दुई दिनको चमक–धमक

  • रियालिटी सोको उपाधि जितेकाहरूमध्ये ज्यादै कमले पाएका छन् सफलता

- गोकर्ण गौतम

रियालिटी सोबाट प्रतियोगी बाहिरिनु एउटा प्रक्रिया मात्र हो । छानिँदै जाने क्रममा कोही न कोहीले त सोबाट बिदा हुनैपर्छ तर ‘नेपाल आइडल’बाट प्रताप लामा ‘आउट’ हुँदा संगीतवृत्तमा तरंग पैदा भयो । किनभने उनी चानचुने प्रतियोगी थिएनन् । दुई वर्षअघि सम्पन्न अर्को प्रतिष्ठित रियालिटी सो ‘नेपाली तारा’का विजयी थिए । तर उनी ‘नेपाल आइडल’को उत्कृष्ट अठारबाट बाहिरिए, ‘भोटिङ राउन्ड’को थालनीसँगै । जबकि त्यही सोकी निर्णायकमध्ये एक इन्दिरा जोशी ‘नेपाली तारा’कै पहिलो संस्करणको पाँचौ स्थानमा सीमित भएकी थिइन् । त्यसैले सामाजिक सञ्जालमा ‘ट्रोल’हरू बने, ‘पहिलो आउट, पाँचौँ चाहिँ जज’ भन्ने आशयका । 

‘नेपाल आइडल’बाट बाहिरिनु पर्दा प्रतापलाई ननिको लागेकै छ तर सोमा सहभागी हुनु बाध्यताजस्तै थियो उनका लागि । किनभने ‘नेपाली तारा’को टाइटल जितेपछि जुन रफ्तारमा उनले करिअर अगाडि बढ्छ भन्ने सोचेका थिए, त्यसो भएन । करिब एक दर्जन गीत त निकाले तर दर्शक/श्रोतामाझ ‘क्लिक’ हुन सकेनन् । ‘नेपाली तारा’को आयोजकले निकालिदिनुपर्ने तीन गीत अझ रोकिएको छ । प्रताप भन्छन्, “त्यसैले थप अवसरको खोजीमा नेपाल आइडलमा भाग लिएको थिएँ ।”

‘नेपाली तारा’ स्वदेशकै सो भयो, एपी वान टेलिभिजनबाट प्रसारित ‘नेपाल आइडल’चाहिँ नेपालमा भएको पहिलो विदेशी ‘फ्रेन्चाइज’ सो । यसमा सफलता पाए आफूले थप ‘एक्सपोजर’ पाउने आशा थियो प्रतापको । तर यो पीडा प्रतापको मात्र होइन, यत्ति हो कि उनको भोगाइ सतहमा आयो । नत्र यसअघि रियालिटी सोको अग्रस्थानमा मात्र आएको होइन, उपाधि जितेकाहरूमै ज्यादै कमले सफलता चुमेका छन् । अधिकांश गुमनाम छन् । कति चाहिँ अझ संघर्ष गर्दैछन् । परिणाम सुखद छैन । यही परिदृश्य नियालिरहेका प्रताप सुनाउँछन्, “रियालिटी सोले ह्वात्तै चर्चा दिन्छ तर सो सकिएपछि कलाकारलाई वास्ता गर्न छोड्छन् । अनि टिक्नै धौधौ पर्छ ।” 

