परिवारभरि क्यान्सर

  • प्रारम्भिक चरणमै पहिचान हुँदा उपचार सम्भव भए पनि रोग लुकाउने प्रवृत्तिले बढी क्षति

- माधव बस्नेत

भक्तपुर क्यान्सर अस्पतालका पूर्वनिर्देशक तथा क्यान्सर विशेषज्ञ डा राजेन्द्र बराल स्वास्थ्य क्षेत्रमा परिचित नाम हो । नेपाल अर्बुद रोग निवारण संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका बरालले अहिले पनि भक्तपुरबाहेक चाबहिलस्थित ओम र बल्खुको वयोधा अस्पतालमा क्यान्सर रोगकै उपचार गरिरहेका छन् । ०४० सालमा उनकी आमाले आफू क्यान्सरले बित्नुअघि छोरो यो रोगको डाक्टर बनोस् भन्ने अन्तिम इच्छा व्यक्त गरेकी रहिछन् । र, बराल क्यान्सरकै विशेषज्ञ चिकित्सक बने ।

विडम्बना ! उनै क्यान्सर विशेषज्ञ डा बरालको परिवार–सञ्जालभित्र अहिले ५२ जनालाई क्यान्सर छ । “मेरो परिवारमा बुबा, काका, काकी, दाजु, भाइ, दिदी, बहिनीलगायत ५२ जनालाई क्यान्सर भइसक्यो,” डा बराल भन्छन्, “पाँच महिना अघिसम्म ४९ जनालाई थियो । अहिले तीन जना थपिनुभयो ।”

क्यान्सर उपचार र सचेतना अभियानका क्षेत्रमा डा बरालजस्तै व्यवसायी/लेखक कर्ण शाक्य पनि चिनाइरहनुपर्ने नाम होइन । प्रतिष्ठित उद्यमी परिवारका ज्येष्ठ सदस्य शाक्य पाचन प्रणालीको क्यान्सरविरुद्ध संघर्ष गरिरहेका छन् । र, उनको परिवारमा उनी एक्लैलाई यो रोगले गाँजेको होइन । शाक्यकी श्रीमती स्तन क्यान्सरले बितिन् । तिनैपट्टिकी कान्छी छोरीको पनि क्यान्सरकै कारण निधन भयो । प्रियजन क्यान्सरका कारण गुमाइसकेपछि शाक्यले यस्तो विपत् अरुले बेहोर्नु नपरोस् भनेर भरतपुर, चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पताल स्थापनाको पहल थालेका थिए ।

बराल र शाक्य परिवारलाई जस्तै वंशाणुगत कारणले लाग्ने क्यान्सर रोगले धेरैलाई सताएको छ । र, यो संख्या दिनानुदिन बढ्दो क्रममा छ । एउटा अर्को उदाहरण हेरौँ । हरिसिद्धी, ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा भैँसेपाटी, ललितपुरकी प्रतिमा लिम्बू, (नाम परिवर्तन) ५०, ठूलो आन्द्रामा देखिएको क्यान्सरको उपचार गराइरहेकी छन् । उनको परिवारभित्र १० जनालाई यो क्यान्सरले सताइसकेको छ, जसमध्ये तीनजनाको निधन नै भइसकेको छ भने सातजनाले यो रोगविरुद्ध संघर्ष गरिरहेका छन् । उनीहरू २० देखि ५३ वर्षसम्मका छन् । लिम्बूको उपचारमा संलग्न एक चिकित्सकका शब्दमा उनका बाबु, बाजे अन्य केही आफन्तको समेत मृत्युको लक्षण बुझ्दा उनलाई लागेजस्तै क्यान्सर धेरै पुस्ताले बेहोरिसकेका छन् । चिकित्सकहरूको अध्ययनले उनीहरूको परिवारमा पाँच पुस्तादेखि यो क्यान्सर थियो भन्ने देखाउँछ । एउटै परिवारमा धेरै जनालाई क्यान्सर हुनेहरू ठूलो संख्यामा यस अस्पतालमा उपचार गराउन आइरहेका छन् ।

