम्रो देखिन हरसम्भव प्रयास गरिरहेका देखिन्छन् । खासमा यो रोग क्यान्सर जसरी फैलिएर हाम्रो सम्पूर्ण राज्यतन्त्र नै खोक्रो र अक्षम बनाएको छ । नभए, ठूला समस्याका कुरै नगरौँ, राजधानीकै बाटोको बेहाल भएर युवाहरूको मनमा आफ्नै राज्यप्रति यति वितृष्णा जाग्दा पनि किन कसैलाई छुँदैन ?

एउटा पत्रिकाको स्तम्भमा यो रोगका लक्षण र केही सम्भावित निदानसम्म छलफल गर्न सकिन्छ । तर हाम्रो राजनीति र सम्पूर्ण समाजकै जाँच–पडतालपश्चात् तात्विक सुधार ल्याउन धेरै ठूलो सामूहिक प्रयास र नेतृत्वको दृढ इच्छाशक्तिबिना सकिँदैन । यसको सुरुआत कसले र कसरी गर्ने ? 

प्रकाशित: श्रावण २, २०७४