रियालिटी सोहरूले लुकेर बसेका प्रतिभालाई ‘प्लेटफर्म’ प्रदान गर्नेमा शंकै रहेन । दर्शक/श्रोता र म्युजिक कम्पनीहरूमाझ चिनाउँछ पनि । तर कम प्रचारप्रसार गरिएका सो अपेक्षाकृत उपयोगी हुँदैन । नेपालको पहिलो संगीत सम्बन्धी व्यवस्थित शैलीको रियालिटी सो ‘तिम्रो सुर, मेरो गीत’लाई मानिन्छ । दुई दशकअघि यो सो नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । गायिकाद्वय प्राश्ना शाक्य र जुना प्रसाईं यही सोपश्चात् अगाडि आएका हुन् । तर आधा दर्जनभन्दा बढी पटक भएको यस सोका अन्य विजेताहरू अगाडी आउन सकेनन्, सरिता शाही, राई नवीन, राम भण्डारी आदि–आदि । सोसँगै उनीहरूको चर्चा पनि सेलायो । यही सोका निर्देशक तथा संगीतकार प्रकाश गुरुङ भन्छन्, “सधैँभरि अरुले डोर्‍याउँदैन । जो संघर्ष गर्न सक्छन्, उसैले सफलता पाउँछ । त्यसैले कलाकार स्वयं जुझारु हुनुपर्छ ।” सोको मात्र भर पर्ने र ख्यातिको सदुपयोग गर्न नसक्ने कलाकारहरू पाखा लाग्छन् ।

ठ्याक्कै प्रकाशले भनेजस्तै भएको छ, अन्य रियालिटी सोका कलाकारहरूको सवालमा पनि । ‘तिम्रो सुर, मेरो गीत’ बन्द भएको केही समयपछि अर्थात् ०६१ मा ‘नेपाली तारा’ सुचारु भयो । पर्याप्त ‘ब्रान्डिङ’ गरिएको यस सोमा हजारौँ नयाँ प्रतिभाले भाग लिए । र, कलाकार उत्पादनका हिसाबले अन्य रियालिटी सोभन्दा ‘नेपाली तारा’ फलदायी देखिएको छ । अझ त्यसको पहिलो संस्करणबाट चिनिएका पाँच कलाकार यतिबेला पनि उस्तै हिट छन् । पहिलो ‘नेपाली तारा’को उपाधि जितेका थिए, दीपक लिम्बुले । सो सकिनासाथ उनले फिल्म हिम्मतमा ‘मैले त्यही भएर मन पराको...’मा गाउने मौका पाए । त्यसपछि दीपकलाई देशविदेशका सांगीतिक कार्यक्रममा भ्याईनभ्याई भयो । चलचित्र र आधुनिक गायनमा प्रिय गायक बने । बरू पछिल्लो समय उनको लोकप्रियता खस्कँदो छ । धर्मेन्द्र सेवान, रूपक डोटेल, इन्दिरा जोशी र दुर्गा खरेलजस्ता चिनिएका कलाकार सोही संस्करणबाट आएका हुन् । इन्दिरा त ‘हटकेक’ भइहालिन्, अरुले पनि संगीतबाट परिवार पालिरहेका छन् । ‘मेरो बोली सुन्दा....’, ‘सपनी राम्रो देखिनँ...’ जस्ता हिट गीतका सर्जक रूपक भन्छन्, “रियालिटी सो नहुँदा पनि संगीतमा संर्घष गर्छु भन्ने अठोट बोकेका अगाडि आउँछन् । अरु दुई दिनको चमकधमकमै सीमित हुनुपर्छ ।” 

तर पहिलो संस्करणको यो सफलता तीन वर्षपछि भएको दोस्रो संस्करणका विजेताहरूले निरन्तरता दिन सकेनन् । पहिलो संस्करणमा उत्कृष्ट २० बाट बाहिरिएका सन्तोष लामाले दोस्रोमा उपाधि चुमे । तारा लक्सम लिम्बु उप–विजेता र सूर्यकिरण लामा तेस्रो भए तर यतिबेला संगीतमा देखिने गरी सन्तोष मात्र छन् । तारा लक्समले संगीतकारको परिचय बनाउन खोजे पनि ‘मार्क’ भएका छैनन् । सूर्यकिरणको हालत पनि त्यस्तै छ । सन्तोषले भने केही ख्याति कमाएका छन् । ‘नेपाली तारा’ भएपछि उनले बटुवा (२०६७), अम्बर (२०६९) र अक्षता (२०७१) एल्बम निकाले । चौथो एल्बम सहकार्य छिट्टै बजारमा आउँदै छ । झन्डै ४० फिल्मी गीतमा स्वर दिएका सन्तोष रियालिटी सोले सम्मान र क्षणिक चर्चा दिए पनि दिगो सफलता आफ्नै लगावमा निर्भर रहने बताउँछन् । रियालिटी सोको होस्टका रूपमा पनि काम गरिसकेका सन्तोष भन्छन्, “नत्र उपाधि जितेको भनेर कसैले काम दिँदैन । सो सकिएपछि त वास्ता पनि हुँदैन । बरू निराश हुने डर हुन्छ ।” 