एउटै परिवारका धेरै सदस्यलाई क्यान्सर रोगले सताएको पाइए पनि बहुसंख्यक पीडितले त्यसलाई गोप्य नै राख्न चाहेकाले उनीहरूको विवरण सार्वजनिक गर्न नसक्ने अस्पतालका अध्यक्षसमेत रहेका क्यान्सर विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठ बताउँछन् । “एउटै परिवारमा क्यान्सर हुनेको संख्या ठूलो छ,” उनी भन्छन्, “हाम्रै अस्पतालमा पनि ठूलो संख्यामा त्यस्ता रोगी आएका छन् । कुलमा यस्तो संख्या एक सय परिवार नाघ्छ होला ।” त्यस्ता परिवारमध्ये कम्तीमा दुई जनादेखि १३ जनासम्मलाई क्यान्सर देखिएको डा श्रेष्ठको भनाइ छ ।

हालै पाल्पाकी एक महिला वीर अस्पतालमा स्तन क्यान्सरको किमोथेरापी गराउन आएकी थिइन् । उनको परिवारभित्र चार जनालाई यो रोगले गाँजिसकेको छ । वीर अस्पतालमा कार्यरत क्यान्सर विशेषज्ञ डाक्टर आरती साहका भनाइमा अहिलेसम्म एउटै परिवारमा क्यान्सर भएका व्यक्तिहरू कति छन् भनेर अभिलेख राखिएको छैन । तर, उपचार गर्न आउनेहरूको संख्या सोचेभन्दा धेरै छ । अभिलेख राख्नका लागि अस्पतालमा भर्खरै ‘जेनेटिक्स युनिट’ स्थापना गरिएको छ । “परिवारभित्र वंशाणुगत रोगका बिरामी कति छन् भन्ने लगत राख्नकै लागि जेनेटिक्स युनिट स्थापना गरिएको हो,” डा साह भन्छिन्, “अब पहिचान गरेर विवरण राख्न सुरु गरिन्छ ।”

स्वास्थ्य क्षेत्रमा निकै प्रचलित भनाइ छ, ‘क्यान्सर नलाग्न मानिस जन्मनु हुँदैन ।’ यसको अर्थ हो, मानिसलाई जुनसुकै बेला, जेसुकै कारणले क्यान्सर लाग्न सक्छ । सम्पन्न–विपन्न, शिक्षित–अशिक्षित केही नभनी वंशाणुगत रुपमा हुने क्यान्सर रोग फैलँदो छ । नेपाल सरकारका पूर्वप्रशासक तेजबहादुर प्रसाईका तीनवटी छोरी चिकित्सा क्षेत्रमा र कान्छी छोरी नेपाल वायु सेवा निगममा कार्यरत थिए । ती चारवटै छोरीलाई स्तन क्यान्सर भयो । जेठी छोरी अनुजा (स्त्री रोग विशेषज्ञ), अर्की छोरी एलिजा (बाल विशेषज्ञ) र कान्छी तनुजा क्यान्सरसँग लड्दालड्दै बिते । परिवारलाई नै क्यान्सरले सताएको पीडा प्रसाईले आफ्नो आत्मकथा फर्केर हेर्दा को पृष्ठ २१६ मा मर्मस्पर्शी ढंगले उल्लेख गरेका छन् । 

डिल्लीबजारको एक परिवारमा सात जनालाई क्यान्सरले गाँजेको छ । यसरी सिंगो परिवार, नातागोता, आफन्तलाई नै क्यान्सर रोग लाग्नेहरूको संख्या ठूलो भए पनि समाजले हेयको दृष्टिले हेर्छन् भनेर उनीहरूले आफ्नो परिवारमा लागेको रोग लुकाएर राखेको डा बराल बताउँछन् । भन्छन्, “क्यान्सर सुरुमै उपचार गरे निको हुने रोग हो । यो रोग लाग्नु कुनै पाप होइन भन्ने बुझेका एकाध हिम्मतिला परिवारले मात्र सार्वजनिक गरी अरुलाई सचेत रहन सन्देश दिएका छन् ।”

कति छन् क्यान्सरपीडित ?
वंशाणुगत होस् वा अन्य कारणले नेपालमा क्यान्सर बढ्दो रुपमा देखिएको भनिए पनि यसका रोगीहरू कति छन् ? सरकारी/गैरसरकारी क्षेत्रमा कार्यरत कसैसँग पनि यकिन तथ्यांक छैन । जनसंख्याका आधारमा कतिलाई क्यान्सर लागेको छ भन्ने अभिलेख कहीँकतै पाइँदैन । अस्पतालहरूले उपचारमा आएर पहिचान भएकाहरूको लगत मात्र राख्ने गरेको भनाइ छ, स्वास्थ्यकर्मीहरूको । यसको पनि एकीकृत आँकडा पाउन मुस्किल छ । वार्षिक रुपमा १२ देखि १५ हजार क्यान्सरका नयाँ रोगी थपिइरहेको विशेषज्ञहरूको अनुमान छ ।

विशेषज्ञहरूका अनुसार, ३५ देखि ४० प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थको सेवनका कारण हुन्छ । ३५ देखि ४० प्रतिशत क्यान्सर खानपान एवं जीवनशैलीले नै निम्त्याँउछ । वीर अस्पतालका क्यान्सर विशेषज्ञ चिकित्सक सन्ध्या चापागाईंका भनाइमा यी दुईबाहेक १० प्रतिशत क्यान्सर वंशाणुगत कारणले लाग्छ भने ५ प्रतिशत रक्सी सेवन र अर्को ५ प्रतिशत भाइरसका कारणबाट । 

नेपालमा एक नम्बरमा देखापरेको क्यान्सर फोक्सोको हो । महिला–पुरुष दुवैमा फोक्सोको क्यान्सर पहिलो स्थानमा छ । फोक्सोपछि पेट, पित्त थैली, मुख, घाँटी, लामो आन्द्रामा धेरै मात्रामा क्यान्सर देखिएको छ । महिलाका हकमा सबभन्दा बढी पाठेघरको मुख र यसपछि स्तनमा देखापरिरहेको 
डा चापागाईं बताउँछिन् ।

क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सके धेरै खर्च नहुँदै र चर्को तनाव नबेहोरीकनै सामान्य प्रकारको शल्यक्रियाबाट निको पार्न सकिन्छ । तर, करिब अन्तिम चरणमा नपुगी परीक्षणमा नजाने आनीबानीका कारण यस रोगले ठूलो रुप लिँदै छ । क्यान्सरका लक्षणहरूमा बिनाकारण दुब्लाउँदै जानु, लामो समयसम्म खोकी लागिरहनु, ज्वरो आउनु, खकारमा रगत देखिनु, घाँटी, काखी, काछमा नदुख्ने कोठी आउनु, कहिले पातलो दिसा लाग्नु, कहिले कब्जियत हुनुका साथै दिसामा रगतसमेत देखिनु यसका लक्षण हुन् । शरीरको कुनै ठाउँमा घाउ भएको छ भने लामो समयसम्म निको नहुने, कोठी छ भने त्यसको आकार र रङमा परिवर्तन हुने, महिलाका हकमा स्तनको आकारमा परिवर्तन आउने, पाठेघरको मुखबाट पानी र रगत मिसिएर बग्ने, महिनावारी बन्द भइसकेका महिलामा पुन: रगत देखिने भएमा क्यान्सरको आशंकामा जाँच गराउन जानु जरुरी छ । 

विशेषज्ञहरूका अनुसार क्यान्सर रोकथामको पहिलो आधार भनेको सूर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्नु हो । मोटोपन नियन्त्रण र नियमित व्यायामजस्ता जीवनशैली व्यवस्थापनका तौरतरिकाले पनि क्यान्सरबाट टाढा रहन मद्दत गर्छन् । स्वस्थ र सन्तुलित खानपान, जंक फुड (तयारी खाना) नखाने र नुनिलो पदार्थ कम सेवन गर्नाले क्यान्सरको सम्भावना घटाउँछ । डा बरालका भनाइमा क्यान्सर देखिँदैमा आत्तिइहाल्नु हुँदैन । जति बढी आत्तियो, त्यति नै चाँडो यस रोगले गाल्दै लैजान्छ । उनी भन्छन्, “क्यान्सरबाट जोगिने सरल उपाय भनेको समय–समयमा शरीरको चेकजाँच गराउनु हो । खानपान र व्यायाममा ध्यान दिनुपर्छ ।” 

प्रकाशित: श्रावण २, २०७४