सात वर्षपछि ‘नेपाली तारा’को तेस्रो संस्करण त भयो तर विजेताहरूले त्यस्तो कमाल देखाउन सकेनन् । उपाधि विजयी प्रतापको प्रसंग सुरुमा गरिहालियो, उप–विजेता देवेश राई र तेस्रो स्थान हासिल गरेका सुरेल लामाले पनि त्यो ख्यातिबाट फाइदा उठाउन सकेनन् । यो वर्ष यसको चौथो सिजन हुने चर्चा त चलेको थियो तर ‘नेपाल आइडल’ सुरु भएपछि त्यतिकै सेलाएको छ । त्यसो त, अन्य रियालिटी सोहरूबाट पनि प्रतिभाहरू नजन्मिएका होइनन् । नेपाल वान टेलिभिजनबाट प्रसारण भएको ‘लक्स नेपाल स्टार’बाट विष्णु चेम्जोङको उदय भयो तर सोको समाप्तिपछि ‘लाइमलाइट’मा रहन सकिनन् । सन्तोष लामाले होस्ट गरेको ‘सिंगिङ स्टार’ नामक अर्को रियालिटी सो जम्मा एक सिजन चल्यो । पोखराकी ऋतु लामाले उपाधि जिते पनि अगाडि बढ्न सकिनन् । इमेज च्यानलको ‘साउथ एसियन स्टार नेपाल’बाट आएका प्रकाश तिमिल्सिना, अमूल सापकोटा र आशुसेन लामामध्ये प्रकाश मात्र केही हदसम्म ‘स्टार’ बन्न सके । यद्यपि आशुसेन म्युजिक कम्पोजरका रूपमा अगाडि आउने प्रयास गरिरहेका छन् । 

नेपाल टेलिभिजनबाटै प्रसारण भएको अर्को सो ‘खोजी प्रतिभा’ले दुर्गा परियारलाई जन्मायो । मायाज बार फिल्ममा उनले गाएको ‘सर सर माया...’ गीत रुचाइयो पनि तर त्यसपछि सफलताको दायरा फराकिलो बनाउन सकिनन् । सोही सिजनमा तेस्रो भएकी साहिमा संगीतमै संघर्षरत छिन् । तर ‘खोजी प्रतिभा’ दोस्रो सिजनका विजेता विक्रम लिम्बु र उपविजेता रेवत राई त त्यतिकै हराए । यो सो बन्द भएकै ६ वर्ष बितिसक्यो । एकातिर संगीतसम्बन्धी रियालिटी सोले निरन्तरता पाउँदैनन् । एकाध सिजनपछि बन्द हुनुपर्छ । अर्कातिर सोका विजेताहरूले दिगो फाइदा लिन सकेका छैनन् । आउँछन, जान्छन् सो जस्तै । तर यी दुई विडम्बनालाई एउटै आँखाले हेर्न नहुने ‘खोजी प्रतिभा’का निर्देशक तथा निर्माता दिनेश डीसीको भनाइ छ । “स्टेज, स्टुडियो, लाइट, साउन्ड, क्यामेरा, प्रसारणजस्ता खर्चले रियालिटी सो महँगो हुन्छ । त्यही अनुसारको प्रायोजन हुन्न । त्यसैले बन्द हुन्छन्,” टेलिभिजन कार्यक्रममा लामो अनुभव हासिल गरेका डीसी भन्छन्, “तर सोका विजेताहरू चाहिँ नियमित अभ्यास नहुँदा र ‘अपडेट’ नहुँदा ‘आउटडेट’ हुन्छन् । मुख्य कुरा पाएको प्रसिद्धिलाई सही रूपमा प्रयोग गर्ने सामथ्र्य हुनुपर्छ ।” 

प्रकाशित: श्रावण २, २०७४